व्यक्तित्व मंगलबार, कात्तिक २६, २०७६

जुद्धशमशेरको चातुर्य

भैरव रिसाल

राणाहरूलाई ‘प्रभु’ वा ‘सरकार’ सम्बोधन गर्नुपर्ने वेग्लै अदब भएको समयमा जुद्धशमशेरलाई ‘तपाईं’ भन्न गएका तुलसी मेहर एकशब्द बोल्नै नपाई फर्किनुपरेछ।

भैरव रिसाल

शासन गर्न कतिसम्म बठ्याइँ गर्नुपर्दो हो ! यसबारे शासकहरूका विभिन्न तौरतरिका र जुक्ति हेर्दा\केलाउँदा पत्तो पाइन्छ । संभवतः तिनै बठ्याइँले शासकको कार्यकाल लम्ब्याउँछ पनि । श्री ३ जुद्धशमशेर जबराको चलाखीपनले त्यही पुष्टि गर्छ ।

जुद्धले १९८९ भदौदेखि २००२ मंसीरसम्म १३ वर्ष ३ महीना श्री ३ महाराजका रूपमा शासन गरे । त्यसपछि भने प्रधानमन्त्री र सर्वोच्च सेनापति पद त्यागेर भतिज पद्मशमशेरलाई श्री ३ बनाए । आफू चाहिं स्वामी महाराज बनेर केही समय पाल्पाको रिडीमा बसे, पछि भारतको देहरादून गएर बस्न थाले ।

जुद्धको शासनकालकै कुरा हो, एक साल समयमा पानी नपरेर तराईमा खडेरी लाग्दा मालपोत उठेनछ । तिर्न सक्ने भारदारहरूले पनि अटेर गरिरहेका थिए । तिनताका राजस्वको मुख्य स्रोत मालपोत नै थियो । जुद्धले जुक्ति लगाए । तोकिएको मितिसम्म मालपोत नतिरे जमीन लिलाम गर्ने निर्णय बडाहाकिमले गरेछन् ।

त्यसका लागि जुद्धले एकदिन भारदारी सभा बोलाए । सभामा उपस्थित थुप्रै भारदारले जग्गा लिलाम गर्ने निर्णय ठीक होइन भन्ने खासखुस गरेछन् । त्यो खासखुसको जवाफ जुद्धशमशेरले कड्किएर दिएछन्, “त्यो बडाहाकिमले ठीक निर्णय गरेछ ।” सबै भारदार चूप भए ।

कुन भारदारले मालपोत तिर्न सक्दैन भनेर जुद्धलाई कण्ठै हुने रे ! त्यस्ता भारदारको आफैंले तिरिदिएछन् । जग्गा लिलाम नै हुने भएपछि सबैले मालपोत तिरे रे !

फर्सीभित्र रुपैयाँ

राज्य सञ्चालन मात्र होइन, प्रशासनमा सन्तुलन मिलाउन पनि जुद्धशमशेर खप्पिस रहेछन् । उनलाई विदेशी पत्रपत्रिका मार्फत विश्वका प्रमुख घटनाक्रमबारे अद्यावधिक गराउने काम सुब्बा विश्वमणि आचार्य दीक्षितको रहेछ । विश्वमणिको कामप्रति जुद्ध प्रसन्न भएछन् र केही रकम दिने मन भएछ ।

एक जना कर्मचारीलाई मात्र रुपैयाँ दिंदा अरू बेखुशी हुनु स्वाभाविकै थियो । तसर्थ जुद्धले बुद्धि घोटेछन् । पाकेका फर्सी दरबारमा काम गर्ने प्रायः सबैलाई दिने बन्दोबस्त गराएछन् ।

विश्वमणिलाई दिने फर्सीमा भने होशियारीपूर्वक प्वाल पार्न लगाएर सबै गिद्रो र बियाँ झिकी चाँदीका डबलै डबल रुपैयाँ हाल्न लगाएछन् ।

अस्वाभाविक गह्रुङ्गो फर्सी विश्वमणिले घर लगेछन् । श्री ३ महाराजले दिएपछि फर्सीको इज्जत पनि बढ्ने नै भयो । फर्सी काट्दा त डबल भुइँभरि!

तुलसी मेहरले ‘तपाईं’ भन्न पाएनन्

जुद्धलाई तपाईं सम्बोधन गर्ने हुटहुटीले तुलसी मेहर नेपालबाट देहरादून पुगेछन् । भेटका लागि नाम लेखाएछन् । यसबारे खबर पाएपछि जुद्धले राणाशासन विरोधी गान्धीको चेलो त्यतिका पैसा खर्च गरी भेट्न आउनुको कारण पत्ता लगाउन सबै उपाय गरेछन् ।

महात्मा गान्धीका शिष्य तुलसी मेहर श्रेष्ठलाई जुद्धशमशेरलाई ‘तपाईं’ भनेर सम्बोधन गर्न मन लागेछ । त्यतिवेला जुद्ध राजकाज छाडेर देहरादूनमा बस्न थालिसकेका थिए । राणा शासन छउञ्जेल त राणा खलकलाई प्रभु वा सरकार, बक्सियोस् भन्नुपर्ने । तपाईं भन्न नहुने ।

जुद्धलाई तपाईं सम्बोधन गर्ने हुटहुटीले उनी नेपालबाट देहरादून नै पुगेछन् । भेटका लागि नाम लेखाएछन् । यसबारे खबर पाएपछि जुद्धले राणाशासन विरोधी गान्धीको चेलो त्यतिका पैसा खर्च गरी भेट्न आउनुको कारण पत्ता लगाउन सबै उपाय गरेछन् ।

अन्ततः उनका चतुर कामदारहरूले गान्धीवादी तुलसी मेहर जुद्धलाई भेटेर प्रभु वा सरकार जस्ता सम्बोधन होइन, ‘तपाईंलाई सञ्चै छ’ भनेर सोध्ने उद्देश्य भएको पत्तो लगाएछन् ।

जुद्धशमशेरलाई त्यो सम्बोधन सुन्ने मनस्थिति कदापि रहेनछ । उनले तुलसी मेहरलाई बिहान आठ बजेको समय दिएछन् । तुलसी मेहर दश मिनेट अगावै जुद्ध निवास पुगेछन् । उनलाई शिष्टाचारपूर्वक प्रतीक्षालयमा राखिएछ । जुद्धको वासस्थानको साजसज्जा र तामझम देखेर उनी छक्कै परेछन् ।

चमेली फूलको माला, सेतो कार्चोपी भरेको कुर्ता पाइजामा लगाएका झर्झराउँदो अनुहारका जुद्धशमशेर ढोकाबाट पस्दापस्दै तुलसी मेहरलाई ठाडै सम्बोधन गर्दै भने रे, “ए तुलसी सञ्चै छस् ? कहिले आइस् ? तेरो चर्खा उद्योगको के अवस्था छ ? नेपालको हालखबर के छ ? ल नेपालबाट धाएर भेट्न आइछस्, धन्यवाद । तेरो चर्खा उद्योगलाई मेरो तर्फबाट एक लाख लैजा । ल विस्तारै जा है ।”

जुद्धले एकोहोेरो बोलेरै कुरा टुङ्ग्याएछन् । तुलसी मेहरले केही बोल्न त परको कुरा, आँ गर्नेसम्म मौका पाएनछन् । 

प्रतिकृया दिनुहोस