समाचार शुक्रबार, मंसिर ६, २०७६

धनपालथान–२ को उपनिर्वाचनमा नेताहरूको दाैडधूप

कमल रिमाल

मोरङको एक मात्रै वडामा आगामी म‍सीर १८ गते हुने उपनिर्वाचनमा उम्मेदवारका साथै जिल्ला र केन्द्रसम्मका नेताहरूको पनि दाैडधूप बढेको छ।

नेकपाका उम्मेदवार पंकजकुमार मण्डल गाउँका ज्येष्ठ नागरिकको खुट्टा छोएर मत माग्दै ।

सूर्य र रुख चुनाव चिन्ह लिएर नेताहरू गाउँ धाउन थालेका छन् । वडा अध्यक्ष बलिराम भगतको सर्पले डसेर मृत्यु भएपछि हुन लागेको उपनिर्वाचनको प्रचारमा गाउँमा नेताहरू धाउने क्रम बढेको छ ।

बिहीबार मात्रै नेकपाका ४ जना केन्द्रीय सदस्यसहित जिल्ला नेताहरू गाउँ घुमेका थिए । नेपाली कांग्रेसका नेताहरू पनि नियमित रूपमा गाउँ धाउन थालेका छन् ।

धनपालथानका ७ मध्ये २ नम्बर वडामा मात्रै तत्कालीन एमालेले जितेको थियो । नेपाली कांग्रेसका जनप्रतिनिधिको बाहुल्य रहेको गाउँकार्यपालिकामा थप एक वडा अध्यक्ष बढाउने कसरतमा कांग्रेस देखिन्छ ।

यस निर्वाचनमा पनि नेकपाका उम्मेदवारको मत भारी रहेको स्थानीयले बताए पनि कांग्रेसका उम्मेदवार नारायणप्रसाद साह जित आफ्नो पक्षमा रहेको दाबी गर्छन् ।

“सात जना उम्मेदवार भएपनि सूर्य र रुख बीच मात्रै प्रतिस्पर्धा हुन्छ”, साहले भने । नेकपाका उम्मेदवार पंकजकुमार मण्डल पनि दोब्बर मतले आफूले जित्ने बताउँछन् ।

२०७४ को निर्वाचनमा तत्कालीन एमालेले १ हजार १ सय ८६, कांग्रेसले ८ सय ४१, तत्कालीन माओवादीले ५ सय ५० र तत्कालीन संघीय समाजवादी फोरमले ५६ मत ल्याएका थिए ।

एमाले र माओवादी मिलेर नेकपा बनेपछि त्यतिबेलाको मत जोड्दा १ हजार ७ सय ४६ पुग्छ । यस निर्वाचनमा कांग्रेसलाई समाजवादी पार्टीले समर्थन गरेको छ ।

सो निर्वाचनबाट प्राप्त दुई दलको मत जोड्दा ८ सय ९६ पुग्छ । दुई दलबीचको मतान्तर दोब्बर रहने स्थानीय नेकपाका नेता तथा तत्कालीन अमाही बरियाती गाविसका अध्यक्ष मुसहरु मण्डल बताउँछन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार धनपालथान २ नम्बर वडामा ५ मतदान केन्द्र राखिने छ । कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीका अनुसार १ हजार ९ सय २७ महिला र २ हजार १ सय ४७ पुरुष गरी यस वडामा ४ हजार ११ मतदाता रहेका छन् ।

२०७४ को स्थानीयतहको निर्वाचन भन्दा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा धनपालथान २ मा केही मतदाता बसाइँ सरी गएको र केहीको मृत्यु भएकाले ६३ जना कम पाइएका थिए ।

 नेकपाका केन्द्रीय र जिल्ला नेताहरू गाउँलेसँग ।

 

प्रतिकृया दिनुहोस