खेलकुद मंगलबार, मंसिर ३, २०७६

लठिबज्र साग तयारी

निरञ्जन राजवंशी

सागको १३औं संस्करण शुरू हुन दुई साता बाँकी हुँदा अधिकांश खेलस्थलको निर्माण सम्पन्न भएको त छैन नै भारतबाट ल्याउनुपर्ने खेल सञ्चालनका सामग्री समेत आइपुगेका छैनन्।

दशरथ रङ्गशालामा प्लाष्टिकका कुर्सी जडान गरिंदै ।

१५ मंसीरमा दक्षिण एशियाली खेलकुद (साग) उद्घाटन हुनुपर्ने दशरथ रङ्गशालाको पुनर्निर्माण नै नसकिने भएपछि खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा गएको साताभर कामको निरीक्षण र निर्देशनका लागि निर्माणस्थलमा खटिए ।

तर, रङ्गशालाको भीआईपी पारापिटको छानो हाल्न र १५ हजारमध्ये ६ हजार कुर्सी राख्न अझै बाँकी छ । एक साताभित्र रङ्गशालाको सबै काम सकिने राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव रमेश सिलवालले बताएका छन् ।

दशरथ रङ्गशाला मात्र नभएर अधिकांश खेल र अभ्यास स्थलहरूको पनि निर्माण सम्पन्न भएको छैन । कतिपय खेलको त खेलस्थल नै टुङ्गो लागेको छैन । मन्त्री विश्वकर्मालाई रङ्गशालामै भेट्न पुगेकी नेपाल कबड्डी संघकी अध्यक्ष तथा सांसद तुलसी थापाले कबड्डीको खेलस्थल अझै टुङ्गो नलागेको जानकारी दिइन् ।

थापा र मन्त्री विश्वकर्माबीचको छलफलमा सशस्त्र प्रहरी बलको हलचोकस्थित कभर्ड हल प्रयोगका लागि अनुरोध गर्ने निर्णय भयो । “यसअघि कीर्तिपुरस्थित स्मृति भवनमा प्रतियोगिता गराउने कुरा थियो तर, त्यहाँ मापदण्ड नपुग्ने भएपछि विकल्प खोज्न थालिएको हो” थापा भन्छिन्, “एपीएफको हलचोकस्थित कभर्ड हलमा गर्न राखेपलाई भनेका छौं, टुङ्गो लागे\नलागेको जानकारी पाएको छैन ।”

पौडी प्रतियोगिताका लागि सातदोबाटोको हिटिङ पुल पनि तयार भइसकेको छैन । पुल निर्माण सम्पन्न हुन अझै एक साता लाग्ने राखेप सदस्यसचिव सिलवालले बताए । समयमा नै सक्न द्रुत गतिमा काम भइरहेको उनको भनाइ छ ।

उता पोखरा रङ्गशालाको पनि निर्माण सम्पन्न भएको छैन । फ्रान्सबाट मगाइएको तयारी पारापिट १० मंसीरसम्ममा जडान गरिसक्ने राखेप सदस्यसचिव सिलवालले बताएका छन् । उक्त रङ्गशालामा कोलकाताबाट ल्याएर ओछ्याइएको बर्मूडा दुबो मरिसकेको छ ।

भन्सारमा भारतीय अवरोधका कारण चार दिन रोकिएर पोखरा आइपुगेको दुबो रोपेको केही दिनमा नै मरेको हो । सबै नभई ५० प्रतिशत दुबो मात्र मरेको र बाँकी मर्न नदिन पानी हालिइरहेको सिलवालले बताए । कलकत्ताबाट थप मगाएर मरेको दुबो फेरिने उनको भनाइ छ ।

राखेपलाई खेल सञ्चालनका लागि आवश्यक सामग्री जुटाउन पनि समस्या छ । खेल सामग्री व्यवस्थापन समितिका संयोजक पुरेन्द्रविक्रम लाखे पाँच सदस्यीय टोली लिएर सात खेल सञ्चालनका सामग्री ल्याउन २९ कात्तिकमा मात्र भारत गएका छन् । बढीमा सात दिनभित्र आवश्यक सामग्री लिएर टोली आइपुग्ने सदस्यसचिव सिलवालले दाबी गरे ।

प्रतियोगिता शुरु हुन दुई हप्ता मात्र बाँकी हुँदा देशमा सागको व्यापक चहलपहल शुरू भइसक्नुपर्ने हो । खेल आयोजना हुने काठमाडौं, पोखरा र जनकपुरका चोक तथा गल्ली सागको रङले रङ्गिइसक्नुपर्ने थियो । राष्ट्रलाई पदक दिलाउन अथक् मिहिनेत गरिरहेका खेलाडीको चर्चा भइरहेको हुनुपर्थ्याे । तर, निर्धारित मितिमा नै साग आयोजनाबारे प्रश्न सोध्नुपर्ने अवस्था छ ।

