गुरु-गरिमा बताउने बुद्धको धर्मचक्र प्रवर्तन
गौतम बुद्धले पहिलो धर्मोपदेश दिएको स्मृतिमा मनाइने धर्मचक्र प्रवर्तन दिवसले शिक्षाको महत्त्व बुझाउनुका साथै गुरुको गरिमा र गुरुपूजाको सार्थकता झल्काउँछ।
बसन्त महर्जन
गौतम बुद्धको जीवनमा पूर्णिमाको संयोग विशेष रूपमा गाँसिएको छ। उनको जन्म, ज्ञानप्राप्ति र महापरिनिर्वाण वैशाख पूर्णिमाकै तिथिमा भएको थियो। उनले वैशाख पूर्णिमा (इपू ५२८) मा बुद्धत्व लाभ गरे पनि तत्कालै ज्ञान प्रचार गरेनन्।
ज्ञान प्राप्तिको झन्डै दुई महीनापछि पहिलो धर्मोपदेश असार पूर्णिमाको दिन दिएका थिए, जसलाई धर्मचक्र प्रवर्तन भनिन्छ। त्यसैको सम्झनामा असार पूर्णिमामा बौद्ध धर्मावलम्बीहरू धर्मचक्र प्रवर्तन दिवस मनाउँछन्। बौद्धहरूका लागि यो दिनको ठूलो महत्त्व छ।
बौद्धहरूले प्रत्येक दिन गर्ने बुद्ध वन्दना हो, ‘इतिपि सो भगवा अरहं ...।’ बुद्धका नौ वटा गुणको वर्णन गरिएको वन्दनामा बुद्धलाई ‘सत्था देव र मनुस्सानं’ भनिएको छ। अर्थात्, देवता र मनुष्यहरूका मार्गदर्शक वा गुरु। यसै दिनलाई गुरुपूर्णिमा भन्दै गुरुको पूजा गर्ने चलन पनि छ।
असार पूर्णिमाको दिन शाक्यमुनि बुद्धको विभिन्न संयोग परेको छ। यही दिन उनी घरगृहस्थी छाडेर सन्न्यासी बनी ज्ञानको खोजीमा निस्केका थिए। यसलाई महाभिनिष्क्रमण भनिन्छ। अरू संयोग रहे पनि धर्मचक्र प्रवर्तन निकै महत्त्वपूर्ण घटना हो। महाभिनिष्क्रमण र बुद्धत्व लाभसम्मका ६ वर्ष उनका संघर्षमय दिनहरू थिए। बुद्धत्व लाभको दुई महीनापछि मात्रै पहिलो धर्मोपदेश दिए। धर्मदेशना (उपदेश)का लागि सहम्पति नामका ब्रह्मा देवताले याचना गरेका थिए। सर्वप्रथम कसलाई धर्मदेशना गरूँ भनेर सोच्दा त्यस वेलाका कहलिएका आध्यात्मिक गुरुहरू आलारकालाम र उद्दकरामपुत्रलाई सम्झिए।
बुद्धत्व प्राप्त गर्नुअघि साधनाको क्रममा गौतमले यी दुई गुरुसँग ध्यान विधि सिकेका थिए। उनीहरूले आफूले जानेको जम्मै विधि सिकाए पनि उनी त्यसबाट सन्तुष्ट हुन नसकेर एक्लै साधना गर्न हिंडेका थिए। बुद्धत्व प्राप्त गरेपछि उनलाई आफूले प्राप्त गरेको नौलो ज्ञानलाई आलारकालाम र उद्दकरामपुत्रले चाँडै सिक्छन् भन्ने लागेर तिनको खोजी गरे। तर ती दुवैको मृत्यु भइसकेको थाहा पाए।
त्यसपछि पहिलो धर्मोपदेशका लागि पञ्चभद्रवर्गीय भिक्षुहरूलाई सम्झिए। तिनमा सबैभन्दा जेठा कौण्डन्य थिए। कौण्डन्य तिनै ज्योतिषी थिए, जसले मायादेवीको गर्भमा गौतम प्रवेश गर्दा कपिलवस्तु गणराज्यमा पुगेर स्वप्नफल बताउने क्रममा यो शिशुले एउटा उमेरमा घर छाड्ने र बुद्ध नै बन्ने भविष्यवाणी गरेका थिए। जबकि स्वप्नफल बताउन गएका अन्य पाँच ज्योतिषीले गृहस्थ भए चक्रवर्ती राजा र सन्न्यासी भए बुद्ध हुने बताएका थिए।
