रिपोर्ट शुक्रबार, मंसिर ७, २०७५

स्वास्थ्य सेवाको माध्यम लघुवित्त

रामु सापकोटा

धुलिखेल अस्पतालले लघुवित्तमार्फत महिलालाई आकर्षित गर्दै स्वास्थ्य सेवा/शिक्षा दिने उदाहरणीय काम गरिरहेको छ।

मेलम्चीको बाहुनीपाटीमा आयोजित लघुवित्तको बैठकमा सहभागी महिलालाई प्रजनन् स्वास्थ्यका बारेमा तालिम दिंदै धुलिखेल अस्पतालकी हेल्थ असिस्टेन्ट रितु मानन्धर । तस्वीरहरुः बिक्रम राई

चार वटा झ्याल भएको एककोठे गोलो घरभित्र लस्करै राखिएका बेन्चमा १० जना महिला बसेका छन् । उनीहरूलाई प्याजी रङको टि–सर्ट र कालो पाइन्ट लगाएकी अर्की महिला उभिएर प्रजनन् स्वास्थ्यबारे जानकारी दिइरहेकी छन् । उभिएकी महिलाले अन्यलाई सोधिन्, “बारम्बार भइरहने असुरक्षित यौन सम्पर्कले कस्तो रोग निम्त्याउँछ ?” एक जनाले उत्तर दिइन्, “असुरक्षित यौन सम्पर्कले एचआईभी जस्ता भाइरसको संक्रमण हुन सक्छ ।” 

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–८ अन्तर्गत पर्ने बाहुनीपाटी स्वास्थ्य केन्द्रमा १२ असोजमा देखिएको दृश्य हो यो । जहाँ लघुवित्त सम्बन्धी छलफलमा सहभागी हुने महिलालाई धुलिखेल अस्पतालका स्वास्थ्यकर्मीले महीनाको एकपटक प्रजनन् तथा यौन स्वास्थ्यबारे तालिम दिन्छन् ।

छलफलमा सहभागी बाहुनीपाटी गाउँकी रेखा माझी (३६) पहिले प्रजनन् स्वास्थ्यबारे बोल्न लजाउने आफू लगायत यहाँका महिलाहरू अब खुलेर कुरा गर्न थालेको बताउँछिन् । लघुवित्तका कार्यक्रम, स्वास्थ्य सम्बन्धी छलफल र उपचारले आफूहरूको जीवनशैली बदलिएको उनको भनाइ छ ।

फेरिएको जीवनशैली
आमा समूहमार्फत ९ वर्षअघि बाहुनीपाटी स्वास्थ्य केन्द्रको लघुवित्त कार्यक्रममा आबद्ध भएकी हुन्, रेखा । त्यतिबेला धुलिखेल अस्पतालले अर्थोपार्जन कार्यका लागि उनीसहितका १० महिलालाई रु.१०–१० हजार दिएको थियो । यही कार्यक्रम अन्तर्गत बस्तुभाउ पाल्न थालेकी रेखाले अहिले कुखुरा र बंगुर पालेकी छन् ।

शुरूका दिनमा लघुवित्तमा मासिक रु.१० जम्मा गरेको र अहिले आम्दानी बढेसँगै मासिक रु.२०० जम्मा गर्न थालेको उनी बताउँछिन् । यो बीचमा अस्पतालले दिएको तीनदिने सुँडेनी तालिम पनि लिएकी उनले गर्भवती भएका बेला निम्तिन सक्ने स्वास्थ्य समस्या, झडा–पखाला, क्षयरोग, क्यान्सर लाग्ने कारण र सरसफाइ नगर्दा हुने स्वास्थ्य समस्याबारे थाहा पाइन् ।

मेलम्ची नगरपालिका बाहुनीपाटीकी रेखा माझी लघुवित्तमार्फत ऋण लिएर पालेका बंगुर देखाउँदै ।

उनी आफ्नो स्वास्थ्यमा मात्र सजग छैनन्, समुदायका मानिसहरूलाई पनि यसबारे जानकारी दिने गरेकी छन् । “पाठेघर लगायत महिला स्वास्थ्य समस्याबारे खुलेर बोल्न धेरैलाई सम्झएँ” रेखा भन्छिन्, “त्यसपछि उनीहरू आफैं स्वास्थ्य संस्था गएर उपचार गर्न थाले ।” 

उनका अनुसार, लघुवित्तमा आबद्ध भएपछि यहाँका महिलाको क्रयशक्ति बढेको छ, जीवनशैली बदलिएको छ । लघुवित्तबाट ऋण लिएर बाख्रापालन गरेका कतिपयले घडेरी समेत जोडेको उनी बताउँछिन् । भन्छिन्, “लघुवित्तमार्फत अर्थोपार्जनका लागि ऋणसँगै स्वास्थ्य सम्बन्धी जानकारी पाइने भएपछि छिमेकीहरू पनि यसप्रति आकर्षित भएका छन् ।”

पाठेघरको समस्याबाट पीडित मेलम्ची नगरपालिका–१२ की सविता नेपाल (२७) ले आमा समूहमार्फत अस्पतालको लघुवित्त कार्यक्रममा आबद्ध भएपछि उपचारसँगै स्वास्थ्य समस्या सम्बन्धी तालिम पनि पाइन् । तालिमपछि पाठेघर लगायत आफ्नो स्वास्थ्यको ख्याल गर्न थालेको उनी बताउँछिन् । “मलाई महीनावारीका बेला पेट दुख्ने समस्या थियो ।

