“अब दशैंमा टीका लगाउँदा पनि ‘खेती गर्नू, किसान हुनू, खेतबारी बाँझो नराख्नू, हराभरा पार्नू’ भन्नुपर्छ।”
नेपाली हास्यव्यंग्य जगत्मा छुट्टै पहिचान बनाएका कलाकार हरिवंश आचार्य को अभिनय रहेको फिल्म भूठान हालै प्रदर्शन भएको छ। यस फिल्मले समीक्षकबाट प्रशंसा बटुलेको छ।
पाँच दशकदेखि कला क्षेत्रसँगै लेखनमा सक्रिय आचार्य सामाजिक क्रियाकलापमा पनि संलग्न हुँदै आएका छन्। कलासँगै समाज र राजनीतिलाई पनि नजीकबाट नियाल्दै आएका आचार्यसँग हिमालखबर का लागि अन्शु खनाल ले गरेको कुराकानी :
कुराकानीको शुरूआत भूठान फिल्मबाटै गरौं। तपाईंको अभिनय रहेको फिल्म भूठान हालै प्रदर्शन भएको छ। समीक्षकले प्रशंसा गरेका छन्। यस फिल्ममा कसरी जोडिनुभयो?
झन्डै ४० वर्षअघि भूटानी शरणार्थी नेपाल आएका थिए। त्यस वेलादेखि नै हामी भूटानी शरणार्थीसँग अलि नजीक थियौं। शुरूआतमा संयुक्त राष्ट्रसंघ र सामाजिक संघसंस्थाको उपस्थिति थिएन। त्यति वेला मुठीदानको भरमा बाँचिरहेको थिए। त्यो वेला हामीले विज्ञापन नाटक देखाएर ८१-८२ हजार रुपैयाँ संकलन गर्यौं। उनीहरूलाई खाद्यान्न किनेर दिएका थियौं। उनीहरूले अझै त्यो कुरा बिर्सेका रहेनछन्। अहिले त अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्यूजिल्यान्ड लगायत देशमा बसोबास गर्छन्।
फेरि नेपालीभाषी भूटानी र हामीमा केही फरक नै छैन। थर, गोत्र, जात नेपालमा जेजस्ता छन्, त्यहाँ पनि छन्। उनीहरूलाई परेको समस्या हामीलाई नै परेको समस्या भनेर बुझ्नुपर्छ। हुनत आजभोलि आफ्नै घरको समस्या पनि दाइलाई पर्यो भने भाइलाई मतलब छैन, भाइलाई पर्यो भने दाइलाई मतलब छैन। तैपनि एउटै भाषाको नाताले अलिकति नजीक हुन खोजिरहेका थियौं।
भूटानी शरणार्थी जो शिविरमै जन्मिए, अहिले युवा भइसके। सानो सानो छँदा शिविरमा आएका व्यक्तिहरूलाई भूटानको त्यति धेरै सम्झना छैन होला। अहिले त एउटा सम्पन्न देशमा पुगेका छन्। राम्रोसँग पढेका छन्। प्रगति, उन्नति पनि गरेका छन्। विकसित देशमा बस्न पाउँदा भौतिक रूपमा सबै चिज छ, तर मनमा चाहिं सबै आफ्नो खेतबारी, छोडेर आएको घर, नातागोता, समाज, धर्म छ। सबै चिजबाट कुण्ठित भएर बसेका छन्।
विशेष गरेर मेरो उमेरका मान्छेको अंग्रेजी भाषा पनि त्यति राम्रो छैन। विदेशमा बस्नका लागि सबै थोक त छ, तर इच्छा चाहिं भूटान नै जान पाए हुन्थ्यो भन्ने छ। फेरि मेरै जमीनमा खेती गर्न पाए हुन्थ्यो, मेरै घरमा बस्न पाए हुन्थ्यो भन्ने आकांक्षा छ।
कतिपय मान्छे भूटानबाट भाग्दा देशको माटो लिएर आएका छन्। झोलामा, कोटको खल्तीमा माटो राखेर हिंडिरहने मान्छे पनि छन्। कतिपय बूढाबूढीले आत्महत्या गर्नुभएको छ, त्यही माटाको टीका लगाएर। भूटानी शरणार्थीभित्र त्यस्तो कथा रहेछ। मलाई त्यसबारे बन्ने फिल्म खेल्ने प्रस्ताव आयो।
