बौद्धहरू ‘धम्म कि धर्म’, ‘धर्म कि दर्शन’, ‘भगवान् कि दार्शनिक’ जस्ता शब्दमा अल्झिएको देखिन्छ, जुन ठीक होइन।
बसन्त महर्जन
बौद्ध धर्म-दर्शनको दुनियाँमा अनेक खालका यस्ता कुरा पनि सुन्न र पढ्न पाइन्छ, जसको न कुनै अर्थ लाग्छ न त त्यसबाट ज्ञानलाभ नै हुन्छ। बुद्धिविलास गर्ने प्रकृतिका यस्ता कुरामा पाण्डित्याइँ छाँट्न त सकिएला, तर त्यसबाट बुद्ध र बौद्ध धर्म-दर्शनलाई बुझ्न र अभ्यास गर्न सकिंदैन।
अझ कतिपय अवस्थामा यी कुरा बाधक पनि हुन्छन् र अलमल्याउँछन्। झट्ट हेर्दा ठूलै समस्या जस्तो देखिए पनि ती सानो समझमै सुल्झिने खालका पनि हुन्छन्। खासगरी केही ‘शब्द’ को प्रयोगमा विवाद देखिने गरेको छ। यो आलेखमा तिनै ‘शब्द’ मा देखिएका विवादबारे चर्चा गरिएको छ।
धम्म र धर्म
नेपाल र भारतका केही नयाँ बौद्धहरूमा “गौतम बुद्धले ‘धम्म’ सिकाउनुभएको हो, ‘धर्म’ होइन। तसर्थ ‘बुद्ध धर्म’ नभएर ‘बुद्ध धम्म’ भन्नुपर्छ” भन्ने आग्रह देखिन्छ। तर यो आग्रहमा कुनै ऐतिहासिकता पाइँदैन। बरु यस्तो आग्रहले केही दशकअघि मात्रै ठाउँ लिएको बुझ्न सकिन्छ। यस आग्रहमा खास तार्किकता पनि पाइँदैन।
पालि भाषामा प्रयोग हुने ‘धम्म’ शब्दलाई नै अन्य भाषामा ‘धर्म’ भनिएको बुझ्न नसक्दाको सकस हो, यो। बौद्ध धर्म-दर्शनको अध्ययनका लागि पालि भाषाका स्रोतमा आश्रित व्यक्तिहरूले आफ्नो छुट्टै पहिचान बनाउन यस खालको आग्रहलाई बोकेको देखिन्छ। यो आग्रहलाई मान्यता दिने हो भने बुद्धले ‘कम्म’ गर्न सिकाएका थिए, ‘कर्म’ गर्न सिकाएका थिएनन्, ‘जल’ पिएका थिए, ‘पानी’ पिएका थिएनन् भन्ने तर्क गर्न सकिन्छ।
यस्तै शब्दमध्ये आँखा पनि हो। बुद्धले ‘आँखा’, ‘चक्षु’, ‘नयन’, ‘आई’ शब्द प्रयोग गरेका थिएनन्। उनले ‘चक्खु’ शब्द प्रयोग गरेका थिए। त्यसैले बुद्ध ‘चक्खु’ ले मात्र हेर्थे भन्नु दोगलापन र मूढतापूर्ण आग्रह हो।
यस आग्रहमा हिन्दू धर्ममा संस्कृत भाषाको जुन स्थान छ, बौद्ध धर्ममा त्यही स्थान पालि भाषालाई दिने मनसुवा पनि देखिन्छ। तर अक्कल विनाको नक्कलले अन्ततः बौद्ध धर्म-दर्शनलाई नै क्षति पुग्नेमा ध्यान दिएको देखिंदैन।
एकथरीको ‘धर्म’ भन्नु हुँदैन, ‘धम्म’ भन्नुपर्छ, बुद्धले ‘धर्म’ सिकाउनु नै भएको छैन, उनले त ‘धम्म’ मात्र सिकाउनुभएको हो भन्ने बुझाइ छ। उनीहरूमा ‘धम्म’ पालि भाषाको शब्द हो र यस भाषामा भएका बुद्धवचन मात्रै शुद्ध र सही हुन्छन् भन्ने आग्रह देखिन्छ।
