एमाले–माओवादी गठबन्धन तोडेर माओवादी–कांग्रेस सहकार्य सम्भव पार्ने कांग्रेस नेता विमलेन्द्र निधि नेपाली राजनीतिका 'गेम चेञ्जर' का रुपमा देखिएका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेकपा एमालेको नेतृत्वमा रहेको सरकार ढाल्न सत्तारुढ गठबन्धनकै प्रमुख घटक माओवादीसँग मिलेर गरेको 'मूभ' २३ वैशाखमा असफल भएपछि कांग्रेसका नेताहरूले माओवादी अध्यक्ष पुष्पकमल दाहालमाथि 'धोकेबाज' र 'विश्वासघाती' भएको सार्वजनिक आरोप लगाए। माओवादी जस्तो 'अविश्वसनीय र अवसरवादी दललाई चिन्न नसकेको' मा पार्टी सभापति शेरबहादुर देउवामाथि पनि 'हुस्सू' भन्ने आरोप लाग्यो।
एमाले नेतृत्वको सरकार ढाल्नका निम्ति दाहाललाई प्रधानमन्त्री बनाउन तयार भएको कांग्रेस अन्तिम घडीमा दाहाल एमालेसितै मिलेपछि योविघ्न उद्वेलित बनेको थियो। त्यसपछि त कांग्रेस–माओवादी मिलन सम्भव नहुने अनुमान समेत गरे, धेरैले।
तर, त्यसको दुई महीनामै कांग्रेस–माओवादी निकटता बढेन मात्र, २८ असारमा माओवादीले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय नै गर्यो। अर्को दिन कांग्रेस–माओवादीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसद्मा अविश्वास प्रस्ताव नै दर्ता गरे।
चरम अविश्वासको तहमा झ्रेको कांग्रेस–माओवादी सम्बन्धलाई अविश्वसनीय रूपमै सहकार्यमा लगेर नयाँ सत्ता गठबन्धन बनाउने प्रमुख खेलाडी थिए– कांग्रेस केन्द्रीय सदस्य विमलेन्द्र निधि।
सभापति शेरबहादुर देउवाका सबभन्दा निकटका विश्वासपात्र रहेका उनले नयाँ सत्ता गठबन्धन बनाउन थुप्रै 'गोप्य' भेटघाट र छलफलहरू गरे, आन्तरिक–बाह्य 'शक्तिकेन्द्र' हरूसँग 'डिल' गरे। एमालेको नेतृत्वको 'वाम गठबन्धन' तोडेर कांग्रेसलाई सत्तामा पुर्याउन मात्र होइन, आन्दोलनरत मधेशी मोर्चालाई संसद्मा भित्र्याएर सिंहदरबार प्रवेशको बाटोमा डोर्याउन समेत सफल भए, निधि।
विश्लेषक पुरञ्जन आचार्य दाहाल नेतृत्वको सरकारमा संसद्को पहिलो दलको नेतृत्व गरेर उप–प्रधान तथा गृहमन्त्री बन्नु त्यही भूमिकाले सुनिश्चित गरेको निधिको 'राजनीतिक फड्को' मान्छन्।
हुन पनि, वैशाखमा सरकार ढाल्न चलिएको त्यत्रो चाल नराम्रोसँग विफल भएपछि यति चाँडै कांग्रेस–माओवादी गठबन्धन बन्ला भन्ने आकलन गरिएको थिएन। “तर, विमलेन्द्रले त्यसलाई सम्भव तुल्याए”, आचार्य भन्छन्, “पछिल्लो राजनीतिक परिघटनाको सूत्रधार र संचालक बनेका उनले 'गेम चेञ्जर' को अवतार देखाउन खोजेका छन्।”
उपप्रधानमन्त्री तथा गृहमन्त्रीको शपथ लिंदै विमलेन्द्र निधि । तस्वीर: बिक्रम राई
अविचलित वफादार कांग्रेस–माओवादी गठबन्धन सरकारमा पार्टीको नेतृत्व गरेर उपप्रधानमन्त्री बनेपछि कांग्रेसमा निधिको जबर्जस्त प्रभाव देखिन थालेको छ। र, धेरै नेताहरू कांग्रेसभित्रको यो पछिल्लो 'फर्मेसन' मा आफू किनारातिर धकेलिएको महसूस गर्न थालेका छन्।
