अपमान अँगालेर जिउन सक्ने, साहसी, सुदूर भविष्यप्रति आशावादी अनि रिसलाई पैतालामुनि दबाएर राख्न सक्ने शालीन व्यक्ति थिए, गणेश रसिक।
बुलु मुकारुङ
कीर्तिशेष गणेश रसिक (२००४ असोज ४ - २०८२ जेठ १८)को जन्मथलो भोजपुरको नौलागाउँ हो। जुन अहिले टेम्केमैयुङ गाउँपालिका-२ मा पर्छ। रसिकका पुर्खा (थुलुङ राई) सोलुखुम्बुबाट बसाइँ सरेर भोजपुर गएका थिए। बसाइँसराइ गरेर पूर्वतिर जाने क्रममा उनीहरू टेम्केडाँडाको पूर्वमा रहेको नौलागाउँ पुगे। नौलागाउँको थाप्लोमा अवस्थित हर्कटे-नागीबाट हेर्दा वरिपरि हरियाली अनि याङटाङ खोला र पिखुवा खोलाले सिञ्चित उर्वर भूमि भेटेर त्यहीं टक्क रोकिए।
त्यहाँ पुगेर अडिने प्रथम पुर्खा थिए, इम्पे बुढा (थुलुङ)। थुलुङ भाषामा ‘इम्पे’ भनेको ‘कान्छा’ हो। थुलुङ परिवारको कान्छो सन्तान सोलुबाट भोजपुर पुगेका रहेछन्। इम्पे बुढाले सोही ठाउँमा गोठ पालन गरी बसेका गुरुङकी छोरी वरण गरेपछि त्यहींदेखि थुलुङका शाखा-सन्तान फैलिएको पाइन्छ।
करीब चार-पाँच पुस्तापछि मात्र कप्तान हर्कराज राई थुलुङको वंशावली शुरू भएको देखिन्छ। जो गणेश रसिकका बाजे थिए। रसिककी बोजू खड्गमाया (मुकारुङ) राई हुन्। उनी यस पंक्तिकारकी फुपुबोजू हुन्। हर्कराज र खड्गमायाबाट दुई छोरा र चार छोरी भए। छोराहरूमा जेठा नरोत्तम राई, कान्छा चरणकुमार राई हुन्। नरोत्तमका दुई श्रीमतीबाट ६ सन्तान भएकामा जेठी श्रीमती रत्नमायाबाट जन्मिएका जेठा छोरा थिए, गणेश रसिक।
विसं २००० अघि भोजपुरबाट गुरुकुलीय परम्पराबाट संस्कृत पढ्न भारतको बनारस वा भोजपुरकै दिङ्लाको आबाल ब्रह्मचारी षडानन्द गुरुले स्थापना गरेको गुरुकुल पाठशाला जानुपर्थ्यो। अंग्रेजी माध्यमको पढाइका लागि दार्जीलिङको कालेबुङ जाने प्रचलन थियो। रसिकका बुबा नरोत्तम राई दार्जीलिङमा पढेर आएका हुनाले गाउँघरमा उनको मानमनितो बेग्लै थियो। २०१३ सालमा राजा महेन्द्र देश भ्रमणमा निस्कँदा भोजपुरमा सवारी क्याम्प बसेको थियो। त्यस क्रममा त्यस क्षेत्रमा शिक्षित व्यक्ति को छ भनेर सोधखोज गर्दा राजाको नजरमा परेका व्यक्ति उनै नरोत्तम थिए।
राजाले उनलाई काठमाडौं आउन भने। तर उनी राजी भएनन्। शिक्षित र पढालेखा व्यक्ति अलि स्वतन्त्र नै हुन खोज्छन्। पछि रसिकका हजुरबुबा हर्कराज राईलाई राजाले ओखलढुंगा गौंडाको बडाहाकिमको जिम्मेवारी दिए। हर्कराज ब्रिटिश-भारतीय सेनाका पूर्व कप्तान थिए।
नरोत्तमले दार्जीलिङबाट फर्कंदा पुस्तक र पत्रपत्रिका साथमा ल्याएका थिए। उनले गाउँमा पुस्तकालय खोले। रसिकले पहिलो शिक्षा घरमै बुबाबाट आर्जन गरेका थिए।