भूठान फिल्मका निर्देशक तथा लेखक विनोद पौडेलले यसअघि बुलबुल फिल्म बनाएका थिए। त्यो फिल्म हेर्दा राम्रै निर्देशक रहेछन् भन्ने मनमा लागिरहेको थियो। उनको नाम जोडिएपछि मलाई रुचि लाग्यो। के रहेछ, एक चोटि कथा पढौं न त भनेर मैले दोहोर्याई पढें। पढिसकेपछि चाहिं यसमा केही काम देखाउन पाइन्छ भन्ने आशा लाग्यो।
हास्यव्यंग्य क्षेत्रमा मेरो एउटा ‘इमेज’ छ। हुनत मैले पहिले बलिदान फिल्ममा पनि काम गरेको थिएँ, अनि महापुरुष मा पनि। तर यस उमेरमा चाहिं मलाई हास्यव्यंग्यभन्दा फरक किसिमको भूमिका गर्न पाए हुन्थ्यो भन्ने लागिरहेको थियो। त्यसैले यसमा काम देखाउन सक्छु कि जस्तो आशा लाग्यो। त्यसैले भूठान खेल्छु भनें।
भूठान फिल्ममा हरिवंश आचार्य।
तपाईं त कला क्षेत्रसँगै सामाजिक क्रियाकलापमा पनि संलग्न भइराख्नुहुन्छ। कलाकारको समाजप्रति कस्तो दायित्व हुन्छ?
कलाकारको अनुहार सबैले चिन्छन्। आममानिसले कलाकारको सिको गर्छन्। कलाकार कस्ता लुगा लगाउँछन्, मान्छेले त्यस्तै लुगा किन्छन्। कपालको कस्तो स्टाइल बनाउँछन्, मान्छेले त्यस्तै कपाल बनाउँछन्। कलाकारसँग ‘इम्प्रेस्ड’ हुन्छन्, मान्छेहरू। त्यसमा पनि किशोरकिशोरी झन् बढी प्रभावित हुन्छन्। त्यसैले कलाकारले सामाजिक दायित्व वहन गरेर समाजलाई नभड्काउने खालका काम गर्नुपर्छ।
अहिले हामी सामाजिक सञ्जालको दुनियाँमा छौं। यसले अभिव्यक्ति स्वतन्त्रता बढाएको छ कि गैरजिम्मेवार बनाइराखेको छ?
पहिले हास्यव्यंग्यका कार्यक्रम गर्थ्यौं। त्यो वेला बोल्न एकदमै गाह्रो थियो। शब्दलाई घुमाईघुमाई भन्नुपर्थ्यो। त्यो वेला मान्छेहरू ‘मदनकृष्ण र हरिवंशलाई जे बोल्न पनि छूट छ’ भन्थे। तैपनि हामी जे पनि बोल्दैनथ्यौं। अनि अलिक कच्चै थियौं। त्यही पनि जे पायो, त्यही बोल्नु हुँदैन भन्नेमा सचेत थियौं।
समाजलाई चित्तबुझ्दो किसिमले, नभड्काउने किसिमले बोल्थ्यौं। राजनीतिक पार्टीहरूले बोल्न पाउँदैनथे। उनीहरूले बोल्ने कुराहरू पनि हाम्रै हास्यव्यंग्यबाट अभिव्यक्त गर्थ्यौं। आजकल मान्छेहरू ‘तपाईंहरूले बोल्न सिकाउनुभयो। अब अहिले तपाईंहरूलाई गाली गर्छन्’ भन्छन्।
अर्को, पहिले चाहिं मनको सानो कुरा राख्न पनि पत्रिकालाई ‘मेरो एउटा कुरा छाप्दिनुस् न, यस्तो गर्दिनुस् न’ भन्नुपर्थ्यो। अनि फिल्म, नाटकको प्रमोशन गर्नलाई पनि धेरै पैसा तिर्नुपर्थ्यो।
अहिले सबै मान्छे सामाजिक सञ्जालमा छन्। आफूले भन्न खोजेको कुरा सामाजिक सञ्जाल मार्फत भन्न पाइन्छ। आफूले प्रचार गर्न खोजेको कुरा प्रचार गर्न पाइन्छ। यो सामाजिक सञ्जालले दिएको एउटा वरदान हो। यसले धेरैको कल्याण पनि गरेको छ।