मन्त्रिपरिषद् विस्तारको क्रममा कांग्रेसभित्र देखापरेको असन्तुष्टिलाई यसैसँग जोडेर हेर्ने गरिन्छ। तर, निधिको प्रभाव यसरी प्रकट भइरहेको छ कि, सरकारमा पार्टीको नेतृत्व गरेका उनैलाई उपसभापति मनोनीत गर्ने तयारी भइरहेको सभापति देउवा निकट नेताहरू बताउँछन्।
झट्ट हेर्दा यी घटनाक्रम अप्रत्यासित र अनौठा लाग्छन्, तर कांग्रेसको पार्टी राजनीति र निधिको विगत बुझेकाहरू यसलाई त्यो रूपमा हेर्दैनन्। उनीहरूका अनुसार, कांग्रेसभित्र गिरिजाप्रसाद कोइरालाको विरोधमा देउवा उभिन थाल्दा कोइराला पक्षधरहरू भन्ने गर्थे– 'त्यो समूहको नेता शेरबहादुर होइन, विमलेन्द्र हो।'
हुन पनि, कोइराला परिवारसँग राम्रो सम्बन्ध भए पनि गिरिजाप्रसाद शक्तिमा आएपछि निधि सधैं विपक्षी खेमाको बलियो खम्बाका रूपमा उभिए, कहिल्यै विचलित नभई।
पार्टीभित्र प्रतिपक्ष बनेका देउवालाई साथ दिएर विभाजन हुँदासमेत सँगै गएका नारायण खड्का, मिनेन्द्र रिजाल, बलबहादुर केसी, प्रकाशमान सिंहलगायतका नेताले कालान्तरमा साथ छाडे पनि विमलेन्द्र अविचलित रूपमा देउवासँगै रहे। अवसर र लाभका निम्ति 'क्याम्प' परिवर्तन नगरी देउवालाई पार्टी नेतृत्वमा पुर्याउन दिलोज्यान दिएर लागे, उनी।
कांग्रेसमा विमलेन्द्र सधैं गिरिजाप्रसादको विपक्ष र देउवाको पक्षमा रहनुको खास कारण छ। कांग्रेसका महामन्त्री बनेका उनका बुवा महेन्द्रनारायण निधि गिरिजाप्रसाद नभई कृष्णप्रसाद भट्टराई नजिक रहे। कालान्तरमा भट्टराई खेमाको 'लिगेसी' देउवामा सर्दा निधिपुत्र विमलेन्द्र यो खेमाको खम्बा बन्न आइपुगे।
त्यसबाहेक, पुराना कांग्रेसहरू देउवा र निधि दुवैलाई बीपी कोइरालाले 'प्रोजेक्सन' गरेका नेता भन्छन्। “बीपीले धनगढीको आमसभाबाट देउवाको व्यक्तित्वलाई राष्ट्रियस्तरको बनाइदिनुभो, अनि जनकपुर पुगेर विमलेन्द्रलाई उठाइदिनुभो”, विश्लेषक आचार्य भन्छन्, “देउवाले नेता बनिसकेका विमलेन्द्रलाई साथ लिएको मात्र हो, बनाएको त बीपीले नै हो।”
निधि पहिलेदेखि नै रहेको समूहको नेतृत्व देउवाले पछि लिएको बताउने कांग्रेसहरू पनि छन्। उनीहरू २०५३ सालको नवौं महाधिवेशनलाई त्यसको उदाहरणको रूपमा लिन्छन्। त्यसबेला गिरिजाप्रसादविरुद्ध सभापतिमा उम्मेदवारी दिएका चिरञ्जीवी वाग्लेलाई खुलेर समर्थन गर्ने विमलेन्द्र निधि थिए। त्यही महाधिवेशनबाट उनी कांग्रेसको केन्द्रीय सदस्य बन्न सफल भए।
त्यसो त उनी देउवा पछि नै नेपाल विद्यार्थी संघका अध्यक्ष बनेका हुन्। २०३६ सालमा भएको नेविसंघको जनकपुर अधिवेशनमा निधिलाई अध्यक्ष बनाउन बीपीले भिटो लगाएका थिए।
