नेपाली नेताका बदलिंदा स्वरुप (कैलाश श्रेष्ठ) । तस्वीरहरुः रविन गिरी
सन् १८३३–१८५७ सम्म नेपालमा बेलायती रेजिडेन्ट नियुक्त ब्रायन हड्सनको रुचि राजा, राणा र भारदारीको कुटिल राजनीतिमा मात्र सीमित थिएन । प्रकृतिवादी उनले नेपाल बसाइका क्रममा ऐतिहासिक दस्तावेजका साथै थुप्रै जीवजन्तु, वनस्पति संकलन र अध्ययन गरे । र, तिनलाई जतनसाथ बेलायत पु¥याए ।
तिनैमध्येको एक पुस्तकको दुर्लभ पाण्डुलिपि यतिखेर राजधानीको सिद्धार्थ आर्ट ग्यालरीमा हेर्न सकिन्छ । नेपाली चित्रकार राजमानसिं चित्रकारले उबेला कोरेका चराका रंगीन चित्र, तिनमा हड्सनको वैज्ञानिक परिचय, भौगोलिक अवस्थितिलगायत विस्तृत जानकारी पुस्तकमा समेटिएको छ । पुस्तकमा समाविष्ट चराका तस्वीरका स्लाइड शो, नेपालमा पाइने चरा र तिनका विशेषताबारे चित्रकला र प्रतिस्थापनकला समेत प्रदर्शनमा राखिएको छ ग्यालरीमा ।
बेलायतबाट पहिलोपटक ल्याइएको हड्सनको चरा पुस्तक । तस्वीरः हेइदे हिन्रिच
“हड्सनको ६ वटा भागमध्येको एक भागको यो पुस्तक लण्डनको नेचुरल हिस्ट्री म्युजियमबाट दुई महीनाका लागि बडो मुश्किलले मागेर ल्याएका हौं”, ‘अन सम अफ द वर्डस्’ प्रदर्शनीकी क्युरेटर हेइदे हिन्रिच भन्छिन्, “यो प्रदर्शनीबाट इतिहासलाई वर्तमानसँग जोड्ने प्रयास गरेका छौं ।”
समय, परिवेश, व्यक्ति, तिनका आकांक्षालाई कलात्मक भावभूमि दिइएको यस्ता थुप्रै कला प्रदर्शनीले ११ चैतदेखि राजधानीलाई रंगीन बनाएको छ । ‘काठमाडौं ट्रिएनाले’ नामक यो कला महोत्सव एकैपटक नेपाल कला परिषद्, तारागाउँ संग्रहालय, पाटन संग्रहालय, झोंछे, नयाँबजार र पाटनढोकालगायतका थुप्रै ठाउँमा चलिरहेको छ, जहाँ २५ देशका ७० जना विदेशी कलाकार सहभागी छन् ।
हेइदे हिन्रिच ।
“काठमाडौं ट्रिएनाले विश्वकै समकालीन कला प्रदर्शन गर्ने नेपालकै ठूलो मञ्च हो”, ट्रिएनालेकी निर्देशक संगीता थापा भन्छिन् । उनका अनुसार, यो नेपाललाई दक्षिणएशियाकै सांस्कृतिक केन्द्रका रुपमा स्थापित गर्ने अभियान पनि हो । प्रत्येक तीन वर्षमा गरिने ट्रिएनाले महोत्सवको आयोजना बेल्जियमको घेन्टस्थित समकालीन कला संग्रहालय स्माक (एसएमएके) र सिद्धार्थ आर्ट ग्यालरीले गरेको हो ।
रातो मत्स्येन्द्रनाथको रथको एक भाग (विधाता केसी) ।
‘कला यहाँ रमाउँछ’ नाराका साथ २७ चैतसम्म चल्ने महोत्सवको विशेष प्रदर्शनी ‘शहरः मेरो मञ्च/मेरो जीवन’ हो । स्माकका कला निर्देशक फिलिप भान काउटरेन क्यूरेटर रहेको यो प्रदर्शनीले विश्वका शहर सपनालाई केलाउने प्रयत्न गरेको छ । प्रदर्शनीमा ‘एन्काउन्टर्स’ अन्तर्गत कलाकारका अन्तरसंवाद, कार्यशाला र भेटघाटलाई प्राथमिकता दिइएको छ ।
“देशभित्रका कलाकारहरूका लागि यो महोत्सव आँखा खोलिदिने अवसर हो”, महोत्सवमा ‘शहर र शरणार्थी’ विषयमा कला प्रदर्शन गरिरहेका सुजन डंगोल भन्छन् ।
भूकम्पका अवशेषबाट निर्मित मण्डल (आङ छिरिङ शेर्पा ।
महानगरमा लुकेकी एक पात्र (तुशीकुर रहमान) ।