समाचारशुक्रबार, १५ कार्तिक , २०७६

अपहरणको आरोपमा दुई भारतीय पक्राउ

रासस

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–९ स्थित मामाघर आएकी आठ वर्षीया बालिकाको अपहरण गर्ने प्रयास गरेको आरोपमा दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत विहार राज्य सुपौल बैरियाघाटका २२ वर्षीय अमिर झा र सुपौलकै बथनाहाका २० वर्षीय आनन्द गोस्वामी रहेको प्रहरीले जनाएको छ ।

हजुरबुबाको श्राद्धमा मामाघर आएकी बालिका घरपरिवारका सदस्य भोजभतेरमा व्यस्त रहेका बेला आरोपितहरूले चिया र बिस्कुटको प्रलोभन दिई साइकलमा लैजाँदै गरेको बेला पक्राउ परेको इलाका प्रहरी कार्यालय हनुमाननगरका प्रहरी निरीक्षक कमलकुमार लुगेङ्लीले बताए ।

साइकलमा चढाई बजारबाट एक किलोमिटर पश्चिम पुर्‍याएका बेला स्थानीयवासीले दुवैलाई नियन्त्रणमा लिई बालिकाका मामा रवि शर्मालाई खबर गरेका थिए ।

अपरिचित युवासँग गइरहेको देखेपछि शर्माको घर आएकी बालिकासँग सोधपुछ गर्दा बालिकाले नचिनेको बताएपछि स्थानीयवासीले उनीहरूलाई नियन्त्रणमा लिएको बालिकाका मामा शर्माले बताए ।

चिया र बिस्कुटको प्रलोभन दिई बालिकालाई साइकलमा लैजाँदै गरेको बेला पक्राउ परेका अपरिचितलाई स्थानीयवासीले कुटपिटसमेत गरेका छन् ।

आरोपित दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।

प्रतिकृया दिनुहोस