खेलकुदशनिबार, २३ कार्तिक , २०७६

ज्ञानेन्द्र मल्लकाे कप्तानी परीक्षा

प्रकाश गुरागाईं

लगातार एक दशक राष्ट्रिय क्रिकेट टोलीको उपकप्तान रहेपछि कप्तान बनेका ज्ञानेन्द्र मल्लसँग चुनौतीका चाङ मात्र होइन, नयाँ उँचाइ छिचोल्ने अवसर पनि छ।

सन् २००९ मा पारस खड्का राष्ट्रिय क्रिकेट टीमको कप्तान नियुक्त गरिंदा सँगै ज्ञानेन्द्र मल्ल उपकप्तान चुनिए । सन् २०१० मा घरेलु मैदानमै भएको आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन–५ नेपालले जितेको पहिलो अन्तर्राष्ट्रिय उपाधि थियो । तर, त्यसवेलासम्म नेपालले ‘लिष्ट ए’ को पनि मान्यता पाएको थिएन ।

त्यसको पाँच वर्षपछि पारसकै कप्तानीमा नेपालले सन् २०१४ मा पहिलो ‘लिष्ट ए’ खेल्यो । त्यही साल टी–२० अन्तर्राष्ट्रियको मान्यता पायो र टी–२० विश्व कप पनि खेल्यो । सन् २०१८ मा एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) राष्ट्रको हैसियत प्राप्त ग¥यो । नेपालको यी सबै उपलब्धिमा उपकप्तान ज्ञानेन्द्र नै थिए ।

ज्ञानेन्द्रको संयोग के छ भने, नेपाली टोलीमा उनको ‘डेब्यू’ नै उपकप्तानका रुपमा भएको थियो । सन् २००५ मा शशि केशरी कप्तान भएको यू–१५ राष्ट्रिय टीमबाट ‘डेब्यू’ गर्दा उनी उपकप्तान छानिएका थिए ।

पारस यू–१९ को कप्तान हुँदा पनि उपकप्तानको भूमिका ज्ञानेन्द्रले पाएका थिए । पारस उमेर समूहबाट बाहिरिएपछि भने ज्ञानेन्द्र पहिलो पटक यू–१९ राष्ट्रिय टीमको कप्तान भए । अहिले सिनियर टोलीमा पारसले नै २८ असोजमा आकस्मिक रुपमा छाडेको कप्तानको जिम्मेवारी उनको काँधमा आएको छ ।

लामो समय उपकप्तानको जिम्मेवारी सम्हालेका मल्ललाई कप्तान बनाउने नेपाल क्रिकेट संघ (क्यान) को निर्णय ठीक भएको राष्ट्रिय टीमका पूर्वप्रशिक्षक जगत टमाटा बताउँछन् । क्यानले ‘अर्को व्यवस्था नभएसम्मलाई’ भनेर जिम्मेवारी दिएको भए पनि उनले नै निरन्तरता पाउने संभावना रहेको टमाटाले बताए ।

“लामो समयदेखि खेलिरहेको शरद भेषवाकरमा पनि कप्तानको क्षमता छ, अरु पनि छन् तर, अहिलेका लागि ज्ञानेन्द्र नै सही छनोट हुन्” उनी भन्छन्, “ज्ञानेन्द्रसँग पारसको अनुपस्थितिमा निमित्त कप्तानको जिम्मेवारी सम्हालेको अनुभव भएकाले पनि क्यानको निर्णय सही छ ।”

औसत विगत
नेपालले अहिलेसम्म खेलेका ६ ओडीआईमा पारसको उपस्थितिका कारण ज्ञानेन्द्रलाई कप्तानीको अवसर जुरेन । ४३ वटा ‘लिष्ट ए’ खेलेका उनले तीन खेलमा भने कप्तानको मौका पाए, जसमा एउटामा मात्र नेपालले जित हासिल गर्‍यो ।

कप्तानी गरेको एउटै टी–२० अन्तर्राष्ट्रियमा भने ज्ञानेन्द्रले सफलता पाएका छन् । यही वर्ष सिङ्गापुरमा भएको आईसीसी टी–२० विश्वकप एशिया क्षेत्रीय छनोटमा मलेशिया विरुद्धको फाइलनमा ज्ञानेन्द्रले २१ बलमा ५१ रनको उत्कृष्ट पारी खेल्दा नेपालले ७ विकेटले जित निकालेको थियो ।

