समाचार बुधबार, भदौ १४, २०७४

नेपाली बारीमा चिनियाँ किसान

युवराज श्रेष्ठ

१६ रोपनी जग्गा भाडामा लिएर तरकारी खेती थाले। ग्रीनहाउस बनाएर चिनियाँ साग, खुर्सानी, काँक्रोलगायतका बाली लगाए ।

तस्वीरः युवराज श्रेष्ठ

सिचुवानका स्याङ शाओ ख्वा (३०) सात वर्षअघि तीन साताका लागि नेपाल घुम्न आएका थिए। जता घुमे, बाँझो जमीन मात्र देखे। 'नेपाली के खाएर बाँच्दा हुन् ?' उनको मनमा प्रश्न उब्जियो। 

घुम्दै पोखरा आइपुगेपछि भने उनमा 'यहीं बसेर खेतीकिसानी गर्ने' अचम्मको सोच पलायो। नगरको सुन्दरता र हावापानीबाट मुग्ध उनले कृषि उपज र बजारको सम्भावना पनि देखे।

तीन महीनापछि फेरि पोखरा फर्किएका स्याङले हेम्जामा १६ रोपनी जग्गा भाडामा लिएर तरकारी खेती थाले। ग्रीनहाउस बनाएर चिनियाँ साग, खुर्सानी, काँक्रोलगायतका बाली लगाए। तर भनेजस्तो जग्गा नपाएकाले उनी सन्तुष्ट हुन सकेनन्।

७ महीना अघि रिठ्ठेपानीमा ३५ रोपनी जग्गा भाडामा लिएका स्याङ वार्षिक ३ लाख ८५ हजार रुपैयाँ त भाडा मात्र तिर्छन्। तर, उनलाई यति जमीन पनि सानो भएको छ। “वरिपरिको जग्गा पनि भाडामा लिन कुरा गर्दैछु, केहीले हुन्छ भनेका छन्”, उनी भन्छन्। नयाँ ठाउँमा उनले झण्डै रु.४० लाख लगानी गरेका छन्।

स्याङले उब्जाएको तरकारीका मुख्य ग्राहक पोखराका चिनियाँ होटल र रेस्टुरेन्टहरू नै हुन्। माग अनुसार आपूर्ति गर्न नसकेको तर कमाइ भने अझै पनि कमै भएको उनको भनाइ छ। “लागत उठेर खान–बस्न पुगेको छ, बचत गर्न सकेको छैन”, उनी भन्छन्।

स्याङको भोगाइमा चीन र नेपालमा कृषि कर्म गर्दाका धेरै भिन्नता छन्। “चीनमा ७० प्रतिशत लगानी सरकारले नै गरिदिन्छ, आइपरेका सबै समस्या सुल्झाइदिन्छ, हामीले त काम मात्र गर्ने हो” उनी भन्छन्, “तर, यहाँ त ठीक उल्टो छ।”

पत्नी थाङ्ग लइ र ससुरा थाङ्ग छ्वाङसँगै पोखरा–लेखनाथ महानगरपालिका–२७ बस्ने स्याङ स्थानीयमाझ भने 'सन्देश' नामले चिनिन्छन्। प्रष्ट नेपाली बोल्ने र हाउभाउ पनि पोखरेली जस्तै देखिने उनी नमूना कृषक बनेका छन्।

सम्बन्धित समाचार

पुगेन नेपालको पर्यटन प्रवर्धन

प्रतिकृया दिनुहोस