रिपोर्ट शुक्रबार, मंसिर १३, २०७६

शहरीकरणले खायो रैथाने खेल

नुनुता राई

खुला आकाशमुनि रैथाने खेल खेल्दै हुर्किनुपर्ने बालापन प्रविधिको चंगुलमा पर्दा बन्द कोठाभित्र खुम्चिएको छ।


डा.जगमान गुरुङ (७३) ले कास्कीको याङ्जाकोटमा बालापन बिताएका हुन् । गुरुङ परिवारमा जन्मेका उनले आफ्नो बालापनको रमाइलो सम्झँदै भने “केटाकेटीमा साथीसँग कबड्डी, डण्डीबियो, अम्थी, ङहसिरो र न्हेगो बन्दु खूब खेल्यौं ।” उनको भनाइमा यी त्यसवेलाका बालबालिकाले खेल्ने सामान्य खेलहरू हुन् । उनले भनेका कतिपय खेलका नाम गुरुङ भाषाका हुन् । 

दशैंको समयमा भने लिङ्गेपीङ, चौराले (चर्खे) पीङ जस्ता खेल खेलेको सम्झन्छन्– गुरुङ । आजभोलिका बालबालिकालाई ती खेलहरूबारे थाहै छैन । उनी भन्छन्, “अहिले त गाउँ न शहर सबैतिरका केटाकेटीको हातमा मोबाइल । शारीरिक रूपमा खेलिने खेलहरूमा चासो छैन– अहिलेको पुस्तालाई ।” उनी गाउँका तन्नेरीहरूले छेलो हानेको देखेर सिको गर्दै ढुङ्गाको छेलो हानेको सम्झन्छन् । वैशाख पूर्णिमामा घाटु नाच सेलाउँदा गरेको रमाइलो स्मरण गर्दै गुरुङ भन्छन्, “बाँसको पिचकारी बनाएर केटीहरूलाई हानिन्थ्यो । केटीहरूले चाहिं अबिरले हान्थे ।”

इतिहासविद् ज्ञानमणि नेपाल (८७) भोजपुरको सिक्तेलमा जन्मिएका हुन् । बालापन सिक्तेलमा बिताएका नेपाल पण्डित परिवारमा जन्मिएको हुँदा धेरै पढ्नुपर्ने भएकोले समकालीन साथीहरूसँग खेल्ने समय धेरै नपाएको बताउँछन् । भन्छन्, “म अक्षर चिन्ने भएदेखि पढाइमा धेरै समय खर्चिएँ; कहिलेकाहीं मात्रै खेलियो ।”

त्यसवेला खेलिने खेल डन्डीबियो, खोप्पी, कबड्डी, गोठेलौरी, गिर, हरिगुडु लगायत हुन् । उनी भन्छन्, “गोठेलौरी मैले त कहिलेकाहीं मात्रै खेलें, गोठाला जानेले धेरै खेल्थे ।” दशैंको समयमा थर्की २५ खेलेको हेरेर मजा लिने पनि केटाकेटीको रहर हुन्थ्यो । अरू वेला सामान्य भए पनि दशैंमा यो खेल विशेष र भव्य हुने गरेको उनी बताउँछन् । भन्छन्, “थर्की २५ खेल्न पाइँदैनथ्यो तर हेरेरै बस्न पनि रमाइलो लाग्थ्यो ।”

प्रा.डा.विश्वम्भर प्याकुर्‍याल (७१) बर्दियामा जन्मिए पनि काठमाडौंमा हुर्किए । उनी पिट्टु (सात वटा ढुङ्गा चुल्याएर राख्ने र ढुङ्गाले नै हानेर एक एक वटा खसाल्ने), खोप्पी, कबड्डी, फूटबल, पौडी, हाईजम्प, तेलकासा, गुच्चा, लठ्ठिकासा जस्ता खेल खेलेर हुर्किए । उनी भन्छन्, “हामीले पहिले खेल्ने कति खेल त अहिलेको पुस्ताले नाम समेत सुनेका छैनन्, विभिन्न खालका डिजिटल उपकरणको उपलब्धताले पनि त्यस्तो भएको हो ।” 

उनी लोप हुँदै गएका यस्ता रैथाने खेलहरू संरक्षण गर्नुपर्ने बताउँछन् । यस्ता खेलहरू विभिन्न चाड अथवा अवसर पारेर स्थानीय स्तरमा खेलाउन सके तिनको संरक्षण हुने र पुर्खाले कस्ता खेल खेल्दथे भन्ने जानकारी पछिल्ला पुस्तालाई सजिलै दिन सकिने तर्क प्याकुर्‍यालको छ ।

