रिपोर्ट शनिबार, मंसिर ७, २०७६

टुँडिखेल जोगाउने लडाइँ

नुनुता राई

मुलुक बहुसांस्कृतिक, बहुधार्मिक र विविधतापूर्ण भएको झल्को दिने एउटै मात्र साझा थलो टुँडिखेल स्वयं अतिक्रमणमा परेर निस्सासिएको छ।

विसं १९८१ मा टुँडिखेल । तस्वीर : विकिपिडिया

टुँडिखेललाई नेपाल भाषामा ‘तिनिख्यः’ भनिन्छ । ‘ख्य’ भनेको चौर हो । काठमाडौंको मध्य भागमा रहेको यो चौरमा ‘टुँडिल’ नामकी देवी रहेको किंवदन्ती छ । यसैका आधारमा टुँडिल देवीको चौरलाई ‘टुँडी ख्य’ भन्न थालियो । अपभ्रंश हुँदै ‘टुँडिखेल’ बन्न पुगेको मत पनि सुनिन्छ ।

मल्लकालमा टुँडिखेल सांस्कृतिक थलो थियो । यहाँ विभिन्न जात्रा एवं सांस्कृतिक कार्यक्रमहरू हुने गर्थे । वास्तुविद् प्रा. सुदर्शनराज तिवारीका अनुसार पहिले काठमाडौंमा दुई माझी (देउता) को जात्रा भनेर नयाँ वर्षमा मनाउने चलन थियो ।

“देवताको पूजा गर्ने भाँडामा ‘तुङखेल’ लेखिएको भेटिएको र तुङखेलबाटै टुँडिखेल भनिन थालिएको हो” प्रा. तिवारी भन्छन्, “राणा शासनकालमा सैनिक संस्कृति शुरू भएसँगै टुँडिखेलमा कवाज खेल्ने र विश्वयुद्धमा जाने सिपाहीलाई तालिम दिन थालियो, यही क्रममा रत्नपार्कदेखि शहीदगेटसम्म सम्याइएको हो ।”

टुँडिखेल अतिक्रमण गरेर रत्नपार्क बनाइएको विषयमा पनि प्रा.तिवारीको अध्ययन फरक रहेको छ । रानीपोखरीको दक्षिणपट्टि राखिएको शिलालेखमा ‘मासवखेल’ लेखिएको छ । “अहिलेको रत्नपार्क भएको चौरलाई ‘मासवखेल’ र त्यसको दक्षिणपट्टि ‘तुङखेल’ अर्को खुला स्थान थियो” उनी भन्छन्, “रानीपोखरी बनाउँदा टुँडिखेल अतिक्रमण गरेर बनाएको भन्ने कुरा सत्य होइन ।”

कहिलेदेखि त्यो खाली ठाउँ छोडियो भनेर यकिन मितिको उल्लेख कतै नभेटिए पनि आफ्नो अध्ययनले टुँडिखेलको अस्तित्व ४०० वर्षदेखिको हो कि भन्न सकिने अवस्था रहेको बताउँछन् इतिहासविद् डा.महेशराज पन्त ।

टुँडिखेल अतिक्रमण:१९५० देखि २०१७ सम्म।

डा.पन्तका अनुसार भीमसेन थापाको पालामा त्रिरत्न सौन्दर्य गाथा भन्ने पुस्तकमा लेखिएको महाँकालथानलाई टुन्डिभैरव भनेर उल्लेख गरिएको छ । उनको बुझाइमा त्यसैको त्रिरत्नलाई संस्कृतीकरण भएर टुन्डि हुँदै टुँडिखेल भएको हुनसक्छ । खरीको बोट हटाउने, सैनिक मञ्च, खुलामञ्च, रत्नपार्क बनाएर टुँडिखेलको खण्डीकरण राजा महेन्द्रले शुरू गरेको डा.पन्त बताउँछन् ।

