रिपोर्टशुक्रबार, ८ कार्तिक , २०७६

परेवाका पारखी

गोपाल गडतौला

सौखिनहरू घरका छतमा गुँड बनाएर जोडीको ३५ हजार रुपैयाँसम्म पर्ने परेवा पाल्छन्। यी परेवा उडान प्रतियोगितामा सहभागी गराइन्छ।

 

काठमाडौं पेप्सीकोलाका महेश कुइँकेल (४०) को बिहान परेवाको स्याहारमा बित्छ । हरेक दिन गुँडबाट परेवा बाहिर निकालेपछि सुली सफा गर्ने, चुन–पानी छर्किने र थालीमा पानी राखिदिने गर्छन् ।

सबै परेवा उडान प्रतियोगिताको लागि पालेका कारण दिनमा एकपटक दिउँसो तीन बजे मात्र चारो दिन्छन् । कुइँकेल भन्छन्, “चारो बढी खाएर मोटाए प्रतियोगिता हार्ने सम्भावना हुन्छ ।”

उनले १२५ जोडी परेवा पालेका छन् । परेवाका लागि छतमा रु.३ लाख खर्च गरेर बाक्लो जालीदार गुँड बनाएका छन् । त्यसभित्र माउ परेवालाई बच्चा कोरल्ने सानासाना प्वाल, पखेटा फट्फटाउन र घाम ताप्न मिल्ने कौसी, चारो र पानी राख्ने भाँडा र बत्ती जडान गरेका छन् ।

हरेक दिन गहुँ, धान, तोरी, चनाको दाल, मकै आदि मिसाएको पाँच केजी अन्न दिनुपर्छ । चारो अपच नहोस् भनेर पानीसँगै जीवनजल र अन्य औषधि पनि दिनुपर्छ । महीनामा एक पटक जाँचका लागि एक जना पशुपन्छी चिकित्सक आउँछन् ।

उनले परेवा पाल्न थालेको १७ वर्ष भयो । मासिक करीब रु.२५ हजार खर्च गरेर सोख पूरा गरिरहेका छन् । उनको गुँडमा कमगर, टेडी, चिनिटाउके, फिरोजपुरी, कागजी लगायत जातका परेवा छन् । तीमध्ये आँखामा रातो घेरा हुने कमगरलाई जोडीको रु.३५ हजार पर्ने उनी बताउँछन् । अन्य जातका परेवालाई जोडीको रु.१० हजार हाराहारी पर्छ ।

परेवा बिरामी भएको उनी परैबाट खुट्याउन सक्छन् । चुच्चो बाइरहेको छ भने मुखभित्र कुनै बस्तु अड्किरहेको हुन्छ, झोक्राएर बसेको छ भने चारो अपच भएको वा भाइरल लागेको हुन्छ । जाडो र गर्मीको बीचमा परेवालाई ‘न्युक्यासल’ नामको भाइरलले सताउँदा ज्वरो आउने र पातलो सुली निकाल्ने हुन्छ ।

उडानका लागि परेवा पालेका महेश कुइँकेल।

कुइँकेल भन्छन्, “बिरामी परेवालाई तुरुन्तै समूहबाट अलग गरेर जीवनजल र नूनपानी दिनुपर्छ ।” अक्सर जाडो र गर्मीको बीचमा परेवाको प्वाँख समेत झर्ने भएकाले ‘लासोटा भ्याक्सिन’ र भिटामिन दिइने उनी बताउँछन् ।

उज्ज्वल रिमाल (४०) काठमाडौं नयाँबानेश्वरका बासिन्दा हुन् । उनले घरको छतमा ८० जोडी परेवा पालेका छन् । २६ वर्षदेखि परेवा पालिरहेका रिमाल नेपाल परेवा उडान खेल संघका कोषाध्यक्ष हुन् । उक्त संघ २०७० सालमा राष्ट्रिय खेलकुद परिषद्मा दर्ता हुँदा रिमाल संस्थापक थिए । हाल यो संघमा ९८ सदस्य छन् ।