 

मानिसको उमेरसँगै खेलहरूप्रतिको रुचि पनि परिवर्तन हुने उनी बताउँछन् । भन्छन्, “उमेर बढ्दै गएपछि स्थानीयस्तरमा फूटबल र ब्याडमिन्टन खेलिथ्यो, तर १०/१२ वर्षको उमेरमा खेलिने खेल र त्यसबाट प्राप्त हुने रमाइलो अरूसँग तुलना गर्न सकिंदैन ।” उनले समयसँगै काठमाडौंको सबै कुराहरू फेरिंदै गएको अनुभव गरेका छन् । समयसँगै भलिबल, कराते, गल्फसहितका अनेकौं प्रविधिमैत्री खेलहरू भित्रिए ।

प्याकुर्‍याल बाल्यकालमा ‘रेस्लिङ’ र ‘भक्कुलाई राँगा दिने’ गेम चर्चित रहेको स्मरण गर्छन् । उनका अनुसार हालको रङ्गशाला भएको स्थान खुला चौर थियो । त्यहाँ ‘रेस्लिङ, भक्कुलाई राँगा दिने जस्ता डरलाग्दा खेल खेलाइन्थे । रैथानेहरू हातमा खुँडा लिएर राँगासँग लडाईं गर्न जाने मान्छेले सके राँगा छिनाएर मार्ने, नसके मान्छे मर्थे । प्याकुर्‍याल ठ्याक्कै समय याद नभए पनि आफूहरु त्यो खेल हेर्न लुकेर जाने गरेको सम्झन्छन् । अहिले स्पेनमा बुल फाइट भए जस्तै राँगासँग लडाइँ हुन्थ्यो । रेस्लिङ खेल्न भारतीय चर्चित खेलाडी दारासिंह समेत आउँथे ।

“त्यसवेलाका दिनहरू अहिले सम्झँदा त सपना जस्तै लाग्छन्”, ८१ वर्षीय साहित्यकार रत्नशमशेर थापा आफ्नो बाल्यकालका प्रसङ्ग सुनाउन उत्साहित देखिए । कमलपोखरीमा जन्मिएका थापा काठमाडौंका रैथाने हुन् । उनी १०/१२ वर्षको हुँदा कबड्डी, बाघचाल, फूटबल, पौडी, डन्डीबियो, तेलकासा, लुकामारी जस्ता खेल चर्चित थिए । काठमाडौंमा अहिलेका जस्ता पसल थिएनन् । फूटबल किन्न पर्याप्त पैसा पनि हुँदैनथ्यो । आफूले जस्तै अरू साथीले पनि दशैंमा जम्मा पारेको पैसा मिलाएर फूटबल किन्नुपथ्र्यो । केही समयपछि फुटिहाल्थ्यो । थापा भन्छन्, “फूटबल फुटेपछि कसको बारीमा भोगटे छ त्यो टिप्न जान्थ्यौं, ल्याएर खेल्थ्यौं ।”

त्यसवेला कमलपोखरी, नक्साल, वसन्तपुर लगायतका ठाउँबाट जम्मा भएर खेल्ने ठाउँ थियो– टुँडिखेलको खुला चौर । खेल्दा कमलपोखरी टीम, नक्साल टीम भनेर खेल्थे । दशैंमा बालबालिकाले खेल्ने विशेष खेल पीङ मात्रै हो । ठूलाले जुवा खेल्न पाउँथे ।

दरबार हाईस्कूल पढेका थापा हाँस्दै सम्झन्छन्, “त्यसवेला स्कूलबाट भागेर कहिले चिडियाखाना जाने कहिले नागपोखरी; कमलपोखरीमा दिनभर पौडी खेल्ने जस्ता बदमासी पनि गरियो ।”

बालविवाहको चलन रहेको उतिवेला केटा र केटी सँगै खेल्न हुँदैन भन्ने सामाजिक मान्यताले गर्दा भाइबाहेक अरू केटा साथीसँग नखेलेको अभिनेत्री बसुन्धरा भुषाल (६७) बताउँछिन् । उनले बाल्यकालमा गट्टा, तेलकासा, कबड्डी, रुमाल लुकाई, डोरी तानातान, पीङ, ढक्का, वनभात खाने, पुतली जस्ता खेलहरू खेलेकी थिइन् ।

