समाचार शुक्रबार, कात्तिक २९, २०७६

विराटनगरमा 'नो पार्किङ जोन' बनाइने

कमल रिमाल

प्रदेश १ को राजधानी विराटनगर महानगरभित्र बढेको ट्राफिक जाम समस्या हटाउन २ किलोमिटर क्षेत्रलाई 'नो पार्किङ जोन' बनाइने भएको छ ।

पत्रकार सम्मेलनमा निरीक्षक पोडदार । तस्वीरः कमल रिमाल

राजधानी र महानगर हुनु र नगरभित्रका सडकको स्तरोन्नति गरिन थालिएकाले विराटनगर बजार क्षेत्रमा झण्डै २ वर्षयता जामको समस्या हुँदै आएको छ । बजार क्षेत्र, कोशी राजमार्ग, भित्री सडकमा हुने जामले नगरको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुँदै आएको छ ।

जिल्ला ट्राफिक मोरङका प्रमुख राकेश पोडदारले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रदेश राजधानीको ट्राफिक जामको समस्या हटाउन कोशी राजमार्गको २ किलोमिटर नो पार्किङ जोन बनाइने बताए । महेन्द्रचोक उत्तर बरगाछीसम्मको सडकका दुवैतर्फ पार्किङ निषेधको तयारी गरिएको छ ।

राजमार्गको सडक ६ लेनको बनेपनि ट्रक, बस र ई–रिक्सा पार्किङले स्थानीयले सास्ती भोग्दै आएका छन् । “एक महिनाभित्र विराटनगरमा जाम नहुने अवस्था आउँछ”, ट्राफिक प्रहरी निरीक्षक पोडदारले भने, “पार्किङको व्यवस्था नगरी सडक जाम गराउने अस्पताल, स्कूल, क्याम्पस, होटल र पार्टी प्यालेसलाई सचेत गराइने छ ।”

विराटनगर ट्राफिकमा सरुवा भए लगत्तै पत्रकार सम्मेलन गरेका पोडदारले आफु स्थानीय भएकाले यहाँको समस्या नजिकबाट बुझेको बताउँदै यात्रुवाहक बसमा पनि निगरानी बढाइने जानकारी दिए । “जथाभावी यात्री चढाउने र ओराल्ने बसलाई कारवाही गरिने छ”, उनले भने । गुद्री बजार क्षेत्रमा रिक्सा र टेम्पोले जाम गर्ने भएकाले त्यस क्षेत्रमा पार्किङ निषेध गरिने उनले बताए ।

काँकडभिट्टा जाने बसले इटहरीका यात्रुलाई नचढाउने गरेको जानकारी दिंदै उनले आयल निगमका ट्यांकरले गर्ने जाम पनि व्यवस्थित गरिने बताए । निगम आसपासको सडकमा पार्किङ गरिने ट्यांकरका कारण त्यस क्षेत्रमा जाम हुने गरेको छ ।

प्रतिकृया दिनुहोस