रिपोर्ट आइतबार, मंसिर १, २०७६

याे हाे देशकै पहिलाे सुरुङमार्ग

गोपाल गडतौला

काठमाडौंका लागि तराईबाट हुने आपूर्ति र यातायात सहज बनाउन १०१ वर्षअघि चन्द्रशमशेरले देशकै पहिलो हेटौंडा–अमलेखगञ्ज सुरुङमार्ग निर्माण गर्न लगाए। तर, गत ५ कात्तिकमा नागढुंगा–नौबिसे सुरुङमार्ग शिलान्यास कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘देशको पहिलो सुरुङमार्ग बन्न लागेको’ बताए।

हेटौंडा उपमहानगरपालिका–१२ स्थित हेटौंडा—अमलेखगञ्ज सुरुङमार्ग । तस्वीर सौजन्यः चन्दा राणा

‘हाम्रा राजा क्या अक्कलदारी
ल्याए मोटर चुरेमा भ्वाङ पारी’

चन्द्रशमशेरले १०१ वर्षअघि हटौंडा र अमलेखगञ्जलाई सडकले जोड्न चुरे पहाडमा सुरुङमार्ग निर्माण गर्न लगाएपछि त्यस क्षेत्रका स्थानीयले गीत नै बनाए ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ चुरेफेदस्थित सुरुङबाट २०१६ सालसम्म गाडी आवतजावत गर्थे । त्रिभुवन राजपथ बन्न थालेपछि गाडी गुड्न बन्द भयो भने माओवादी द्वन्द्व शुरू भएपछि २०५२ सालबाट मान्छे हिंड्न पनि रोकियो ।

भारतको जङ्गल छिचोल्दै २००७ सालमा अमलेखगञ्ज आइपुगेका स्वीस भूगर्भविद् डा. टोनी हागनले त्यहाँ सुरुङमार्ग देख्दा आफू आश्चर्यमा परेको द हिमालयन किङ्डम अफ नेपाल पुस्तकमा उल्लेख गरेका छन् । यो एशियाकै पहिलो मानव निर्मित सुरुङमार्ग भएको पनि उनले लेखेका छन् ।

साना र हलुका सवारी साधन गुडाउन मिल्ने उक्त मार्ग हुँदै राजदरबार तथा राणाहरूका लागि गाडी ल्याइएको थियो । सुरुङमार्गको डिजाइन नेपालका पहिलो इन्जिनियर कर्णेल डिल्लीजङ्ग थापाले १९७५ सालमा गरेका हुन् ।

जङ्गबहादुरका छोरीतिरका पनाति थापाले भारतको थमसन् कलेज अफ इन्जिनियरिङ देहरादुनमा अध्ययन गरेका थिए । प्रधानमन्त्रीको आदेशमा सुरुङमार्ग बनाउन नेपाली सेना खटिएको बताइन्छ ।

वि.सं. १९७५ मा हेटौंडा–अमलेखगञ्ज सुरुङमार्ग निर्माण गर्न सहयोगीहरू साथ जाँदै गरेका इन्जिनियर कर्णेल डिल्लीजङ्ग थापा (अग्रभागमा) ।

थापा पनि नेपाली सेनाका इन्जिनियर थिए । उक्त सुरुङबारे अध्ययन गरिरहेकी थापाकी नातिनी चन्दा राणा भन्छिन्, “नेपाल सरकारले विनियोजन गरेको भन्दा कम लागतमै सुरुङ बनेकाले बाँकी रकम सरकारी कोषमा नै फिर्ता भएको बुझिन्छ तर, लागत कति थियो भन्ने चाहिं कतै पाइँदैन ।”

उक्त सुरुङमार्गको चौडाइ ९ फिट र उँचाइ १० फिट छ । लहरी (एकप्रकारको मालबाहक सवारी साधन) छिर्ने आकारमा यसको निर्माण भएको छ । काठमाडौंको लागि तराईबाट हुने आपूर्ति र यातायात सहज बनाउनु यसको उद्देश्य थियो ।

१९९० र २०७२ सालको भूकम्पबाट सुरुङलाई खासै क्षति भएन । त्रिभुवन राजपथ बनाउँदा सुरुङको बीचमा धसिएको एक ठाउँ बाहेक करीब ९० प्रतिशत भाग प्रयोग गर्न सकिने अवस्थामा छ । प्रदेश–३ सरकार र हेटौंडा उपमहानगरपालिकाले उक्त सुरुङलाई ऐतिहासिक महत्वस्थलका रूपमा संरक्षण गर्ने योजना सार्वजनिक गरेका छन् ।