‘धम्म’ सत्य हो, प्राकृतिक नियम हो। यसले हेतु-प्रत्यय वा कार्यकारणको बुद्धको उपदेशलाई आत्मसात् गरेको हुन्छ। यसले तथ्य र प्रमाणमा मात्र जोड दिन्छ भन्ने बुझाइ ठीकै हो। तर यही अर्थ दिने उही ‘धम्म’ शब्दबाटै बनेको संस्कृत शब्द ‘धर्म’ को प्रयोग गर्नु हुँदैन भन्नु हदैसम्मको मूढता हो।
उनीहरूको तर्क हुन्छ- संस्कृत भाषाको ‘धर्म’ शब्दले हिन्दू मूल्यमान्यताको अर्थ बोक्ने भएकाले धम्म र धर्म एउटै होइन। हिन्दू धर्मले जुन अर्थ लगाएको छ, त्यही मात्र ‘धर्म’ शब्दले अर्थ दिन्छ। तसर्थ बुद्धका सन्दर्भमा यो शब्द उपयुक्त छैन।
यो सीमित र संकुचित बुझाइ हो। यो बुझाइ ठीक छैन। यस्तो बुझाइका अनुसार धर्म शब्दले भाग्य, आस्था, विश्वास, आत्मा, परमात्मा, ईश्वर, चमत्कार आदिमा विश्वास गर्न सिकाउँछ, तसर्थ धम्म र धर्म फरक कुरा हुन्।
‘धम्म भन्नुपर्छ, धर्म भन्नु हुँदैन’ भन्ने आग्रह हेर्दा सामान्य देखिन्छ। तर यस आग्रहले पालि भाषामा संगृहीत बुद्धवचनलाई मात्र बौद्ध धर्मसम्मत मान्ने तथा संस्कृत लगायत अन्य भाषामा रहेका कुनै वाणीलाई बुद्धवचनका रूपमा स्वीकार नगर्ने दुराग्रहलाई मलजल गर्ने देखियो। यस अनुसार त आजभोलि प्रचलित थेरवाद भनिने एउटा सम्प्रदाय मात्र शुद्ध बौद्ध धर्म हो र अन्य बौद्ध सम्प्रदायहरू बौद्ध धर्म नै होइनन् भन्ने संकुचित र मूर्खतापूर्ण तर्कलाई बल दिन्छ।
यो आग्रहको अर्को दुराशय के पनि हो भने, थेरवादीहरूले मान्ने पालि त्रिपिटकमा नै निहित महायानी आदर्शहरूलाई भोलिका दिनमा निषेध गर्नु हो वा त्यसबाट टाढै बस्नु हो। यस खालका दृष्टिकोणलाई बढावा दिनु भनेको बौद्ध धर्म-दर्शनलाई खोक्रो बनाउनु हो।
महायानी बौद्ध वाङ्मय संस्कृत भाषामा रहेकै आधारमा उनीहरूले ‘बौद्ध धर्ममा हिन्दू धर्म मिसमास बनाएर नवौं शताब्दीतिर महायान सम्प्रदाय बनाएको हो’ भन्ने पनि गरेका छन्। बौद्ध धर्म-दर्शन र इतिहासको सामान्य तथा आधारभूत जानकारी पनि नराखी यस्तो प्रलाप गरिराख्नेहरू बौद्ध नै भए पनि बौद्ध धर्मका लागि खतरा हुन्। यस्तो आग्रहले बौद्ध धर्मलाई नै हानि-नोक्सानी गर्ने भएकाले सचेत हुनु आवश्यक छ।
धर्म र दर्शन
‘बुद्ध धर्म’ वा ‘बौद्ध धर्म’ भन्नु हुँदैन, गौतम बुद्धले धर्म मात्रै सिकाएका हुन्, तसर्थ धर्म मात्रै भन्नुपर्छ भन्ने आग्रह पाइन्छ। बौद्धवृत्तमा छलफल गर्दा ‘धर्म’ शब्दको प्रयोग पर्याप्त हुन्छ, तर बौद्धवृत्तभन्दा बाहिर छलफल गर्नुपर्दा ‘धर्म’ शब्दले मात्र स्पष्ट संकेत गर्दैन। यस अवस्थामा बौद्ध धर्म, जैन धर्म, हिन्दू धर्म, इस्लाम धर्म, इसाई धर्म आदि भनेर छुट्याउनुपर्छ।
