रिपोर्ट विहीबार, साउन ५, २०७४

'जेठोबुढो'मै रुचि

युवराज श्रेष्ठ

धेरै धान फलाउने उन्नत र हाइब्रिड अनेक जात आए पनि पोखरावासीले परम्परागत 'जेठोबुढो' धान छाड्न सकेका छैनन्।


तस्वीर: युवराज श्रेष्ठ

सरकारले उन्नत र हाइब्रिड जातका धान रोप्न किसानलाई प्रेरित गर्न थालेदेखि नै देशभर परम्परागत बीउको प्रयोग घटिरहेको छ। जिल्ला कृषि विकास कार्यालय कास्कीका प्रमुख लोकेन्द्र बोहोराका अनुसार, धेरै धान फल्ने भएकैले अनुदानमा उन्नत र हाइब्रिड जातका बीउ वितरण भइरहेको छ। तर, पोखरा र आसपासका किसानमा 'जेठोबुढो' धानको मोह बाँकी नै छ। 

यस क्षेत्रका अधिकांश खेत 'जेठोबुढो' धानले भरिएका छन्। जेठोबुढो धान अन्य भन्दा महँगो पर्ने र पराल समेत लामो र नरम हुने भएकाले यही धान रोपेको पोखरा लेखनाथ महानगरपालिका १८ चङ्खपुरका दुर्गादत्त तिमिल्सिना (७८) बताउँछन्।

८ असारमा फेवाफाँटमा ७ रोपनी खेतमा धान रोप्दै गर्दा भेटिएका तिमिल्सिनालाई जेठोबुढो धानको भात पनि अन्यभन्दा स्वादिलो लाग्छ रे!

हाइब्रिड र उन्नत जातका बीउ भन्दा स्थानीय बीउमा रोग र परिवर्तित जलवायुमा अनुकूलन हुने क्षमता पनि बढी हुन्छ। वरिष्ठ कृषि वैज्ञानिक डा. भुवनरत्न स्थापितका अनुसार, स्थानीय जातका बीउले बाढीपहिरो, खडेरीलगायत प्राकृतिक समस्या समेत सहन्छन् र त्यसै अनुसार आफूलाई परिवर्तन गर्छन्।

“तर, हाइब्रिड जातका बीउले स्थानीयको तुलनामा प्राकृतिक विपत्ति झेल्न सक्दैनन् र त्यसलाई पुनः बीउका रूपमा प्रयोग गर्न पनि सकिंदैन”, उनी भन्छन्।

पोखरा लेखनाथ १८ सराङकोटका कर्णबहादुर थापाको खेतमा वर्षेनि बाढी आउँछ। फेवातालको मुहान हर्पनखोलामा आउने बाढीले पूरै धान पुरिदिन्छ। तर, बाढीपछिको जेठोबुढो धान झनै मौलाएर आउने उनको अनुभव छ।

जिल्लामा जेठोबुढो धान नै बढी रोपिए पनि केही वर्षयता झिनुवा, खुमल ४, खुमल ८ लगायत जातका बीउ समेत लगाइन थालेको छ।

जिल्ला कृषि विकास कार्यालय, कास्कीका अनुसार, जिल्लामा कुल खेतीयोग्य जमीनको क्षेत्रफल ६८ हजार ९६७ हेक्टर रहेको छ। जसमध्ये ४८ हजार ६३३ हेक्टरमा खेती गरिन्छ।

कार्यालयका प्राविधिक रञ्जना पोखरेलका अनुसार, खेती गरिएकामध्ये करीब आधा अर्थात् २६ हजार ७५७ हेक्टरमा मात्रै सिंचाइ सुविधा पुगेको छ। खेतीयोग्य जमीनमध्ये पनि २० हजार ५० हेक्टर क्षेत्रफलमा मात्र धानखेती गरिन्छ।

जिल्लामा गत वर्ष ८० हजार ५८३ टन धान उत्पादन भएको कृषि विकास कार्यालयको तथ्यांक छ।

घर फलाउँदै लेखनाथ
पोखरा प्रवेशद्वार विजयपुर खोलाबाट पश्चिमतर्फको विशाल फाँटमा पर्छ, लेखनाथ क्षेत्र। यो क्षेत्र हाल पोखरा लेखनाथ महानगरपालिका २६ देखि ३३ वडामा समेटिएको छ। तर, विगतमा लहलह धान फल्ने यी फाँटहरूमा केही वर्षयता घर फल्न थालेका छन्।

