सीमान्तीकृत आवाज केवल गुनासो होइन, शक्तिका रूपमा प्रस्तुत गरिएको पुस्तकले पहिचानको खोजी, संस्कृति र परम्पराको पुनर्पाठ तथा सामाजिक न्यायलाई बल दिएको छ।
लिम्बुवानको भौगोलिक, सांस्कृतिक र सामाजिक परिवेश समेटेर डा. चित्र मावोले पुस्तक लेखेका छन्, डोली भर्ना। लिम्बुवान तथा लिम्बुवानको माटोसँग जोडिएका कथाहरूमा आदिवासी चेतना, पहिचानको खोजी, जातीय संस्कृति र सीमान्तीकृत आवाजलाई सजीव ढंगले चित्रण गरिएको छ। कथाहरूको केन्द्रमा लिम्बू जातिमा प्रचलित परम्परा, विधि, प्रक्रिया, सामाजिक संरचना तथा परिवर्तनशील चेतनाका आयाम छन्।
उदाहरणका रूपमा शीर्षक कथा ‘डोली भर्ना’ लाई नै लिन सकिन्छ। लिम्बू जातिको विवाह संस्कारसँग जोडिएका परम्परागत विधि र अभ्यासको महक पाइन्छ। विवाह र सम्बन्धको निरन्तरता वा विच्छेदका लागि लिम्बू समुदायका आफ्नै रीति, परम्परा र अभ्यास छन्। विवाह महिला र पुरुषको व्यक्तिगत सम्बन्ध भए पनि समुदाय र परिवारसँग जोडिन आइपुग्छ। जसले धन सम्पत्तिभन्दा पनि इमान र इज्जतलाई उच्च प्राथमिकतामा राख्छ।
भलै बदलिंदो समय र परिवेशमा विवाहसँग जोडिएका दृष्टिकोणलाई आलोचनात्मक तरीकाले हेर्न सकिन्छ। तथापि शीर्षक कथाले महिलामाथिको सामाजिक तथा पारिवारिक दबाब र स्वतन्त्रताको प्रयोग दुवै उजागर गरेको छ। जसबाट सिर्जित चुनौती र समस्या लिम्बू समुदायमा भेटिने साझा कथा हुन्।
अर्को कथाले प्रश्न गर्छ- परम्पराको नाममा छोरीचेलीमाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्ने वा वैयक्तिक स्वतन्त्रतालाई सम्मान गर्ने? सामूहिक रूपमा चाहना प्रकट गर्दा एक्लो व्यक्तिमा मनोवैज्ञानिक दबाब पर्छ, प्रतिरोध गर्न सक्दैन। प्रतिरोध नगर्नुलाई स्वीकारोक्तिका रूपमा बुझ्ने चलन छ। तर त्यो स्वीकारोक्ति नभएर तत्कालीन मनोवैज्ञानिक असरको परिणाम मात्र हो, जो अस्थायी हुन्छ।
समयक्रममा यस्तो दबाबको कुनै न कुनै रूपमा प्रतिरोध हुन्छ। त्यसपछि सिर्जित द्वन्द्व र समस्याले चुनौती बढाउँछ। तसर्थ पुस्तकमा समेटिएको ‘परम्पराको नाममा महिलाको मनोविज्ञानलाई बुझ्ने कि नबुझ्ने’ शीर्षकको कथाले परम्परामाथि प्रश्न गरेको छ। यो लिम्बू समुदायको परिवेशलाई लिएर प्रकट भए पनि सबै समुदायमाथि उठाइएको प्रश्न हो।
डोली भर्नाका अन्य कथामा पनि विषयगत विविधता पाइन्छ। सबै कथाको परिवेश लिम्बुवानमै आधारित छ। प्राकृतिक सौन्दर्य, जनजीवन, भाषा, संस्कृति र चालचलनलाई आत्मसात् गरिएको छ। विशेषतः लिम्बू भाषाको प्रयोग, स्थानविशेषका नाम, स्थानीय लोकज्ञान र दैनिक व्यवहारका शैलीहरू कथाको भाषा र शिल्पमा घुलेका छन्।