त्यस्तै, अर्को आग्रह पनि पाइन्छ, ‘बुद्ध भनेका दार्शनिक हुन्, उनले नयाँ दर्शन दिएका हुन्, धर्म होइन’ भन्ने। यही भएर उनीहरू ‘बौद्ध धर्म’ भन्नु हुँदैन, ‘बौद्ध दर्शन’ भन्नुपर्छ भन्ने मान्यता राख्छन्। धर्म होइन, दर्शन भन्नुपर्छ भन्ने आग्रह राख्नेहरू प्रायः भौतिकवादी हुन्छन्।
बुद्धले ईश्वर, परमेश्वर, आत्मा, परमात्मा आदि कुरालाई नमान्ने भएकै आधारमा बुद्धलाई पनि उनीहरू आफूहरू जस्तै भौतिकवादी ठान्छन्। तर स्वयं गौतम बुद्धले भौतिकवादीलाई ‘मिथ्यादृष्टि’ भन्ने गरेको हेक्का राख्दैनन्। अझ महत्त्वपूर्ण पक्ष, अनेकौं जन्महरूको शृंखला, गति र लोक तथा जन्म-मृत्युको लामो प्रवाहको अन्त्यलाई भौतिकवादीहरू बुद्धको शिक्षाको मान्यता दिंदैनन्।
धर्म होइन, दर्शन भन्नुपर्छ भन्ने अर्को समूह हो, अन्य धर्मसम्प्रदायसँग सम्बन्धित गैरबौद्ध, तर आफ्नै धर्मसम्प्रदायको मूल्यमान्यताबारे पनि खासै जानकारी नराख्ने। पहिल्यैदेखि सुन्दै आएको धर्म शब्दको अर्थप्रति उनीहरू आजित वा उदासीन हुन्छन्। ‘धर्म’ को अर्थ सम्प्रदायपिच्छे फरक हुने जानकारी नहुनु नै यो समूहको ठूलो कमजोरी हो। यो समूह बुद्धले दिएको त्रिलक्षण (अनित्य, दुःख र अनात्म), चार आर्यसत्य, प्रतीत्यसमुत्पाद, अभिधम्म लगायतका जीवनदर्शन सम्बन्धी शिक्षामा प्रवेश नै नगरी नैतिक शिक्षालाई नै दर्शन ठानेर प्रशंसा गरिरहेको हुन्छ।
बौद्ध धर्म-दर्शनलाई बौद्धिक तथा प्राज्ञिक स्तरमा मात्र जानकारी राखेका र राम्रो लागेर प्रशंसा गर्ने भएकै आधारमा आफू बौद्ध भएको ठान्नेहरूमा यस्तो आग्रह रहेको पाइन्छ। बौद्ध धर्म-दर्शनको जानकारी राख्नु र बौद्ध नै हुनुमा तात्त्विक भिन्नता हुन्छ। बौद्ध धर्म-दर्शनबारे जानकारी राख्दैमा र प्रशंसा गर्ने भएकै आधारमा बौद्ध भनिंदैन।
बुद्ध र बुद्धको शिक्षाबारे जुन कुराको जानकारी भयो, त्यसलाई आत्मसात् गरेपछि त्यहाँ कुनै प्रकारको आस्था वा विश्वासको दरकार पर्दैन। बरु श्रद्धा उत्पत्ति हुन्छ। यस्तो श्रद्धाले जो कसैलाई त्रिरत्न (बुद्ध, धर्म र संघ)को शरणमा जान उत्प्रेरित गरेको हुन्छ। यसरी नै आफ्नो जीवनदर्शन बुद्धद्वारा देशित धर्मअनुरूप ढाल्नु वास्तवमा बौद्ध हुनु हो।
