रिपोर्टशुक्रबार, ८ कार्तिक , २०७६

पार्टीप्रति गहिरिंदो वितृष्णा (भिडियाेसहित)

मुकेश पोखरेल

द्वन्द्वकालमा माओवादी बर्बरताको शिकार बनेका तत्कालीन एमालेका कार्यकर्ता र नेतृत्वबाट बेवास्ता भोगेका पूर्व माओवादीहरू पार्टी एकीकरणलाई बेवास्ता गरी निष्क्रिय बनेका छन्।

माओवादीले आगो लगाएर ध्वस्त बनाएको पसलको भग्नावशेषमा टोलाएका ठगिश्वरका श्रीमती र बुहारी । तस्वीरहरु : मनिष पौडेल

३ जेठ २०७५ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका नेता–कार्यकर्तामा त्यस दिन बेग्लै उत्साह थियो । काठमाडौंको राष्ट्रिय सभागृहमा दुई पार्टीबीच एकीकरण घोषणा हुँदा उपस्थित नेता–कार्यकर्ताले गडगडाहट तालीले स्वागत गरिरहेका थिए ।

यो दृश्य टेलिभिजनमा हेरिरहेका अर्घाखाँचीको सितगंगा नगरपालिका–१, सुवर्णखालका जुझारु एमाले कार्यकर्ता झविन्द्र बेलबासेले भने त्यही दिन पार्टीको सङ्गठित सदस्यता त्याग्ने निधो गरे । भोलिपल्टै एमालेको तत्कालीन सितगंगा नगर कमिटी अध्यक्ष बसन्त श्रेष्ठलाई राजीनामा बुझाएका झविन्द्र त्यसयता पार्टीका सम्पूर्ण गतिविधिबाट अलग छन् ।

झविन्द्रका बुबा यज्ञप्रसाद तत्कालीन सुवर्णखाल गाविसका एमाले गाउँ कमिटी सचिव र एमालेबाट सोही गाविसको अध्यक्षमा निर्वाचित भइसकेका थिए । १३ वैशाख २०६२ मा सुराकीको आरोपमा माओवादीहरूले उनको हत्या गरे ।

यही कारण थियो, जसले दुई कम्युनिष्ट पार्टी एकीकरणबाट शक्तिशाली नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको खुशियालीमा देशभर दीपावली हुँदा पनि झविन्द्रलाई खुशी दिन सकेन ।

बरु पार्टीबाटै अलग्गिन बाध्य पार्‍यो । “स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन ज्यान फालेर लागेको थिएँ” झविन्द्र बेलबासे भन्छन्, “तर एकीकरणपछि पार्टीमा बस्न मनले मानेन, राजीनामा बुझाएपछि पार्टीबाट सम्पूर्ण रूपमा अलग भएको छु ।”

एकीकरणले पार्टीमा बस्नै नसक्ने गरी त्यस्तो के गरिदियो ? “हाम्रो परिवारका लागि बुबाको हत्या भन्दा ठूलो पीडादायी क्षण अरू हुनै सक्दैन” झविन्द्र भन्छन्, “बुबालाई मार्नेहरूसँगै हात मिलाएर हिंड्न सकिएन । एकीकरणले नेता खुशी भए पनि हामी खुशी छैनौं ।”

पूर्व माओवादीका कार्यकर्तामा पनि पार्टी नेतृत्वप्रति यस्तै असन्तुष्टि र अरुचि छ । त्यसमा पनि सेना समायोजनमा नपरेका पूर्व छापामारहरूको पीडा छुट्टै छ । दैनिक जीविका चलाउन संघर्षरत उनीहरूलाई एकतापछि बनेको नेकपाप्रति पटक्कै सरोकार छैन ।

चितवनको शक्तिखोरमा एक छोरा र श्रीमान सहित बस्दै आएकी पूर्व छापामार सरिता लामिछाने हिजो घरपरिवार नै छाडेर पार्टीमा लागे पनि देश, समाज र व्यक्तिगत जीवनमा कुनै परिवर्तन नआउँदा सङ्गठन र राजनीतिप्रति निराश छिन् । “माओवादी युद्धले हामीले आफ्नो लागि आफैं नगरी नहुने रहेछ भन्ने साबित गरायो” उनी भन्छिन्, “अब आफ्नो गर्ने, खाने हो, पार्टीको कुनै वास्ता छैन ।”

