खेलकुद शनिबार, मंसिर ७, २०७६

प्रदेश–१ बाट 'साग' ओलम्पिक ज्वालाकाे परिक्रमा शुरु

कमल रिमाल

१३ औं दक्षिण एशियाली खेलकूद (साग) को ओलम्पिक ज्वाला देश घुमाउने उद्देश्यले प्रदेश १ को राजधानी विराटनगरबाट शुरु गरिएको छ ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले ‘ओलम्पिक टर्च र्‍याली’ को शनिबार बिहान उद्घाटन गरे ।

शहीद रंगशालाबाट निकालिएको र्‍यालीको अगुवाइ गरेका मन्त्री घिमिरेले २० वर्षपछि नेपालका लागि अन्तर्राष्ट्रिय खेलकूदको अवसर मिलेको बताउँदै प्रदेश १ का खेलाडीलाई साग जित्न हौसला दिए ।

ओलम्पिक ज्वाला शनिबार नै प्रदेश २ को राजधानी जनकपुर लगिने भएको छ ।

ज्वाला लिएर ६ जना ओलम्पियन विराटनगरबाट सप्तरीतर्फ लागेको क्षेत्रीय खेलकूद विकास समितिका निवर्तमान अध्यक्ष रविन नगरकोटीले बताए । आजै सप्तरीको भारदहमा पनि कार्यक्रम रहेको छ ।

प्रदेश २ बाट आइतबार प्रदेश ३ मा लगिने ज्वाला ७ नम्बर प्रदेशसम्म पुर्‍याइनेछ ।

सातौं दिन गण्डकी प्रदेशको पोखरामा ज्वाला परिक्रमा गराई त्यसै दिन काठमाडौं लगिने छ । नवौं दिन काठमाडौंमा परिक्रमा गराई दशरथ रंगशालामा दीप प्रज्ज्वलन गरिने कार्यक्रम छ ।

शुक्रबार काठमाडौंको को स्वयम्भूबाट राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले ज्वाला प्रज्ज्वलन गरेर परिक्रमाको शुभारम्भ गरेका थिए ।

 

प्रतिकृया दिनुहोस