रिपोर्ट शनिबार, कात्तिक ३०, २०७६

सर्पदंशमा सरकारी राहत

कमल मादेन

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार घस्रिने जन्तु सर्प आदिलाई पनि वन्यजन्तु मानेको छ। सरकारले जारी गरेको ‘वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९’ मा भने सर्प परेको छैन।

कमल मादेन

२२ असोजमा महोत्तरीस्थित सर्पदंश उपचार केन्द्र बर्दिबासमा दुई जना सर्पदंश पीडित महिला भर्ना भए । तीमध्ये एक सोनमा गाउँपालिका–२ महोत्तरीकी ३६ वर्षीया फूलोदेवी यादवलाई सोही बिहान ६.३० बजेतिर सर्पले डसेको थियो ।

स्थानीयले यादवलाई घर पोत्ने माटो सङ्कलनका क्रममा हल्का कालो, खैरो र सेतो रङको सर्पले हत्केलामा डस्दा थोरै रगत निस्केको र स–साना दाग पनि देखिएको बताएका थिए ।

त्यसैगरी २२ असोजमै सिन्धुली बाघमाराकी २० वर्षीया समीक्षा जोगीलाई घर नजिकैको घारीमा बिहान ८ बजे सर्पले डस्यो । 

यो पंक्तिकार २२ गते मध्याह्न बर्दिबासस्थित सर्पदंश उपचार केन्द्र पुग्दा यादव र जोगी दुवैलाई स्लाइन मात्र दिइराखिएको थियो ।

उपचारमा संलग्न सेनाका जवान देवनारायण साहले बताए अनुसार, यादव र जोगीलाई सर्पले डसेको भए पनि शरीरमा विष प्रवेश नभएकाले १२ घन्टा अवलोकन गरेर २२ गते नै डिस्चार्ज गरियो ।

सर्पलाई विष प्रभावका आधारमा स्नायु प्रणालीमा असर गर्ने, मांसपेशीमा असर गर्ने र आन्तरिक रक्तस्राव गराउने भनेर वर्गीकरण गरिन्छ । स्नायु प्रणालीमा असर गर्नेमा करेत र गोमन, मांसपेशीमा असर गर्नेमा हरेऊ, गुर्वे र आन्तरिक रक्तस्राव गराउनेमा रसेल भाइपर सर्प पर्छ ।

रसेल भाइपरले डस्दा आँखा, कान र नाकबाट रगत आउँछ । शरीरभरि आन्तरिक रक्तस्राव गराउँछ । करेतले डस्दा छिटोमा आधा घन्टा ढिलोमा ५–६ घन्टाभित्र पेट पोल्न शुरू हुन्छ ।

गोमन सर्पको विषले भने पेट पोल्दैन । करीब आधा घन्टा पछि आँखाको ढक्कन चलाउन असजिलो हुने, मुख खोल्न, बन्द गर्न र जिब्रो असहज हुन थाल्छ । मांसपेशी बाउँडिन थाल्छन् । सास फेर्न कठिन हुन्छ ।

यस्ता विविध लक्षण देखा परेपछि उपचारको निम्ति स्नेक भेनमएन्टिसेरम स्लाइन पानीमा मिसाइएर उपचार गर्न शुरू गरिन्छ । विष प्रवेश भएको भए टोकेको भाग र त्यस वरिपरि बेस्सरी सुन्निन्छ र अत्यधिक जलन हुन्छ । बर्दिबासस्थित केन्द्रमा भाइपरमध्ये विशेषतः हरेऊ सर्पले डसेका पीडितलाई दोलखा र रामेछापबाट पुर्‍याइँदो रहेछ ।

पीडितको शरीरमा विष प्रवेश नभएको सर्प डसाइलाई सुक्खा डसाइ (ड्राइ बाइट) भनिन्छ । सर्पले केही घन्टा वा एक दुई दिनअघि कुनै जन्तु आहार गरेको भए वा डसाइमा विष प्रयोग गर्न आवश्यक नठानेको भए पीडितको शरीरमा विष प्रवेश हुँदैन भन्ने बुझाइ छ ।

समुदायको पहल, सेनाको सहयोग

स्थानीय बासिन्दाले बर्दिबासमा सर्पदंश उपचार केन्द्र २०७१ सालमा स्थापना गरेका हुन् । सर्पदंश उपचारसँग सम्बन्धित आवश्यक औषधि–पानी समुदायले उपलब्ध गराउँछन् । केन्द्रलाई नेपाली सेनाले तालिमप्राप्त प्राविधिक उपलब्ध गराउँछ ।

समीक्षा जोगी । तस्वीर: कमल मादेन

उपचार केन्द्रमा सर्पबाहेक बिच्छी र खजुरोले डसेमा पनि उपचार हुन्छ । उपचार केन्द्रमा सर्पले डसेर उपचार गर्नुपरे दुई हजार र बिच्छी तथा खजुरोले डसे एक हजार रुपैयाँ उपचार शुल्क लिइँदो रहेछ ।

उपचार केन्द्रमा सर्पदंश उपचार सम्बन्धी अघिल्ला वर्षहरूको तथ्याङ्क आर्थिक वर्ष अनुसार राखिए पनि यो वर्ष भने प्रत्येक महीनाको तथ्याङ्क राखिएको छ । विवरणमा गोमन, करेत, भाइपर, बिच्छी, खजुरोले डसेका महिला र पुरुष संख्या छुट्टाछुट्टै छन् ।

वैशाखदेखि भदौ महीनाका विवरणमध्ये त्यहाँ सबैभन्दा बढी सर्पदंश करेतबाट भएको देखिन्छ । वैशाखदेखि भदौ महीनासम्ममा ७२ जनालाई करेतले डसेपछि उपचार भएको रहेछ । तीमध्ये ४८ महिला र २४ पुरुष थिए । 

वैशाखदेखि भदौ महीनासम्ममा गोमनले डसेका १७ जनालाई उपचार गरिएको रहेछ । तीमध्ये १० जना महिला र ७ जना पुरुष थिए ।

भदौमा मात्रै १६ जनालाई भाइपर सर्पले डसेपछि उपचार गरिएको तथ्याङ्क तालिकामा छ । वैशाखदेखि भदौसम्ममा २३ जना महिला र १० जना पुरुषलाई भाइपरले डसेको हुँदा उपचार गरिएको तथ्याङ्क छ ।

असारमा बिच्छीले डसेर उपचार गर्न आउनेहरू बढी हुँदा रहेछन् । असारमा ७ महिला र ६ पुरुषको उपचार गरिएको थियो । भदौमा तीन महिला र एक पुरुष खजुरोले डसेपछि केन्द्रमा उपचार गर्न आएका थिए ।

करेतले अक्सर राति सुतेका वेला ओछ्यानमा र गोमनले दिउँसो घर बाहिर, खेतबारीमा बढी डसेको देखिन्छ ।

कानूनी त्रुटि

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार घस्रिने जन्तु सर्प आदिलाई पनि वन्यजन्तु मानेको छ । सरकारले जारी गरेको ‘वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९’ मा भने सर्प परेको छैन ।

निर्देशिका अनुसार मानवीय क्षति भए पीडितको अवस्था हेरी राहत उपलब्ध गराइन्छ तर सर्पदंशका कारणले कसैको मृत्यु भए पीडित वा तिनका परिवारले राहत पाउँदैनन् । यो कानून मस्यौदाकारको गम्भीर त्रुटि मान्नुपर्छ ।

 

प्रतिकृया दिनुहोस