राजकुमार सिद्धार्थले ज्ञान प्राप्तिका लागि घर छाडेको खबर सुनेर सम्भवतः सबैभन्दा बढी खुशी यिनै कौण्डन्य थिए। एकातिर आफ्नो भविष्यवाणी सही सावित भएको थियो, अर्कातिर बुद्धत्व प्राप्त गरेपछिको उपदेश सुन्न पाइने भयो भनेर खुशी हुँदै उनले पहिले स्वप्नफल बताउन गएका पाँच जना साथीको घर गएर तीमध्ये चार जनाका छोराहरूलाई सन्न्यासी हुन प्रेरित गरे। यस प्रकार कौण्डन्य सहित पाँच जनालाई पञ्चभद्रवर्गीय भिक्षु भनिन्छ।
ती सन्न्यासीहरू पहिले गौतमसँगै साधना गर्थे। गौतमले आहारविहारमा नियन्त्रण गर्दै तपस्या गरेका थिए। तर तपस्याबाट कुनै लाभ नभएपछि ध्यान साधना गर्ने विचार गरे। ध्यान साधनाका लागि जीर्ण शरीर ठीक पार्न उनले उचित मात्राको भोजन लिन थाल्दा उनीमाथि अविश्वास गर्दै पाँचै सन्न्यासीले छाडेर हिंडेका थिए। अन्ततः ध्यान साधनाबाटै उनलाई बुद्धत्व प्राप्त भयो।
.jpg)
गौतम बुद्ध सारनाथको ऋषिपतन मृगदावन गएर तिनै पाँच सन्न्यासीलाई प्रथम धर्मोपदेश (धर्मचक्र प्रवर्तन) दिए। धर्मचक्र प्रवर्तनमा बुद्धलाई विशेष स्मरण गरिने त भइहाल्यो, यस बाहेक बौद्धहरूले प्रत्येक दिन बुद्ध, धर्म, संघ, आमाबाबु र गुरुलाई सम्झनुपर्छ। शिक्षादीक्षा दिने गुरुको महत्व कति रहेछ भनेर यसले जनाउँछ।
गुरु कसलाई मान्ने? हिजोआजको बुझाइ अनुसार स्कूल र कलेजमा पढाउनेलाई गुरु मानिन्छ र असार पूर्णिमाको दिन तिनलाई सम्झने र आदर सम्मान प्रकट गर्ने चलन छ। तर शिक्षणमा आबद्ध व्यक्तिहरूले गुरुको गरिमालाई विरलै धानेका छन्, शिक्षण कर्म पेशामै सीमित देखिन्छ। गुरु-शिष्यको सम्बन्धबारे बौद्धका साथै हिन्दू र जैन धर्ममा बडो घतलाग्दो वर्णन पाइन्छ। आमाबाबुले छोराछोरीको जसरी रेखदेख गर्छन्, गुरुले पनि त्यस्तै गर्नुपर्ने गुरुको आदर्श मानिन्छ। शिष्यले पनि गुरुलाई त्यही प्रकारले अवलम्बन गर्ने हो।
गौतम बुद्धले पनि आफ्ना शिष्य (भिक्षु)लाई पुत्र भनेर सम्बोधन गरेको पाइन्छ। बौद्ध भिक्षुहरूलाई ‘शाक्यपुत्र’ भनिनुको कारण यही हो। गौतम बुद्धकी सानीआमा प्रजापति गौतमी पछि बुद्धकहाँ भिक्षुणी बन्न गएकी थिइन्। एक सन्दर्भमा तिनले जन्मले आफू बुद्धको आमा समान भएको तर धर्मले पुत्री हुँ भनेको पाइन्छ। यी सन्दर्भले गुरुको महिमा बताउँछ।
असल गुरुले मार्गदर्शन गराउँछ भने गलत गुरुका कारण शिष्यले समस्या र हैरानी भोग्नुपर्ने हुन्छ। यस सन्दर्भमा बुद्धकालीन एउटा घटना सान्दर्भिक छ। एक गुरुकुलमा अहिंसक नामका एक मेधावी छात्र थिए। उनी हिंसातिर प्रवृत्त हुने भविष्यवाणी भएकाले त्यसबाट विमुख होस् भनी आमाबाबुले उनको नामै अहिंसक राखेका थिए। शिक्षामा उनको लगनशीलता देखेर गुरु-गुरुआमा खुशी थिए। तर सहपाठीहरूमा ईर्ष्याभाव थियो।
