रिपोर्टशुक्रबार, १५ कार्तिक , २०७६

रात्रिकालीन सफारी घातक प्रस्ताव

मुकेश पोखरेल

सौराहामा हुने कोलाहल, बत्ताीको प्रकाश र अहिलेकै दिवाकालीन जङ्गल सफारीले निकुञ्जका वन्यजन्तुलाई असर पारिरहेका वेला रातको समयमा सफारी सञ्चालन गर्ने व्यवसायीहरूको प्रस्ताव घातक छ।

चर्को गीत–सङ्गीत । बिजुलीको भड्किलो प्रकाश । सूर्यास्तपछि चितवनको सौराहामा यस्तै माहोल हुन्छ । प्रकृतिको काखमा मानिसहरू रमाइरहँदा त्यो चहलपहल र कोलाहलले चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तुहरू भने नराम्ररी बिथोलिन्छन् ।

जनावरको चहलपहल बढी हुने रातको समयमा हुने मानवीय गतिविधिले निकुञ्जका जनावरलाई ठूलो असर पुर्‍याएको राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनका प्रमुख रामकुमार अर्याल बताउँछन् । “सङ्गीतको ध्वनि प्रदूषण, ठूला गाडीको आवाज र भड्किलो प्रकाशले वन्यजन्तुलाई असर पारेको छ”, अर्याल भन्छन् ।

देशको प्रमुख पर्यटकीय केन्द्रमध्ये पर्ने चितवन पर्यटकको रोजाइको ठाउँ हो । १२० वटा होटल रहेको सौराहामा वार्षिक करीब तीन लाख मानिस पुग्छन् । त्यसमध्ये गएको वर्ष सौराहाबाट मात्र एक लाख ८७ हजार जनाले निकुञ्ज भ्रमण गरेका थिए । पर्यटकीय सिजनमा रातको १२ बजेसम्म सौराहा खुला हुन्छ ।

सौराहामा बढेको मानवीय गतिविधिले निकुञ्जको शान्ति बिथोलिरहँदा पछिल्लो समय यहाँका होटल व्यवसायीहरूले अझ घातक प्रस्ताव गरेका छन् । होटल सञ्चालकहरूले नेपाल भ्रमण वर्षमा पर्यटकलाई नयाँ प्याकेज दिने नाममा निकुञ्जमा रात्रिकालीन सफारी सञ्चालनको प्रस्ताव गरेका छन् ।

निकुञ्जमा अहिले बिहानदेखि साँझ्सम्म सफारी हुने गरेको छ । संरक्षण क्षेत्रका जानकारहरू अहिलेकै दिवा जीप सफारीले निकुञ्जका वन्यजन्तुलाई असर गरिरहेका वेला रात्रिकालीन सफारी चलाए दुर्भाग्य हुने बताउँछन् ।

अध्ययन विना जथाभावी काम

चितवन राष्ट्रिय निकुञ्जमा हात्ती, जीप सफारी लगायतका गतिविधि हुन्छन् । संरक्षण क्षेत्रमा पर्या–पर्यटन मार्फत आर्थिक उपार्जन गर्न यस्ता गतिविधि गरिए पनि त्यसबाट वन्यजन्तुलाई कति असर पुगेको छ, अहिलेसम्म कुनै अध्ययन भएको छैन ।

निकुञ्जका प्रमुख वार्डेन नारायण रूपाखेतीका अनुसार, सौराहा क्षेत्रमा ३२ वटा जीपले जङ्गल सफारीको अनुमति लिएका छन् । यस्तै, कसरा क्षेत्रमा ९ र अमलटारी क्षेत्रमा दुई वटा जीपले सफारीको अनुमति पाएका छन् ।

एउटा जीपमा एक पटकमा १४ जनासम्मले सफारी गर्न सक्ने हिसाबले निकुञ्जमा एकैचोटि ४४८ जनाले सफारी गर्न सक्छन् । निजी क्षेत्रबाट सञ्चालित यस्ता जीपले दैनिक कम्तीमा दुई पटकसम्म सफारी गराउँछन् ।

चितवन राष्ट्रिय निकुञ्ज नियमावली २०३० ले निकुञ्जमा गरिने पर्या–पर्यटन र अन्य गतिविधिमा लाग्ने शुल्क तोक्ने बाहेक दैनिक कति सफारी सञ्चालन गर्ने भन्नेबारे कुनै व्यवस्था गरेको छैन । जसका कारण सफारी सञ्चालनका लागि माग हुने वित्तिकै स्वीकृति दिने गरिएको छ ।

चितवनका पत्रकार रमेशकुमार पौडेल कति सफारी कुन रूपमा चलाउने भन्ने अध्ययन र योजना विना सञ्चालन भइरहँदा वन्यजन्तुलाई असर परेको बताउँछन् । “सफारीमा गएका मानिस चिच्याउँछन्, जथाभावी फोहोर फाल्छन्” उनी भन्छन्, “शान्त वातावरणमा रमाउने वन्यजन्तु यस्ता बाह्य क्रियाकलापबाट समस्यामा परिरहेका छन् ।”