बौद्ध धर्म वा बौद्ध दर्शनमध्ये कुन प्रयोग गर्ने भन्ने सन्दर्भमा अर्थ हेर्नुपर्छ। पाश्चात्य दर्शनमा प्रचलित ‘रिलिजन’ शब्दले धर्म शब्दका सबै अवयवलाई समेट्दैन। अंग्रेजी भाषामा धर्मका लागि उपयुक्त शब्द नपाइएकाले व्यावहारिक प्रयोजनका लागि ‘रिलिजन’ शब्द प्रयोग हुन्छ। पूर्वीय जीवनदर्शनको व्यावहारिक पक्षमा प्रयोग हुने एउटा शब्द छ, पन्थ। बरु पन्थ शब्द ‘रिलिजन’सँग नजीक छ। ‘रिलिजन’ शब्दको समानार्थ बरु पन्थ हो।
यसरी नै पाश्चात्य जगत्मा प्रचलित ‘फिलोसफी’ शब्दलाई दर्शन भन्ने गरिए पनि त्यसको व्यावहारिक प्रयोगमा केही भिन्नता पाइन्छ। दुवै शब्द ज्ञानसँग सम्बन्धित भए पनि पाश्चात्य जगत्मा त्यस ज्ञानमाथि छलफल तथा चिन्तनमननको अर्थमा लिई प्राज्ञिक विषयवस्तु बनाइन्छ। पूर्वीय जगत्मा ज्ञानमाथि छलफल तथा चिन्तनमननमा मात्रै सीमित गरिंदैन, व्यावहारिक जीवनमा अभ्यास र प्रयोग पनि गरिन्छ। त्यसैले धर्म र दर्शन कतिपय अवस्थामा पर्यायवाची जस्तै हुने गर्छन्।
यही भएर कसैले बौद्ध धर्म मात्र भनिरहेका हुन्छन् भने कसैले बौद्ध दर्शन। यसरी नै कसैले बौद्ध धर्म-दर्शन पनि भनिरहेका हुुन्छ। यो बौद्धहरूमा मात्र सीमित कुरा होइन, हिन्दू धर्म वा हिन्दू दर्शन अथवा हिन्दूू धर्म-दर्शन पनि भनिरहेको पाइन्छ।
भगवान् र दार्शनिक
छलफल वा विवादको अर्को विषय हो, बुद्ध भगवान् हुन् कि दार्शनिक? बौद्ध धर्मावलम्बीहरू गौतम बुद्धलाई भगवान् मान्छन्। गैरबौद्धहरू त्यसमाथि टिप्पणी गर्दै गौतम बुद्धले आफूलाई भगवान् नमान्नू भनेका थिए, तर उनैका अनुयायीले भगवान् बनाइदिएको गुनासो गर्छन्। वास्तविकता के हो भने, गौतम बुद्धले आफूलाई भगवान् नमान्नू भनेर कहींकतै भनेको पाइँदैन। बरु आफू जस्तालाई मात्र भगवान् भन्न सकिने र अरूलाई भगवान् भन्न नहुने प्रस्टसँग भनेको पाइन्छ।
बुद्धत्व लाभ गर्नु भनेकै भगवान् हुनु हो। बुद्धत्व लाभ हुनुअघिको बोधिसत्व लगायत कुनै पनि अवस्थामा कसैलाई भगवान् भन्न मिल्दैन। जसले राग, द्वेष, मोह, आदि क्लेशहरूलाई सम्पूर्ण रूपमा नष्ट गरेर क्लेशावरण र ज्ञेयावरणलाई क्षय गरी सम्यक् सम्बुद्ध लाभ गर्छन्, तिनलाई मात्र भगवान् भन्न सकिन्छ। यस अनुसार बुद्धको उपदेशका आधारमा साधना गरेर जन्म र मृत्युको चक्रबाट मुक्त भएका अर्हत्हरूलाई पनि भगवान् भनिंदैन र बौद्धहरूले भनेको पाइँदैन। गौतम बुद्धलाई भगवान् नमान्नुको सोझो अर्थ हो, उनलाई बुद्ध भनेर स्वीकार गर्न नसक्नु।
दार्शनिकको सामान्य अर्थ जीवनदर्शनबारे चिन्तन-मनन गर्ने, तत्त्व मीमांसा गर्ने, यसबारे सिक्ने र सिकाउने हुन्छ। केवल दार्शनिक शब्दले गौतम बुद्धलाई समग्र रूपमा समेट्न सक्दैन। उनी त जीवनदर्शनका कुरा जान्ने मात्र नभएर त्यसलाई साधना गरी फल प्राप्त गरिसकेका हुन्। बरु बुद्धको शिक्षा पाएर त्यसमाथि चिन्तन-मनन र साधना गरिरहेका व्यक्तिलाई बौद्ध दार्शनिक भन्न सकिन्छ।
