दुई ठूला कम्पनीको प्रवेशसँगै सधैंको समस्या बनेको उपत्यकाको फोहोर व्यवस्थापन समाधान हुने अपेक्षा गरिएको छ।
निजी क्षेत्रलाई फोहोर संकलनदेखि व्यवस्थापनको जिम्मा दिइने भएपछि काठमाडौं उपत्यकाको सधैंको टाउकोदुखाइ कम हुने भएको छ । लगानी बोर्डले यसका लागि नेपवेष्ट प्रालि र क्लिन भ्याली कम्पनी प्रालिलाई छनोट गरेको छ ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीका अनुसार, उपत्यकाको फोहोर व्यवस्थापनको स्थायी समाधानका लागि काठमाडौं, ललितपुर र भक्तपुरका लागि तीन फरक–फरक प्याकेजसहितको एकीकृत फोहोरमैला व्यवस्थापन योजना बनाइएको छ ।
जसमा, प्याकेज–१ अन्तर्गत काठमाडौंमा महानगरपालिकासहित दक्षिणकाली, चन्द्रागिरि, नागार्जुन, तारकेश्वर, टोखा, बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी र शंखरापुर नगरपालिकाभित्रको फोहोर व्यवस्थापन गरिनेछ । यसको व्यवस्थापन नेपवेष्ट प्रालिले गर्नेछ ।
प्याकेज–२ मा ललितपुरको ललितपुर महानगरसहित महालक्ष्मी र गोदावरी नगरपालिका तथा प्याकेज–३ अन्तर्गत भक्तपुर उपमहानगरपालिका, सूर्यविनायक, भक्तपुर थिमि र नगरकोट नगरपालिका पर्दछन् । यसका लागि क्लिन भ्यालीले काम गर्नेछ ।
स्थानीय विकास मन्त्रालयले उपत्यकाको फोहोरमैला व्यवस्थापनमा निजी कम्पनी छनोटका लागि २०६७ मा पहिलो पटक ग्लोबल टेन्डर आह्वान गरेको थियो । तर, काम अघि बढ्न सकेन । यो जिम्मेवारी लगानी बोर्डको काँधमा आएपछि भने कामले गति लिएको थियो । फोहोरका फाइदा एकीकृत फोहोरमैला व्यवस्थापनका लागि जग्गा अधिग्रहण, पहुँच मार्गको निर्माण र प्रभावित क्षेत्रका बासिन्दाको पुनस्र्थापना र फोहोर संकलन केन्द्र उपलब्ध गराउने दायित्व लगानी बोर्डको हो । जसअन्तर्गत प्याकेज–१ मा फोहोर व्यवस्थापन गर्न नुवाकोटको ओखरपौवास्थित बञ्चरे डाँडामा करीब १७०० रोपनी जग्गा खरीद गरिसकिएको छ ।
जग्गामा रु.६ अर्बको लागतमा नेपवेष्टले आवश्यक प्लान्ट राख्नेछ । बोर्डका अनुसार, दैनिक ९०० टन फोहोरबाट २२ वर्षभित्र २२ लाख ५३ हजार टन जैविक मल, प्लाष्टिकबाट ८१ हजार टन इन्धन र दुई मेगावाट विद्युत् उत्पादन गरिने छ । उद्योगलाई आवश्यक ऊर्जा त्यही विद्युत्बाटै पूर्ति गरिनेछ । फोहोरबाटै एक लाख ८१ हजार टन मिथेन ग्याँस उत्पादन गरिने र सम्झैता अवधिमा रु.३ अर्ब राजश्व पनि संकलन हुने जनाएको छ ।
अहिले ६० वटा जति निजी कम्पनीले उपत्यकाभित्र दैनिक फोहोर संकलन गरिरहेका छन् । छनोट भएका कम्पनीसँग सम्झौता भएपछि यही वर्षदेखि नै फोहोर संकलन र विसर्जनको जिम्मा दिइने भएको छ । “एउटै कम्पनीले संकलन र व्यवस्थापन गरे एकरूपता आउनेछ” बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारी भन्छन्, “यसबाट उपभोक्ताले फोहोर संकलकलाई तिर्ने मूल्य पनि एउटै हुनेछ ।”
भरियो सिसडोल १५ वर्षअघिसम्म उपत्यकाको फोहोर काठमाडौंको गोकर्णेश्वरमा विसर्जन गरिन्थ्यो । तर, स्थानीयको विरोधपछि ओखरपौवास्थित सिसडोलमा फाल्न थालियो । तर, सिसडोलमा पनि बढीमा पाँच महीनाका लागि मात्र फोहोर फाल्ने ठाउँ बाँकी छ ।
काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभाग, प्रशासन महाशाखा प्रमुख युवराज खनाल सिसडोलको विकल्प खोजिहाल्नुपर्ने बताउँछन् । “अब बढीमा पाँच महीनालाई मात्र ठाउँ छ” उनी भन्छन्, “बोर्ड र निजी क्षेत्रले द्रुतगतिमा काम गर्नुपर्ने देखिन्छ ।”