पोखरा लेखनाथ २७ लेखनाथकी सम्झ्ना रेग्मी (३०) २५ असारमा चार जना खेतालासहित धान रोपिरहेकी थिइन्। दायाँबायाँ घर ठडिएको साँघुरो जमीन खेतभन्दा बढी घडेरी जस्तो देखिन्थ्यो।

सम्झना श्रीमान हरि रेग्मी विगत दुई वर्षदेखि दुबई (युएई) मा छन्। “खेती गरेर खान पुग्दैन, विदेश नगएर के गर्नु?” उनी भन्छिन्।

लेखनाथका फाँटहरूमा रोपाइँ गरिरहेकामा अधिकांश वृद्ध र महिला देखिन्थे। लेखनाथ शिरोमणि गेटका पुतली रेग्मीका अनुसार, अहिले खेताला पाउनै गाह्रो छ। “केटाकेटी कमाउन विदेशमा छन्, काम गर्ने मान्छे कहाँ पाउनु?” उनी भन्छिन्।

युवाहरू विदेशिएका कारण गाउँमा खेताला पाउन नसकेपछि लेखनाथ फाँट आसपासका गाउँहरू लामास्वाँरा, पचभैया, भँयरी, कोटबारी, रूपाकोटवासीहरू बेंसी झर्न थालेको स्थानीय ध्रुव अधिकारी (५५) बताउँछन्।

खाली जग्गालाई सरकारी तथा गैरसरकारी कर्मचारी र व्यवसायीले लेखनाथमा धमाधम घर, घडेरी जोड्न थालेको उनको भनाइ छ।

पोखरा लेखनाथ ३१ लेखनाथका नवनिर्वाचित वडाध्यक्ष कमलबहादुर थापा लेखनाथको झ्ण्डै ७० प्रतिशत जमीनमा घर ठडिइसकेको बताउँछन्। “बाँकी जमीनमा पनि प्लटिङ र घर निर्माण भइरहेका छन्” उनी भन्छन्, “अचानक यति धेरै घर बन्छन् भन्ने कल्पना पनि थिएन।”

लेखनाथ क्षेत्रमा जेठोबुढो बाहेक झिनुवा, रमनी, सिली लगायत जातका धान रोपिन्थ्यो। अहिले रमनी, सिली लगायत जातका बीउ नपाइने गरेको स्थानीय सावित्री भण्डारी (५४) बताउँछिन्।

“अहिले धेरै जेठोबुढो, केही ठाउँमा झिनुवा, मन्सुलीलगायत अरू हाइब्रिड र उन्नत जातका धान रोपिएका छन्”, उनी भन्छिन्।

खेत सिंचाइका लागि वेगनास ताल र सेती नदीको पानी विजयपुर नहरबाट लेखनाथका फाँटहरूसम्म पुर्‍याइएको छ। बर्खामा जमीनबाट उम्रने पानीले फाँट बाँझो हुन दिंदैनथ्यो।

“ढाप खेत (मलिलो र पानीले भरिपूर्ण खेत) थियो, पानी धेरै भएर हिंड्नै मिल्दैनथ्यो”, खेतीपातीका पुराना दिन सम्झ्ँदै भण्डारी भन्छिन्।

लेखनाथ, पचभैयाका ध्रुव अधिकारी विगत तीन वर्षयता धमाधम घर बन्न थालेको बताउँछन्। “हेर्दा हेर्दै फाँट घरले भरिए, धान फल्ने खेत घरले भरिएला भनेर सोचेकै थिइनँ”, उनी भन्छन्। लेखनाथमा अहिले पनि घर बनाउन ठिक्क पारिएका २५ वटा ठूला प्लटिङ जमीन छन्।

सुन्दरीडाँडाकी काली लामिछाने (३६) लेखनाथ मोहोरिया फाँटमा रहेको खेतमा रोपाइँ गर्न गाउँबेंसी गरेको अझै सम्झिन्छिन्। “उहिले धान रोप्न बेंसी जान्थ्यौं” उनी भन्छिन्, “अहिले हाम्रै खेत घडेरी बनेको छ।”

लेखनाथमा शहरी विकास योजना विना नै बस्ती बढ्नु महानगरका लागि भविष्यको चिन्ताको विषय हो। तर, यसबारे अहिले कसैले सोचेको देखिंदैन। त्यसो त २०७२ सालको भूकम्पअघि सरकारले नगरक्षेत्रबाहेक बस्ती विकासको कुनै मापदण्ड पनि लागू गरेको थिएन।

प्रतिकृया दिनुहोस