ब्लगआइतबार, २ माघ , २०७३

'यत्ति गरें'

रुपा जोशी

दाइहरूसँगै बुवालाई दागबत्ती दिई तात्तातो अस्तु हातमा लिएर वागमतीमा सेलाउँदा शोकविह्वल मेरो मनमा एक किसिमको तरंग (शायद सन्तुष्टिको !) संचार भइरहेको थियो ।

बुवा (कमलमणि दीक्षित) को दाहासंस्कारको विधिमा सरिक हुँदै लेखक जोशीका साथमा उनका दाइहरु कनक र कुन्द ।

अस्पतालमा दादा (बुवा) को ज्यान निचोरिंदै जाँदैथियो । दाइ, भाउजूहरू र म रुँगेर बसेका थियौं । हाम्रो जीवनमा ठूलो शून्य पारेर एकाबिहानै दादाको आत्माले भौतिक शरीर छाड्यो र एक वर्षअघि स्वर्गे भएकी हाम्री आमाको आत्मासँग मिल्न पुग्यो ।

गल्दै गएका दादालाई हेर्दा मेरो मनमा एउटा विचार उब्जिएको थियो, जुन कसैलाई भन्न सकेकी थिइनँ । अरू कुरामा जत्ति नै उदार भए पनि दादाको मनले ‘छोरीको सम्पत्ति खर्च गर्न हुन्न’ भन्ने मान्यता छाड्न सकेको थिएन । ठट्यौलै पारामा भए पनि ‘कत्ति गर्छेस् ? छोरीको खान हुन्न के, भार हुन्छ... !’ भन्नुहुन्थ्यो ।

“आजकलको जमानामा छोराछोरी बराबर हो, दादा !” म भन्थें, “सक्ने छोराछोरीले बराबर गर्छन् ।”

दादा ‘हरे !’ भन्ने पाराले टाउको हल्लाउनुहुन्थ्यो । चार दशक अघि बिहे गरेर टाढिए पनि देवीजी (आमा) लाई अल्जाइमर्सले च्यापेर सुस्त बनाउँदै लैजाँदा दादासित नजिकिने अवसर बढ्दै गयो ।

देवीजी बितेपछि एक वर्ष यता झनै नजिकिने मौका भयो । बितेका चार महीनायता अस्पताल आउजाउ गर्दा मैले सेवा गर्ने र दादाले ‘कत्ति गर्छेस् ?’ भन्ने अवसर पनि निकै बढ्यो ।

दादाले मृत्युको सामना गर्दा पोहोर आर्यघाटमा देवीजीको अन्त्येष्टि गर्दाको सम्झ्ना मेरो मनमा बारम्बार आइरहेको थियो । राति दाइहरूले वागमती किनारको भकारीमा आमाको वरिपरि घुम्दै दागबत्ती लिएको दृश्य मानसपटलमा आइरहेको थियो ।

अब दादालाई पनि त्यसै गर्ने बेला आयो । दुई दाजुसित मैले पनि दागबत्ती दिन पाए दादालाई दिन सक्ने सबैभन्दा ठूलो माया र श्रद्धा हुन्छ भन्ने लागिरहेको थियो । तर यो कुरो कसैलाई भन्न सकिरहेकी थिइनँ ।

म जस्तो आफूलाई पढेर फराकिलो दायरा पारेको भनेर सोच्नेलाई केले हो हच्काएको थियो, मुख फोड्नलाई ? शायद, समाजले तोकेको छोरीले गर्न सक्ने र मिल्ने कामको त्यही लक्ष्मणरेखाले ।

अस्तु सेलाउने क्रममा दाइहरुसँगै ।

दादाको अन्तिम संस्कारका लागि पण्डितजीले अह्राइपह्राइ गर्न थाल्दासम्म पनि म शोकमा डुबेको मूकदर्शक मात्र बनेर बसेकी थिएँ । सबैले अन्तिम श्रद्धाञ्जलि दिइसकेपछि पण्डितजीले दाइहरूलाई दादाको मुख धुन र श्रीखण्डको टीका लगाउन बोलाए ।

दाइहरू घुम्न लाग्दा सान्दाजी (कनक) ले ‘आइज’ भनेपछि मात्र म दादाको काजक्रियामा सम्मिलित भएँ । पण्डितजीले केही भनेनन् । दाजी (कुन्द) लाई सान्दाजी र मैले छोएर बस्यौं । मलाई कता हो कता सन्तोक लागिरहेको थियो ।