कांग्रेस नेताहरूका अनुसार, त्यसबेला ६० प्रतिशत महाधिवेशन प्रतिनिधि बेनुपराज प्रसाईको पक्षमा थिए, तर बीपीले २३ वर्षका विमलेन्द्रलाई नेविसंघको केन्द्रीय अध्यक्ष बनाए। त्यसबेला महेन्द्रनारायणका छोरालाई बीपीले नेविसंघ अध्यक्ष बनाएको कुराले ठूलो चर्चा पायो। विमलेन्द्रले पनि महेन्द्रनारायण निधिको छोरा र बीपीको प्रिय कार्यकर्ता हुनुको फाइदासँगै नेविसंघ अध्यक्षको रूपमा राजनीतिक हैसियत बनाए। उनको त्यो फड्को धेरैका लागि अप्रत्यासित थियो।
२०१७ सालको घटनापछि जनकपुरमा कांग्रेसका दुई धार थिए। तीमध्ये एउटाको नेतृत्व महेन्द्रनारायण निधिले गर्थे। अर्को धारको नेता बोधप्रसाद उपाध्याय र सरोज कोइराला थिए।
बीपीको सशस्त्र संघर्षको लाइनमा विमति राख्ने अहिंसात्मक राजनीतिका पक्षपाती महेन्द्रनारायणसँग सीमित मान्छे थिए। कतिसम्म भने, छोरा विमलेन्द्र समेत उपाध्याय र कोइरालाकै दृष्टिकोणबाट नेविसंघको राजनीतिमा आएका थिए। त्यसले नै उनलाई बीपीको नजरमा पारेको थियो।
२०३६ को जनमत संग्रहपछि आएको केही खुलापनमा कांग्रेसभित्र ध्रुवीकरण शुरू भयो। बीपीले कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक सभापति बनाएकाले पार्टीमा महेन्द्रनारायणको भूमिका बढेको थियो। जनकपुरमा एउटा धारको नेता उनी नै थिए।
अर्को समूहको नेतृत्वमा भने लीला कोइरालाहरू आएका थिए। त्यसबेलासम्म राजनीतिमा आफ्नो परिचय बनाइसकेका विमलेन्द्रका निम्ति त्यो अर्को अनुकूलता थियो। जनकपुरमा सँगसँगै नेविसंघ र कांग्रेसको राजनीति गरेका वृषेशचन्द्र लाल त्यो अनुकूलताका बीच विमलेन्द्रले काबिलियत देखाएको बताउँछन्।
उनका अनुसार, विमलेन्द्रले राजनीतिमा संघर्ष पनि डटेरै गरे। वृषेश भन्छन्, “अर्को सत्य कुरा के हो भने, निधिजीको छोरा भएकाले उनले पाए जति राजनीतिमा क्षमता बढाउने अवसर हामीले पाएनौं।”
पारिवारिक पृष्ठभूमि, जेलनेल भोगेको अवधि र आफ्नो गुटका नेताप्रतिको वफादारी कांग्रेसमा राजनीतिक योग्यताको आधार बन्ने गरेको छ। विमलेन्द्र निधिसँग यी सब कुरा थिए। पछिल्लो समय राजनीतिमा निर्णायक बनेको समावेशी लोकतन्त्रको नारा र त्यसमा पनि मधेशी समुदायको नेता हुनुको लाभ उनले उठाए।
डा. रामवरण यादव राष्ट्रपति बनेपछि र महन्थ ठाकुर र विजय गच्छदारले पार्टी छाडेपछि त अवस्था यस्तो आयो, कांग्रेसमा उनी बराबर राजनीतिक हैसियत र उँचाइ भएका मधेशी नेता कोही भएनन्। मधेशको नाममा कांग्रेसभित्र विमलेन्द्रको विकल्प र चुनौती उनी आफैं बन्न पुगे।
'कायस्थ हो, बुद्धि छ' मधेशको जातीय समीकरणमा उपल्लो जातिको कायस्थ हुन्– विमलेन्द्र निधि। मधेशी समाजमा चलाख भनेर बुझाउन कायस्थहरूलाई 'चित्रगुप्तका खानदान' भन्ने गरिन्छ। र, विमलेन्द्र निधिले चतुरतामा कमी देखाएका पनि छैनन्। जस्तो, पहिलो संविधानसभामा माओवादी सबभन्दा ठूलो पार्टी बनेपछि प्रधानमन्त्री एवम् कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले विमलेन्द्रलाई बोलाएर 'अब के गर्दा ठीक हुन्छ?' भनेर सोध्दा उनले भनेका थिए, “अब तपाईं राजीनामा गर्नुस्।”
