बम विस्फोट र हत्याको १२ वर्ष पुरानो घटनामा पक्राउ परेका मोहम्मद आफताव आलम विरुद्घ मुद्दा स्थापित हुने गरी प्रमाण जुटाउन र जोगाउन प्रहरीलाई चुनौती देखिएको छ।
गोडैटा नगरपालिका–२ सर्लाहीस्थित पिपरनाथ गाउँका सफिक मोहम्मद गाई–गोरुको कारोबारी थिए । उनी नेपालबाट खरीद गरेका गाई–गोरु अवैध रूपमा भारतहुँदै बाङ्लादेश पठाउँथे ।
सफिकले रूपन्देही र कपिलवस्तु जिल्लाबाट चैत २०६४ मा ६५ वटा गोरु खरीद गरी रौतहट पुर्याए । त्यहाँबाट सिमाना कटाई भारतको विहार पुर्याउने योजना थियो । सहजै गाई–गोरु कटाउन उनले सशस्त्र प्रहरी बल रौतहटका तत्कालीन प्रमुख एसपी रामकृष्ण लामालाई ‘महीनावारी’ बुझाउने गरेका थिए । तर, संविधानसभा निर्वाचनको सँघारमै भएकाले यसपटक एसपी लामाले नै गोरु सीमा कटाउन रोकिदिए ।
प्रहरीलाई भनसुन गरेर भए पनि सफिक गोरुहरू छिटो सीमापार गराउन चाहन्थे । उनी भनसुनका लागि २७ चैत २०६४ मा साविकको राजपुर फरहदवा गाविस–४ स्थित मोहम्मद आफताव आलमको घर पुगे । आलम रौतहट निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार थिए । त्यही साँझ सवा ६ बजे आलमका काका शेख इद्रिसको खलियान घरमा भएको बम विस्फोटमा सफिक घाइते भए ।
विस्फोटमा साविक सरुअठा गाविस–२ का त्रिलोकप्रताप सिंह र वडा नं. ९ का ओसी अख्तर मियाँको मृत्यु भयो । स्थानीयका अनुसार, उक्त घटनामा घाइते र मृत्यु भएका करीब २२ जनालाई आलमले नजिकैको इँटाभट्टामा जलाए । उनले शक्ति र सत्ताको दुरुपयोग गरेर घटनासँग सम्बन्धित अधिकांश प्रमाण नष्ट गराइसकेका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालय रौतहटमा दिएको बयानमा आलमले उक्त दिन घटना नै नभएको दाबी गरेका छन् । यस्तो अवस्थामा प्रहरीका लागि सबैभन्दा महत्वपूर्ण प्रमाण प्रत्यक्षदर्शी सफिक मोहम्मद नै हुन् । उनी एक वर्षसम्म भारतको मोतिहारीमा उपचार गराएर नेपाल फर्किएका हुन् ।
आलम पक्राउ परेलगत्तै सर्लाहीको गोडैटा नगरपालिका–२ स्थित घरबाटै प्रहरीले सफिकलाई पनि नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्री भने सफिकको खोजी भइरहेको बताउँछन् । तर, गोडैटा–२ का वडाध्यक्ष भोला महतोले आलम पक्राउ परेलगत्तै प्रहरीले सफिकलाई उनको घरबाटै नियन्त्रणमा लिएको बताए ।
आलमलाई पक्राउ गर्नुअघि प्रहरीले सफिकसँग उनको घरै पुगेर भिडियो बयान पनि लिएको थियो । हिमाल लाई प्राप्त भिडियो क्लिपमा उनले आफू आलमको घर जानुको कारण र घटना हुँदाको परिवेश सविस्तार बर्णन गरेका छन् । (भिडियोका लागि त्तच् कोर्ड स्क्यान गर्नुहोस्)
गोडैटा, सर्लाहीका स्थानीयका अनुसार केही दिनअघि सफिकलाई लिएर प्रहरी पुनः उनको घर खानतलासी गर्न पुगेको थियो । सफिकलाई प्रहरीले लगेपछि उनकी श्रीमती बेपत्ता भएकी छिन् । आलमका मानिसहरूले उनलाई गायब बनाएको स्थानीयको आशङ्का छ । रौतहटका एसपी खत्री भने सफिककी श्रीमती प्रहरीको सम्पर्कमै रहेको दाबी गर्छन् । तर, उनको खोजीका लागि प्रहरी परिचालन गरिएको स्रोतको भनाइ छ ।