जीप सफारी र मानवीय चहलपहलका लागि निकुञ्जको क्षमताबारे हालसम्म कुनै अध्ययन गरिएको छैन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका पूर्व महानिर्देशक मनबहादुर खड्का निकुञ्जको क्षमताबारे अध्ययन गरेर त्यस अनुसार मात्र अघि बढ्नुपर्ने बताउँछन् ।

चितवन राष्ट्रिय निकुञ्जमा हात्ती, जीप सफारी लगायतका गतिविधि हुन्छन् । संरक्षण क्षेत्रमा पर्या–पर्यटन मार्फत आर्थिक उपार्जन गर्न यस्ता गतिविधि गरिए पनि त्यसबाट वन्यजन्तुलाई कति असर पुगेको छ, अहिलेसम्म कुनै अध्ययन भएको छैन ।

अन्य देशमा निकुञ्जको क्षमता हेरेर निश्चित क्षेत्रमा निश्चित समयमा मात्रै सफारी गर्न दिइन्छ । जस्तै, भारतमा निकुञ्ज क्षेत्रमा बिहान ११ बजेसम्म र दिउँसो ३ देखि साँझ् ५ बजेसम्म मात्र सफारी गर्न पाइन्छ ।

चितवन राष्ट्रिय निकुञ्जमा भने सूर्योदयदेखि सूर्यास्त नहुँदासम्म सफारी गर्न पाइन्छ । निकुञ्जका प्रमुख वार्डेन रूपाखेती अहिले सञ्चालन भइरहेका सफारीले वन्यजन्तुलाई दक्खल पुर्‍याइरहेको स्वीकार्दै तिनलाई घटाउने पक्षमा रहेको बताउँछन् ।

यो स्थितिमा व्यवसायीहरूको प्रस्ताव अनुसार रात्रिकालीन सफारी सञ्चालन गर्न दिने सम्भावना नै नरहेको उनको भनाइ छ । “वन्यजन्तु विचरण गर्ने रातको वेला निकुञ्जमा सफारी चलाउन दिनेछैनौं”, रूपाखेती भन्छन् ।

रात्रिकालीन सफारी सञ्चालन गर्न विद्यमान ऐन–नियमले पनि दिंदैन । निकुञ्ज नियमावलीले वार्डेनको लिखित अनुमति विना सूर्यास्तदेखि सूर्योदयसम्म निकुञ्जभित्र पस्न र हिंडडुल गर्न नपाइने व्यवस्था गरेको छ ।

तर, क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराई आफूहरूले मध्यरातमा नभई सूर्यास्तदेखि बेलुकी ८ बजेसम्म मात्रै निकुञ्ज बाहिरको मध्यवर्ती क्षेत्रमा सफारी सञ्चालनको योजना बनाएको बताउँछन् । “जनावरलाई बाधा नपर्ने गरी निकुञ्ज भन्दा बाहिरको क्षेत्रमा सफारी गर्ने प्रस्ताव गरेका हौं” उनी भन्छन्, “सबैसँग छलफल गर्दैछौं, हरेक कुराले ठीक भए मात्र सञ्चालन गर्छौं ।”

सौराहाबाट कुमरोज मध्यवर्ती सामुदायिक वन हुँदै लोथरसम्म सफारीको तयारी गरेका व्यवसायीहरूले तिहारपछि कार्यान्वयन गर्ने बताएका थिए ।

तर, पर्यावरणमा चासो राख्ने सर्वसाधारणदेखि संरक्षणकर्मीसम्मले प्रश्न उठाएपछि त्यो योजना विवादित बनेको छ । संरक्षणविद् डा. तीर्थबहादुर श्रेष्ठ वन्यजन्तुको विचरण र आहारको समय राति नै हुने हुँदा रात्रिकालीन सफारी उचित नहुने बताउँछन् । “वन्यजन्तुको वासस्थानमा हामीले दक्खल पुर्‍याउनु त भएन नि, यो त सामान्य रूपमा जो–कसैले बुझने कुरा हो”, श्रेष्ठ भन्छन् ।

बाघ, चितुवा लगायत बिरालो प्रजातिका वन्यजन्तु दिउँसो आराम र राति विचरण गर्ने गर्छन् । त्यसैगरी गैंडा एक ठाउँमा चर्ने र अर्को ठाउँमा बास बस्छ ।

मानिसका गतिविधिले निकुञ्जका वन्यजन्तु बाहिर आउने र त्यसले मानव–वन्यजन्तुबीच द्वन्द्व बढ्ने जोखिम रहेको संरक्षणविद् श्रेष्ठको बुझइ छ । “निकुञ्ज पर्यटक भर्ने क्षेत्र होइन, वन्यजन्तुलाई पनि आराम चाहिन्छ”, उनी भन्छन् । 

 

प्रतिकृया दिनुहोस