अन्तर्राष्ट्रिय खेलमा औसत नतिजा निकालेका ज्ञानेन्द्र घरेलु क्रिकेटमा भने सफल कप्तान हुन् । गत वर्ष उनकै कप्तानीमा रहेको फ्रेन्चाइज टीम ललितपुर प्याट्रियट्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) को उपाधि जितेको थियो ।

ज्ञानेन्द्र यू–१९ राष्ट्रिय टीमका भने असफल कप्तान हुन् । उनी सन् २०१० मा कप्तान भएपछि नेपाल यू–१९ विश्वकपमा छनोट हुन सकेन । त्यसअघि नेपालले सन् २००० यता लगातार पाँच विश्वकप खेलेको थियो ।

चुनौतीका तीन वर्ष
नेपालले अबको तीन वर्षभित्र कम्तीमा ३६ वटा ओडीआई खेल्दैछ । आईसीसी क्रिकेट वल्र्डकप लिग–२ प्रतियोगिता अन्तर्गत हुने नौ वटा त्रिकोणात्मक ओडीआई शृंखला सन् २०२३ मा भारतमा हुने विश्वकपको ढोका पनि हो । लिगमा सहभागी सातमध्ये उत्कृष्ट तीन देशले विश्वकप छनोट प्रतियोगिता खेल्ने छन् । आगामी माघमा कीर्तिपुरस्थित क्रिकेट मैदानमा अमेरिका र ओमानसँगको त्रिकोणात्मक सिरिज मार्फत नेपालले लिग–२ को यात्रा शुरु गर्नेछ ।

गत साता मात्रै सम्पन्न बेलायतको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँगको ५० ओभरको खेलमा विजय हासिल गर्दै ज्ञानेन्द्रले नियमित कप्तानको जिम्मेवारी शुरु गरिसकेका छन् । तर, एमसीसीसँगकै प्रथम श्रेणीको खेलमा भने नेपाल पराजित भएको छ । पाँच वटा प्रथम श्रेणी खेलेको नेपालको यो पहिलो पराजय हो ।

लगत्तै उनले २८ कात्तिकदेखि बाङ्लादेशमा हुने एसीसी इमर्जिङ टिम्स कपमा पनि यू–२३ टीमको नेतृत्व गर्दैछन् । त्यहाँ नेपालले टेष्ट मान्यताप्राप्त भारत र बाङ्लादेशका साथै हङकङसँग पनि प्रतिस्पर्धा गर्नेछ ।

तर, ठीक यही वेला दुबईमा हुने टी–१० लिगमा छानिएका कारण पूर्वकप्तान पारस खड्का र स्पिनर सन्दीप लामिछाने टीममा उपलब्ध हुने छैनन् । बाङ्लादेशबाट फर्किएपछि यू–२३ टोलीले साग टी–२० प्रतियोगितामा सहभागी हुँदा पनि ज्ञानेन्द्रले नै नेतृत्व गर्ने छन् ।

कतिपय विश्लेषक सागपछि नै ज्ञानेन्द्रको कप्तानीको मूल्यांकन हुने र उनले पाएको ‘अन्तरिम कप्तान’ पद पूर्ण हुने या नहुने निश्चित हुने बताउँछन् । तर, नेपाली राष्ट्रिय टीमका सहायक प्रशिक्षक मनोज कटवाल भने यसमा सहमत छैनन् ।

उनी सागपछिको त्रिकोणात्मक एक दिवसीयमा पनि ज्ञानेन्द्रले नै कप्तानको जिम्मेवारी पाउने बताउँछन् । “बारम्बार कप्तान फेरिरहने कुरा आउँदैन, ज्ञानेन्द्रसँग अनुभव र क्षमता दुवै छ, त्यसैले सागपछि पनि उनकै संभावना छ”, उनी भन्छन् । कम्तीमा दुई, तीन वर्ष ज्ञानेन्द्रकै नेतृत्वमा अनुभव बटुलेपछि मात्र नयाँ कप्तान बारे सोच्नुपर्ने उनको सुझाव छ ।

कप्तानको रुपमा ज्ञानेन्द्रलाई टोलीलाई जित दिलाउने मात्र होइन आफ्नो कमजोर ‘फर्म’ सुधार्ने चुनौती पनि उत्तिकै छ । उनले ६ वटा ओडीआई खेल्दा डेढ वर्षअघि एउटामा मात्र अर्धशतक बनाएका छन् । २१ वटा टी–२० अन्तर्राष्ट्रिय खेलमा १६.७० स्ट्राइक रेटमा ३३४ रन जोडेका छन् । जबकि पूर्वकप्तान खड्काले २७ वटा टी–२० मा ३०.६९ को स्ट्राइक रेटमा ७०६ रन बनाएका छन् ।