सशस्त्र युद्ध मार्फत तमाम गरीब र शोषितको सत्ता स्थापना गर्ने सपनाको पछि लाग्दा आफ्नो उमेर र समयको नाश मात्र भएको भन्दै पूर्व लडाकूहरू पछुतो मान्छन् । सशस्त्र विद्रोह गर्दा वर्ग अन्त्य र साम्यवादलाई लक्ष्य बनाए पनि बीचैमा सम्झौता गरेको र तत्कालीन एमालेसँग एकता गरेर नेकपा बनेपछि त जनजीविकाका अजेण्डाको विधिवत् अन्त्य भएको उनीहरूको बुझाइ छ ।

दिलमानकी छोरी प्रकृति आमा शान्ति पाख्रिनका साथमा ।

पूर्व लडाकू बझाङका वीरेन्द्रबहादुर ऐडी भन्छन्, “जनजीविकाको कुरा गर्ने पार्टी पटक–पटक सत्तामा आउँदा केही नेता र आफन्तले रजाइँ गरे । सेना समायोजनमा नेपाली सेनाको कमाण्ड हामीले गर्ने भनिए पनि त्यो त भ्रम रहेछ, अयोग्य लडाकू भएर खान–लाउनै सकस खेप्नुपरेको छ ।”

 एकताले थोपरेको अप्ठेरो

पञ्चायतकालमा पञ्च र २०४६ सालपछि नेपाली कांग्रेसको गढ रहँदै आएको ठाउँ हो, अर्घाखाँचीको बलकोट क्षेत्र । ठगिश्वर न्यौपाने कुनै वेला त्यही बलकोट क्षेत्रका एक्ला कम्युनिष्ट थिए । कम्युनिष्टको बीउ खोज्नुपर्ने त्यो ठाउँमा कुनै वेला एमालेको प्रतिरक्षा गरेर बसेका न्यौपाने पनि एमाले–माओवादी एकीकरणपछि पार्टीमा सक्रिय छैनन् ।

कारण उस्तै छ । ठगिश्वरलाई तत्कालीन माओवादीहरूले ‘जनसरकार’ प्रमुखमा बस्न दबाब दिएका थिए । नमानेपछि २० कात्तिक २०६० राति पसलमा आगो लगाइदिए । न्यौपाने परिवार विस्थापित भयो ।

माओवादीले गरेको आगजनीमा रु.८० लाख बराबरको धनमाल नष्ट भएको बताउने न्यौपाने परिवारले अहिलेसम्म कुनै राहत पाएको छैन । “वर्षौं खुन–पसिना बगाएर जोडेको सम्पत्ति ध्वस्त बनाएर हामीलाई खाली खुट्टा सडकमा पुर्‍याउनेलाई नेता मान्न मनले मानेन” ठगिश्वरका छोरा हरि भन्छन्, “द्वन्द्वकालका घटनालाई सम्बोधन गर्न पटक–पटक पार्टीलाई गुहार्‍यौं, तर सुनुवाइ भएन ।”

अर्घाखाँचीकै मालारानी गाउँपालिका–९ का तत्कालीन एमाले कार्यकर्ता सुवर्ण खनालको परिवार पनि पार्टी एकीकरणपछि निष्क्रिय छ । स्थानीय तह निर्वाचनसम्म पार्टीका उम्मेदवारलाई जिताउन मरिमेटेर लागेको खनाल परिवार प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा भने निष्क्रिय बस्यो ।

माओवादीको हिंसात्मक प्रताडना खेपेका पूर्व एमाले कार्यकर्ता झविन्द्र बेलबासे

दुई पार्टी एक भएपछि त खनाल परिवार पार्टीले आयोजना गर्ने कुनै कार्यक्रममा सहभागी भएको छैन । सुवर्णका बुबा नेत्रलाई २९ पुस २०६१ मा सुराकीको आरोप लगाएर माओवादीले हत्या गरेका थिए ।

पूर्व माओवादी लडाकू वीरेन्द्रबहादुर ऐडी एमालेसँग माओवादीको एकतालाई स्वार्थको संज्ञा दिन्छन् । “भएको पार्टी त एक राख्न सकेनन्, स्वार्थका लागि एक भएका हुन्” ऐडी भन्छन्, “स्वार्थ हुँदैनथ्यो भने मन्त्रीका पीएहरू आफ्ना नातेदार नराखेर हिजो युद्ध लडेका कार्यकर्तालाई राख्नुपर्थ्याे, तर कसैले पनि त्यसो गरेका छैनन् ।”

अर्का पूर्व लडाकू टेकबहादुर बुढा आफूहरूले लडेको युद्ध केन्द्रीय नेताहरूका लागि मात्र रहेको साबित भएको भन्दै अनाहकमा धेरै क्षति भएको टिप्पणी गर्छन् । युद्धकै क्रममा दुवै हातका औंला र दायाँ आँखा गुमाएका बुढा भन्छन्, “सशस्त्र विद्रोहले केही व्यक्तिलाई धेरै थोक दियो होला, गरीबको दिन आउँछ भन्दै युद्धमा होमिएका म जस्ता धेरैको अवस्था भने झन बिग्रेको छ ।”

