ब्लग मंगलबार, साउन १०, २०७४

स्थानीय सरकारले काठमाडौंबाट सिक्न नहुने कुरा

रुपा जोशी

यस्तो सडक बनाउनुस्, जहाँबाट तपाईंले मात्र होइन, तपाईंका सन्ततिले समेत स्वच्छ, सफा र सुरक्षित गन्तव्य पहिल्याउन सकुन्।

३ साउनमा काठमाडौंको महाराजगञ्जमा मेलम्ची खानेपानी आयोजनाले खनेको खाल्डोमा खसेको कार। तस्वीर: दीपेन्द्र भण्डारी

नयाँ स्थानीय सरकारले गर्नुपर्ने एउटा जरूरी कुरो भनेको बाटोबारे हो। नगरपालिका होस् या गाउँपालिका, हरेक बस्तीको आधारभूत तत्व हो बाटो।

यही बाटोलाई देखाएर अधिकांश निर्वाचित जनप्रतिनिधिले आ–आफ्ना नगरलाई बसुँ–बसुँ लाग्ने, छाडेर अन्त जान मन नलाग्ने बनाउने सपना देख्नु र देखाउनु पनि भएको छ। 

त्यसैले कुरो बाटोकै गरौं। बाटोबारे सबैले काठमाडौंको अनुभवबाट सिक्नु उचित हुन्छ, के गर्ने हो, के चाहिं नगर्ने भनेर।

सबैभन्दा पहिले त सबैतिर मोटर गुड्ने बाटो नखोजौं। हो, बाटोको पहुँच सबैलाई चाहिन्छ। तर कता, कस्तो बाटो चाहिने? जस्तै, नगरको पुरातात्विक र ऐतिहासिक महत्वका ठाउँहरू जोगाउन, वरिपरि बाटो बने तापनि पैदल यात्रीलाई मात्र पहुँच दिऔं।

काठमाडौंको वसन्तपुरलाई गाडी निषेधित क्षेत्र बनाउने नियमको धेरै पटक लागछोड भइसक्यो। यहाँको पाठ सिकेर यस्ता ऐतिहासिक धरोहर भएका ठाउँमा जाउँजाउँ, बसौंबसौं लाग्ने खालको वातावरण बनाऔं।

मेचमा, चौतारीमा, हर्न र इन्जिनको आवाज मुक्त वातावरणको आनन्द लिंदै यस्ता धरोहरको अवलोकन गर्न कत्ति मज्जा आउला! गाडीहरूको आवतजावत रोके ती मठमन्दिर, भवनहरू जगैदेखि थर्किनबाट पनि जोगिन्छन्। यो हाम्रो कर्तव्य पनि हो।

नगरभित्र गाडी चल्ने बाटाहरूमा पैदल यात्रीलाई पनि मर्यादा गर्ने माहोल बनाऔं, काठमाडौंमा जस्तो बटुवाको ज्यान जोखिममा पार्ने होइन।

राजधानीमा जस्तो, सडक ठूलो पार्ने निहुँमा पेटी घटाउने काम नगरौं। यहाँ त कतैकतै पेटी नै छैनन्। भएका ठाउँमा पनि गाडीवालहरूको सजिलोका लागि खुम्च्याइएका छन्, एक जनाभन्दा बढी हिंड्न नै नमिल्ने गरी।

अलि फराकिलो पेटीमा बाइक पार्क गरिएका हुन्छन्, कतै त सिंगो गाडी नै। कि पसल पोखिएर आधा पेटी ढाकेको हुन्छ, कि त निर्माण सामग्री फिंजाइएका हुन्छन्। अनि बटुवाहरू बाटोमा झर्न बाध्य हुन्छन्। बाध्य भएका सडकमा हिंड्नुपर्दा 'जेवकिङ' को आरोपमा कत्तिले त जरिवानासमेत तिर्नुपर्‍यो।

काठमाडौंमा पर्याप्त जेब्रा क्रसिङ, आकाशे पुल पनि छैनन् अनि ज्यान हत्केलामा राखेर, ट्राफिक प्रहरीको आँखा छलेर, पैदल यात्री बाटो काट्न बाध्य छन्।

तपाईंहरूको नगरमा त्यसो नगर्नुस्, पैदल यात्री र साइकलवालालाई प्राथमिकता दिनुस्। अपाङ्गता भएका व्यक्ति, अशक्त, वृद्ध र बच्चाहरूलाई विशेष ध्यान दिनुस्। शहरमा सबैलाई सुलभ हुने गरी बाटोघाटो निर्माण गर्न लगाउनुस्।

जुन बाटोमा गाडी गुड्छन् त्यहाँ नियम कडाइका साथ लागू गर्नुस्। सबै ट्राफिकका नियम कण्ठै भएर, परीक्षामा पनि ज्ञान दर्शाएपछि मात्र लाइसेन्स पाउने व्यवस्था मिलाउनुस्। नियम बनाउने र बसाल्ने सबै अधिकार स्थानीय तहमै हुने भएकाले त्यसको सदुपयोग गर्नुहोस्।

काठमाडौंमा गाडीको चाप धेरै भएको बेला ट्राफिक प्रहरीले आफैं नै छोटकरी नियम लगाइदिन्छन्, जसले गर्दा ट्राफिक प्रहरी नहुँदा पनि चालकहरू त्यही छोटकरी तरिका अपनाउँछन् र दुर्घटना निम्त्याउँछन्।

जस्तै, ट्राफिक प्रहरीले नै दिशानिर्देश गर्ने पोस्टलाई घुम्नुपर्ने नियम विपरीत सवारी साधनलाई तेर्सो गुड्न आदेश दिन्छन्। सबतिर गोलो 'राउण्डअबाउट' बनाएर त्यसलाई घुम्नै पर्ने नियम बसाल्नुस्।

