सद्भाव र सदाशय राखे पनि गलत तथ्य र जानकारीका आधारमा बोल्दा अर्थको अनर्थ हुन जान्छ। बुद्ध जयन्तीको समारोहमा बौद्धमार्गीको प्रमुख ग्रन्थ ‘त्रिपिटक’ बारे प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति त्यस्तै भ्रामक थियो।
बसन्त महर्जन
गम्भीर र संवेदनशील विषयवस्तुमा पनि प्रायः हल्काफुल्का टिप्पणी गरिदिन्छन्, प्रधानमन्त्री केपी शर्मा ओली। उखानटुक्का जोडेर हँसाउँछन्। यही कुरामा उनी आलोचित पनि हुन्छन्। प्रधानमन्त्री ओलीको यो शैली विनोदप्रियता हो वा अल्पज्ञान/अज्ञानता, कहिलेकाहीं त ठम्याउनै कठिन हुन्छ। ती अभिव्यक्तिको प्रतिवाद गर्दै सामाजिक सञ्जालमा आउने गरेका टिप्पणीहरूले देखाउँछन्, नागरिक निकै सजग भइसकेका छन्।
गत वैशाख २९ गते लुम्बिनीमा आयोजित बुद्ध जयन्तीको समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले त्यस्तै अधकल्चो कुरा बोले। उनको अभिव्यक्तिबारे सार्वजनिक रूपमा कुनै टिप्पणी र आलोचना नआएपछि दुई कुरा लाग्यो। पहिलो त, यसबारे जानकार व्यक्तिहरूले टिप्पणी गर्नै चाहेनन्। दोस्रो, धेरैजसोलाई त्रिपिटक बारे जानकारी नै भएन।
तर प्रधानमन्त्रीले बोलेको विषयबारे भन्नै पर्ने र त्यस विषयवस्तुबारे सबैले सामान्य जानकारी राख्नु उपयुक्त हुने देखेर यस लेखमा चर्चा गर्दै छु।
प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा बौद्धमार्गीको प्रमुख ग्रन्थ त्रिपिटक बारे बोलेका थिए। उनले जेजति बोले ती तथ्यमा आधारित नभएका मात्रै होइनन्, भ्रम पैदा गर्ने खालका छन्। सद्भाव र सदाशय राखेर बोले पनि गलत तथ्य र जानकारीका आधारमा अभिव्यक्ति दिंदा अर्थको अनर्थ हुन पुग्छ। बौद्ध धर्म र त्रिपिटकबारे गहिरो ज्ञान भएका व्यक्ति हामीकहाँ नभएका हैनन्। तर सर्वसाधारणदेखि प्रधानमन्त्री सहितका कतिपय विशिष्ट व्यक्तिसम्ममा बौद्ध धर्मग्रन्थबारे गलत बुझाइ र भ्रम पाइनुले बौद्ध अध्ययनमा हामी कति कमजोर रहेछौं भन्ने दर्शाउँछ।
गौतम बुद्धका धर्मोपदेशको संग्रहलाई त्रिपिटक भनिन्छ। बुद्धले विभिन्न स्थान र समयमा दिएका उपदेश संकलन गरी बनाइएको तीन पिटक अर्थात् पेटारोको सँगालो नै त्रिपिटक हो। प्रधानमन्त्री ओलीले बुद्धका उपदेश संकलन गर्ने काम उनको महापरिनिर्वाण (इसापूर्व ४८३) पछि भएको बताएका थिए। महापरिनिर्वाणपछि उनका शिष्यहरू भेला भएर उपदेश संकलन गरी सात वर्ष लगाएर कण्ठस्थ पारेको उनको भनाइ थियो, जुन तथ्यसंगत छैन।
