समाचारसोमबार, १२ भाद्र , २०७४

डुबानपछिको रौतहट

रुपा जोशी

बाढीको १० दिनपछि म रौतहट पुगेकी थिएँ एक दिनका लागि । चन्द्रनिगाहपुरबाट दक्षिण लाग्दा सडकको दायाँ–बायाँ बाढीले नछोएको हरियो धान खेत देखियो । तर जति तल गयो, बाढी र हिलोले लछारेका खेतहरु देखिन थाले । गौर नजिकिंदै जाँदा त धेरै खेत डुबानमै रहेको देखिन थाल्यो ।

वागमतीको बाढीले बगरमा परिणत भएको धान खेत । तस्वीरहरुः रूपा जोशी

गौरबाट गाउँतिर जाँदा माटोले लिपेर बनाइएका छाप्राहरू थ्याच्चै बसेका, हिलोले ढाकिएका र बाढीले एकापट्टि भ्वाङ पारेका देखें । गाउँ, बजार सबैतिर बाढीले छाडेको उँचाइको निशान देखिन्थ्यो । घरका भित्ता, पर्खाल, कतै छाना, स्कूलका कक्षा कोठा, तारजाली सबैतिर अड्किएका रुखका हाँगा र झारपात सुक्न लागेका थिए ।

बडहरवाको श्रीनयन कामाक्ष प्राविमा पानीले भिजेका पुस्तक सुकाइँदै ।

घाम लागेकोले बचेखुचेका सबै छानाहरुमा ओढ्ने– ओछ्याउने सुकाइएका थिए । गौर नगरपालिकाका सडकहरुमा जताततै भिजेका सामानको बिस्कुन थियो । भुईं तलामा रहेका सबैखाले व्यापारिक सामान डुबानमा परेका रहेछन्– बहीखातादेखि कपास, धागो, गेडागुडी, खुर्सानी, फ्रिज, फिल्टर आदित्यादि । नून, चिनी, पीठोलगायतका चीजबिज त डुबानपछि जोगिने कुरै भएन । नगरमा जताततै पानीले गलाएका कार्टनको डंगुर देखिन्थ्यो ।

वागमतीको बाँधमा आश्रय लिइरहेका बडहरवाका बाढीपीडित ।

पूर्वतिर वागमती, पश्चिमतिर बकैया खोलाको तटबन्ध अनि दक्षिणपट्टि सिमानामै जोडिएको बाँध जस्तै अग्लो सडक । अनि रौतहट डुबानमा किन नपरोस् ? बकैया खोला जिल्लाको माझमा छिरेपछि १० किलोमिटर लामो तालै बनेको रहेछ । दक्षिणको बाँध जस्तै अग्लो सडक फुटेपछि मात्र बाढीले निकास पाएछ ।

बाढीले भिजाएको कपास सुकाउँदै ।

यो वर्ष त अब जे हुनु भइसक्यो, अहिलेलाई बाढीपीडितको प्रभावकारी व्यवस्थापनमा नै केन्द्रित हुनुपर्छ । तर, यस्तो विपत्ति त अर्को साल पनि आउने नै छ । त्यसबेलाको सुरक्षाको लागि क–कसले के–के गर्ने हो, जिम्मेवारी र दायित्व के–के हुन्, अहिल्यैबाट दिमागमा खेलाउन थाल्नुपर्छ, ताकि अहिलेका पीडितको व्यवस्थापन सकिनासाथ त्यसमा काम गर्न सकियोस् ।

बडहरवाको श्रीनयन कामाक्ष प्राविको कक्षा कोठामा बाढीको पानीले छोडेको निशान ।
गौरमा बाढीको पानीले भिजेको खुसार्नी सुकाइँदै ।

 

प्रतिकृया दिनुहोस