'हुन त, गिरिजाबाबु मलाई विश्वास गर्नुहुन्न, तैपनि मेरो सुझाव सुन्नुस्' भन्दै उनले सुझाएका थिए, “राजा निलम्बनमा छन्, र राष्ट्रपति पनि बनिनसकेकाले राजीनामा दिने ठाउँ छैन, घोषणा मात्र गर्ने हो।
तपाईंले बहुमतका आधारमा सरकार गठन र विघटन गर्ने गरी संविधान संशोधन गर्नुपर्छ, नभए माओवादीले सत्ताकब्जा गर्छ भन्ने शंका गर्नुभएको छ। अहिले जनतामाझ् राजीनामा घोषणा गर्ने मात्र हो, संविधानमा त्यस सम्बन्धी व्यवस्था नहुँदासम्म सत्ता छाड्नुपर्दैन। प्रचण्डलाई दबाब दिंदै गर्ने, तर जनतामाझ् राजीनामाको घोषणा चाहिं गरिहाल्नुपर्छ।”
प्रधानमन्त्री कोइरालालाई त्यस्तो सुझाव दिएर विमलेन्द्र निस्कँदै गर्दा डा. रामवरण यादव भित्र पस्दै थिए। यादवले 'विमलले के भने?' भनेर कोइरालाका सहयोगीबाट बेलिविस्तार सुनेपछि भनेका थिए, “कायस्थ हो, बुद्धि छ, ठीक कुरा गरेछ।”
कांग्रेस विभाजनपछि पनि देउवाको साथ नछाडेका विमलेन्द्र निधि पार्टी एकीकरणपछि महामन्त्री बने– डा. यादव र कुलबहादुर गुरुङसँगै। नेतृत्व तहमा पुग्न नसकेका कांग्रेसका हस्तीहरू त्यसबेला भन्ने गर्थे– 'हेर्नुहोला, अब पार्टी चलाउने विमलेन्द्र नै हो।”
अजेण्डा ल्याउने, तर्क गर्ने, त्यसमा अरूलाई सहमत गराएर निर्णय गर्ने खूबीका कारण उनीबारे त्यस्तो टिप्पणी हुन्थ्यो। आफूलाई बाहिर प्रस्तुत गर्दा 'राजनीतिक संस्कार' देखाउने खूबी पनि विमलेन्द्रसँग छ।
नेकपा एमालेका सचिव प्रदीप ज्ञवाली उनलाई नेपाली कांग्रेसको दोस्रो पुस्ताका क्षमतावान नेता मान्छन्। कतिपय नेता पारिवारिक विरासतबाट बाहिर निस्कन नसके पनि उनले आफूलाई महेन्द्रनारायण निधिको छोराको छायाँबाट करीब करीब मुक्त राखेको ज्ञवालीको मूल्यांकन छ।
“एकातिर लागेपछि दलबदलु स्वभाव नदेखाई निरन्तर लागिरहने गरेका छन्”, ज्ञवाली भन्छन्, “पहिले किशुनजीको 'लिगेसी' र पछि देउवालाई समातेर आफूलाई छुट्टै रूपमा स्थापित गरेका छन्।”
कुटिलतालाई पनि शालीन रूपमा राख्न र राजनीतिक तर्कमा माहिर विमलेन्द्र निधिलाई यही खूबीले कांग्रेसभित्र राम्रो 'नेगोसियटर' बनाएको मानिन्छ। यही खूबीबाट देउवा र दाहाललाई एकठाउँमा ल्याएका उनले उत्तर ढल्केका माओवादी नेता कृष्णबहादुर महरालाई दक्षिणको सान्निध्यमा पुर्याए।
विमलेन्द्रले कुनै कुरामा लागेपछि विचलित नभई लागिरहने स्वभाव २३ वैशाखमा कांग्रेस–माओवादी गठबन्धनको प्रयास टुटेपछि पनि देखाए। त्यसबेला वार्तामा सहभागी कांग्रेसका अन्य नेताहरूले माओवादीबारे अनेक टिप्पणी गरे पनि उनले वातावरणलाई अर्को तवरले सहज बनाउन छाडेनन्।