वास्तविकता के हो भने, बुद्धका उपदेशहरूको संकलन उनको जीवनकालमै पहिल्यैदेखि होशियारीका साथ भएको थियो। नातामा बुद्धका भाइ पर्ने शिष्य थिए, भिक्षु आनन्द। उनको स्मरणशक्ति तीक्ष्ण थियो। पछि उनी बुद्धका निजी सचिव वा सेवक (उपस्थापक) नियुक्त भए। भिक्षु आनन्द सकभर बुद्धको साथमा हुन्थे र उनले दिएका उपदेशहरू ध्यानपूर्वक सुन्थे। बुद्धले आनन्दको अनुपस्थितिमा कतै उपदेश दिएका रहेछन् भने पनि समय मिलाएर ती उपदेश आनन्दलाई फेरि सुनाउँथे। यस प्रकार बुद्धका सबै उपदेशको जानकारी भिक्षु आनन्दलाई हुन्थ्यो।
संघभित्र के गर्न हुन्छ वा हुँदैन भन्ने नीतिनियम बुद्धले एकैचोटि बनाएर जारी गरेका थिएनन्। उनी आवश्यकता अनुसार नियमहरू बनाउँथे। यी नियमको जानकारी अर्का भिक्षु उपालीले राख्थे। केही समस्या परे अन्य भिक्षुहरू उपालीसँग सोध्न जान्थे।
बुद्धको महापरिनिर्वाणको तीन महीनापछि मगधको राजधानी राजगिरस्थित वेब्भार पर्वतको सप्तपर्णि गुफा क्षेत्रमा ५०० अर्हत् भिक्षुको उपस्थितिमा सात महीना लगाएर पहिलो संगायन सम्पन्न गरिएको थियो। त्यहाँ भिक्षु आनन्द र भिक्षु उपालीको स्मृतिमा रहेका उपदेश तथा विनयहरूको पुनर्वाचन तथा अनुमोदन गरिएको थियो। जसबाट त्रिपिटक मध्येका ‘सूत्रपिटक’ र ‘विनयपिटक’ तयार भए।
भगवान् बुद्धले त्रायंतीश देवलोकमा देशना गरेको ‘अभिधम्म’ सम्बन्धी उपदेश बुद्धले त्यही वेला प्रज्ञावान् भिक्षु सारिपुत्रलाई सुनाएका थिए। सारिपुत्रले ती उपदेश सांकाश्य नगरमा सयौं भिक्षु समक्ष देशना गरेका थिए भन्ने मान्यता बौद्ध समाजमा पाइन्छ। यसरी बौद्ध धर्मदर्शनका कुरा सूत्र, विनय र अभिधम्म गरी तीन भागमा वर्गीकरण गरेर समुच्च रूपमा त्रिपिटक को निर्माण गरियो। त्यस वेला त्रिपिटक लिखित रूपमा थिएन। कण्ठस्थ पार्ने गरिन्थ्यो।
त्रिपिटक पहिलो पटक सिंहाली भाषामा लिपिबद्ध गरिएको थियो। इसापूर्व २९ मा श्रीलंकाका राजा वट्टगामिनीको शासनकालमा ५०० अर्हत् भिक्षुको प्रयासमा लेखिएको थियो। पाँचौं शताब्दीसम्म आइपुग्दा भारतमा त्रिपिटक को प्रचलन कमजोर भइसकेको थियो। त्यस वेला आचार्य बुद्धघोष श्रीलंका गई त्रिपिटक को अध्ययन गरी त्यसलाई बुद्धकालीन पालि भाषामा रूपान्तरण गरी प्रचलनमा ल्याएका थिए। अहिलेसम्म यही त्रिपिटक प्रचलनमा छ।
त्रिपिटक को निर्माणबारे माथि चर्चा गरिएका तथ्य बौद्ध ग्रन्थहरूमा आधारित हुन्। यससँग बाझिनेगरी कतै उल्लेख नभएको मनगढन्ते कुरा प्रधानमन्त्री ओलीले लुम्बिनीमा सुनाए। उनका अनुसार बुद्धको महापरिनिर्वाणपछि संकलित उपदेशहरू लिखित थिएनन् र भिक्षु आनन्दले तक्षशिला (प्राचीन भारतको प्रसिद्ध शिक्षाकेन्द्र, हाल पाकिस्तानको भूमि) गएर लिपि तथा गणितशास्त्र सिकेर पहिलो पल्ट भोजपत्रमा लिखित रूपमा राखेका हुन्। उनले अझ एक पाइला अगाडि बढेर भोजपत्रमा लेखिएको उक्त मौलिक त्रिपिटक भारतको पटना म्यूजियममा भएको बताए।