राजनीतिक र शैक्षिक चेतना फैलाउने दिशामा रसिकका ठूलोबुबा नारदमुनि थुलुङ अझ अगाडि थिए। उनी सात सालको क्रान्तिका एक नेता थिए। २००७ मंसीर २५ गते निरंकुश राणाशाही विरुद्ध जनक्रान्तिको नेतृत्व गर्दै मालअड्डा, आकाशवाणी केन्द्र कब्जा गरी ‘यो रेडियो मुक्तिसेना हो’ भन्ने उद्घोष गराउने योद्धा थिए उनी।
भारतीय सेनामा रहेका उनी भारत स्वतन्त्र हुने वेला सैनिक जीवन बीचैमा छोडेर नेपाल फर्किए। राणा विरोधी अभियानमा जुटे। उनको राजनीतिक सम्बन्ध बीपी कोइराला, गणेशमान सिंह, भद्रकाली मिश्र आदिसँग थियो। भोजपुर फर्केपछि उनले निजीस्तरबाट विद्यार्थी पढाउन थाले। जसले गर्दा रसिकभन्दा अगुवा र समकालीनले पढ्न पाए। त्यस वेलाका विद्यार्थी प्रा. केदारनाथ श्रेष्ठ, डा. गजेन्द्रमणि प्रधान, साहित्यकार परशु प्रधान, शैलेन्द्र साकार, कृष्ण जोशी, पूर्व राजदूत विश्व प्रधान आदि हुन्।
प्रजातन्त्र र शिक्षाको उन्नयनका लागि लडेका पिता-पुर्खाका एक सुयोग्य सन्तान थिए- संगीतकार, गायक तथा लेखक कीर्तिशेष गणेश रसिक। उल्लिखित कुरा नारदमुनि थुलुङ लिखित पुस्तक बिर्सिएका अनुहारहरू तथा नारदमुनि थुलुङ स्मृतिग्रन्थ र वंशावलीमा समावेश छन्।
गीति-व्यक्ति स्मृृति
ए है ?
है !
ए है ?
है !
आज भेडाबाख्रा कता लाने ?
खरबारी डाँडा।
यता ल्याऊ न।
बोका भाग्छ।
काटी खाऔं न।
माया लाग्छ बरिलै ...।
गाउँले परिवेश र माटोको सुवास बोकेको गीतले गाउँघरका श्रोताको ध्यान नखिच्ने कुरै भएन। आफ्नै वरिपरिका दृश्य र घटना, भोगाइ र व्यवहार समेटिएका गीत सुन्न पाइने लाहुरे संस्कृतिले ल्याएको रेडियो आकर्षणको केन्द्र बनेको थियो, भोजपुरको कुइनेटो दिल्पा र नौलागाउँ। साँझ परेपछि गाउँलेहरू रेडियो भएको घरमा झुम्मिन्थे। जसलाई झिंगटीघर भनेर चिनिन्थ्यो। त्यो घर गायक रसिकका बुबा नरोत्तमको मावलीघर, रसिकको बूढोमावली घर थियो।
त्यही झिंगटीघरमा बजेको रेडियोबाट सुनेको थिएँ, गणेश रसिक र हिरण्य भोजपुरेले गाएको बहुचर्चित गीत- ‘आज भेडाबाख्रा कता लाने’। यति सानो रेडियोभित्र अट्ने मान्छे कस्ता होलान्? यस्तै यस्तै कल्पना गर्थें। सानो छँदा अरूले पनि यस्तै सोच्थे होलान्। उवेला रेडियो सुन्दा मलाई अचम्म लाग्थ्यो।
सोल्टिनी त गाजले, सोल्टिज्यूको लाजले
लुक्दै भागिन् डिलमुनि, बोलाउँदामा नसुनी
ए बोकेर ल्याऊँ कि, ऐयौ नि गाँठे... ...।
रेडियोबाट बज्ने गीत बाजेबज्यैदेखि नातिपनातिसम्मले खूबै स्वाद मानेर सुन्थे। स्थानीय परिवेश टपक्क टिपेका लोकजीवनका गीतहरूले बालापनमा हुर्किंदै गरेका म जस्तै धेरैलाई रसिक र लेकाली समूहका गीतहरूले खूबै प्रभावित पारेको थिए।
