संसद सचिवालयका एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।
आइतबार र सोमबार दुई दिन चलेको थुनछेक बहसपछि जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको छ । आदेश पछि महरालाई डिल्लीबजार कारागारमा पठाइनेछ ।
अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार, न्यायाधीश पाण्डेको इजलासले प्राप्त प्रमाणका आधारमा पुर्पक्षमा पठाउने आदेश दिएको हो ।
१९ असोजमा पक्राउ परेका महरा अब अदालतको फैसला नआएसम्म कारागारमै बस्नेछन् । फैसलाले दोषी ठहर्याए थप सजाय भोग्नेछन्।
दशैं र तिहार परेकाले महराको अनुसन्धानमा ढिलाइ भएको भन्दै प्रहरीले तीन पटक म्याद थप गरी महराको मुद्दा दर्ता गराएको थियो । प्रहरीको सिफारिस अनुसार, महरालाई जबर्जस्तीकरण सम्बन्धी अभियोग लगाइएको छ ।
उक्त अभियोगबारे शुक्रबार महरालाई पाँच घण्टा अदालतले बयान लिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पतालमा उपचारत महराको थुनछेक बहस भने आइतबार मात्रै भयो ।
आइतबार वादी पक्षका वकिलको बहसपछि महरा पक्षका वकिल लव मैनालीले बहस गरेका थिए ।
यो बीचमा महराका पक्षबाट ३२ जना वकिलले बहस गर्ने प्रचार भएको थियो । तर, अधिवक्ता रमण श्रेष्ठले भने ३२ जनाले बहस नगरेको बताए । उनले भने, “आइतबार मैनालीले बहस गर्नुभयो । आज मसहित चार जनाले बहस गर्यौं ।”
महराका पक्षमा मैनाली, श्रेष्ठ, शेरबहादुर केसी, कृष्ण सापकोटा र सविता भण्डारीले बहस गरेका थिए ।