तर यी सबै कुरा गलत र मनगढन्ते हुन्। भोजपत्रमा लेखिएको त्रिपिटक पटना म्यूजियममा छैन। यस्तै, तक्षशिला गौतम बुद्धको समयमै प्रसिद्ध भए पनि भिक्षु आनन्द त्यहाँ गएको प्रामाणिक इतिहास भेटिन्न। भिक्षु आनन्द त अधिकतर समय बुद्धसँगै रहे, र बुद्धको शिक्षाको स्मरण र प्रचारमा सक्रिय थिए। बरु बुद्धको जीवनकालमै बौद्ध धर्म तक्षशिला लगायत क्षेत्रमा पुगिसकेको थियो। त्यहाँका एक राजा बुद्धलाई भेट्न आएर भिक्षुत्व ग्रहण गरेका पनि थिए।
आफ्ना भिक्षुहरूसँग बसेका गौतम बुद्धको चित्रण गरिएको भित्ते कला, तिन्ह जा न्गोक चाउ बौद्ध मन्दिर, भियतनाम।
त्रिपिटक ८४ हजार धर्मस्कन्धको संकलन हो। तीमध्ये दुई हजार धर्मस्कन्ध बुद्धद्वारा देशित उपदेश नभएर अन्य भिक्षुहरूबाट देशित र बुद्धद्वारा अनुमोदन गरिएका हुन्। यी उपदेश वा त्रिपिटक एउटा सिंगो ग्रन्थ होइन, विभिन्न साना-ठूला ग्रन्थमा विभक्त भागको संयुक्त नाम हो। यो जानकारी नहुँदा कतिपयले इसाईको बाइबल, इस्लामको कुरान, हिन्दूको वेद वा गीता मागे जस्तै एउटा त्रिपिटक दिनुस् न भन्ने गरेको पाइन्छ।
त्रिपिटक को संरचना तीन वटा पिटकमा बाँडिएको त भयो नै, यी तीन पिटकमा पनि सूत्रपिटक अन्तर्गत दीघनिकाय, मज्झिमनिकाय, संयुक्तनिकाय र अङ्गूत्तरनिकाय नामका बृहत् ग्रन्थहरू छन्। लामो आकारमा सूत्रको संकलनलाई दीघनिकाय, मझौला आकारका सूत्रको सँगालोलाई मज्झिमनिकाय र साना सूत्रहरूको संकलन रहेको तर अरूभन्दा बृहत् आकारको निकायग्रन्थलाई संयुक्त निकाय नाम दिइएको छ।
यस्तै, अङ्गूत्तर निकायमा विषयवस्तु हेरी विभिन्न खण्डमा छुट्याइएको छ। खुद्दकनिकाय एउटै ग्रन्थ नभएर यसभित्र विभिन्न ग्रन्थ छन्। यसमा खुद्दकपाठ, धम्मपद, उदान, इतिवुत्तक, सुत्तनिपात, विमानवत्थु, पेतवत्थु, थेरगाथा, थेरीगाथा, जातक, निद्देश अन्तर्गत महानिद्देश र चुल्लनिद्देश, पटिसम्भिदामग्ग, अपदान, बुद्धवंश र चरियापिटक नामका ग्रन्थ पर्छन्।
विनयपिटकमा भिक्षु, भिक्षुणी तथा संघको सञ्चालनका लागि आवश्यक साना-ठूला नीतिनियमको संकलन छ। यसभित्र पाराजिकापालि, पाचित्तियपालि, महावग्गपालि, चुल्लवग्गपालि र परिवारपालि गरी पाँच वटा ग्रन्थ छन्। यस्तै, अभिधम्मपिटकमा मूलतः दार्शनिक ग्रन्थहरू राखिएका छन्। यस अन्तर्गत धम्मसङ्गणिपालि, विभङ्गपालि, धातुकथापालि, पुग्गलपञ्ञत्ति, कथावत्थुपालि, यमकपालि, पठ्ठानपालि छन्।
एउटै भाषामा सम्पूर्ण त्रिपिटक को अनुवाद थोरै मात्र भएको पाइन्छ। गहन अध्ययन गर्नेहरू पालि भाषा सिकेर मौलिक त्रिपिटक कै अध्ययनमा लाग्ने भएकाले यसको अनुवाद गर्नु आवश्यक नै महसूस गरिएन। सम्पूर्ण ग्रन्थको अनुवाद केही शताब्दीअघि चिनियाँ र तिब्बती भाषामा र सय-डेढ सय वर्षअघि अंग्रेजी, बर्मेली लगायत केही भाषामा मात्रै भएको थियो।