दादालाई बिजुली शवदाहगृहमा राख्नु अगाडि आखिरी काजक्रिया गर्ने बेला भयो । दाइहरू दुई जनालाई अघि सर्न लगाएर दागबत्ती दाजीको हातमा थमाए पण्डितजीले ।

अघि बाहिर दाइहरूले दिएको ढाडसले हौसिएकी मैले मलिनै स्वरमा सोधें, “मैले दिन मिल्दैन ?” पण्डितजीले टाउको हल्लाए । घरबाट गएका पण्डितजीलाई सोधें, उनले पनि ‘मिल्दैन नानी’ भने । छेउमा उभिएका अर्का पुरुषले पनि ‘त्यस्तो कहाँ मिल्छ र ?’ भने । म खिस्रिक्क परें ।

छेउमै उभिएका मामाले त्यही बेला अलि ठूलो स्वरमा ‘जाऊ, हुन्छ’ भनेको सुनें । भाउजूहरूले पनि ‘इच्छा छ भने जानू’ भने । त्यत्तिकैमा दादालाई एक फन्को मारिसकेका सान्दाजीले ‘आइज’ भन्दै हातै तानेर बोलाएपछि म पनि सम्मिलित भएँ दागबत्ती दिने कार्यमा ।

पण्डितजी केही बोलेनन् । हामी तीनै छोराछोरी मिलेर दौरासुरुवाल र ढाका टोपीमा सजिएका दादालाई दागबत्ती अर्पण गर्‍यौं, अन्तिम पटक ढोग्यौं र दादाको भौतिक शरीरलाई बिदा गर्‍यौं ।

शोकविह्वल मेरो मनमा एक किसिमको तरंग (शायद सन्तुष्टिको !) संचार भइरहेको थियो, जुन एक वर्षअघि देवीजीको अन्त्येष्टि हुँदा मैले अनुभव गरेकी थिइनँ ।

एकघन्टा पछि सानो झ्यालमा अस्तु लिन बोलाइयो । म पनि दाइहरूको पछिपछि गएँ । दाजीले ‘तँ ली’ भन्दै अस्तु राखेको माटाको भाँडो मेरो हातमा थमाउन लगाए ।

दादाको तात्तातो खरानी बोक्न पाउँदा मेरा आँखाबाट आँसु झरे– शोकमा गर्वमिश्रित आँसु । कत्रो अवसर पाएँ मैले ! हामी तीन दाजुबैनी मिलेर दादाको अस्तु वागमतीमा सेलायौं ।

कामको सिलसिलामा म लैङ्गिक समानता र समताको कुरा गर्थें । छोराछोरी बराबर हुन्, त्यसैले छोरीलाई पनि छोरा सरहको अवसर दिनु/दिलाउनुपर्छ भन्थें । तर, अवसर दिलाएर मात्र पुग्दोरहेनछ भनेर म आफैंले महसूस गरें त्यतिबेला ।

समाजका मूल्यमान्यता बदल्न आफ्नो इच्छा वा उदारताले मात्र पुग्दोरहेनछ । कोही घचेट्ने, कोही तान्ने चाहिंदोरहेछ । पुस १४ को बिहान मलाई घचेट्ने काम मामा र भाउजूले गरे अनि मेरा दाइहरूले ताने ।

घचेट्न र तान्न मद्दत गर्ने परिवेश नयाँ थियो । देवीजीको अन्त्येष्टि पुरानै पाराले आर्यघाटमा भएको थियो । त्यतिबेला बिजुली शवदाहगृह सञ्चालन भइसकेको थिएन । घाटको साँघुरो ठाउँमा परम्परागत चिता थियो ।

दादाको पालिमा भने नयाँ प्रविधिले पनि मलाई अन्त्येष्टि कार्यमा सम्मिलित हुन सघायो । क्रियाकर्म छोटिएको थियो, अलि खुकुलो पनि भयो । पण्डितजी पनि त्यति कट्टर परेनन् । यी सबैका कारण मैले बुवालाई दागबत्ती दिन सम्भव भयो ।

आफ्ना बुवाप्रति गरिने आखिरी कर्तव्य दाइहरूसँगै मैले पनि गर्न पाएँ र बराबरको सन्तान भएको अनुभव गरें । मैले भट्याउने गरेको ‘छोराछोरी बराबर’ भन्ने नारा सार्थक भएको महसूस गरें ।

दादाको ‘कत्ति गर्छेस् ?” भन्ने प्रश्नको जवाफमा मैले भन्न पाएँ, “यत्ति !”

प्रतिकृया दिनुहोस