गुरुआमा र अहिंसकबीच अनैतिक सम्बन्ध रहेको हल्ला फैलाइए। गुरुले पनि त्यस्तै शंका गर्न थाले। अहिंसकसँग गुरुदक्षिणास्वरूप हजार मानिसको दायाँ हातको बूढीऔंला ल्याउन भने। त्यति धेरै मान्छेको ज्यान लिएर औंला संकलन गरुन्जेल कसै न कसैले उसको हत्या गरिदिन्छन् भन्ने सोच गुरुको थियो।
मान्छेहरूको ज्यान लिएर औंला काट्दै संकलन गर्ने क्रममा औंलाहरूको माला नै लगाउन पुगे र उनको नाम नै अंगुलीमाल बन्न पुुग्यो। तिनको भेट गौतम बुद्धसँग भयो। बुद्धको उपदेश बुझ्न सके। पश्चात्ताप गर्दै बुद्धको शिष्यत्व ग्रहण गरे। गुरु-शिष्यको सम्बन्धमा यो एउटा राम्रो दृष्टान्त हो।

गुरु-शिष्य सम्बन्धमा एघारौं शताब्दीका दुई तिब्बती चरित्र लोचवा मारमा र महासिद्ध मिलारेपाको सम्बन्ध पनि चाखलाग्दो छ। काका र फुपूहरूको अन्यायमा परेका मिलारेपाले कालो जादू सिकेर मान्छे मारेका थिए। आफूबाट ठूलो पाप भएको भन्दै उनी पश्चात्ताप गर्दै गुरु मारपाको शरणमा पुुगे। मारपाले उनलाई शिष्यका रूपमा ग्रहण त गरे, तर अपेक्षा गरे अनुसार कुनै पनि कुरा तुरुन्तै सिकाएनन्। बरु अनेकौं काम अह्राएर दिनुसम्म दुःख दिए।
त्यसभित्रको यथार्थ चाहिं के थियो भने, शिष्यले ठूलै पाप गरेर आएको र त्यो दोष नमेटाई धर्मको साधना सिकाएर केही उपलब्धि नहुने बुझेर करुणा राखेर नै गुरुले त्यसरी दुःख दिएका थिए। आफ्नो शिष्यले कठिन साधना गर्न सक्ने र सिद्धत्व लाभ गर्ने सम्भावना देखेरै त्यस प्रकारको कौशल अपनाएको भनेर पछि प्रस्ट हुन्छ। गुरु मारपाका अनुसार उनको सबैभन्दा प्रिय शिष्य मिलारेपा नै थिए।
पूर्वीय शिक्षा परम्परामा व्यापारको रत्तिभर गन्ध थिएन, तर वर्तमानमा शिक्षण संस्थाहरू व्यापार केन्द्रमा परिणत भएका छन्। आजका अधिकतर शिक्षक र प्राध्यापकहरू पूर्वीय मूल्यमान्यताको गुरुको गरिमासँग कुनै सम्बन्ध राख्दैनन्। यिनीहरूले गुरुपूजा थाप्नु कदापि सुहाउने कुरा होइन।
गुरुको गरिमा बोकेका आदर्श गुरु र विनयशील शिष्य वर्ग वर्तमानमा हुँदै नभएका होइनन्। ती विद्यालय, विश्वविद्यालयमा नभएर अनौपचारिक क्षेत्रमा पाइन्छन्। त्यो परम्परा बौद्ध, हिन्दू, जैन, इसाई, इस्लाम आदि क्षेत्रले र व्यक्तिगत तवरले धानिरहेको छ।
शिक्षा आफ्नो र अरूको पनि कल्याणहेतु हुनुपर्छ। गौतम बुद्धले धर्मचक्र प्रवर्तन गरेर जुन शिक्षा दिए, त्यो सबैको कल्याणकै लागि हो। बुद्धको शिक्षाबाट लाभ पाएकाहरू पनि मानव कल्याणकै लागि त्यो शिक्षाको प्रचारप्रसारमा लागेका हुन्। धर्मचक्र प्रवर्तन दिवसले शिक्षाको महत्त्व बुझाउनुका साथै गुरुको गरिमा र गुरुपूजाको सार्थकता झल्काउँछ।