व्यक्तित्व शनिबार, कात्तिक ३०, २०७६

'शरणार्थीलाई साेध्नू बाँच्नुकाे अर्थ'

गोपाल गडतौला

दक्षिणी भुटानको साम्चीस्थित घरबाट अचानक हराएको किशोरको खोजी परिवारले गर्‍यो गरेन मनोज राईलाई थाहा छैन । १७ वर्षीय राई त्यसवेला स्कूलको छात्रवासमा थिए ।

सेनाका अधिकारी आएर सबै विद्यार्थीका नेपाली भाषाका पुस्तक विद्यालयको चौरमा थुपार्न लगाए । एउटाले आगो झोस्यो । आफूले पढेका किताब हेर्दाहेर्दै खरानी भए । केही ठूला कक्षाका विद्यार्थीले मनोज जस्ता साना कक्षाका विद्यार्थीलाई सरकारले व्यापक दमन गर्न थालेको बुझाइसकेका थिए । तर, कोही बोल्न सक्ने अवस्था थिएन ।

केही दिन नबित्दै सेनाको खोजी सूचीमा मनोज पनि परेको हल्ला चल्यो । धेरै मानिस घरबार छोडेर भागेको देखिरहेका मनोज सन् १९९० मा टासिगङको स्कूलबाट साम्चीस्थित घर नपुगी बाहिरिएका थिए ।

भुटानको चिसो हावापानीबाट एक्कासी झापाको कनकाई नदी किनारका अव्यवस्थित छाप्रामा बस्नपुग्दा गर्मीले दिउँसो धेरै शरणार्थी बेहोसझैं हुन्थे । औषधि त टाढाको कुरा, अघाउन्जी खाना पनि थिएन ।

नदी किनारको बगरमा प्लास्टिकको पालमुनि नानीहरूको कन्तबिजोग थियो । धेरैजसो घरमा बच्चा मरिरहेका थिए । एकै दिनमा २८ जनासम्म बालबालिका मरेको सम्झिँदै मनोज भन्छन्, “बाँच्नुको अर्थ हामीले धेरै गहिरोसँग बुझेका छौं ।”

सानैदेखि संगीतमा रुचि भएका मनोज साथीहरूको समूह बनाएर कनकाई पूर्वको सुरुङ्गा बस्तीमा पस्दथे । थपडी बजाउँदै गीत गाउँथे । गीत गाउँदै दुःखको कहानी सुनाउने शरणार्थी ठिटाहरूलाई गाउँलेले चामल, मकै, आलु गुन्द्रुक दिन्थे । यसरी जुटेको खाद्यान्नले शुरुका दिनमा शरणार्थी शिविरमा सामूहिक खाना पाक्दथ्यो । धुलो मैदानमा बसेर खान्थे ।

ती दिन सम्झिदै मनोज भन्छन्, “अन्न र भोक बीचको सम्बन्ध हामीले भन्दा राम्रोसँग अरुले कम बुझेका होलान् ।” शिविर बाहिर गाउँलेका घरमा रेडियोमा बजेका गीत सुनेर उनी संगीतको अभ्यास गर्दथे । बगरको बाक्लो बस्तीमा अघाउन्जी खान नपाएका रोगी नानीहरू र सुत्केरी महिलाले पीडाको पराकाष्ठ भोगिरहेका थिए ।

करीब एक वर्षसम्म यो क्रम चलिरहेको उनी बताउँछन् । त्यसपछि विस्तारै सहयोगी संस्थाहरू शरणार्थी शिविरमा पस्न थाले । रेडक्रसले कपडाको प्रबन्ध गर्‍यो । लुथरन, कारितास, सेभ द चिल्ड्रेन फण्ड आदि संस्थाले खाना, बास, उपचार, शिक्षा आदिको व्यवस्था मिलाए । नानीहरूका लागि रुखको छहारीमा स्कूल खुल्यो ।

भावुक हुँदै उनी विगत सम्झिन्छन्, “जिन्दगी चुँडिएको चङ्गा झैं भयो ।” बोरा ओच्छ्याएर बालुवामाथि सुत्दा विहान सिरानीको भागतिर आँसुले भिजिसकेको हुन्थ्यो । दुरुह दिन सम्झिदै भन्छन्, “हामी धेरै भुटानी शरणार्थीले मृत्युतुल्य हविगतबाट आफूलाई उठाएर यहाँसम्म ल्याएका हौं ।”

मनोज शिविरको लयमा विस्तारै मिसिदै गए । संगीत उनको पुरानै रुचि थियो । वाद्यवादनका सामग्री जुटाए । संगीत कक्षा शुरु गरे । तीज, दशैं, तिहार आदिमा शिविरमा सांस्कृतिक कार्यक्रम गर्दथे । संगीत उनका लागि बाँच्ने आशा र साधना पनि बन्यो । हालसम्ममा उनले ७० गीतमा स्वर दिएका छन् भने २२ गीतमा संगीत भरेका छन् ।

हाल संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलेना राज्यको सार्लट शहरमा परिवारसाथ बसेका उनी लभ एण्ड सपोर्ट फाउण्डेशन नामक परोपकारी संस्थाका प्रमुख पनि हुन् । यो संस्थाले प्रत्येक वर्ष अमेरिका र नेपालमा कला, संगीत, सञ्चार र सामाजिक जीवनमा योगदान पुर्‍याउने व्यक्तिहरूको जमघट गराउँदै सम्मान तथा प्रोत्साहन कार्यक्रम गर्दछ ।

