समाचारबुधबार, २० कार्तिक , २०७६

१२ वर्षे गर्भवतीका आफन्तलाई पीर, अस्पतालबाट डिस्चार्ज भए कहाँ जाने ?

लक्ष्मी बस्नेत

ह्ष्टपुष्ट शरीर, हँसिलो अनुहार । भरेको हरियो कुर्तामा रातो स्वेटर । दुई पट्टी बाँधिएको छोटो कपाल ।

धेरै पटक साेधिए पछि हाँस्दै नाम भनिन् । (गोपनियताका कारण नाम उल्लेख नगरिएको) ।

नाम पछाडि के ?

फेरि जवाफ दिइन् । 

के खायौ ?

निकैबेर हेरिरहिन् अनि भनिन् ‘भात’ ।

नजिकै केरा राखिएको छ । तर, बोक्रा ताछेर खान नजानेर सिकाउँदै थिए उनको ठूलो बुबा कृष्ण बोहोरा ।

उनी भन्छन्, “हिजो पनि यसरी खाने भनेर सिकाएँ । अलिअलि जान्दैछे । भात त आफैं खान्छे । अघि पनि खाई ।”

 

...

बौद्धिक अपांगताका ती किशोरीको पेटमा ५ महिनाको गर्भ रहेको जिल्ला अस्पताल मंगलसेनको रिपोर्टले देखाएको छ । गत शनिबारदेखि काठमाडौंको प्रसुति गृह थापाथलीमा छिन्, उनी ।

उनको स्वास्थ्य जाँच भइरहेको अस्पतालले जनाएको छ । कृष्णका अनुसार मंगलसेबाट हिंड्दा सबैले पैसा उठाएर २४ हजार पठाएका थिए ।

"बिहीबार अछामबाट हिंडेको, नेपालगंज हुँदै काठमाडौं आउँदा र अस्पतालको बसाइको ५ दिनमा लगभग सकियो । अस्पतालमा प्रसुति सम्बन्धी सेवा निशुल्क छ" बाेहाेरा भन्छन् ।

रामारोशन गाउँपालिका ४ की एक किशोरीलाई लिएर उनका ठुलो बुबा र एक महिला प्रहरी शुक्रबार बेलुका काठमाडौं आइपुगेका हुन् । किशोरीलाई शनिबार अस्पताल भर्ना गरिएको छ । जिल्ला प्रहरी कार्यालय जिल्ला अस्पताल, रामारोशन गाउँपालिका उपप्रमुख तथा उनका आफन्त समेतको सल्लाहमा उनलाई काठमाडौं पठाइएको हो ।

कुकुरले टोकेर सुई लगाउन बयलपाटा अस्पताल लैजाँदा अवाेध छाेरी गर्भवती भएको उनका बुवाले थाहा पाएका थिए ।

बयलपाटाले जिल्ला अस्पताल मंगलसेन रिफर गर्‍यो । कसले जबरजस्ती करणी गरेर गर्भ बस्यो भन्ने पहिचान हुन छैन । 

...

पहिलो पटक काठमाडौंमा, सकिसक्यो पैसा 

कहाँ के गर्ने, कसलाई के भन्ने केही थाहा छैन । उनी भन्छन्, “काठमाडौं पहिलो पटक टेकेको मान्छे । त्यो पनि यस्तो मान्छे लिएर आएँ, आँत्तेर मर्छु जस्तो भइसक्यो ।”

"ती किशोरीका बाआमा पनि खासै टाठा छैनन्", बाेहाेरा भन्छन् । बेला-बेला बाेल्ने ती किशोरी सधै‌ बुबा कहिले आउँछन् भनेर सोध्छिन् ।

कृष्ण भन्छन्, "आफूले क्यान्टिनमा खाएको खानाको तिर्ने पैसा पनि सकियो ।"

कृष्णसँग छोरीलाई फलफूल खुवाउने पैसा समेत सकिएकाे छ । 

कृष्णका अनुसार ती किशोरी उमेरले १२ वर्ष पुगिन् । तर, परिवारलाई जन्ममिति एकिन थाहा छैन । 

तर, गर्भ ५ महिना नाघिसकेकाले काननुतः गर्भपतन गर्न नपाइने भएकाे छ ।

उमेर सानो भएकाले जटिलता होला भनेर काठामाडौं पठाएको जिल्ला अस्पताल मंगलसेनका सुपरिटेन्डेन्ट डा.मनोज विष्टले बताए । अस्पतालले अब्जरभेसनमा राखेकाले के गर्ने भनिसकेको छैन ।

अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले भने किशोरीका लागि सबै निशुल्क हुन्छ । अहिले नै उनलाई के गर्ने निर्णय भइसकेको छैन, डिस्चार्ज गरेर नलैजाने भए अस्पतालमै राखे पनि हुन्छ । तर, अस्पतालको एउटा बेडमा मात्रै बसिराख्दा पनि झन् राम्रो हुँदैन ।

डिस्चार्ज गरे कहाँ लैजाने ?

थापाथली अस्पतालले डिस्चार्ज गर्दियो भने कहाँ लैजाने ? मुख्य अविभावक बनेर आएका कृष्णलाई पीर छ ।

कस्लाई सोध्नु त्यो पनि थाहा छैन । बाबुआमाको भर छैन ।

"सरकारले केही गर्दिन्थ्यो कि ? गाउँपालिका अध्यक्ष काठमाडौं नै छन् रे भन्ने सुनेको तर फोन नम्बर छैन", छोरीतिर हेर्दै मलिन अनुहारमा कृष्णले भने, "कसैले सहयोग गर्दिन्थे कि ? तर कसलाई, कहाँ गएर, के भन्नु ? "

 

प्रतिकृया दिनुहोस