समाचारशुक्रबार, २२ कार्तिक , २०७६

विराटनगरको विकास योजना अन्तिम चरणमा

कमल रिमाल

विराटनगर महानगरपालिका भित्र संचालित विकास परियोजना अन्तिम चरणमा पुगेको छ । झण्डै रु ६ अर्बको लागतको सडक बिस्तार, नाला र ढल निर्माणसहितको परियोजनाको काम ८० प्रतिशत सम्पन्न भएको छ ।

विराटनगर मेनरोडमा गरिएको कालोपत्रे अनुगमन गर्दै मेयर पराजुली लगायत । तस्वीरः कमल रिमाल

महानगरका अनुसार, चौडा पारिएको नगरभित्रको १६० किलोमिटर सडकमा हरेक घरले १ दशमलव ५ मिटरका दरले जग्गा योगदान गरेका छन् ।

यति सडकमा २५ लाख स्क्वायर फिट जग्गा (७१० कट्ठा अर्थात ३५ बिघा) सडकमा थपिएको छ । सडक चौडा बनाउँदा विराटनगरका करीब एक हजार घर र एक हजार ५०० पर्खाल भत्काउनुपरेको थियो ।

एसियाली विकास ब्यांकको सहयोगमा रु २ अर्ब ९५ करोडको लागतमा मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार परियोजना सम्पन्न भएपछि रु २ अर्ब ६१ करोडको लागतमा अर्को क्षेत्रीय सहरी विकास कार्यक्रम संचालनमा छ ।

योजना अन्तर्गत घरहरूबाट निस्किएको दिसा पिसाब पाइपबाट लगेर एकै ठाउँमा जम्मा गरी प्रशोधन गर्न थालिएको कार्यक्रम व्यवस्थापक भरतकुमार न्यौपानेले बताए ।

९ हेक्टर जग्गामा बनेको प्रशोधन केन्द्र संचालनमा आएको छ । दिसा पिसाबलाई प्रशोधन गरी मल बनाउने र छानिएको सफा पानी सिंघिया खोलामा मिसाइने नगरपालिकाले जनाएको छ ।

परियोजना ब्यवस्थापक न्यौपानेका अनुसार, विराटनगर भित्रको ७०० किलोमिटर सडक व्यवस्थित गरिएको छ ।

“बनिसकेको ढलमा घरघरका पाइप जोड्ने काम भइरहेको छ, प्रशोधन केन्द्र पनि सुचारु राखिएको छ” महानगरका प्रमुख इन्जिनीयरसमेत रहेका न्यौपानेले भने ।

पछिल्लो कार्यक्रमले नगरभित्रको ७५ किलोमिटर सडक कालोपत्रे गर्ने काम रहेकोमा ४५ किलोमिटर सम्पन्न गरिएको मेयर भिम पराजुलीले बताए ।

हाल नगरको मुख्य सडक (मेनरोड) मा कालोपत्रे हुँदैछ । दशैंअगावै मेनरोडमा कालोपत्रे गरिसक्ने योजना रहेपनि प्राविधिक कारणले ढिलाइ भएको मेयर पराजुली बताउँछन् । “सडक निर्माणका क्रममा स्थानीयले भोगेको हिलो र धुलोको समस्या अब सकिएको छ”, पराजुलीले भने ।

 

प्रतिकृया दिनुहोस