‘लिष्ट ए’ मा पनि ज्ञानेन्द्रभन्दा कम खेल खेलेका पारस नै तथ्याड्ढमा अगाडि छन् । खड्काले ४० वटा ‘लिष्ट ए’ मा तीन शतक र ९ अर्धशतक सहित १४१७ रन बनाएका छन् । तर, ४३ ‘लिष्ट ए’ मा ज्ञानेन्द्रले ६ अर्धशतक सहित १०४७ रन मात्र बनाएका छन् ।

तर, पूर्व प्रशिक्षक टमाटा भने ज्ञानेन्द्रको प्रदर्शनलाई नराम्रो भन्न नमिल्ने बताउँछन् । “प्रदर्शन तलमाथि भइरहे पनि टीमलाई आवश्यक पर्दा उनले रन बनाउन सक्छन्”, उनी भन्छन् ।

मल्ल प्राविधिक रुपमा देशकै उत्कृष्ट ब्याट्सम्यान भएकाले ‘फर्म’ को चिन्ता गर्नु नपर्ने सहायक प्रशिक्षक कटवालको दाबी छ । “फर्म एकैनाश हुँदैन, कप्तानको जिम्मेवारी थपिएपछि फर्म लयमा फर्किन पनि सक्छ ।”

आफ्नो फर्मवाहेक टीमलाई मिलाएर लैजानु पनि ज्ञानेन्द्रको अर्को चुनौती हो । १६ वर्ष वरिपरिका कुशल मल्ल, रोहितकुमार पौडेलदेखि आफूभन्दा सिनियरहरू शरद भेषवाकर, वसन्त रेग्मीसम्मलाई उनले समन्वय गर्नुपर्नेछ । अनुशासनमा निकै कडा मानिने ज्ञानेन्द्रमा पारस जस्तो शान्त स्वभाव नभएको बताइन्छ । पारसलाई त ‘क्याप्टेन कुल’ नै भनिन्थ्यो ।

टोलीको हार र जितको सर्वाधिक श्रेय कप्तानमै जोडिने भएकाले ज्ञानेन्द्रले सही समयमा सही भूमिका निर्वाह गर्नुपर्ने टमाटाको भनाइ छ । “पारसको नेतृत्वमा नेपाली क्रिकेटले पाएको सफलतालाई अगाडि लैजानु ज्ञानेन्द्रको काम र चुनौती दुवै हो”, उनी भन्छन् ।

अहिलेका लागि ज्ञानेन्द्रको सबैभन्दा ठूलो देन एक दिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपाललाई पु¥याउनु नै हो । त्यसो नभए पारसको नेतृत्वमा पाएको एक दिवसीय मान्यता जोगाइराख्न सके मात्र पनि उनी असफल कप्तानको उपमाबाट जोगिने छन् ।

दीपेन्द्रको साथ
अर्को संयोग, अहिले उपकप्तान चुनिएका दीपेन्द्रसिंह ऐरीले ज्ञानेन्द्रकै कप्तानीमा राष्ट्रिय टीममा ‘डेब्यू’ गरेका थिए । दुई वर्षअघि कीर्तिपुरमा भएको केन्या विरुद्ध ५० ओभरको खेलमा पारस घाइते भएपछि ज्ञानेन्द्रले कप्तानी गरेका थिए, जहाँ दीपेन्द्रले पहिलो पटक टोलीमा अवसर पाएका थिए ।

दीपेन्द्र पहिलो पटक उपकप्तान हुनुमा पनि उनी नै कारक देखिन्छन् । नियमित उपकप्तान ज्ञानेन्द्रले गत २७ सेप्टेम्बरदेखि भएको सिङ्गापुर र जिम्बाबे सहितको त्रिकोणात्मक टी–२० सिरिज नखेल्ने भएपछि दीपेन्द्र पारसकै कप्तानीमा उपकप्तान बनेका थिए ।

दीपेन्द्रले यू–१९ टोलीको कप्तानीमा गतिलो छाप छाडेका छन् । नेपाल यू–१९ मा सन् २०१७ मा भारतलाई पहिलो पटक हराउँदा दीपेन्द्रले ८८ रन बनाउनुका साथै चार विकेट पनि लिएका थिए ।

प्रतिकृया दिनुहोस