हतारोमा फाइदा लिनेहरू

नेपालले तीनपटक आयोजनाको मिति सार्दा पनि सागको १३औं संस्करणको तयारी फितलो छ । फेब्रुअरी २०१६ मा भारतको गुवाहटीबाट सागको झण्डा बोकेर आएको नेपालले अन्तिम समयसम्म पनि अन्य सदस्य राष्ट्र विश्वस्त हुने गरी तयारी गर्न सकेन ।

दशरथ रङ्गशाला पुनर्निर्माणको निरीक्षण गर्दै खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा ।

गत २३ कात्तिकमा भएको दक्षिण एशियाली ओलम्पिक कमिटीको बोर्ड बैठकमा खेलकुदमन्त्री विश्वकर्मा र राखेप सदस्यसचिव सिलवाल नै उपस्थित भएर तोकिएको समयमै साग आयोजना हुने विषयमा सदस्य राष्ट्रहरूलाई आश्वस्त पार्नु परेको छ ।

समयमा काम नगर्ने र अन्तिममा ‘हतारोको फाइदा’ लिनेहरूकै कारण साग तयारी फितलो भएको हो । बेरुजु बढ्न नदिन राखेप सदस्यसचिव सिलवालले बजेट परिचालनमा एकद्वार नीति लिएका छन् ।

यसबाट एउटा समूह मनलाग्दी खर्च गर्न नपाएकोमा रुष्ट छ भने अर्कोतर्फ एउटै पक्षबाट सम्पूर्ण अधिकार कब्जा गर्दा काममा ढिलासुस्ती भएको आलोचना पनि भइरहेको छ । 

१३औं साग युवा तथा खेलकुद मन्त्री विश्वकर्माको पनि अग्निपरीक्षा हो । उनको दुईवर्षे कार्यकालको समीक्षा सागको सफलता वा असफलतामा निर्भर हुने पक्का छ ।

खेलकुद मन्त्रालय, राखेप र नेपाल ओलम्पिक कमिटीका मुख्य पदाधिकारीहरूको मुख अझै पनि नमिलेको र यो नै ढिलासुस्तीको मुख्य कारण बनेको कतिपयको आरोप छ । जसरी ढिलासुस्ती होस् त्यसको फाइदा ‘हतारो गर्नेहरू’ ले नै लिनेछन् । यो समस्यालाई तत्काल फुकुवा गर्नु नै नेतृत्वको बुद्धिमानी हुनेछ ।

के–के भए काम ?

मुख्य चासो र चुनौतीको विषय उद्घाटन र समापन हुने दशरथ रङ्गशालाको भीआईपी पारापिट निर्माण हो । पहिले समुद्री मार्गबाट ल्याउने भनिएको पारापिटको छानो एअर कार्गो गरेर ल्याइँदैछ । रङ्गशालाको अन्य स्वरुप बदलिएको छ । नयाँ सिन्थेटिक ट्र्याक ओछ्याइएको हरियो घाँस र नयाँ सिटले रङ्गशालाको मुहार फेरिएको छ । 

दोस्रो महत्वपूर्ण विषय आयोजनाको बजेट हो । सरकारले १३औं सागका निम्ति पूर्वाधार निर्माणमा मात्र रु.१ अर्ब ६२ करोड र प्रतियोगिता सञ्चालनका लागि रु.३ अर्ब ६५ करोडको बजेट विनियोजन गरेको समय घर्किसकेको अवस्थामा फास्ट ट्र्याकबाट सामग्री खरीद गर्न मन्त्रिपरिषद्ले गाँठो फुकाइदिएपछि बजेट परिचालनमा पनि समस्या छैन । तर, खर्चमा मितव्ययिता र पारदर्शिता राख्नुपर्ने चुनौती छ ।

समस्या प्राविधिक कामहरूमा पनि छ । त्यसनिम्ति १५ वटा विषयगत समिति बनेका छन् । तर, ती समितिले गरिरहेको काम पारदर्शी हुनसकेको छैन । विषयगत समितिका संयोजकहरूको भनाइ मान्ने हो भने काम आफ्नै लयमा भइरहेकाले साग आयोजनामा कुनै व्यवधान छैन ।

१३औं सागका आयोजक पदाधिकारीहरूको लागि समेत छोटो समयमा धेरै काम गर्नुपर्ने दायित्व छ । यी सबै चुनौती पन्छाउने दौडमा पदाधिकारीहरू व्यस्त छन् । मन्त्री विश्वकर्माले समेत पटकपटक भौतिक निर्माणको काम सकेर निर्धारित मितिमा नै साग आयोजना हुने बताइरहे पनि दुई साताभन्दा कम समय बाँकी भएकाले संशय भने कायमै छ ।

प्रतिकृया दिनुहोस