२०२७ सालमा मैले पहिलो पटक गायक रसिकलाई देखें। हिउँदको दिन थियो। बारीको पाटामा बिहेको भतेर चल्दै थियो। कालो वा गाढा नीलो रङको सुकिलो सुट लगाएका एक व्यक्ति देखिए। त्यसअघि त्यसरी सुटमा ठाँटिएको मान्छे त्यस भेगमा देखेको थिइनँ। भतेरमा भेला भएका जेठाबाठाले नाम लिंदै खासखुस गरेपछि ती व्यक्ति गणेश रसिक रहेछन् भन्ने थाहा पाएँ।
साँझतिर रसिक गायब भए। त्यही दिनदेखि मैले उनी नाताले आफ्नो दाजु भएको थाहा पाएँ।
म काठमाडौं प्रवेश गरेपछि पहिलो चोटि लेकाली समूहको सांगीतिक कार्यक्रम हेरेको सम्झना छ, २०३६ सालमा। कार्यक्रमको पोस्टर रत्नपार्क, बागबजार, पुतलीसडक, रामशाहपथ वरपरका भित्तामा जताततै टाँसिएको देखेपछि हेर्न गएको थिएँ। कलाकारहरू गणेश रसिक, हिरण्य भोजपुरे, उर्मिला श्रेष्ठ भोजपुरे, निर्मला श्रेष्ठ, नवीनकिशोर राई, इन्द्रनारायण मानन्धर, नीरा श्रेष्ठ, कमला श्रेष्ठ, न्हुच्छे डंगोल आदि थुप्रै कलाकारले एकल तथा सामूहिक गीत प्रस्तुत गरेका थिए। तीमध्ये ‘हाम्रो घरबाट टेम्केडाँडा’, ‘मलाई राम्रो लाग्छ’, ‘म त बूढो गाइने’ आदि गीत सम्झनामा आइरहन्छन्।
गणेश रसिक धोबीधारामा गायक-गायिका कल्याण रिमाल/बिजु रिमालको घरमा भाडामा बस्दा छोरा निमेष र छोरी निरजा काखे बच्चा थिए। रसिकका देशभक्तिका गीतहरू त्यस वेला रेडियो नेपालबाट असाध्यै बज्थे। ‘हटी हैन डटी लड्ने’, ‘मागी मीठो खाँदैन’, ‘तराई हेर कति राम्रो’ आदि गीत स्वदेशगानका रूपमा सयौं पटक प्रसारण हुन्थे। राष्ट्र र राष्ट्रियता सम्बन्धी अनेकन् गीतमध्ये ‘लडी नहार्ने नेपाली छाती कर्दैले चिरेछ’ बोलको गीत चाहिं किन हो धेरै कम बज्ने गीत थियो। पछि मैले सुनें, त्यो गीत विद्रोही खालको भएकाले बन्देज गरियो रे। रेडियो नेपालले गणेश रसिकको नाम नलिएको दिन नै हुँदैनथ्यो।
रसिक २०३८ देखि २०४० सालसम्म रत्न रेकर्डिङ संस्थानका अध्यक्ष र महाप्रबन्धक भए। २०३९ सालमा संस्थानले ‘प्रतिभाको खोजी’ नाममा आधुनिक गीत प्रतियोगिता गरेको थियो। भक्तराज आचार्य, ओमविक्रम विष्ट, रविन शर्मा, सुकमित गुरुङ, मथुरा प्रधान, विनोद गुरुङ, प्रताप अधिकारी आदि पुरस्कृत भएका थिए। पुरस्कारस्वरूप डिस्क रेकर्डमा गीत गाउन दिइन्थ्यो। निजी खर्चमा रेकर्ड गर्नुपरे धेरै रकम लाग्ने भएकाले प्रतिभावान् कलाकारलाई त्यो अवसर ठूलै थियो।
संस्थानमा रसिक भएकै वेलामा काठमाडौं र दार्जीलिङलाई सांगीतिक साँघुबाट जोड्ने कार्य भएको देखिन्छ। त्यस वेला दार्जीलिङका कलाकारहरूलाई नेपाल निम्ता गरी गीत रेकर्डिङ गर्ने अवसर दिइएको थियो। जसमा अरुणा लामा, कुमार सुब्बा, दिलमाया खाती, कर्म योञ्जन आदि त्यस वेलाका चर्चित र स्थापित कलाकार थिए। त्यही हुलमा देवकुमार दुमी, विमला सिञ्चुरी, अञ्जली प्रधान, विनोद सुब्बा आदि गायकगायिका पनि आएका थिए।