सम्पूर्ण त्रिपिटक को अनुवाद हालसम्म भारतका कुनै पनि भाषामा भएको छैन। हिन्दीमा सूत्रपिटकका दीघनिकाय, मज्झिमनिकाय, अङ्गूत्तरनिकाय लगायत केही ग्रन्थको मात्रै अनुवाद प्रकाशन भएको छ। राहुल सांकृत्यायनले अनुवाद गरेको विनयपिटक पनि सम्पूर्ण होइन। तर नेपालमा त्रिपिटक का धेरैजसो ग्रन्थ नेपालभाषामा अनुवाद भइसकेर कुनै प्रकाशन भइसकेका छन् भने कुनै अनुवाद भई सम्पादन र प्रकाशनको चरणमा छन्। बाँकी केही ग्रन्थको अनुवाद पनि भइरहेको बुझिन्छ। यस्तै, नेपाली भाषामा दीघनिकाय, मज्झिमनिकाय र खुद्दकनिकाय अन्तर्गतका धम्मपद, जातक तथा अन्य केही ग्रन्थ प्रकाशन भइसकेका छन्। धम्मपद नेपाली र नेपालभाषाका साथै तामाङ, गुरुङ, मगर, थारू भाषामा अनुवाद भई प्रकाशनमा आइसकेको छ।
त्रिपिटक पालि भाषामा मात्रै भएको र यसमा गौतम बुद्धका उपदेशहरू मात्र छन् भन्ने बुझाइ नेपाल र भारतमा व्याप्त छ। तर यो गलत बुझाइ हो। गौतम बुद्धको महापरिनिर्वाणपछि देखा परेको एउटा सम्प्रदाय हो, सर्वास्तिवाद। यस सम्प्रदायले त्रिपिटक लाई संस्कृत भाषामा तयार पारेको थियो। उनीहरूले निकायलाई ‘आगम ग्रन्थ’ भन्न थाले। यस अनुसार दीर्घागम, मज्झिमागम आदि नाम दिए। थोरै सूत्र यताउता परेको पनि पाइन्छ।
अन्य सम्प्रदायले पनि त्रिपिटक ग्रन्थलाई नै आधार मानेर आआफ्नो वाङ्मय बनाएको पाइन्छ। पालि त्रिपिटक कै सूत्रहरू अन्य सम्प्रदायका वाङ्मयहरूमा छरिएको पाइन्छ र पालि त्रिपिटक जस्तै एकमुस्ट नदेखिने भएर त्यहाँ त्रिपिटक छैन भन्ने भ्रम पनि छ। यस्तै, अन्य सम्प्रदायले बुद्धवचनकै रूपमा लिने बौद्ध धर्मदर्शनका ग्रन्थराशि पालि त्रिपिटक मा पाइँदैन। यसकारण बौद्ध धर्मग्रन्थहरूलाई प्राज्ञिक रूपमा अध्ययन गर्दा विभिन्न धार्मिक सम्प्रदायमा आबद्ध बौद्ध उपासक-उपासिकाको दृष्टिकोणभन्दा फरक धारणा निस्किन्छ।
त्रिपिटक तथा अन्य बौद्ध ग्रन्थको धार्मिक महत्त्व आफ्नो ठाउँमा छ, यिनको ऐतिहासिक अनुशीलन पनि गर्न सकिन्छ। भारतको प्रामाणिक इतिहासको निर्क्यौल बौद्ध तथा जैन धर्मग्रन्थहरूको मद्दतबाट भएको यहाँ स्मरणीय छ। कतिपय धार्मिक आस्था, मान्यता र विश्वासलाई केलाउँदा तथा स्थलगत अध्ययन गर्दा बौद्ध तथा जैन ग्रन्थहरू इतिहास अध्ययनको महत्त्वपूर्ण स्रोत रहेको देखिन्छ। स्थान, स्थानहरूको वर्णन, विभिन्न स्थानको दूरी तथा त्यहाँको भौगोलिक तथा सांस्कृतिक वर्णन यी ग्रन्थको अध्ययनबाट सम्भव हुन्छ। बौद्ध ग्रन्थहरूको प्रामाणिकताको अर्को आधार के हो भने, यो एकपक्षीय छैन। दुई हजार वर्षअघि नै चिनियाँ भाषामा पनि अनुवाद भई उता सुरक्षित छ।
यी पनि पढ्नुहोस् -