डा.पन्तले सानैदेखि टुँडिखेलको हरेक परिवर्तन नजिकबाट देखे । ‘एशियाको सबैभन्दा ठूलो परेड मैदान’ भनेर पनि पढे । खरीको बोटको वरिपरि पहिलो विश्वयुद्धमा भाग लिएका नेपालीहरूको सालिक राखिएको, राजा महेन्द्रको पालामा ‘कामका लागि खाद्यान्न कार्यक्रम’ अन्तर्गत अमेरिकाबाट ल्याइएको गहुँ टुँडिखेलमा राखिएको र त्यहीवेला टुँडिखेललाई तीन टुक्रा पारेर घेराबारा गरिएको उनको सम्झना छ ।

सन् १८५० मा बेलायती सर्जन हेनरी एम्ब्रोस ओल्डफिल्डद्वारा प्रकाशित पुस्तक ‘स्केचेज अफ नेपाल’ अनुसार टुँडिखेल अहिलेको रानीपोखरीदेखि दशरथ रङ्गशालासम्म फैलिएको थियो । उनले यसको लम्बाइ २–३ माइल र चौडाइ करीब ९०० फिट (३०० यार्ड) अनुमान गरेका छन् । यसलाई ‘एशियाकै ठूलो परेड मैदान’ मध्येको एक हो भन्ने उल्लेख गरेका छन् ।

प्रा. तिवारीका अनुसार राणाको समयमा कवाज खेल्ने स्थान बनिसकेपछि उनीहरूले वरिपरि वीर अस्पताल, आर्मी अस्पताल, दरबार हाईस्कूल, त्रिचन्द्र क्याम्पस, बिजुली अड्डा बनाए । त्यसको वरिपरि घुम्ने, सिंहदरबारबाट दरबार आउजाउ गर्न बग्गी हिंड्ने बाटो बनाए । अहिले विभिन्न संरचना निर्माण गर्ने त्यही क्रम बढ्दै जाँदा समस्या भएको बताउँछन् ।

राजा महेन्द्रले २०१३ सालमा रानी रत्नको नामबाट रत्नपार्क निर्माण गराएसँगै टुँडिखेल दुई भागमा विभाजन हुन पुगेको प्रा.तिवारीको भनाइ छ ।

“रत्नपार्क र सैनिक मञ्चलाई अतिक्रमण भन्न नमिल्ला तर अहिले आर्मीले विभिन्न संरचना बनाएर सानो टुँडिखेल सकियो”, प्रा.तिवारी भन्छन्, “यता बसपार्क बनाइयो, संरचना निर्माणका लागि सामग्री राखेर ओगटिएको छ यो सबै अतिक्रमण नै हो ।”

अहिले आएर मुलुक बहुसांस्कृतिक, बहुधार्मिक भएको झल्काे दिने साझा थलो पनि टुँडिखेल नै बनिरहेको छ । माघी, उधौली–उभौली, ल्होसार लागेको झल्काे यही टुँडिखेलले दिन्छ । सांस्कृतिक रूपमा यति महत्वपूर्ण यो सानो खाली चौर पनि अतिक्रमणमा परेर साँघुरिएको छ ।

अहिलेको शहीदगेट बन्नु पहिले त्यस ठाउँमा सानो सडक, सडकदेखि दक्षिणतिर सानो टुँडिखेल र उत्तरतिर ठूलो टुँडिखेल थियो । शहीदगेट बन्नुअघि त्यसको औपचारिक नाम नेपालद्वार रहेको पनि बताइन्छ ।

प्रकृति र संस्कृतिलाई संरक्षण गर्न यस्ता खुला ठाउँको विशेष महत्व हुने वातावरणविद् भूषण तुलाधर बताउँछन् । “विभिन्न जातजातिको चाडमा टुँडिखेल र खुलामञ्च हेर्दा, त्यो खाली ठाउँले हाम्रो संस्कृतिको संरक्षण कसरी गरिरहेको छ भन्ने देखिन्छ”, वातावरणविद् तुलाधर भन्छन् । उनी प्रकृतिको मात्रै होइन संस्कृति संरक्षणको लागि पनि खुला ठाउँको महत्व रहेको तर्क गर्छन् ।

करीब ३० हजार मानिस अट्ने खुलामञ्च कुनै समय राजनीतिक आन्दोलन एवं सार्वजनिक सभा गर्ने महत्वपूर्ण स्थानको रूपमा थियो । अहिले त्यहाँ बढिरहेको अतिक्रमणले मञ्च मात्रै एउटा कुनामा सारेर राखिए झैं देखिन्छ ।