“लुकामारी खेल्ने क्रममा खानेपानीको पाइप गाड्न खनिएको प्वालमा पसें, दुई मिटर जति भित्र पसेपछि न अगाडि जान सकें न पछाडि । म त आत्तिएर रुन थालें, साथीहरू आएर निकाले ।”

बालापन धोबीचौरमा बिताएकी भुषालले निधार खुम्च्याएर सोचे झैं गरी भनिन्, “आफ्नो बालापन नसम्झेको धेरै भएको थियो अहिले ती रमाइला दिनहरू सम्झँदा एकदम खुशी लागिरहेको छ ।” भुषाल बाल्यकालमा गरेको उपद्रो सम्झेर मुस्कुराइन् र भनिन्, “त्यसवेला पुरुषहरू रुँदै मलामी जान्थे; हामी भने पुतलीको लास बनाएर रोएको जस्तो गर्दै मलामी गएको नाटक गथ्र्यौं ।”

भुषालको दाबी छ– अहिलेका बालबालिकाले उवेला जस्तो खेल खेलेर रमाइलो लिन सकेनन् र अब त झनै सक्दैनन् । उनी भन्छिन्, “हामीले जस्तो उत्कृष्ट बालापन बिताउने अवसर अबका केटाकेटीलाई छैन किनभने उनीहरूलाई प्रविधिले दास बनाइसक्यो ।”

चर्चित हास्यकलाकार हरिवंश आचार्य (६१) ले पनि लुकामारी, तेलकासा, डन्डीबियो, अग्लो ठाउँबाट उफ्रिने, फूटबल जस्ता खेलहरू खेलेको स्मरण गरे । उनी त्यसवेलाको चर्चित खेल लुकामारी खेल्दा परालको थुप्रोभित्र पुरिएर बस्ने, काठको बाकसभित्र लुक्ने जस्ता क्रियाकलाप गरेको बताउँछन् । आचार्यको बाल्यकालको एउटा घटना कहिल्यै नबिर्सिने खालको छ । उनी भन्छन्, “लुकामारी खेल्ने क्रममा खानेपानीको पाइप गाड्न खनिएको प्वालमा पसें, दुई मिटर जति भित्र पसेपछि न अगाडि जान सकें न पछाडि । म त आत्तिएर रुन थालें, साथीहरू आएर निकाले ।”

बैरागी काइँला (तिलविक्रम नेम्बाङ, ८०) पाँचथर जिल्लाको पौवा गाउँमा जन्मिएका हुन् । उनी सानो छँदा किसिम किसिमका खेल खेलेर मनोरञ्जन गरेको स्मरण गर्छन् । उनका अनुसार मकै भाँचेपछि खाली भएको बारी बालबालिकाको खेलमैदान हुन्थ्यो । जहाँ हक्द्रुङ, लोकलोक्के चात्र, पाङ्गेवारकेस्क्वा, पाङ्गेवा (गुडिया), हाङ्मा (पुतली), लाङ्भङ्गा (भकुन्डो) जस्ता खेल खेलिन्थे ।

बसुन्धरा भुषाल बाल्यकालमा गरेको उपद्रो सम्झेर मुस्कुराइन् र भनिन्, “त्यसवेला पुरुषहरू रुँदै मलामी जान्थे; हामी भने पुतलीको लास बनाएर रोएको जस्तो गर्दै मलामी गएको नाटक गथ्र्यौं ।”

उनी उत्साहित हुँदै थप्छन् “दशैं वा चाडबाडका बेला काटिएका राँगाको पिसाब थैली फालिन्थ्यो । त्यस्तो पिसाब थैली पानीले धोएर फुक्ने र त्यसको मुख डोरीले बाँधेर गोल (फूटबल) बनाएर टार परेको बारी, आँगन वा चौडा परेको बाटामा खेल्थ्यौं ।”

नेपालकै पहिलो नायिका भुवन चन्द (७१) ले बाल्यकालमा गट्टा, तीनखुट्टी, गुच्चा, लुकामारी जस्ता खेलहरू खेलेको बताइन् । भन्छिन्, “मलाई धेरै याद छैन । सानैदेखि कलाकारितामा लागेकाले खेल्ने फुर्सद धेरै भएन ।”

उमेर खाएका पाकाहरुसँगको कुराकानी र अहिलेको काठमाडौंको अवस्था हेर्दा उतिवेलाका खेलहरू प्रायः सबै लोप भइसकेको अनुमान गर्न कठिन छैन । यी खेल लोप हुनुमा प्रविधिको विकाससँगै बढ्दो शहरीकरणको प्रभावलाई कारण मान्न सकिन्छ ।

प्रतिकृया दिनुहोस