नेपालमै बनेको रोबोटले शुरु गर्यो बैंकमा काम
![नेपालमै बनेको रोबोटले शुरु गर्यो बैंकमा काम](https://www.himalkhabar.com/tinymce/file_manager/source/Technology/pari_robot.jpg)
नेपालमै तयार भएको 'परी' नामक रोबोटले एसबीआई बैंकको दरबारमार्ग शाखामा काम शुरु गरेको छ ।
![](/tinymce/file_manager/source/Technology/pari_robot.jpg?1499761808737)
नेपालमा डमी रोबोटहरु धेरैले बनाएका छन् । अधिकांशले बनाएका त्यस्ता रोबोटहरु क्षणिक आकर्षणका विषय बन्छन् र हराउँछन् । तर, व्यवसायिक प्रयोजनका लागि ६ जना इन्जिनियरहरुको समुहले तयार पारेको रोबोटले बैंकमा काम नै शुरु गरिसकेको छ ।
पाइला टेक्नोलोजी नामक संस्थामार्फत ४० दिनको समय लगाएर ६ जना इन्जिनियरहरुको समुहले बैंकिङ प्रयोजनका लागि रोबोट तयार पारेका हुन् । रोबोट बनाउने कार्यमा पुल्चोक इन्जिनियरिङ कलेजको रोबोटिक्स क्लबमा आवद्ध विद्यार्थीहरुहरुकोसमेत संलग्नता थियो । उनीहरुले ‘परी’ नाम दिएको यो रोबोटले एसबीआई बैंकको दरबारमार्गस्थित शाखा कार्यालयमा काम शुरु गरेको छ ।
बैंकले आफ्नो वार्षिकोत्सवको अवसर पारेर २२ असारदेखि रोबोट प्रयोगमा ल्याएको हो । रोबोटका डेभलपर दिपकमल भुषाल कम्पनी स्थापना भएको ६ महिनाकै अवधिमा व्यवसायिक प्रयोजनको रोबोट बनाउन सक्नु उपलब्धिमुलक भएको बताउँछन् ।
रोबोट बनाउने काममा संलग्न नेपाली युवा इन्जिनियरहरु ।उनकाअनुसार सेवाग्राहीले दिएको निर्देशनपछि रोबोटले काम गर्छ । बैंकिङ सूचना र जानकारी दिने यो रोबोट चलाउन सेवाग्राहीले रोबोटको स्क्रिनमा भएका बटनहरु थिच्नुपर्छ । ग्राहकले आफूलाई कस्तो जानकारी चाहिएको हो सोहीअनुसार कमाण्ड दिएपछि रोबोटले आवश्यक सूचनाहरु दिन्छ । रोबोटको प्रयोगसँगै सामान्य जानकारी कर्मचारीलाई सोध्नुपर्ने झन्झटबाट सेवाग्राही मुक्त भएका छन् ।
खाता कसरी खोल्ने, एटीएमको प्रयोग कसरी गर्नेलगायतका सामान्य बैंकिङ विषयमा ‘परि रोबोट’ले जानकारी दिने पाइला टेक्नोलोजिका कार्यकारी निर्देशक विनय राउत बताउँछन् ।
“यो परी भर्जन–१ रोबोट हो । आगामी ६ महिनामा हामीले नेपाली र अंग्रेजी दुबै भाषा बुझ्न सक्ने र आफैं हिडडुल गर्ने रोबोट बनाउन लागेका छौं ।” रोबोट बनाउने काममा संलग्न रहेका उनी भन्छन, “यसले नेपालको सूचना प्रविधिको क्षेत्रमा क्रान्ति ल्याउनेछ ।” उनीहरुले बनाउन लागेको अर्को रोबोट पनि बैंकिङ् प्रयोजनका लागि हो ।
प्रविधिमा नेपाललाई अगाडि बढाउन र नेपाली इन्जिनियरिहरुलाई नयाँ प्रविधिको विकासमा संलग्न गराउन रोबोटमार्फत पाइला चाल्न लागिएको कार्यकारी निर्देशक राउत बताउँछन् । उनी भन्छन्, “नेपालीले बनाएको रोबोटलाई पनि व्यवसायिक प्रयोजनमा उपयोग गर्न सकिन्छ भन्ने उदाहरण हो ।