लिम्बू परिवेशमा देखिने रोचक पक्ष भनेको कुनै पनि व्यक्तिको औपचारिक नाम औपचारिक काममा मात्र प्रयोगमा आउँछ। धेरैलाई कसको नाम के हो भनेर थाहा हुँदैन। थाहा भए पनि उच्चारण गर्दैनन्। उनीहरूको गाउँघरमा बोलाइने छुट्टै नाम हुन्छ। जसरी कथामा चित्रित गरिएको छ, आगे, आगेनी आदि।
कतिपय कथाले आधुनिक तथा औपचारिक नाम माग गरे पनि कथाकारले चलाखी गरेर प्रयोग गरेका छैनन्। गाउँघरकै नाममा कथा बुनेका छन्। जसले गर्दा लिम्बुवानको नाम र लिम्बू जातिको मनोविज्ञान झल्किन्छ।
प्रायः सबै कथाले सामाजिक यथार्थ, लैंगिक असमानता, परम्परा र आधुनिकताको द्वन्द्व, सांस्कृतिक पहिचानको खोजी जस्ता समसामयिक विषयलाई उठान गरेका छन्। तैपनि कतिपय ठाउँमा प्रवाह र संरचनाको शैलीमा सुधारको आवश्यकता देखिन्छ।
कथा आख्यानको एउटा रूप हो, जो आफैंमा कल्पनामा आधारित हुन्छ। कल्पना भन्दैमा परिकथा नै लेखिएका त होइनन्। कुनै घटनाविशेषमा नलेखिएको भए पनि यसमा समेटिएका पात्र र घटना समाजमै आधारित हुन्छन्।
त्यसैले आख्यानमा कुनै पनि घटनाको उठान वा बैठान असम्भव हुँदैन। तर विश्वसनीय बनाउन त्यसका आधारहरू कथाभित्र नै बुन्दै ल्याउनुपर्छ। पूर्व संकेत विना अचानक विकास भएका वा बीचका घटनाक्रम छोडिएका केही कथा पनि छन्। त्यस्ता विषयवस्तुको औचित्य पुष्टि हुँदैन।
कुनै पनि काम, कृति वा सिर्जनामा सुधारको पक्ष सधैं रहन्छ। यो निरन्तर चलिरहने प्रक्रिया पनि हो। त्यसका बावजूद डोली भर्ना गहिरो चेतनाले भरिएको कथासंग्रह हो। यसले सीमान्तीकृत समुदाय, विशेषतः लिम्बू जातिको जीवन, चिन्तन र संघर्षलाई मुखरित गरेको छ। परिवर्तनशील समयसँगै सीमान्तीकृतहरू आफ्नो पहिचानको सवालमा मुखर हुन थालेको संकेत पनि गरेको छ।
सीमान्तीकृत समुदायका महिला, नयाँ पुस्ता, परम्परा र आधुनिकताबीच अलमलिएका व्यक्तिहरूले जीवनको नयाँ बाटो खोजिरहेका छन्। भलै उनीहरू पनि देशका अन्य उत्पीडित तथा किनाराकृतले जस्तै राजनीतिक बेथिति र भ्रष्ट व्यवस्थाको शिकार हुन बाध्य छन्। तैपनि कथाहरूले समता, न्याय र समानताको पक्षपोषण गरेका छन्।
लिम्बू जातिका विशेष सामाजिक संरचनाभित्र पनि चेतनाको उज्यालो फैलिइरहेको डोली भर्नाका कथाले इंगित गरेका छन्। विशेषगरी महिला पात्रहरूमा देखिएको आत्मविश्वास, प्रश्न गर्ने क्षमता र निर्णय लिने आत्मबल पुस्तकले गरेका पैरवीका पक्ष हुन्।
अन्ततः डोली भर्ना केवल कथासंग्रह होइन, लिम्बू जाति र परिवेशको प्रतिविम्ब हो। सीमान्तीकृत आवाज केवल गुनासो होइन, शक्तिका रूपमा प्रस्तुत भएको छ। पहिचानको खोजी, संस्कृति र परम्पराको पुनर्पाठ तथा सामाजिक न्यायको खोजीलाई बल दिएको छ। डा. मावोको यो कृति नेपाली साहित्यमा सीमावर्ती चेतनाको महत्त्वपूर्ण दस्तावेज बनेको छ।