घुम्नै पर्ने नियम र जो अघि आउँछ, उसकै पालो पहिले भन्ने नियम बसाल्यो भने त चौबाटामा ट्राफिक प्रहरी पनि चाहिंदैन।

अर्को ध्यान दिनैपर्ने भनेको राजमार्ग अगलबगल घर बनाउने प्रवृत्तिबारे हो। हामी जता–जता बाटो जान्छ, बाटोकै छेउछाउमा पहिले टहरा, छाप्रो, अनि घर ठड्याउँछौं। घरमुनि पसलको कवल बनाउँछौं, सटर हाल्छौं।

नगरभित्रका गल्लीमा यस्तो किसिमको घर बनाउने चलन हामीले फराकिला सडक र राजमार्ग छेउमा पनि लग्यौं। सटरवाला घर बनायौं, बजार बसायौं।

गाडीको गतिको भेउ नै नपाई गाउँका बाटा जस्तै ठानेर वारि र पारिको पसलमा सामान लिन मानिस फुत्त बाटो काट्न तम्सिन्छन्। अतः चालकले गति घटाउने बेलासम्म बटुवालाई हानिसकेको हुन्छ।

त्यसैले पनि सडकतिर पर्ने गरी सटर, पसल, शोरुम बनाउन नदिऔं। समयमै जनचेतना नफैलाउने हो भने काठमाडौंको फराकिलो बनाइँदै गरेको चक्रपथमा यस्ता दुर्घटना झनै बढ्ने देखिन्छ।

यस्तो जोखिम नियन्त्रणका लागि राजमार्गको बगलमा दुवैपट्टि साइडरोड वा 'फीडर' बाटो बनाइनुपर्छ। सटर भवन बनाउनै पर्छ भने, हाइवे छेउमा हैन; साइडरोडमा मात्र बनाउन दिनुपर्छ।

हाइवेको छेउमा घर, भवन वा पसल बनिसकेको छ भने त्यसको ढोका सडकपट्टि नभई पछाडिपट्टि, साइडरोडपट्टि खोल्न र शोरुम छ भने, अगाडि ऐना राखेर डिस्प्ले मात्र गर्न पाउने र ढोका चाहिं पछाडिपट्टि मात्र खोल्न पाइने गरिनुपर्छ। यसो गर्दा दुर्घटना कम हुन्छ, सडकको वातावरण पनि सुध्रिन्छ। विस्तारै सटर संस्कृति पनि घट्दै जाला।

मुख्यतः हाम्रा नगरमै यति सुविधा हुनुपर्‍यो कि मानिसले सडक छेउछाउमा बस्न मन नै नगरुन्। 'बाटोले छोएको' जग्गा भनेर छोइनसक्नुको मोल तिरेर एकातिर धूलो, धुवाँ र अर्कातिर बत्तिने गाडीले ज्यानलाई पुर्‍याउने जोखिम हटाउने वातावरण बनाउनेतिर किन नलाग्ने!

पहाडमा रोकिनैपर्ने, 'डोजर आतंक' पनि हो। हो; सबैलाई सुविधा, पायक पर्ने ठाउँमा बाटाघाटा बनाउनुपर्छ। तर भाडाको डोजर ल्याएर हामीले विना नक्शा र पर्यावरणीय असरको लेखाजोखा नगरिकन, जताततै बाटो खन्न लगायौं। जसले पहिरो निम्त्यायो, बाटो बगायो। दोहोरो क्षति!

बरु समय लगाएर, हरित सडक खनौ। पहाडमा चट्टानको कमी हुँदैन। खनेको बाटोमा ठाडो पारेर ढुंगा बिछ्याए धेरै टिक्छ पनि। स्थानीय तहमै रोजगारी सृजना पनि हुन्छ। नौलोपनले पर्यटक तान्न पनि मद्दत गर्न सक्छ।

प्रायःजसो वर्षाको मुखमा बजेट सकिने बेलामा कालोपत्रे गर्छौं, अनि एक याम पनि टिक्दैन। त्यसैले पनि गिट्टी मात्र बिछ्याइएको बाटो उपयुक्त हुन्छ।

जता बाटो बनाइन्छ वा बाटो छ, त्यसको दायाँबायाँ लहरै रूख रोपौं– शीतल, रमणीय र पर्यावरण जोगाउन। यदि बाटो बनाउने वा बढाउने क्रममा रूख परे भने तिनलाई भरसक नकाटौं बरु छलेर बाटो मिलाऔं। त्यसो गर्न सके गर्मीमा बटुवा र चराचुरुङ्गीले रोजै धन्यवाद दिनेछन्।

वातावरणको कुरा, काठमाडौंमा जस्तै पानी पर्‍यो कि बाटाहरू खोला बन्न नदिऊँ। जताततै बस्ती बढ्दै जाँदा, चौर मासेर ढलान वा कालोपत्रे गर्दै जाँदा, वर्षाको पानी जमीन मुनि जानुको साटो यत्रतत्र बग्न थाल्छ, मानिसलाई नै बगाउने गरी। यस्तो बाटो नै खतरा बन्न पुगेको छ।

तपाईंहरू चाहिं यसो हुन नदिनुस्। छत वा छानोमा परेको पानी जम्मा गरेर बरू इनारमा खसाल्न लगाउनुस्। नगरमा हरियाली छाउन दिनुस् कंक्रिट र कालोपत्रेले चौर, घाँस मास्न नदिनुस्। बाटोलाई बाटो रहन दिऊ, खोला बन्न नदिऊँ!

प्रतिकृया दिनुहोस