“यी सब खूबीका बीच देउवाको दाहिना हुनु विमलेन्द्रको सबभन्दा ठूलो पूँजी हो”, कांग्रेसका एक नेता भन्छन्, “देउवालाई पनि यत्तिको मान्छेलाई दोस्रो वरियतामा ल्याउँदा बफादार उत्तराधिकारी पनि हुने अनि मधेशमा गुमेको कांग्रेसको प्रभाव पनि फिर्ता गर्न सकिन्छ भन्ने लागेको छ।”
संदिग्ध भूमिका! पछिल्लो सत्ता परिवर्तनको राजनीतिमा विमलेन्द्र हावी हुनुमा बाह्य कारण भएको मान्नेहरूको पनि कमी छैन। प्रमुख प्रतिपक्षी बन्न पुगेको एमालेका नेताहरू त विमलेन्द्रका पछिल्ला 'मूभ' हरू बाह्य शक्तिकेन्द्रकै खटनपटनमा भएको दाबी गर्छन्। उनीहरूका अनुसार, केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने बाह्य 'डिजाइन' का मोहरा हुन्, उनी।
कांग्रेस सभापति शेरबहादुर देउवासँग विमलेन्द्र निधि । तस्वीर: बिक्रम राई
“सरकार परिवर्तनको पछिल्लो खेलमा भारतीय एजेन्सीहरूको सक्रियता एक 'ओपन सेक्रेट' हो”, एमालेका एक नेता भन्छन्, “यत्तिको उँचाइ बनाएका नेताले भारतसँगको सम्बन्धलाई राजनीतिक तहमा सीमित नराखेर एजेन्सीहरूसँग साँठगाँठ गर्नु दुर्भाग्यपूर्ण हो।”
भारतसँग राजनीतिक तहमा सम्बन्ध भएका कांग्रेसका नेताहरू पूरै किनारा लगाइएको अवस्थाले पनि एमाले नेताहरूलाई यस्तो दाबी गर्न बल पुगेको छ। हुन पनि, सरकार परिवर्तनको पछिल्लो प्रकरणमा शेखर कोइराला, शशांक कोइराला, प्रदीप गिरीलगायतका नेताहरू 'सिन' मै देखिएनन्।
कांग्रेस सभापति देउवाले शेखरलाई त परराष्ट्रमन्त्री बनाउने आश्वासन दिएर पनि बनाउन चाहेनन्। भारत र मधेशकेन्द्रित दलहरूलाई 'कन्भिन्स' गर्न सक्ने नेताका रूपमा विमलेन्द्रले प्रमुख भूमिका पाएको बताइए पनि तराई–मधेश लोकतान्त्रिक पार्टीका एक नेता त्यसका लागि शेखर उपयुक्त हुने ठान्छन्। ती नेता भन्छन्, “तर, कांग्रेसभित्रको समीकरण र अन्य पक्ष हावी हुँदा भयो अर्कै।”
एमाले नेताहरूको दाबीलाई बिर्संदा पनि विमलेन्द्रका पछिल्ला 'मूभ' र अभिव्यक्तिहरू सन्देहरहित देखिन्न। सुशील कोइराला नेतृत्वको सरकारमा भौतिक पूर्वाधारमन्त्री हुँदा उनले काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणको जिम्मा भारतीय कम्पनीलाई नै दिन 'लविङ' गरे।
केपी ओली नेतृत्वको सरकारले प्रस्तावित द्रुतमार्ग आफैं बनाउने निर्णय गर्दा उनी विरोधको अग्रपंक्तिमै देखिए। कोइराला सरकारमा मन्त्री रहेका एमालेका एक नेता भारतीय कम्पनीलाई फास्ट ट्रयाक जिम्मा दिन विमलेन्द्र निधिले क्याबिनेट बैठकमै गरेको लविङ लाजमर्दो रहेको बताउँछन्।
“भारतीय कम्पनीलाई आयोजना दिने कि नदिने भन्ने प्रश्नै होइन, सम्झ्ौतामा जेजस्ता प्रावधान राख्न खोजियो र न्यूनतम सवारी संख्या नपुग्दा राष्ट्रलाई जुन नोक्सानी हुने देखियो, त्यसको विरोध हो”, एमालेका ती नेता भन्छन्, “तर, निधिजीले आयोजना दिने लाजमर्दो लविङ गर्नुभयो।”