प्रहरीले प्रमाण बलियो बनाउनकै लागि घटनामा मारिएका ओसी अख्तर र पिन्टु भन्ने त्रिलोकनारायण सिंहको कपडा, मृतकलाई जलाइएको इँटाभट्टाको खरानी पनि जाँचका लागि विधिविज्ञान प्रयोगशाला पठाएको छ । पीडितको तर्फबाट बहस गर्दै आएका अधिवक्ता पुष्पराज पौडेल भौतिक प्रमाण नष्ट गरिएको सन्दर्भमा साक्षीले दिने बयान महत्वपूर्ण हुने बताउँछन् । चाल्र्स शोभराजको मुद्दा पनि घटनाका साक्षीले दिएको बयानबाट स्थापित भएको उनको भनाइ छ ।
घाइते र साक्षी खोज्दै प्रहरी
प्रहरीले अहिले घटनाका घाइते, प्रत्यक्षदर्शी र संलग्नहरूको खोजी गरिरहेको छ । घटनापछि खलियान घरको छानो टाल्ने तथा गारो र भुईं मर्मत गर्ने राजपुर नपा–३ बलुवाका ओजाहिर भन्ने सुमान मुसलमान र नुर अहमदसँग पनि प्रहरीले बयान लिइसकेको छ । उनीहरूलाई पाँच दिन हिरासतमा राखेर छोडिएको थियो ।
केही मृतकलाई बम विस्फोट भएको घरमुनि खाल्डो खनेर गाडिएको र माथिबाट प्लाष्टर गरिएको ती कामदारले स्थानीयलाई सुनाएका पनि थिए । एसपी खत्री भने खाल्डो खनेर पुरिएको भनाइ अहिलेसम्म कतैबाट नआएको बताउँछन् ।
घटनापछि आलमले घाइतेसँग कसैलाई भेटघाट गर्न नदिन आफ्ना मानिस परिचालन गरेका थिए । विस्फोटमा मारिएकाका परिवारका सदस्य ११ दिनपछि भारतको विहार मोतिहारीस्थित तैयव नर्सिङहोम पुगेका थिए ।
भारतीय प्रहरीको सहयोगमा पुगेका उनीहरूले विस्फोटको घटनालाई स्थापित गर्न घाइतेको तस्वीर लिने र कुराकानी रेकर्ड गर्ने उद्देश्य राखेका थिए ।
तर, त्यहाँ रहेका अपरिचित मानिसले मार्ने धम्की दिएपछि यत्तिकै फर्किएको नाम उल्लेख नगर्ने शर्तमा मृतकका परिवारका एक सहयोगीले बताए । “मसँगै गएका भारतीय प्रहरीले आफ्नो परिचय दिए, तर आलमका मान्छेले प्रहरीलाई नै थर्काए” ती सहयोगीले भने “त्यसपछि प्रहरीले ‘यी खतरा मान्छे रहेछन्, यहाँबाट तिमी गइहाल’ भनेर उनीहरूकै गाडीमा राखेर २५ किमि टाढासम्म पुर्याइदिए ।”
जहाँ चुक्यो प्रहरी
पद र शक्तिको दुरुपयोग गरी अपराध गर्दै आएका आलमलाई १२ वर्ष पुरानो घटनामा पक्राउ गरेसँगै प्रहरीको प्रशंसा भएको छ । तर, पक्राउपछि प्रमाण जुटाउन गर्नुपर्ने आधारभूत काम नै प्रहरीले गरेन ।
नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) हेमन्त मल्लका अनुसार आलमलाई पक्राउ गरेलगत्तै उनको घरमा छापा मार्नुपर्थ्याे।
“आलमसँग अवैध हतियार रहेको कुरा बारम्बार बाहिर आएको थियो, उनीसँग भएका हातहतियार नियन्त्रणमा लिन पनि छापा मार्नुपर्दथ्यो” मल्ल भन्छन्, “प्रहरीले किन छापा मारेन, म अचम्ममा छु ।” स्रोतका अनुसार उनीसँग एके ४७ लगायत हतियार थिए । ती हतियार लुकाउन आलम सफल भएका छन् ।
बम विस्फोटमा जोडिएका अन्य व्यक्ति हुन्, मोहम्मद मोहताव आलम, रोज मोविन आलम र शेख सराज । पीडित रुक्साना खातुन र श्रीनारायण सिंहले दिएको जाहेरीमा उनीहरूको नाम पनि किटान गरिएको छ । तर, प्रहरीले उनीहरूलाई अहिलेसम्म पक्राउ गरेको छैन । आफतावका भाइ हुन्, मोहताव । मोविन र सराज भने आलमका सहयोगी हुन् ।