अर्कातिर, केही मानिसले त्यसलाई उल्टाएर-पल्टाएर कसलाई ‘टार्गेट’ गर्ने, आज कसलाई सक्काइदिने भनेर लागेका हुन्छन्। अनि कसैले त्यस्तो कामका लागि अह्रराएको हुन्छ।
साधारण मान्छे मात्रै होइन, च्यानल खोलेर बसेका मान्छेले पनि ‘अब यो प्रोग्रामबाट यो मान्छेलाई खत्तम पार्दिने, यसलाई लाजमर्दो बनाइदिने’ भन्ने योजना बनाएरै लागेको देखिन्छ। त्यसको लहैलहैमा सामान्य मान्छेले शेयर गरिदिंदा झन् बढावा मिल्छ।
त्यसले मान्छेलाई समाजमा ठूलो असर पर्छ। कति मान्छेले सहन सक्दैनन्। अनि कति मान्छे डिप्रेशनमा पर्छन्, एन्जाइटी हुन्छ। कति मान्छे आत्महत्या समेत गर्छन्।
यस्ता नकारात्मक टीकाटिप्पणीबीच एउटा सिर्जनशील मान्छेले आफ्नो मनोबल कसरी जोगाइराख्ने, कसरी बचाएर अगाडि बढ्ने?
सहन सक्नुपर्ने रहेछ। त्यसपछि आफ्नो कुरा अभिव्यक्त गर्नुपर्छ। अनि त्यसलाई पचाएर आफू कुण्ठित नभईकन अगाडि बढ्नै पर्छ। त्यो बाहेक अरू उपाय छैन।
सूचना प्रविधिको विकासले कला क्षेत्रमा चाहिं कस्तो प्रभाव पारिरहेको छ?
नकारात्मक कुराले सकारात्मक कुरालाई जित्न सक्दैन। नकारात्मक कुरा दुई-तीन दिन चले पनि हावा जस्तो हुन्छ। फिल्म प्रदर्शनमा अलिकति नकारात्मक प्रचार चल्न थालेको छ। फिल्म शुरू नहुँदै हलमा गयो, मान्छे भरिएको हुँदैन, सरसर खिच्यो। अथवा फिल्म छुटेपछि अलिकति मान्छे बाँकी रहँदा खिच्यो। त्यसपछि ‘हलमा मान्छे छैनन्, फिल्म मन पराएनन्, मान्छे आएनन्, यो खत्तम भयो, फ्लप भयो’ भनेर हल्ला गर्न थालिएको छ।
फिल्ममा ‘माउथ पब्लिसिटी’ ले पनि काम गर्छ। जस्तो- तपाईं फिल्म हेरेर आउनुभयो। राम्रो लागेन भने ‘मलाई राम्रो लागेन’ भन्नुहुन्छ। अनि राम्रो लाग्यो भने ‘मलाई राम्रो लाग्यो’ भन्नुहुन्छ। कसै कसैले नराम्रो गर्नलाई ‘राम्रो छैन’ भनिदियो भने पनि ‘माउथ पब्लिसिटी’ ले खासै प्रभाव हुँदैन। यस्ता कुरामा मान्छेले सितिमिति अब पत्याउनै छोडिसके।
सामाजिक सञ्जालमा भन्यो भने पत्याइहाल्छन्। पछिल्लो समय त सामाजिक सञ्जालका कुरा पनि ‘फिल्टर’ गरेर हो कि होइन भनेर हेर्छन्।
सामाजिक सञ्जालसँगै जोडेर कुरा गर्दा केही समयअघि मह जोडीले बनाएको पुरानो भिडिओको सानो क्लिप भाइरल गरेर चर्को आलोचना गरियो। तपाईंले स्पष्टीकरण पनि दिनुभयो। यसमा केही भन्नुहुन्छ?
यसमा दर्शकले बुझेका छैनन्। २०५२ सालको कुरा हो। त्यो वेला पञ्चायती व्यवस्थाको श्राद्ध भनेर हास्यव्यंग्य देखाएका थियौं। त्यसको एक टुक्रा काटेर राखेको छ। ‘प्यारोडी’ जेको पनि हुन सक्छ। गीत-कविताको पनि प्यारोडी बनाइन्छ। मान्छेको मिमिक्री गरिन्छ। म स्वयं ब्राह्मण हुँ। मन्त्रको प्यारोडी बनाउँदा के धर्म विरोधी काम भयो र?