इन्जिनियर थापाका नाति नेपाली सेनाका अवकाशप्राप्त कर्णेल जनकजङ्ग थापा भन्छन्, “त्यो युगमा बनेको सुरुङमार्गलाई नेपालको विकास प्रयासको स्वर्णद्वार मानेर अरू ठाउँमा पनि बनाएको भए यातायातको विकास चाँडो हुन्थ्यो ।”

सुरुङमार्गको मात्र नभई इन्जिनियर थापाले काठमाडौं—हेटौंडा रोपवे, सप्तरीको चन्द्र नहर, वि.सं. १९९० को भूकम्पपछि भत्किएको धरहरा, शीतलनिवास, काठमाडौं डिल्लीबजारस्थित चारखाल अड्डा, टोखा सडक, जनकपुर—जयनगर रेल्वे लगायत संरचनाको डिजाइनदेखि निर्माणसम्मको नेतृत्व गरेका थिए ।

भौतिक संरचना निर्माणमा थापाको योगदानको कदर गर्दै सुरुङ भएको स्थान चुरियामाईमा सालिक राख्ने तयारी भइरहेको पनि थापाकी नातिनी राणाले बताएकी छिन् ।

इतिहास मेटाउने प्रयास

प्रधानमन्त्री केपी शर्मा ओलीले ५ कात्तिकमा नागढुङ्गा–नौबिसे सुरुङमार्गको शिलान्यास गर्दै ‘देशकै पहिलो सुरुङमार्ग’ हुने बताए । उक्त सुरुङमार्ग निर्माणको लागि गत ६ असोजमा जापानको हाज्मा आन्द्रो जेभी र सडक विभागको विकास सहायता समन्वय महाशाखाबीच सम्झाैता भएको थियो । २.५ किलोमिटर लामो हुने सुरुङमार्गको लागत रु.१३ अर्ब छ भने निर्माण ४२ महीनामा सक्नुपर्ने सम्झाैतामा उल्लेख छ ।

भारतको देहरादुनस्थित थमसन् कलेज अफ इन्जिनियरिङका पूर्व विद्यार्थी हेटौंडा अमलेखगञ्ज सुरुङमार्गको अवलोकन गर्दै (२०७६) ।

सरकारले उक्त सुरुङमार्ग बनाउने घोषणा गर्दा १०१ वर्ष पुरानो हेटौंडा–अमलेखगञ्ज सुरुङमार्गको इतिहास मेटाउन खोजेको भन्दै इन्जिनियर थापाका सन्तानले आपत्ति जनाएका छन् ।

अवकाशप्राप्त कर्णेल थापा भन्छन्, “सुरुङमार्ग बन्नु राम्रो कुरा हो तर, भर्खर बन्न लागेकोलाई पहिलो भनेर इतिहास मेट्नुहुँदैन ।” यता नेपाल टनेल एशोसिएसनका उपाध्यक्ष रामहरि शर्मा पनि देशको पहिलो सुरुङमार्ग हेटौंडा–अमलेखगञ्ज नै भएको बताउँछन् ।

अहिले खानेपानी, सिंचाइ र विद्युत् परियोजनाका लागि सुरुङ बनाउने क्रम बढ्दो छ । मेलम्ची खानेपानी आयोजनाका लागि बनाइएको २७ किलोमिटरको सुरुङ सबैभन्दा लामो हो ।

त्यस्तै, खिम्ती र कालीगण्डकी जलविद्युत् आयोजनामा पनि क्रमशः ९ र ७ किलोमिटर लामो सुरुङ बनाइएको छ । हालसम्ममा करीब २५० किलोमिटर सुरुङ बनिसकेको उपाध्यक्ष शर्मा बताउँछन् । उनी भन्छन्, “बिजुली, सिंचाइ र खानेपानीका लागि धमाधम सुरुङ बनिरहेका छन्, नेपाल जस्तो पहाडी भूभागले ढाकिएको ठाउँमा सडक र रेल्वेका लागि पनि सुरुङमार्ग अपरिहार्य छ ।”

 

प्रतिकृया दिनुहोस