हिन्दू धर्ममा भगवान् भनेर ईश्वर, परमेश्वर, परमसत्ता, परमात्मालाई मान्ने गरिन्छ। यस अनुसार हिन्दू धर्मको अर्थमा बुझेर मान्छेहरूले गौतम बुद्धलाई भगवान् भन्नु हुँदैन भन्ने गरेका छन्। खासमा गौतम बुद्धले नै ईश्वर, परमेश्वर, परमसत्ता तथा परमात्मा जस्ता विषयवस्तुको अस्तित्व नै अस्वीकार गरेका छन्। तिनै ईश्वरको अंश भनी हिन्दू धर्ममा अनेक चरित्रलाई भगवान् भनेर सम्बोधन गर्ने गरिन्छ।
यसरी केही शिष्यमण्डली जम्मा गर्न सफल भएकै भरमा धर्मगुरुहरू आफूलाई भगवान्का रूपमा घोषणा गराउँछन्। यी दृश्यहरू देखेर यसबाट गौतम बुद्धलाई पृथक् राख्ने मनसायले पनि ‘भगवान् होइन, बरु दार्शनिक हुन्’ भन्ने सोचाइ राखेको पाइन्छ।
धर्म : शब्द एक, अर्थ अनेक
धर्म र दर्शन दुुई शब्दलाई बौद्धहरूले पर्यायवाची मान्ने गरेको पाइन्छ। यति मात्र होइन, यसैको दाँजोमा शिक्षा शब्दलाई पनि राख्न सकिन्छ। धर्म शब्दको अर्थ यतिमै सीमित छैन। विभिन्न अर्थमा यसको छुट्टाछुुट्टै प्रयोग हुुने गरेको पनि पाइन्छ। स्वभावलाई पनि धर्म शब्द नै प्रयोग गर्ने गरेको पाइन्छ। त्यसैगरी तत्त्वलाई पनि धर्म नै भन्ने गरेको पाइन्छ।
बुद्धले जुन बोधि (ज्ञान) लाभ गरेका थिए, त्यही सिकाएका हुन्। बुद्धको शिक्षालाई नै बुद्ध धर्म वा बौद्ध धर्म भनिएको हो। समाजमा बुद्ध एक्लै छैनन्। जसरी बुद्ध आफूले देशना गर्ने धर्म मात्र सही हो, अरू जम्मै मिथ्या भन्छन्, अन्यले पनि त्यस्तै दाबी गर्छन्। सोही अनुसार अनुुयायीलाई धर्म भनेर छुट्टाछुट्टै सिकाएका हुन्छन्।
यस अवस्थामा कसको सिकाइ भन्ने प्रश्न आउँछ। पहिचानका लागि नाम दिनुपर्दा बुद्धले सिकाएको धर्मका लागि ‘बुद्ध धर्म’ वा ‘बौद्ध धर्म’ भनिएको हो। सबैको दृष्टिकोणमा ‘आफूले अवलम्बन गरेको ज्ञान मात्र धर्म हो, अरू जम्मै अधर्म’ भन्ने आग्रह रहेको पाइन्छ।
एक धर्मका दृष्टिमा अर्को धर्म अविद्या वा मिथ्यादृष्टि हो। बुद्धले पनि अन्यलाई थुप्रै ठाउँमा मिथ्यादृष्टि भनेको पाइन्छ। त्यस्तै, अन्य धर्मको दृष्टिमा पनि बुद्धको शिक्षा वा बुद्ध धर्म अविद्या वा मिथ्यादृष्टि नै हुन्छ।
बौद्ध साहित्यमा मात्र धर्म शब्दको करीब एक दर्जन अर्थ लाग्छ। त्यस्तै, बौद्ध बाहेकका सम्प्रदायमा पनि अनेक अर्थ लाग्छ। तसर्थ धर्म शब्दको एउटै अर्थमा अल्झिनु ठीक होइन।