उपचारपछि निको भयो” १८ वर्षको उमेरमै पहिलो बच्चा जन्माएको बताउने उनी भन्छिन्, “तालिम लिएपछि कम उमेरमा बच्चा जन्माउँदा पनि पाठेघर सम्बन्धी समस्या आउँदो रहेछ भन्ने थाहा पाएँ ।” परिवार नियोजनका साधनको प्रयोग विधि र महत्वबारे पनि तालिमले बुझएको उनको भनाइ छ ।

लघुवित्तबाट ऋण लिएर बाख्रा र भैंसी किनेकी मेलम्ची नगरपालिका–१२ की गोमा नेपाल आफूले पनि उपार्जन गर्न थालेपछि श्रीमान्को मात्रै भर पर्नु नपरेको र तालिममार्फत आफ्नो स्वास्थ्यको ख्याल गर्न सक्ने भएको बताउँछिन् ।

आमा समूहमार्फत सेवा
मेलम्ची नगरपालिकाको पिछडिएको माझी समुदायका महिलालाई धुलिखेल अस्पतालले ‘आमा समूह’ मार्फत लघुवित्तमा आबद्ध गराई स्वास्थ्य सम्बन्धी जानकारी दिन थालेको छ । आमा समूहका सदस्यहरूलाई अस्पतालले अर्थोपार्जनका लागि ऋण दिनुका साथै प्रजनन् स्वास्थ्यबारे तालिम दिने गर्छ ।

बाहुनीपाटी स्वास्थ्य केन्द्रकी अनमी संगीता भुजेलका अनुसार, लघुवित्तमा आबद्ध महिलालाई अस्पतालले औषधोपचारमा ९० प्रतिशत सहुलियत दिने गरेको छ । उनका अनुसार, ऋण लिएको रकमको चार प्रतिशत वार्षिक ब्याज तिर्नुपर्छ भने ६–६ महीनाको अन्तरमा तिर्दै तीन वर्षभित्र ऋण लिएको सम्पूर्ण रकम तिरिसक्नुपर्छ । 

बाहुनीपाटी स्वास्थ्य केन्द्रमार्फत उपचार गराउँदै मेलम्चीकी महिला।

धुलिखेल अस्पतालको समुदाय विकास कार्यक्रमका संयोजक सुदीप श्रेष्ठ अस्पतालले महिलाहरूलाई लघुवित्तमार्फत ऋण दिएर समूहमा आबद्ध हुन प्रोत्साहित गर्ने र उनीहरूलाई स्वस्थ रहन सजग गराउने लक्ष्य राखेको बताउँछन् ।

अस्पतालले सिन्धुपाल्चोकमा बाहुनीपाटी बाहेक मानेखर्क, काभ्रेमा कात्तिके देउराली, दाप्चा, सलम्बु, बालुवा, ढुङ्खर्कमा ‘आउट रिच सेन्टर’ स्थापना गरेर लघुवित्तमार्फत स्वास्थ्य शिक्षाको कार्यक्रम सञ्चालन गरेको छ । यस्तै, नुवाकोटको थाङसिन, धादिङको धादिङबेसी, ललितपुरको गोदामचौरमा पनि यो कार्यक्रम चलाइएको छ । अस्पतालले सन् २००७ अप्रिलदेखि लघुवित्त कार्यक्रममार्फत स्वास्थ्य शिक्षाको कार्यक्रम शुरू गरेको र यो बीचमा ९८२ परिवार लाभान्वित भएको जनाएको छ ।

अस्पतालको सामुदायिक स्वास्थ्य कार्यक्रम विभाग प्रमुख डा.विराज कर्माचार्य समुदायको अंग बनेर उनीहरूकै सहकार्यमा कार्यक्रम सञ्चालन गरेकाले प्रभावकारी भएको बताउँछन् ।

स्वास्थ्य संस्थालाई उपचार गर्न जाने ठाउँको रूपमा मात्र नभई आर्थिक क्रियाकलापमा सहभागी हुने ग्रामीण केन्द्रको रूपमा पनि विकास गर्दा महिलाहरू उद्यम र स्वास्थ्यप्रति सजग हुन थालेको उनको भनाइ छ ।

अस्पतालले अहिलेसम्म विदेशी दातृ निकाय ‘नेपाली मेड हल्याण्ड’ को सहयोगमा कार्यक्रम सञ्चालन गरिरहेको छ । दाताले लगानी गर्न छाडेपछि यो कार्यक्रमले निरन्तरता पाउन सक्ला त भन्ने प्रश्नमा कर्माचार्य भन्छन्, “दातृ निकायबाट सहयोग नआउँदा पनि हामी यो कार्यक्रमलाई निरन्तरता दिन सक्ने अवस्थामा छौं ।”

सन् २०१६ मा जापानको युनिभर्सिटी अफ टोक्योले गरेको अध्ययनले लघुवित्तमा आबद्ध भएर स्वास्थ्य शिक्षा लिएका महिलाहरूले नसर्ने रोगबारे ज्ञान पाएको र धूम्रपान गर्ने बानी त्यागेको देखाएको थियो । यस अध्ययनमा संलग्न रहेकी धुलिखेल अस्पतालको लघुवित्त कार्यक्रम संयोजक प्रमिता श्रेष्ठ स्वास्थ्य शिक्षा दिने लघुवित्त कार्यक्रमलाई मुलुकका अन्य ठाउँमा पनि विस्तार गर्नुपर्ने बताउँछिन् ।

स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. दीपेन्द्ररमण सिंहका अनुसार, लघुवित्त जस्तै संरचनाको बीमा कार्यक्रममार्फत मन्त्रालयले स्वास्थ्य सेवा दिइरहेको छ । सिंह भन्छन्, “मन्त्रालयले लघुवित्त कार्यक्रमलाई पनि विस्तार गर्न सक्ने हो भने यसबाट स्थानीयलाई धेरै लाभ दिन सकिन्छ ।”

प्रतिकृया दिनुहोस