नेपालमा २०५८ सालदेखि भइरहेको परेवा उडान प्रतियोगितामा रिमाल शुरूदेखि नै संलग्न छन् । उनको कमगर जातको परेवा २०७३ सालको प्रतियोगितामा एकल उडानतर्फ ४० प्रतियोगीका परेवालाई उछिन्दै सर्वोत्कृष्ट भएको थियो । उक्त परेवा आठ घण्टा ५२ मिनेट उडेको थियो । उनको गुँडमा पनि जोडीको रु.१० हजारदेखि रु.३५ हजारसम्म पर्ने परेवा छन् ।

यसरी दिइन्छ उड्ने तालिम

प्रतियोगिताका लागि पालिएका परेवालाई बच्चैदेखि उड्ने तालिम दिनुपर्छ । बच्चा डेढ महीनाको भएपछि जालीदार गुँडबाट बाहिर निकालिन्छ, तर कौसी बाहिर जान दिइँदैन । यसलाई पालकहरू ‘घर चिनाएको’ भन्छन् ।

आफ्नो गुँड र घर चिनिसकेपछि केही किलोमिटर टाढा लगेर छोडिदिए पनि परेवा गुँडमै फर्किन्छ । रिमाल भन्छन्, “यसरी पालेका परेवा बाजले खाएन भने घरै फर्किन्छन्, हम्मेसी अर्काको घरमा पनि बस्दैनन् ।”

हरेक दिन एकपटक मात्र चारो दिइने भएकाले यी परेवाको वजन हत्तपत्त बढ्दैन । कम वजन भएकाको पखेटा केही लामो र उड्नका लागि फुर्तिलो हुन्छ । परेवालाई दुवै हातले उठाएर आकाशतिर हुर्‍याएपछि आफ्नो गुँड माथिको आकाश वरिपरि घुम्दै उँचाइमा जान्छन् । यो अभ्यास नियमित भएपछि परेवा गुँडमाथि आकाशमा धेरैबेर उडेर कावा खाँदै फर्किन्छन् ।

परेवा पालकहरू बच्चा उत्पादन गर्न रगतको नाता नभएका भालेपोथीलाई सानो गुँडमा जोडा बनाएर राखिदिन्छन् । यसका लागि परेवाको सन्तान छुट्याउन खुट्टामा सानो कल्ली लगाइदिने गर्छन् । एउटै वंशबाट राम्रो बच्चा उत्पादन नहुने परेवा पालकहरू बताउँछन् ।

भारतसम्म उपहार र किनबेच

परेवाका सौखिन भारत गोरखपुरका एसामुद्दिन अन्सारी (४२) महेश कुइँकेलका साथी भएका छन् । अन्सारीले १४० जोडी परेवा पालेका छन् । कुइँकेलले उनलाई २०६५ सालमा कमगर र टेढी जातका सात जोडी परेवा उपहार दिएका थिए ।

अन्सारीले उपहार पाएका परेवा गोरखपुरमा आयोजित प्रतियोगिताको सामूहिक उडानमा उत्कृष्ट बनेका थिए । सातै परेवाको कुल उडान अवधि ६३ घण्टा १ मिनेट थियो ।

काठमाडौंमै पनि पालकहरूबीच परेवा किनबेच र उपहार आदानप्रदान हुन्छ । कुइँकेलले नै २०७५ सालमा चार जोडी परेवा रु.१ लाख २० हजारमा बेचेका थिए ।

राणा, शाह र धनाढ्य व्यापारीहरूले दशकौंदेखि भारतबाट परेवा ल्याई पाल्ने र सोखको रूपमा उडाउने गर्दथे । गोरखशमशेर जबरा आफ्ना बाबु केयूरशमशेर जबराले भारतका विभिन्न ठाउँबाट परेवा मगाएर पालेको सम्झिन्छन्। उनले अहिले १०० जोडी परेवा पालेका छन् ।

गोरखले बाबु केयूरशमशेरको नाममा २०७३ सालदेखि ‘केयूर रनिङ शिल्ड’ परेवा उडान प्रतियोगिता आयोजना गरिरहेका छन् । उनी हिमालयन परेवा उडान क्लबका संस्थापक अध्यक्ष पनि हुन् । आफू हरेक दिन झण्डै एक घण्टा परेवासँग खेल्ने बताउँछन् । गोरख भन्छन्, “परेवासँग खेल्दा तनावमुक्त भएको महसूस गर्दछु ।”

 

प्रतिकृया दिनुहोस