क्यासेट अल्बम र डिस्क रेकर्ड बढी बिक्री हुने कलाकारलाई गीत रेकर्ड गर्ने मौका दिएर संस्थानको आयआर्जन बढाउने खालका योजना त्यही वेला ल्याइएको थियो। क्यासेट र डिस्क रेकर्ड बढी बिक्री भएका आधुनिकतर्फ नारायणगोपाल र लोकगीतबाट कुमार बस्नेतले नगद पुरस्कार समेत पाएका थिए। जुन वेला सञ्चारमन्त्री फत्तेसिंह थारू थिए। रसिककै पालामा संस्थानले स्मारिका पनि प्रकाशन गरेको थियो। ‘प्रिय भाइ बुलुलाई’ लेखेर दिएको पत्रिका मसँग अझै सुरक्षित छ।
संस्थानमा महाप्रबन्धकको कार्यावधि सकिएपछि रसिक दाइ राष्ट्रिय नाचघरको अध्यक्ष र महाप्रबन्धक नियुक्त भए। नाचघरले हल खाली हुन नदिन कलाकार तालीमका साथै दैनिक रूपमा साँझपख सांगीतिक कार्यक्रम गर्न थाल्यो। कमल क्षेत्री, कमला श्रेष्ठ, रविन शर्मा, सूर्य थुलुङ, अशोक चालिसे, अर्जुन चैनपुरे, बुलु मुकारुङ आदि कलाकारले आफ्ना चर्चित गीत गाउँथे भने केही हास्यव्यंग्य प्रहसन, लघुनाटक पनि प्रस्तुत हुन्थ्यो।
रसिकद्वारा लेखिएका र मञ्चन गरिएका नाटकहरू के सक्कली के नक्कली , घरभित्र घरबाहिर , संयोग र अब उज्यालोतिर हुन्। ती सबै नाटक नाचघरमा मञ्चन गरिएका थिए। जसका निर्देशक हरिप्रसाद रिमाल र सहनिर्देशक सम्राट् सापकोटा हुन्। सापकोटाका अनुसार के सक्कली के नक्कली नाटक ४०० पटकभन्दा बढी प्रदर्शन गरिएको थियो। उक्त नाटकलाई बेलायती नाटक द माउस ट्र्याप सँग तुलना गरिएको थियो। तर नेपाली नाटकका समीक्षकले रसिकका नाटकबारे कुनै उल्लेख गरेको पाइँदैन।
साझा प्रकाशनको अध्यक्ष र महाप्रबन्धकको जिम्मेवारीमा रहेकै बखतमा रसिक दाइले इलाममा चियाको व्यवसाय गर्ने योजना बढाए। तर त्यसभन्दा अघि पुतलीसडकमा ‘तरङ्ग-नेपाल’ नामक क्यासेट कम्पनी स्थापना गरी लोक, आधुनिक गीत उत्पादन र बिक्रीवितरणमा लागे। त्यसबाट घाटा भएपछि क्यासेट कम्पनी बन्द गरेर चियाखेतीतर्फ मोडिएका थिए।
चर्चित सिर्जना
‘मागी मीठो खाँदैन चोरी राम्रो लाउँदैन (स्वर : सूर्य थुलुङ), बाँच्न जन्मेको नेपाली म मृत्यु देखेर तर्सिन्नँ (स्वर : रमेश ताम्राकार), मेरो बर्गतले भ्याएसम्म (स्वर : रविन शर्मा), घर छोडी परदेश जाँदा (स्वर : किरण प्रधान) तथा लेकाली समूहले गाएका ‘तराई हेर कति राम्रो हरियो वन हुनाले’, ‘हटी होइन डटी लड्ने नेपालीको बानी हुन्छ’, ‘नेपालमा जन्मिँदै नेपाली हुनेहरू- सुन नेपाली हो’ आदि गीत रसिकका उल्लेखनीय सिर्जना हुन्। यीसँगै ठूले राई, प्रकाश श्रेष्ठ, भैरव खकुरेल, नीलम श्रेष्ठ आदि कलाकारले पनि रसिकका गीति सिर्जना गाएका छन्।