नियोजित तरीकाले खसाल्न एउटा सानो क्लिप भाइरल गरिएको हो। अहिलेसम्म हिन्दू धर्म विरोधी काम गरेको छैनौं।
अस्ति विष टेलिशृंखलाको टुक्रा झिकेछ। ड्रग खाने मान्छेको आमा बित्नुहुन्छ। लतमा परेको मान्छे, किरियामा बस्दा त्यो खान नपाएपछि छटपटाउँछ। सेतो लुगा लगाएको हुन्छ। पसलमा गएर चोरेर खान्छ। त्यो मैले साँच्चिकै देखेको घटना हो। त्यो टुक्रा झिकेर हिन्दू विरोधी भनेर प्रचार गरेका छन्। जसले यस्तो गरिराखेका छन्, पाप उनीहरूलाई नै लाग्छ।
यूएसएडको कुरामा पनि त्यस्तै दुष्प्रचार भयो। दादुरा, रुबेलाको खोप दिने, पोलियो थोपा खुवाउने सबै यूएसएडकै पैसाले हो। त्यसको एउटा विज्ञापन बनाइदेऊ भनेर स्वास्थ्य मन्त्रालयले भनेको थियो। अहिले पनि पोलियो थोपा खुवाउने विज्ञापन आउँछ। हामीलाई गरिदेऊ भन्यो, गर्यौं। हरिबहादुर र मदनबहादुर भन्ने ५२ भागको टेलिशृंखला बनायौं। त्यसमा कहींकतै धर्मको विरोध गरेको छैन।
त्यो वेला जातजातिको कुरा उठेको थियो। हामी सबैको जात एउटै हो। सबै मिलेर बस्नुपर्छ। एकअर्कालाई सम्मान गरिनुपर्छ भनेर बनाइएको हो। यूएसएडले सीधै हामीलाई पैसा दिएको होइन, स्वास्थ्य मन्त्रालयका तर्फबाट आएको हो।
एक नागरिकका रूपमा अहिले देशको अवस्था हेर्दा के कुराले चिन्तित बनाउँछ?
म दुई किसिमले सोच्छु। एउटा, हाम्रो देश कुन ठाउँमा, कुन क्षेत्रमा अवस्थित छ? हामी तीनतिर भारतबाट ‘लक्ड’ भएर बसेका छौं। चीनतिर ठूला हिमालका पर्खाल छन्। अनि ‘एक्जिट’ त्यति सजिलो छैन।
यस क्षेत्रका देशमध्ये भारतले धेरै ठूलो प्रगति गरेको छ। तर गरीब र धनीबीचको खाडल झन् ठूलो भएर गइरहेको छ। हामी नेपालमा जति गरीबी देख्छौं, त्यसको १०० गुणा गरीबी भारतमा छ। पाकिस्तान त्यस्तै छ, बाङ्लादेश, श्रीलंका त्यस्तै छन्।
भौगोलिक हिसाबले नेपाल पूर्ण रूपमा ती देशभन्दा फरक हुन सक्ने स्थिति छैन। सामाजिक सञ्जालमा अमेरिका, अस्ट्रेलिया, यूरोप देख्छौं, हेर्छौं। अनि हामी पनि त्यस्तै हुन पाए हुन्थ्यो भन्ने आकांक्षा राख्छौं। यही क्षेत्रको राम्रो देश बन्नेभन्दा पनि विकसित देश जस्तो हुन पाए हुन्थ्यो भन्ने आकांक्षाले दुःख दिइरहेछ।
हामीले भौतिक रूपमा केही गर्न नसकेको पनि होइन। यो १०-२० वर्षमा बाटोघाटो, जलविद्युत्, जीवनस्तरमा प्रगति भएको छ। पुराना फाटेको लुगा लगाएर हिंड्ने मान्छेहरू पहिले जति देखिन्थे, अहिले त्यति देखिंदैनन्। यो छिमेकीहरूले गरेको प्रगतिले पनि हो।
जस्तो- चीनले सस्तो लुगा बनाइदियो, हामीले लगाउन पाएका छौं। भारतले मोटरसाइकल बनाइदियो, हामीले चलाउन पाएका छौं। त्यसले गर्दा पनि हाम्रो जीवनस्तर राम्रो भएको देखिन्छ।