शेयर मार्केटमा लगानी थालेका मनोज अमेरिकामा नियमित रूपमा नेपाली भाषा र संगीत कक्षा सञ्चालनको तयारीमा छन् । यसका लागि उनले आफ्नो अध्यक्षताको फाउण्डेशनलाई अमेरिकाका विभिन्न राज्यमा विस्तार गरिरहेका छन् । भन्छन्, “भाषा र संस्कृतिलाई बिरानो ठेगानामा जोगाउन बाँचुन्जेल यथासक्य गर्ने हो ।”

शरणार्थीको रूपमा दुई दशक नेपालमा बिताएका कलाकार मनोज राई अमेरिकामा पुनर्वास भएपछि अर्को परिचय पनि बनाए, दोभाषेको रूपमा।

नेपाली, हिन्दी, र जोङ्खा (भुटानी) भाषा मात्रै बोल्ने तथा बुझ्ने भुटानीलाई सघाउन दोभाषेको काम गर्दै आएका राई यसबाट पारिश्रमिक पनि पाउँछन् । “अंग्रेजीमा बोलचाल गर्न नसक्ने भुटानी वा अरु मुलुकका व्यक्तिको कुरा सुन्न\सुनाउन दोभाषेको काम गरें”, उनी भन्छन् ।

सन् २०१२ मा हु केयर्स इन्टरन्याशनल नामको परोपकारी संस्था स्थापना गरेर सक्रिय रहेका कलाकार राईसँग अन्य १५ जना सहकर्मी पनि छन् । “दोभाषेको काम गरें । यो सब मेरो मन बहलाउने मेलो पनि थियो”, भावुक हुँदै उनी भन्छन् ।

भुटानबाट खेदिएपछि ज्यान बचाउन अरू भुटानीहरूसँग भारत हुँदै नेपाल पसेका राईको जीवनयात्राको क्रममा ‘हिमालको काखमा छ सानो हाम्रो भुटान देश’ बोलको गीत सुनाउँदै शुरु भएको थियो उनको संगीतयात्रा ।

उनका गीति एल्बमहरू भुटानी कथा व्यथा (२००२), सिनोरिटा (२०१५) र स्पन्दन (२०१६) सम्म पुगेको छ । उनले सन् १९९० मा भुटानको साम्चीमा सेनाले झुण्ड्याएर मारेका मनबहादुर क्षेत्रीको सम्झनामा ‘मने’ गीति एल्बम ल्याए ।

आमाको आशौच बार्न नदिने देश

उच्च रक्तचापले थलिएकी आमा सुमित्राको ४३ वर्षको उमेरमै मृत्यु भएको खबर पाउँदा उनी झापाको खुदुनाबारीस्थित शरणार्थी शिविरको सेक्टर ई २ छाप्रो नम्बर ८१ मा थिए । त्यहाँबाट भुटान जान त हिंडे तर, भुटान—भारत सीमाको चमर्ची पुग्दा ‘भुटान जानु मृत्युवरण गर्नु सरह हो’ भन्ने थाहा पाएपछि फर्किए ।

“त्यही पीडाले पोलिरहन्छ, आमाको यादले सताइरहन्छ”, २९ वर्षदेखि कयौं आफन्त नभेटेका राई भन्छन्, “म जस्ता हजारौं भुटानी आफन्त वियोगको यो पीरव्यथा सहेर बाँचिरहेका छन् ।” नेपाल छँदा झापा र मोरङका सातै शिविरमा गीत–संगीत सिकाउने भुटान सांस्कृतिक कला केन्द्र स्थापना गरेका उनी नेपाली भाषा परिषद्, भुटानको सांस्कृतिक संयोजक समेत थिए ।

हाल अमेरिकामा भुटान सम्झाउने गीत गाउँछन् । अमेरिका पुनर्वास भुटानीको संस्था अर्गनाइजेसन अफ भुट्निज कम्युनिटी इन अमेरिकाको सन् २०१० देखि २०१५ सम्म प्रचारप्रसार संयोजक रहेका उनी भुटानी शरणार्थीलाई सघाउँदै आएका छन् । दोभाषे र गीत संगीतको माध्यमबाट ।

राई प्रमुख रहेको संस्था लभ एण्ड सपोर्ट फाउण्डेशनले नेपाली भाषा, संस्कृति, सञ्चार र सामाजिक जीवनमा योगदान पु¥याउनेहरूको खोजी र कदर गर्ने गरेको छ । उक्त संस्थाले काठमाडौंस्थित घाँसी नेपाल संस्थाका कार्यक्रमको व्यवस्थापनमा सहयोग गरिरहेको छ । राई भन्छन्, “शरणार्थी शिविरमा रहँदाको दुःख र अभावले जीवनलाई मजबुत बनाउन सघाएको छ, यो नै मेरो परोपकारी कर्मको प्रेरणा हो ।”

उनी विस्तारै अमेरिकी शेयर बजारमा समेत संलग्न भइरहेका छन् । संगीत, भाषा र कलाको माध्यमबाट अग्लो व्यक्तित्व आर्जन गरेका राईलाई काठमाडौंस्थित ब्लुरेण्ड फाउण्डेशनले सन् २०१९ को जुलाईमा भव्य समारोह बीच पूर्वप्रधानमन्त्री झलनाथ खनालको हातबाट सम्मान तथा अभिनन्दन गरेको थियो ।

प्रतिकृया दिनुहोस