संविधान निर्माण रोक्न र संविधान जारी भइसकेपछि पनि त्यसको विरोधमा भारतीय नाकाबन्दी निम्त्याउने भूमिकामा मधेशकेन्द्रित दलहरू थिए। तर, पछिल्लो समय मधेशको आन्दोलन विकृत र कमजोर भइसकेको निष्कर्षमा दिल्ली पुगेको उसका 'मूभ' हरूले देखाउँछन्।
मधेश राजनीतिको कमान वामपन्थी पृष्ठभूमिका उपेन्द्र यादवको हातमा पुगेपछि महन्थ ठाकुर, विजय गच्छदारलगायतका कांग्रेस पृष्ठभूमिका नेताहरूलाई अगाडि बढाएको दिल्ली त्यसबाट पनि पार नलागेपछि देशको पुरानो पार्टी कांग्रेसभित्रै मधेशको नेता 'ग्रुम' गर्ने निष्कर्षमा पुगेको विश्लेषण कांग्रेसकै एक नेता गर्छन्।
ती नेता भन्छन्, “कांग्रेसभित्र 'नेपालका गान्धी' भनिएका महेन्द्रनारायणका छोरा, बीपीले 'प्रोजेक्सन' गरेका र पछिल्लो समय पार्टीभित्र निर्णायक हैसियत बनाएका विमलेन्द्र दिल्लीको रोजाइमा पर्नु अस्वाभाविक पनि होइन।”
कुनै बेला भारतले 'मित्र' ठानेका केपी शर्मा ओली पछिल्लो नौ महीने शासनकालमा 'चीनसँग नजिकिनु' दिल्लीको टाउको दुखाइ बनेको थियो। यो अवस्थामा मुलुककै नेता हुनसक्ने र चिनियाँ प्रभावमा पनि नपर्ने मधेशी समुदायका विमलेन्द्रलाई दिल्लीले उपयुक्त पात्र ठानेको हो। कांग्रेसका अर्का एक नेता भने यो विश्लेषणलाई मधेशी नेतालाई भारतसँग जोडिहाल्ने मानसिकताको उपज मात्र ठान्छन्।
सानो चित्त, संकुचित भावना राजनीतिक 'करिअर' मा पारिवारिक विरासत महत्वपूर्ण हुने गरे पनि कांग्रेसभित्र विमलेन्द्र निधि त्यस्ता नेता हुन्, जो पिताको विरासतको छायाँ बाहिर आफ्नै संघर्षबाट स्थापित भए। विमलेन्द्रले स्थापित गरेको अर्को मान्यता के हो भने, बाबु चुनाव लड्दासम्म उनले टिकट खोजेनन्।
२०५१ को मध्यावधि निर्वाचनमा बाबुले छाडेको धनुषा–४ बाट उनी पहिलोपटक सांसद् भए। २०५६ को निर्वाचनमा सोही क्षेत्रबाट पराजित भएका उनी २०६४ र २०७० को संविधानसभा निर्वाचनमा धनुषा–३ बाट विजयी भए।
उनले जनकपुर नगर समेटिएको धनुषा–४ छोड्नुको प्रमुख कारण थियो– त्यो निर्वाचन क्षेत्रमा जातिवादी, अतिवादी र आपराधिक सोच भएकाहरू निर्णायक बन्नु।
तमलोपाका उपाध्यक्ष वृषेशचन्द्र लाल बौद्धिक राजनीतिकर्मीहरूका लागि जनकपुर त्यसै पनि जोखिमपूर्ण क्षेत्र भएको बताउँछन्, जसले जहिल्यै अप्रत्यासित नतीजा दिन्छ।
त्यसो त, मधेशी समुदायका भए पनि कांग्रेसको सिंगो पार्टी संगठनमा छाएका नेता विमलेन्द्र पछिल्लो समय जातिवादी रूपमा देखापरेको आरोप पनि लाग्ने गरेको छ। संविधान जारी हुनुअघि उनले पार्टीको संसदीय दलमा पेश गरेको जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण, नागरिकता वितरणलगायतका मागले कांग्रेसभित्र हल्लीखल्ली भएको थियो।
२०६३ सालको मधेश आन्दोलनमा सबभन्दा ज्यादा साम्प्रदायिक भावना जनकपुरमै भड्कियो। पहाडी समुदायका दुई हजारभन्दा बढी बासिन्दा विस्थापित भए। विमलेन्द्रमाथि कांग्रेस महामन्त्री भएर पनि मधेश आन्दोलनमा सहयोग गरेको र पहाडे समुदाय लखेटिने अवस्था आउँदा आँखा चिम्लेको आरोप लाग्यो।