प्रसिद्ध कवि वासु शशीको रचना ‘मसँग एउटा तारा छ मायाको, यसलाई एउटा आकाश देऊ’ (स्वर : कमला श्रेष्ठ र गणेश रसिक, संगीत : गणेश रसिक) पनि लोकप्रिय गीत हो। यस्तै, रसिकले ‘धर्ती आकाश चाहिंदैन’ (रचना : पवन चामलिङ, स्वर : अशोक मुकारुङ), ‘आफैंलाई ढाँट्नु किन’ (रचना : श्रवण मुकारुङ, स्वर : ठूले राई) जस्ता अन्य गीतकारका रचनामा पनि संगीत दिएका छन्।
यस्तै, ‘मेरी सिम्मा बताससँगै उडेर’, ‘सहिदिन्छु कुट बरु वचनले नकुट’ (स्वर : कमला श्रेष्ठ), ‘धेरै सम्झे धेरै हुन्छ’ (स्वर : इन्द्रनारायण), ‘घरबेटी नानी आँगनमा देऊ न मलाई बास’ (स्वर : गणेश रसिक र कमला श्रेष्ठ), ‘हामी धेरै साना छौं, हाम्रो मुटु सानो छ’ (स्वर : राजन रिमाल, रचना/संगीत : गणेश रसिक) आदि उल्लेखनीय गीतहरू हुन्।
रसिकका पुस्तकाकार कृति क्षितिजलाई छुन खोज्दा (कथासंग्रह, २०२४ साल), एउटा सारंगीभित्र (कथासंग्रह, २०२७), मुनिया र उसको छोरो (कथासंग्रह), आकाशगंगाको ओतमुनि (उपन्यास), जब सिस्नुहरू टेक्दै हिंडे , दशगजामा उभिएर , छपक्कै मनमा बसेकाहरू (संस्मरण), ताराभन्दा सपना धेरै (गीतसंग्रह) आदिले नेपाली साहित्यमा छुट्टै प्रभाव छोडेका छन्।
‘नुन जस्तो बिल्ने जिन्दगीलाई ढाकरमा बोकेर’ जस्तो गीत गाएर जीवन नुन जस्तै बिल्दै जाँदै छ भन्ने आत्मबोध गर्ने रसिकले जीवन र संघर्षका थुप्रै गीत गाएका छन्। देशभक्तिका दर्जनौं गीत रचना, संगीत र गायन गरेका छन्।
मरेको लासलाई साथ सबैको मिल्छ
म जिउँदै मरेको छु, मलाई कसले हेर्छ?
वास्तवमा संगीतकर्मी गणेश रसिक दुःखपीडा पचाउने व्यक्ति थिए। अपमान अँगालेर जिउन सक्ने साहसी, हिम्मत नहार्ने, सुदूर भविष्यप्रति आशावादी अनि रिसलाई पैतालामुनि दबाएर राख्न सक्ने शालीन थिए।
उनले जीवनमा एकपछि अर्को वियोग भोगे। २०२७ सालमा बन्दूकबाट बाघ मार्न खोज्दा हलुवाई लालाको मृत्यु भएपछि आत्मग्लानिले बुबाको मृत्यु भयो। त्यसपछि क्रमशः आमाहरूको मृत्यु, कान्छो भाइ समीको आत्महत्या (२०३९), साहिंलो भाइ श्यामकन्को भीरबाट लडेर मृत्यु, माइलो भाइ प्रहरी इन्सपेक्टर प्रजुकुमार राईको माओवादी भिडन्तमा मृत्यु, पछि छोरा निमेषको मृत्यु अनि श्रीमती नीरालाई कोभिडले चुँडेर लगेको थियो। रसिकका अनगिन्ती वेदनाका आँसु-धर्साका डोब गालामा रहेका भए अमूर्त तैलचित्र जस्तै देखिन्थ्यो होला। पीडैपीडाको पहाडले थिचिए पनि उनी विचलित देखिएनन्।
उमेरको असी नजीकै उनलाई स्वास्थ्यले धोका दियो। चिथोर्न, रेट्न थाल्यो। असह्य दुःख-दर्दमा अर्मपर्म नहुने रहेछ। जीवनको अर्थ झेल्नु, भोग्नु र सहनु रहेछ।
क्यान्सरले दिएको कष्टसँग जुध्दाजुध्दै अन्ततः बिदा भए रसिक दाइ।
हजुरबाको रेडियोले जोडेको हार्दिक सांगीतिक दोहोरो तुइन च्याट्टै चुँडिएको छ।