मलेशियाका मानव संसाधन मन्त्री एम. कुलासेगरनसँग भेट गर्दै मलेशियाका लागि नेपाली राजदूत कुमारराज खरेल
मलेशिया सरकार नेपाली कामदारहरुले भीसा प्रक्रियाका लागि अतिरिक्त रकम तिर्नु पर्ने हालको प्रणाली हटाउन सकारात्मक रहेको त्यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ ।
नेपाली राजदूतावास र मलेशियाको मानव संसाधन मन्त्रालयबीच भएको नेपाली कामदारको भीसा प्रक्रियाबारेको छलफलमा त्यहाँका अधिकारीहरुले नेपाल सरकारले उठाएका विषयलाई आफूहरुले गम्भीर रुपमा लिएको बताएको मलेशियाका लागि नेपाली राजदूत कुमारराज खरेलले जानकारी दिएका छन् ।
“दुतावासको आग्रहलाई उनीहरुले सकारात्मक रुपमा लिएका छन्,” राजदूत खरेलले भने, “अतिरिक्त शुल्क हटाउने विषय कामदारका साथै मलेशियन सरकारको समेत हितमा रहेको उनीहरुले बुझेका छन् ।”
त्यस्तै अधिकारीहरुले मलेशिया सरकार नेपालसँग श्रम सम्झौता गर्न तयार रहेको बताएको पनि खरेलले जानकारी दिए । तर, राजदुत खरेल नेपाली कामदारबाट अतिरिक्त रकम अशुल्ने हालको प्रक्रियालाई मलेशियन सरकारले रोक्ने वा पुनरावलोकन गर्ने निर्णय गरेपछि मात्र श्रम सम्झौताको विषय अघि बढ्ने बताउँछन् ।
छलफलका क्रममा मलेशियाली अधिकारीहरुले ‘फरेन वर्कर म्यानेजमेन्ट’ नामको प्रणालीका कारण कामदारले अतिरिक्त रकम तिर्नुपर्ने अवस्था बनेको भन्दै यसको विकल्प खोज्न अन्तर मन्त्रालय तथा निकायकाबीच छलफल भइरहेको बताएका थिए ।
मलेशियन सरकारले हालको प्रणालीलाई खारेज गरी दूतावासमार्फत सोझै भीसा उपलब्ध गराउने व्यवस्था मिलाए नेपाली कामदारले विभिन्न कम्पनीमार्फत अतिरिक्त रकम तिर्नुपर्ने बाध्यता हट्नेछ ।
उक्त प्रणाली हटाउनका लागि मलेशियाको गृह मन्त्रालय र मानव संसाधन मन्त्रालयका बीच पनि छलफल भइरहेको राजदूत खरेलले जानकारी दिए । यसअघि राजदुत खरेल र मलेशियाका विदेशीमन्त्रीबीच पनि यससम्बन्धमा छलफल भएको थियो ।
अनुसन्धान हुने मलेशियाका आन्तरिक मामिला उपमन्त्री अजिज जम्मानले मलेशियाका विभिन्न कम्पनी र सरकारी अधिकारी सलंग्न भएको नेपाली आप्रवासी कामदारमाथिको घोटाला प्रकरणबारे छानबिन गर्ने बताएका छन् ।
अनलाइन पत्रिका ‘द मलेशिया इनसाईट’ का अनुसार उपमन्त्री अजिजले नेपाली कामदार घोटाला प्रकरण बारे बाहिरिएका सूचनाको जाँच गर्ने र कार्वाही अघि बढाउने बताएका छन् ।
मलेशिया जाने नेपाली कामदारबाट नेपाल र मलेशियाका सरकारी निकायहरूकै संलग्नता र मिलेमतोमा गरीब नेपाली लुटिइरहेको समाचार हिमाल खबरपत्रिकाले खुलासा गरेको थियो ।