खेलकुद सोमबार, मंसिर ९, २०७६

करातेकी अनुको स्वर्ण सपना

निरञ्जन राजवंशी

बाङ्लादेश ढाकाको ११औं सागमा स्वर्ण जित्न नसकेकी कराते खेलाडी अनु अधिकारी (२३) नौ वर्ष लामो पर्खाइपछि हुन लागेको प्रतियोगितामा सपना पूरा गर्ने दाउमा छिन् ।

हरेक दुई वर्षको नियमित तालिका अनुसार दक्षिण एशियाली खेलकुद (साग) भएको भए कराते खेलाडी अनु अधिकारीले अहिलेसम्म चार वटा प्रतियोगिता खेलिसकेकी हुन्थिन् । तर, बाङ्लादेशमा आयोजित ढाका सागमा बटुलेको नमीठो अनुभवपछि उनले यो प्रतियोगितामा खेल्न नपाएको नौ वर्ष भइसकेको छ । यस बीचमा सन् २०१६ मा भारतको गुवाहाटीमा साग खेलाइए पनि त्यसमा कराते समेटिएकै थिएन ।

१३ औं साग घरेलु मैदानमा १५ मंसीरदेखि हुन लाग्दा अनु उत्साहित र गम्भीर छिन् । नौ वर्षअघिको सागमा स्वर्ण पदक जित्न नसक्दा रोएको मन यस पटक हँसाउने उनको सपना छ । उनले स्वर्ण जित्ने उत्कट चाहना राख्नु पछाडि पीडा र पर्खाइको छुट्टै कथा छ ।

रहरै रहरमा करातेमा लागेकी अनुले बालाजु कराते डो प्रतिष्ठानमा प्रशिक्षक ध्रुवविक्रम मल्लबाट प्रशिक्षण लिएकी हुन् । स्कुले प्रतियोगिताहरु र डो स्तरीय प्रतियोगिता जितेपछि उनी फुरुंग बन्दै गइन् ।

सन् २०१० मा बाङ्लादेशमा ढाका सागको तयारी चलिरहेको थियो । जिल्ला, क्षेत्रीय प्रतियोगिता जितेर पहिलो पटक राष्ट्रिय च्याम्पियन बन्दै अनु सागका लागि छनोट भइन् ।

पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै उनी फाइनल पुगिन् । उपाधि भिडन्तमा भने पाकिस्तानकी खेलाडीसँग पराजित हुनुप¥यो । रजत पदकमा खुम्चिनुपरे पनि अन्तर्राष्ट्रिय सहभागितामा त्यो उपलब्धि सामान्य थिएन, उनी दंग परिन् ।

तर पदक जितेको भोलिपल्टै उनको उमंग सेलायो, जब नेपालकै अर्का खेलाडीले स्वर्ण जिते । स्वर्ण विजेताको चर्चाले उनको पदक छायामा पर्‍यो । उनले पाएको रजत सुख र दुःखको संगम बन्यो । पहिला रजत पदक जितेको खुशीले रोएको र पछि स्वर्ण जित्न नसकेको दुःखमा रोएको सम्झिंदै उनी भन्छिन्, “अलि होशियारीपूर्वक खेलेको भए मैले स्वर्ण जित्ने थिएँ, तर त्यो वेला मैले स्वर्णको अर्थ बुझेकै रहेनछु ।”

हुन पनि ढाका सागमा सहभागी हुँदा अनु भर्खर १४ वर्षकी थिइन् । सागको महत्व बुझ्न थालेयता प्रतियोगिता नै भएको छैन ।

त्यो घटनाले उनलाई इखालु खेलाडी बनायो । रहरले अँगालेको कराँतेलाई उनले जीवनकै बाटो बनाइन् । राष्ट्रिय टोलीकी अभिन्न सदस्य बनेकी उनले लगातार ९ वर्ष राष्ट्रिय च्याम्पियन बनेर आफूलाई अब्बल साबित गरेकी छन् ।

यसबीचमा उनले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेकी छन् । हंगेरीमा भएको विश्व सितेरियो च्याम्पियनसिप र अष्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा स्वर्ण पदक उनको पछिल्ला उपलब्धि हुन् । त्यसअघि सन् २०१२ मा हङकङमा भएको १३औं एशिया प्यासिफिक सितेरियो कराते च्याम्पियनसिप र मलेशियामा भएको चौथो एसएमए कपमा काश्य जितेकी थिइन् ।

अनुले दक्षिण कोरियाको इन्चोन एशियाड २०१४ र इन्डोनिसियाको जकार्ता एशियाड २०१८ पनि खेलिसकेकी छन् । २०१४ को संस्करण उनका लागि अनुभव मात्र भए पनि जकार्ता एशियाड उनको लागि अर्को पीडादायक प्रतियोगिता बनिदियो ।

जकार्तामा नेपाल पदक विहीन भएर फर्किनुपर्ने अवस्था बनिरहँदा अनु क्वार्टर फाइनलमा प्रवेश गर्दा आश एकाएक बढेको थियो ।

क्वार्टर फाइनलमा चाइनिज ताइपेइकी खेलाडीलाई हराए उनी मार्फत एसियाडमा काश्य पदक पक्का थियो ।

आशाको केन्द्र बनेकी अनुले खेलमा ३–२ ले अग्रता लिइन् । खेल सकिन १६ सेकेन्ड मात्र बाँकी थियो, तर अन्तिम अवस्थामा सम्हालिन नसक्दा उनी ६–३ ले पराजित भइन् । चाइनिज ताइपेइकी खेलाडी फाइनल पुगेकोले उनले काश्यको लागि फेरि पनि मौका पाएकी थिइन् । तर, जापानी खेलाडीसँगको भिडन्तमा पनि उनी पराजित भइन् ।

देशलाई पदक दिलाउने अन्तिम भरोसा बन्न नसकेको त्यो घटना सम्झिंदा आज पनि उनलाई पीडा हुन्छ ।

यस पटक घरमै हुन लागेको सागमा सहभागिताको अनिश्चितताले पनि अनुलाई पीडा थप्नेवाला थियो । सागको छनोट प्रतियोगिताका रूपमा रहेको नेपालगंजको आठौं राष्ट्रिय खेलकुदमा उनी फाइनलमा पराजित भइन् । त्यससँगै नौ वर्षको पर्खाइपछि सागमा खेलेर स्वर्ण जित्ने उनको सपना चकनाचुर भयो ।

तर, उनलाई संयोगले साथ दिएको छ । शुरुमा राष्ट्रिय खेलकुदका स्वर्ण विजेतालाई मात्र बन्द प्रशिक्षणमा राख्ने कुरा थियो । पछि भने काश्य पदक पाएकासम्मलाई समेट्ने निर्णय भएपछि उनको साग सपना नजिकिएको हो ।

अनु अहिले फर्ममा छिन् । भर्खरै बाङ्लादेशमा पाँचौं दक्षिण एशियाली कराते च्याम्पियनसिपमा स्वर्ण जितेर उनले आफूमा हौसला थपेकी छन् । उनको प्रतिभाको कदर गर्दै नेपाल ओलम्पिक कमिटीले जापानमा हुने सन् २०२० को ओलम्पिक छात्रवृत्तिका लागि छनोट पनि गरेको छ ।

१३ औं सागमा ५० किलो तौलसमूहमा भिड्ने अनु स्वर्णको सपना छुने व्यग्र पर्खाइमा छिन् । भन्छिन्, “स्वर्ण जितेर आफ्नो र देशको सपना पूरा गर्ने बाहेक यतिवेला मेरो दिमागमा केही पनि छैन ।”

प्रतिकृया दिनुहोस