द्वन्द्वकालीन घटनाका कारण नेकपाभित्रको पूर्व एमालेका नेताहरूलाई एकीकरणबाटै अलग हुन परिवार र कार्यकर्ताले दबाब दिने गरेका छन् । पूर्व सांसद तीर्था गौतम त्यसकै भुक्तभोगी हुन् ।

२१ फागुन २०५५ मा माओवादीले हत्या गरेका रुकुमका एमाले नेता यदु गौतमकी श्रीमती तीर्थालाई छोराछोरीले नै माओवादीसँग एकीकरणपछि पार्टीबाट अलग हुन दबाब दिए । तीर्था भन्छिन्, “म त राजनीतिक कार्यकर्ता हुँ, कुरा बुझ्छु । तर छोराछोरीले एकछिन पनि पार्टीमा नबस भन्छन् ।”

पूर्व लडाकू वीरेन्द्रबहादुर ए‍ेडी ।

‘भाला छुरीले रोपे जस्तो भएको छ’

स्कूल छुट्टी भएपछि सँगै पढ्ने साथीहरूलाई लिन बाबा आएको देख्दा प्रकृति पाख्रिन सोच्थिन्– ‘मेरो बाबा चाहिं किन आउँदैनन् ?’ १४ वर्षको उमेरमा मात्र उनले बाबाको अवस्था थाहा पाइन् । “विदेश हुनुहुन्छ, छिट्टै आउनुहुन्छ भनेर धेरै पटक झूट बोलें, फोटो देखाएर टारें” आमा शान्ति पाख्रिन भन्छिन्, “विदेशमा भए फोनमा कुरा गर्छु भन्थी, उसले त्यसो भन्दा आँखाबाट आँसु झर्थ्यो ।” 

९ मंसीर २०५९, साँझ् साढे आठ बजे दिलमान पाख्रिन दोलखाको ठूलोपातल गाविसस्थित घरमा खाना खाएर परिवारसँग टीभी हेर्दै थिए । कसैले ढोका ढक्ढक्यायो । “हाम्रो पार्टीको ठूलो नेता आउनुभएको छ, छलफलका लागि हामीसँग जानुपर्‍यो”, ढोका ढक्ढक्याउने माओवादी कार्यकर्ताले कर गरे ।

माओवादीको हिंसात्मक प्रताडना खेपेका पूर्व एमाले कार्यकर्ता ठगिश्वर न्यौपाने ।

रातमा नजाने, उज्यालो भएपछि मात्र जाने उनको अड्डीपछि करीब डेढ घण्टा वादविवाद चल्यो । नलिई नजाने माओवादी कार्यकर्ताको जबर्जस्तीसामु दिलमानको जोर चलेन । उनले निदाइरहेकी ठूली छोरी प्रीतिलाई उठाएर गालामा ‘म्वाईं’ खाए । आधा घण्टामा फर्किन्छु भनेर श्रीमती र पाँच वर्षीया छोरीसँग विदा भए । दिलमान कहिल्यै फर्केनन् ।

दिलमान त्यसवेला एमालेबाट निर्वाचित ठूलोपातल गाविसका अध्यक्ष थिए । ८ दिनपछि उनको शव भेटियो । शान्ति अहिले प्रतिनिधिसभा सदस्य छिन् ।

पार्टी एकीकरणले उनलाई झन् पीडा दिएको छ । “मेरो श्रीमानको हत्या गर्नेहरू फरक पार्टीमा हुँदा नै पिनले घोचे जस्तो लाग्थ्यो, पार्टी एकीकरणपछि भाला छुरीले रोपे जस्तो भएको छ” शान्ति भन्छिन्, “एकतापछि हिजोका घटना झन् ताजा भएका छन्, श्रीमानलाई अपहरण गर्ने र मार्नेहरूसँगै बस्नुपर्दा मुटुमाथि पहाड राखे झैं भएको छ ।”

द्वन्द्वकालका घटना उठाउँदा हिजो फाइदा भएको ठान्ने पार्टी अहिले घाटा लाग्ने निर्क्याेलमा पुगेको र आफू जस्ता कार्यकर्ता पार्टीलाई घाँडो बन्दै गएको उनको बुझाइ छ ।

