‘काठमाडौं-तराई द्रुतमार्गको काममा गिट्टी-बालुवाको अवैध उत्खनन’ शीर्षकमा प्रकाशित समाचारप्रति खण्डन।
हिमालखबर डटकममा गत वैशाख २८ गते ‘काठमाडौं-तराई द्रुतमार्गको काममा गिट्टी-बालुवाको अवैध उत्खनन’ शीर्षकमा प्रकाशित समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ। उक्त समाचार सामग्रीमा मेरो नाम समावेश गरिएकामा यसबारे मेरो बुँदागत प्रतिक्रिया एवम् खण्डन देहाय अनुसार छन्।
१) नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको उच्च प्राथमिकता प्राप्त काठमाडौं-तराई/मधेश द्रुतमार्ग आयोजनाको प्याकेज नम्बर KTFT/ICB/WORKS/TUNNWL/080/081/10 अन्तर्गतको निर्माण व्यवसायी सीओभीईसी–सीआरईजीसी जेभीले आवश्यक प्रक्रिया पूरा गरी ढुंगा, गिट्टी, बालुवा लगायत निर्माण सामग्रीको कानूनी प्रक्रिया पूरा गरी स्थानीय सरकारलाई समेत राजस्व बुझाएर राष्ट्रिय गौरवको आयोजनाका निम्ति विधि प्रक्रिया पुर्याएर गरिएको उत्खनन आफैंमा वैध छ। केही व्यक्ति, समूहको लहैलहैमा लागेर गलत सूचना समाचार सम्प्रेषण गरी यसलाई अवैध भन्ने अधिकार कसैलाई नभएकाले कानूनको दृष्टिमा पनि खारेजको माग गर्दछु।
२) प्रकाशित सामग्रीमा ‘काठमाडौं-तराई द्रुतमार्गको काममा गिट्टी, बालुवाको अवैध उत्खनन’ भन्ने कुरामा मेरो पूर्ण असहमति छ। बुझाएको राजस्वको गिट्टी, ढुंगा, बालुवा संकलन प्रक्रिया शुरू भएको मात्र छ र हाम्रो आयोजनाले प्रयोग गर्न अझै केही समय लाग्नेछ। साथै, कहींकतै अवैध उत्खनन नभएको पनि स्पष्ट पार्दछु।
३) प्रकाशित सामग्रीमा वास्तविकता नबुझी अनुमति लिएको र सम्झौता भएकोभन्दा फरक स्थानबाट उत्खनन भइरहेको छ भन्ने भ्रामक समाचार सम्प्रेषण गरिएकामा मेरो पूर्ण असहमति छ।
४) समाचार सामग्रीमा प्रवेश गर्दा शीर्षकभन्दा बाहिर गएर सम्मानित अदालतले निर्दोष सावित भनी गरेको फैसलालाई चुनौती दिंदै मेरो अनुमति बेगर मेरो तस्वीर प्रकाशन गरी मेरो चरित्रहत्या, मानमर्दन, सामाजिक प्रतिष्ठामाथि आँच आउनेगरी गलत मनसाय राखेर समाचार सम्प्रेषण गरेकामा मेरो पूर्ण असहमति छ।
५) समाचारमा उत्खनन गरिएको ढुंगा, गिट्टी, बालुवा बगुवा खोलाको खेलमैदानमा थुपारिएको भन्ने भ्रमपूर्ण समाचारप्रति असहमति जनाउँदै सो थुपारिएको जग्गा खेलमैदान नभई व्यक्तिको भएको जानकारी गराउँदछु। उक्त स्थानमा क्रसर राख्न खोज्दा स्थानीयले चर्को विरोध गरेको भन्ने भ्रमपूर्ण समाचारप्रति पूर्ण असहमति जनाउँदै कुनै पनि विरोध नभएको जानकारी गराउँदछु।
६) मेरो व्यक्तिगत चरित्रमा आँच आउनेगरी मलाई विकास-निर्माणका योजना हत्याउने र गुन्डागर्दीमा संलग्न रहँदै आएको भन्ने गलत प्रसारण गरिएको समाचारप्रति मेरो पूर्ण असहमति रहेको र अहिलेसम्म कुनै पनि जग्गा बिक्री गर्दा र कुनै पनि परियोजना सञ्चालन गर्दा कुनै व्यक्ति वा संस्थासँग कुनै प्रकारको रकम नलिएको स्पष्ट पार्दै मैले कुन व्यक्ति वा संस्था वा परियोजना कुन ठाउँ र कुन समयमा लिएको हो, यो कुराको स्पष्ट प्रमाण सहित स्पष्ट पार्न अनिवार्य छ।
७) मेरो नामसँग जोडेर संविधानसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनबहादुर अमात्य र माननीय उदयशमशेर राणाको नाम जोडेकामा मेरो पूर्ण असहमति छ।
८) उक्त समाचारमा बागमती गाउँपालिकाका अध्यक्ष आफैं बालुवाखानी सञ्चालक हुन्, भट्टेडाँडामा करीब चार रोपनी क्षेत्रफलमा उनको बालुवाखानी छ भनी कपोलकल्पित झूटो समाचारप्रति पूर्ण असहमति जनाउँदै त्यस्तो कुनै बालुवाखानी नरहेको स्पष्ट पार्दछु।
९) बालुवा निकाल्न नदिंदा म र मेरा मानिसले हातहतियार देखाउँदै धम्की दिएको भन्ने कुराप्रति पूर्ण असहमति जनाउँदै सो समाचार झूटो रहेको स्पष्ट पार्न चाहन्छु।
१०) समाचारभित्र विभिन्न जनप्रतिनिधि र मेरो चरित्रहत्या गर्ने कार्यप्रति म पूर्ण असहमति जनाउँछु। प्रेस काउन्सिलमा उल्लेख भएको र नेपालको संविधान अनुसार गोपनीयता हनन, व्यक्तिगत चरित्रहत्या र सामाजिक प्रतिष्ठामाथि धावा बोल्नेगरी प्रकाशन भएको भ्रामक समाचारले सत्यतथ्यपूर्ण सूचना पाउने हकलाई समेत वञ्चित गर्ने भएकाले उक्त समाचार खारेज गर्न विनम्र अनुरोध गर्दछु।
- सुनबहादुर लामा
बागमती गाउँपालिका-४, प्युटार, ललितपुर।