“कांग्रेसका मधेशी नेता–कार्यकर्ता विमलेन्द्रको त्यो भूमिकाबारे जानकार छन्, बेलाबेला कुरा पनि गर्छन्”, कांग्रेसका एक नेता भन्छन्, “उनले एउटा समुदायविशेषको नेताजस्तो भूमिका नखेलेको भए मिथिलाको केन्द्रबाट दुईहजार पहाडे परिवार विस्थापित हुने अवस्था शायदै आउँथ्यो।”
पछिल्लो मधेश आन्दोलनमा पनि आन्दोलनकारीलाई उक्साउने काम गरेको, पार्टीभित्र पनि 'मधेशी नेता' का रूपमा बढी पेश हुनथालेको र विरोधीप्रति बढी 'असहिष्णु' भएको आरोपका बीच विमलेन्द्र निधिलाई कांग्रेसको भावी नेतृत्वको रूपमा 'प्रोजेक्सन' गर्न थालिएको छ।
जनकपुरका वृषेशचन्द्र लाल, २०३६ सालको विद्यार्थी आन्दोलनका चर्चित नेविसंघ नेता युवराज खातीलगायत थुप्रै नेता उनकै कोपभाजनमा परेको कांग्रेसका नेताहरू नै बताउँछन्।
कांग्रेसका एक नेता त्यही कारण धनुषा र आसपासका जिल्लाका नेता–कार्यकर्ताले निधिको विरोध गर्न छाडेको बताउँछन्। उनी भन्छन्, “विरोधी र प्रतिस्पर्धीलाई कुटिल ढंगले शालीनतापूर्वक तह लगाउने उनको खूबीबाट सबै हायलकायल छन्।”
नेपाली कांग्रेसमा नेतालाई 'दाइ' भनेर सम्बोधन गर्ने चलन छ। पछिल्लो समयमा गुट चलाउने नेताहरूले यस्तो सम्मान पाउने गरेका छन्।
विमलेन्द्र कार्यकर्तामाझ् 'विमल दाइ' का रूपमा चिनिन्छन्। मधेशका मुद्दामा आक्रामक रूपमा पेश हुनथालेका उनी मधेशी समाजमा निर्णायक मानिने जातीय समीकरण मिलाएर कांग्रेसको प्रभाव फर्काउन सफल हुन्छन् या थप जातिवादी भएर निस्कन्छन्, अब उनले लिने निर्णय र खेल्ने भूमिकामै निर्भर हुनेछ।
“दुई दशकअघि नेपाली कांग्रेसको बहुमतले प्रधानमन्त्री बनाउने निर्णय गर्दागर्दै महेन्द्रनारायण निधि जनकपुर फर्किनुपरेको थियो”, जनकपुरका प्राध्यापक सुरेन्द्र लाभ भन्छन्, “आज त्यही हैसियतमा पुग्न थालेका उनका छोरा विमलेन्द्रमाथि मधेशी भएकै कारण भोग्नुपर्ने चुनौती पनि छन्।”
विमलेन्द्रले ठूलो पार्टीमा षड्यन्त्र गरेर सिध्याउने विगतबाट पाठ सिक्दै, जनतासँग जोडिन नसकेको आफ्नै सामन्ती शैलीको राजनीतिमा बदलाव ल्याउँदै मधेश र कांग्रेसमा मात्र नभएर सबै पार्टी र सिंगो देशसँग सम्बन्ध राख्ने क्षमता देखाउनुपर्ने बेला आएको प्रा. लाभ बताउँछन्।
त्यस्तै, तमलोपाका उपाध्यक्ष वृषेशचन्द्र लाल पटकपटक मन्त्री हुँदा पनि जनकपुर शहरको दुरवस्था सुधारको पहल नगर्ने चालालाई विमलेन्द्रका आगामी दिनसँग जोडेर हेर्नुपर्ने बताउँछन्। “आज मिथिला अपराधको केन्द्र भएको छ”, लाल भन्छन्, “गृहमन्त्रीका रूपमा जनकपुरमा अपराध र माफियाराज अन्त्य गरेनन् भने उनीमाथि अप्रत्यक्ष नै सही, माफिया संरक्षणको आरोप लाग्नेछ।”साथमा ईश्वरचन्द्र झा, जनकपुर