शान्ति सम्झौतापछि आफूहरूलाई पनि माओवादीले घाँडो सम्झेर पन्छाएको र जीविकाको सवाललाई पूर्णरूपमा बिर्सेको पूर्वलडाकूहरूको अनुभव छ । युद्धकालमा नेताहरूले बाँडेको सपनाका कारण लडाइँमा होमिएका पूर्व छापामारहरू पार्टी र नेताहरूप्रति तिक्तता पोख्छन् ।

१६ वर्षे उमेरमा परिवार छोडेर छापामार बनेकी मीना घिसिङ भन्छिन्, “तिनीहरूकै कारण आज हामी घर न घाटको भयौं । तिनीहरू आबद्ध कुनै पनि पार्टीमा जोडिने कल्पना समेत गर्न सक्दैनौं ।”

टेकबहादुर बुढाकाे अन्र्तवार्ता अडियाेमा सुन्नुहाेस :

पूर्व लडाकू टेकबहादुर बुढा ।

चितवनको शक्तिखोरमा बस्दै आएकी अर्की पूर्व लडाकू विमला राई पनि आज हातमुख जोर्नै कठिन अवस्थामा पुर्‍याउने तत्कालीन माओवादी नेतृत्वले एकता गरेको पार्टीप्रति कुनै चासो नरहेको बताउँछिन् ।

तीन छोराछोरी र मानसिक समस्याले ग्रस्त श्रीमानको हेरचाह गर्ने जिम्मेवारी बोकेकी उनी भन्छिन्, “बालुवा चाल्ने, इँटा बोक्ने जस्ता ज्यालादारी कामबाट मुश्किलले घर धानिएको छ । यस्तो अवस्थामा अझै देश र समाज भनेर हिंड्न पनि सकिंदैन ।”

 

मन बुझाउने कसरी ?

गह्रौं मन लिएर एकीकरणलाई स्वीकार गरेका कतिपय पूर्व एमाले कार्यकर्ता पनि छन्, जो देशमा आर्थिक विकास र समृद्धि भित्रिन्छ भने विगतका घटना भुलेर पनि एकतालाई बलियो पार्नुपर्छ भन्ने मान्यता राख्छन् ।

अर्घाखाँचीको मालारानी गाउँपालिका–२, अर्घातोषकी अमृता बञ्जाडे तिनैमध्येकी हुन् । अमृताका बुबा हुमानन्द बञ्जाडेलाई १२ असोज २०६० मा माओवादीले घाँटी रेटेर हत्या गरेका थिए । (बञ्जाडेको हत्या गरिएको तस्वीर यति बीभत्स थियो कि हिमाल ले तस्वीर पाएर पनि छाप्न सकेन)

बञ्जाडेको शव पहिलो पटक देख्नेहरूले छातीमाथि टाउको राखिएको देखेका थिए । “बुबा त अब फर्केर आउनुहुन्न” अमृता भन्छिन्, “देशमा विकास हुन्छ भने यो पीडा भुलौं भनेर पनि लागें, तर व्यवहार सोचेभन्दा फरक देखिंदैछ ।”

पूर्व सांसद, रुकुमकी तीर्था गौतम हुन् या वर्तमान सांसद शान्ति पाख्रिन; द्वन्द्वका कारण विधवा र टुहुरा बन्ने तथा वृद्ध बाबुआमाले बुढेसकालको सहारा गुमाउनुपर्ने स्थिति अन्त्य होस् भनेरै पीडाको सागर लुकाएर पनि पार्टी एकीकरणमा चित्त बुझाएको बताउँछन् ।

 

विमला राईको अन्र्तवार्ता अडियाेमा सुन्नुहाेस :

 

पूर्व लडाकू विमला राई ।

शान्ति भन्छिन्, “तर, द्वन्द्वका कुरा उठाउँदा पार्टी एकता खल्बलिएला भन्ने सोच्नुहुन्न, एकीकरणका नाममा न्याय मर्न नहुने पीडित कार्यकर्ताको माग पनि बुझ्नुपर्छ ।”

माओवादीबाट पीडित पूर्व एमालेका कार्यकर्तामध्ये कोही माओवादीले गल्ती स्वीकार गरेर पीडित परिवारसँग माफी माग्नुपर्ने बताउँछन् भने कोही चाहिं मेलमिलापका नाममा जघन्य अपराधलाई भुल्न नसकिने बताइरहेका छन् ।

विगतमा गरेको काम गल्ती थियो भनेर क्षमायाचना गर्नुपर्ने र त्यस्तो किन गरियो भन्नेबारे परिवारलाई प्रष्ट जानकारी दिइनुपर्ने उनीहरूको माग छ ।