पुरानो बसपार्कमा भ्यूटावर बनाउने भन्दै २०७३ वैशाखदेखि मञ्चको उत्तरपट्टि पुरानो बसपार्क अस्थायी रूपमा राखिएको छ । केही समयअघि त्यहाँ सटर निर्माण गरी बिक्री गरिएको सार्वजनिक भएपछि चौतर्फी रूपमा विरोध हुँदा डोजर लगाएर हटाइएको थियो ।

‘अकुपाई टुँडिखेल’

अतिक्रमण बढेको भन्दै २३ कात्तिकदेखि ‘अकुपाई टुँडिखेल’ नामक अभियान शुरू भएको छ । स्थानीय स्तरबाट उठेको यो अभियानमा विभिन्न क्षेत्रका मानिसको सहभागिता छ ।

कुनै वेला दशरथ रङ्गशालादेखि रानीपोखरीसम्म फैलिएको खुलामञ्चको भूभाग अतिक्रमण गर्ने क्रम नरोकिएको र अब यसलाई खाली गर्नुपर्ने ‘अकुपाई टुँडिखेल’का अभियन्ताहरूको भनाइ छ ।

“खुलामञ्च र टुँडिखेल हाम्रो ऐतिहासिक स्थल हो । धेरै राजनीतिक व्यवस्था परिवर्तनका लागि नेताहरूले यिनै खुला ठाउँमा भाषण गरेर जनतालाई जागरुक बनाए, आन्दोलनमा सहभागी हुनको लागि आह्वान गरे, हामी पनि सहभागी भयौं । अहिले यही ठाउँ मास्ने प्रयास भइरहेको छ”, ‘अकुपाई टुँडिखेल’ का अभियन्ता आलोक तुलाधर भन्छन् ।

कुनै पनि शहर निर्माण गर्दा ३० देखि ४० प्रतिशत ठाउँ खुला हुनुपर्ने भए पनि काठमाडौंमा भने एक प्रतिशत मात्रै खुला ठाउँ रहेको काठमाडौं महानगरपालिकाका शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत बताउँछन् । महानगरपालिकाले खाली ठाउँहरूलाई व्यवस्थित तरिकाले प्रयोगमा ल्याउने तयारी गरिरहेको उनको भनाइ छ ।

बस्नेतको भनाइमा टुँडिखेललाई ओगट्ने कार्यमा महानगरपालिका भने संलग्न छैन । ‘अकुपाई टुँडिखेल’ सकारात्मक अभियान हो तर महानगरपालिकाले अकुपाई नगरेको बताउँछन् ।

खुलामञ्च र टुँडिखेलमा वीर अस्पताल र दरबार हाईस्कूल निर्माण सामग्री केही समयको लागि मात्रै राख्न दिइएको बताउँदै उनी भन्छन्, “महानगरपालिका आफैं सार्वजनिक स्थान खाली गराउन लागेको छ । किन खुलामञ्च र टुँडिखेल अकुपाई गर्छ ?”

वायु प्रदूषण कम गर्न, भूमिगत पानी पुनर्भरण गर्न, सामुदायिक भावना, सद्भाव बढाउन खुला ठाउँले खेल्ने भूमिकाबारे सचेत भई यस्ता महत्वपूर्ण स्थानहरू खुला नै रहन दिनुपर्ने वातावरणविद् तुलाधरको भनाइ छ । २०७२ सालको भूकम्पमा खुला ठाउँले दिएको गुन बिर्सेर खाली ठाउँ ओगट्नु दुःखद् भएको उनको तर्क छ ।

प्रा.तिवारी भने टुँडिखेलले नेपालीको व्याख्या गर्ने बताउँछन् । “यी स्थानमा नेपालका हरेक राजनीतिक व्यवस्था परिवर्तनका सम्झनाहरू जोडिएका छन्, त्यसैले पनि जोगाउनुपर्छ”, उनी भन्छन् ।

 

प्रतिकृया दिनुहोस