अनि सडक, बाटोघाटो पनि राम्रो छ। सबैभन्दा ठूलो कुरा त बनाउन लागेको चिज सरकार र ठेकेदारले समयमा पूरा गरिदिएका छैनन्। त्यसले गर्दा मान्छेमा एकदमै निराशा छ। जस्तो- अहिले भरतपुर, भैरहवा जाने बाटो अरू देशमा भए एक वर्षमा पूरा हुन्थ्यो, तर यहाँ पाँच वर्षमा पनि पूरा भएको छैन। यस्तो कुराले मान्छेलाई असाध्यै निराश बनाउँछ।
राम्रो भएका उदाहरण पनि छन्। जस्तो- अहिले पूर्वबाट पश्चिमतिर जाँदा नेपालगन्ज, धनगढीसम्म फराकिलो बाटो बनेको छ। राजमार्गका दायाँ-बायाँ हेर्दा घरहरूमा सम्पन्नता पनि देखिन्छ। बिजुलीमै उन्नति भएको छ। पाँच-सात वर्षअघि र अहिले हाम्रो स्थितिमा धेरै फरक भइसकेको छ।
सबैभन्दा ठूलो कुरा रोजगारी सिर्जना गर्न सकिएको छैन। खाडी मुलुकले नलगेको भए २०-३० लाख युवालाई के काम दिन्थ्यो सरकारले? रोजगारी पटक्कै वृद्धि भएन।
मान्छेलाई सबैभन्दा ठूलो निराशा आफ्नो देशमा काम नपाएपछि हुन्छ। केही नेता भ्रष्टाचारमा लिप्त भए। नेताहरूले कडाइका साथ काम नगर्दा भ्रष्टाचारको बीउ रोपियो र यति धेरै झाँगियो। राजनीतिमा सबैभन्दा ठूलो कुरा इमानदारी हो। इमानदारीलाई अगाडि बढाउनुपर्ने हो, तर नेताहरूले अरू चिजलाई अगाडि बढाए, त्यसले मान्छे निराश भए।
अहिलेको अवस्थामा सुधार ल्याउन के गर्न सकिन्छ जस्तो लाग्छ?
इमानदारी बोकेको स्थिर सरकार भयो भने सुधार हुन्थ्यो। घरमा बाबु जुवाडे भइदियो भने छोराछोरीले तास खेले भनेर उसले गाली गर्न पाउँदैन। त्यसकारण पार्टीका मूलीहरू सुध्रिनुपर्यो, इमानदार हुनुपर्यो।
अहिले जनता र राजनीतिक नेतृत्वको सम्बन्ध चाहिं कस्तो देखिरहनुभएको छ?
जनता र राजनीतिक नेतृत्वको सम्बन्ध कहिल्यै राम्रो हुँदैन। कुनै पनि देशमा राम्रो हुँदैन। जनताको आकांक्षा एउटा हुन्छ, राजनीतिले अर्कै थोक गरेको हुन्छ। कुनै देशमा भन्न पाइँदैन, असन्तुष्टि बाहिर आएको हुँदैन। कुनै देशमा भन्न पाइन्छ र असन्तुष्टि बाहिर आउँछ।
जनता र सरकारबीच जुन खाडल हुन्छ, त्यो खाडल हाम्रो जस्तो देशमा धेरै भयो। अरू देशमा साना साना खाडल हुन्छन्, हाम्रोमा ठूलो भयो।
फेरि कला क्षेत्रमै फर्कौं। अहिले नेपालमा बनिराखेका सिनेमालाई कसरी हेरिरहनुभएको छ?
राम्रो सिनेमा पनि बन्छन्, नराम्रो पनि। भारतमा हजारौं सिनेमा बन्छन्, त्यसमा १० वटा जति चल्छन्। नेपालमा पनि सयौं सिनेमा बन्छन्, थोरै चल्छन्। उदाहरण पूर्णबहादुरको सारंगी छ। नेपालमा मात्र आधा करोडको व्यवसाय गर्यो।
फेरि कुनै कुनै राम्रा सिनेमा पनि चलेका छैनन्। समय-परिस्थितिको कुरा पनि आउँछ। यसमा प्रचारको पनि महत्त्वपूर्ण भूमिका हुन्छ।
फिल्म सेन्सरको विषयमा पनि बहस चलिरहेको छ। कतिले सेन्सर गर्नु हुँदैन भनेका छन्। यसमा तपाईंको विचार के छ?