बुबाको बीभत्स हत्या देखेकी अर्घाखाँचीको मालारानी गाउँपालिका–२, अर्घातोषकी एमाले कार्यकर्ता अमृता बञ्जाडे भन्छिन्, “पार्टीका हरेक बैठक र भेलामा विगतका घटनामा गल्ती स्वीकार गरेर क्षमायाचना गर्नुपर्छ भन्ने कुरा उठाइरहेका छौं ।” 

रुकुमकी पूर्व सांसद तीर्था गौतम विगतलाई बल्झाउँदा देश अगाडि नबढ्ने महसूस गरेर प्रतिबद्ध कार्यकर्ताले चित्त बुझाए पनि सामान्य कार्यकर्ता, समर्थक र मतदाताले अहिलेसम्म चित्त बुझाउने परिस्थिति नबनेकाले पार्टी नेतृत्व नै पीडित कार्यकर्ताको घरमा पुगेर यसबारे कुरा बुझाउनुपर्ने बताउँछिन् ।

“सबै ठाउँमा केपी ओली र प्रचण्ड पुग्नुपर्दैन, अरू नेतालाई खटाउँदा पनि हुन्छ” उनी भन्छिन्, “द्वन्द्वकालका घटनालाई सबै परिवारले एकै किसिमले लिंदैनन्, समयमै बुझाइएन भने यसले विकराल रूप लिने र पीडितलाई अरूले पनि प्रयोग गर्ने खतरा रहन्छ ।”

द्वन्द्वकालमा माओवादीका कारण श्रीमान् गुमाएकी जानुका खनाल ।

सांसद शान्ति पाख्रिन भने नेताहरू साँच्चै इमानदार भए तत्कालीन राज्यपक्ष र विद्रोही दुवैबाट पीडित परिवारलाई न्याय दिन अघि सर्नुपर्ने बताउँछिन् । “

दोषीहरू कानूनी कठघरामा आउनुपर्‍यो, प्रचण्ड जेल जान परे पनि तयार हुनुपर्‍यो” श्रीमानको हत्या गर्नेहरूको उदाहरण दिंदै उनले भनिन्, “मेरो श्रीमानलाई अपहरण गर्ने पनि यहीं छन्, मार्ने पनि । कि सरकारले उनीहरूलाई सफाइ देओस्, नभए गल्ती गर्नेलाई छाडा छोड्नु भएन ।”

तत्कालीन एमाले र माओवादीबीच भएको पार्टी एकीकरणका क्रममा भएका सम्झौता र सहमतिका कुनै पनि दस्तावेजमा द्वन्द्वपीडित र तिनका परिवारका सवाल समेटिएका छैनन् । यसले पनि पीडित परिवारलाई आक्रोशित बनाएको छ ।

द्वन्द्वकालीन घटनामा आफूहरूमाथि पार्टीबाटै अन्याय भएको ठानेर पार्टीका सबैखाले गतिविधिबाट अलग भएका कार्यकर्ता र समर्थकहरू अरू पार्टीमा भने प्रवेश नगर्ने बताउँछन् ।

अर्घाखाँचीमा हत्या गरिएका नेत्र खनालकी श्रीमती जानुका खनाल भन्छिन्, “जुन पार्टीमा लागेर हामीले अभिभावक गुमायौं, त्यही पार्टीले नहेरेपछि अरू पार्टीले हेर्लान् भन्ने विश्वास छैन । स्वतन्त्र बसेर हाम्रा असहमति राख्न छाड्दैनौं, तर अरू पार्टीमा जान्नौं ।”

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य यसबारे तत्कालीन एमाले र माओवादी दुवैतर्फका पीडित परिवारमा गुनासो रहेको बताउँछिन् । “गुनासाहरू आएका छन्, त्यसलाई सम्बोधन गर्न पार्टीले ध्यान दिनुपर्छ” उनी भन्छिन्, “उहाँहरूका धेरै ठूला माग छैनन्, देशमा समृद्धि र विकास होस् भन्ने छ । त्यसलाई हामीले अन्यथा ठान्नु भएन ।”

पूर्व माओवादी नेता, नेकपाका पोलिटब्यूरो सदस्य मणि थापा भने द्वन्द्वकालीन घटनालाई लिएर व्यक्तिगत रूपमा केही असन्तुष्टि हुनु स्वाभाविक भए पनि त्यसबारे पार्टीमा असन्तुष्टि नरहेको बताउँछन् । थापा भन्छन्, “द्वन्द्वको समयमा ‘मिस’ भएर केही घटना भएका हुनसक्छन्, त्यसलाई ठूलो विषय बनाउनुहुँदैन ।”

 

 

प्रतिकृया दिनुहोस