समाचार विहीबार, कात्तिक १४, २०७६

बोइङका ५० वटा विमानमा क्षति देखिएपछि ‘ग्राउन्डेड’

रासस

बोइङ कम्पनीका निकै लोकप्रिय ७३७एनजी सिरिजका ५० वटा विमानमा क्षति (क्राक्स) पुगेको भेटिएपछि उडान प्रतिबन्ध (ग्राउन्डेड) गरिएको कम्पनीले बिहीबार घोषणा गरेको छ ।

यसअघि नै दुईवटा घातक दुर्घटना व्यहोरेको बोइङका लागि यो अर्को गम्भीर समस्या हो ।

अस्ट्रेलियाली राष्ट्रिय ध्वजावाहक क्वान्टासले एउटा विमानमा समस्या भेटिएपछि ग्राउन्डेड गरेको जनाएको छ । क्वान्टासले यही सिरिजका अरु ३२ विमानको पनि परीक्षण गर्न लागेको छ, तर कम्पनीले यात्रुहरूलाई चिन्ता नलिन आग्रह गरेको छ ।

गत अक्टोबरको शुरुमै दक्षिण कोरियाली अधिकारीहरूले विमानमा क्षति देखिएको पत्ता लगाएसँगै नौवटा विमान ग्राउन्डेड गरेका थिए । यी विमानमध्ये कोरियन एयरका पाँच वटा थिए ।

विमानमा समस्या देखिएलगत्तै अमेरिकी नियामक निकायले विमानको तत्काल परीक्षण गर्न बोइङ कम्पनीलाई आदेश दिएको थियो ।

क्वान्टासको घोषणालगत्तै बोइङ कम्पनीका एकजना प्रवक्ताले बिहीबार नै एक हजार विमानमध्ये ५ प्रतिशतभन्दा कम विमानमा स–साना दरार देखिएको बताएका छन् । प्रवक्ताले ती विमानको मर्मत शुरु भइसकेको पनि जानकारी दिए ।

क्वान्टासको इन्जिनियरिङ विभागका प्रमुख क्रिस स्नूकले विमान पूर्णरूपमा सुरक्षित महसुस नगर्दासम्म कुनै पनि विमान नउडाउने बताए ।

अमेरिकी नियामक निकाय संघीय नागरिक उड्डयन प्रशासनले ३० हजार पटकभन्दा बढी उडेका सबै ७३७एनजी सिरिजका विमानको तत्कालै प्राविधिक जाँच गर्न आदेश दिइसकेको छ । तर क्वान्टासले ३० हजार पटकभन्दा कम उडेका विमानमा पनि यस्तै समस्या देखिएको जनाएको छ ।

यी विमानहरू सामान्यतया अस्ट्रेलियाभित्र र छिमेकी न्यूजील्यान्डसम्म मात्र उडाइएको क्वान्टासले जनाएको छ ।

अस्ट्रेलियाली नियामक निकायले अस्ट्रेलियाकै निजी क्षेत्रको भर्जिन एयरवेजले बोइङ ७३७एनजी सिरिजका सबै १७ वटा विमानको प्राविधिक परीक्षण सम्पन्न गरिएको र त्यसमा कुनै समस्या नदेखिएको जनाएको छ ।

बोइङका ७३७ म्याक्स सिरिजका लगातार दुईवटा विमान दुर्घटना हुँदा ३४६ जनाको मृत्यु भएपछि बोइङका विमानहरूको सुरक्षाप्रति सर्वत्र चासो उत्पन्न भएको छ ।

प्रतिकृया दिनुहोस