सेन्सरशिप संसारका अन्य देशमा पनि हुन्छ। निर्माताले पनि फिल्म निर्माण गर्दा आफैंले सेन्सर गर्नुपर्छ। सेन्सर बोर्डले सेन्सर गर्नुपूर्व आफैंले कतिसम्म भन्ने अन्दाज गरिनुपर्छ। कहीं भन्नै नहुने कुरा पनि भनिएको हुन्छ। यसलाई रोक्ने सरकारको दायित्व हो। सरकार पनि संयम हुनुपर्छ। निर्माण गर्ने मान्छे पनि आचरणमै बस्नुपर्छ।
पाँच दशकदेखि कला क्षेत्रमा क्रियाशील हुनुहुन्छ। गीत लेख्नुहुन्छ, गाउनुहुन्छ, अभिनय गर्नुहुन्छ, सामाजिक काममा सक्रिय हुनुहुन्छ। कसरी निरन्तरता दिन सक्नुभएको छ, के कुराले प्रेरित गर्छ?
यो सब एकै चोटि प्राप्त गरेको होइन। भोकभोकै यस क्षेत्रमा होमिएको हुँ। सबै काम सफल पनि भएका होइनन्। निरन्तर लागिरह्यौं। मसँग योभन्दा अर्को काम पनि छैन। व्यापार-व्यवसाय पनि छैन। सबैथोक यही हो। योभन्दा बाहेक केही सोचिनँ पनि। एउटा काममा स्थिरता दिएर अगाडि बढ्न सक्यो भने दिगोपन ल्याउन सकिन्छ।
कलाकारिता भन्ने कुरा प्रकृतिले दिनुपर्छ। म जति अभ्यास गरे पनि क्रिकेट खेल्न सक्दिनँ। त्यो मलाई प्रकृतिले दिएको छैन। खेलाडीहरूलाई मात्रै त्यो क्षमता दिएको हुन्छ। प्रकृतिले दिएको कुरा चिनेर साधना गर्ने, बढाउने हो भने राम्रो हुन्छ। मलाई प्रकृतिले कलाकारितामै केही दिएको छ, त्यसमा नयाँ नयाँ काम गर्ने कोशिश गर्छु।
नयाँ पुस्ताका लागि केही सुझाव छन्?
मान्छेलाई सुख कहीं पनि हुँदैन। आकांक्षा बढ्यो भने मान्छे कहिल्यै सुखी हुँदैन। उद्योगपति खुशी हुँदैन। उद्योग खोल्छ। त्यसमा नाफा हुन थाल्छ। फेरि अर्को बनाउन पाए हुन्थ्यो भन्ने सोच्छ। पैसा होला। गाडी होला। राम्रो लगाउला। तर मनमा कहिल्यै शान्ति हुँदैन।
अहिले आप्रवासीलाई अमेरिकाबाट निकाल्न शुरू भएको छ। त्यो घानमा जो पनि पर्न सक्छ। अहिले हामी आनन्दसँग बसेका छौं, भोलि त्यो नहुन सक्छ। सुख कहीं पाइँदैन। त्यसैले यहीं बसौं, यही देशलाई राम्रो बनाऔं।
अर्को, हामीले छोराछोरी पनि गलत तरीकाले हुर्काइरहेका छौं। ‘यसले पढी खाँदैन, हलो जोत्छ,’ भन्छौं। हलो जोत्ने भनेको गर्नै नहुने कामका रूपमा लिइयो। केही नगर्नेले खेती गर्ने भनियो। अब यो भाष्य बदल्नुपर्छ। अब दशैंमा टीका लगाउँदा पनि ‘खेती गर्नू, किसान हुनू, खेतबारी बाँझो नराख्नू, हराभरा पार्नू’ भन्नुपर्छ।
रोजगार सरकारले मात्र दिंदैन, आफैंले पनि सिर्जना गर्नुपर्छ। युवाको सिर्जना झन् राम्रो हुन्छ। राज्यले सुरक्षा दिनुपर्छ।
VIDEO