ब्लगबुधबार, ६ कार्तिक , २०७६

एउटा पहाडेको छठ तयारी

केदार शर्मा

 हामीले यस पटक छठी मातासित यो रमाइलो देशका अनेक परम्पराबीचको सम्मान र आदान–प्रदान बढाउने क्षमता थपी माग्नु छ।

गंगासागर, जनकपुरमा छठ मनाइँदै । तस्वीरः ईश्वरचन्द्र झा

मैले कहिल्यै धोती फेरेको छैन भने पनि हुन्छ । २०३२ फागुनमा व्रतबन्धका दिन भान्सा गर्ने वेलामा हजुरबाले धोती फेराइदिनुभएको थियो, त्यत्ति हो । म केटाकेटी हुँदासम्म भान्सामा बस्दा हजुरबा प्रायः धोती फेर्नुहुन्थ्यो । बा–काकाले परदेश लागेपछि छाडेको त्यो चलन मेरा पालामा त घरबाटै हराएर गयो ।

श्राद्धादि अनुष्ठानहरूमा सीमित धोती फेर्ने चलनले पनि अर्को पुस्तालाई छोला जस्तो छैन । म पनि कैयन् पूजा अनुष्ठानमा विधिवत् सामेल भएको छु, तर धोतीका हकमा भने हालसम्म ‘धौत वस्त्रम् इति धोती’ भनेर सफा लुगाले नै काम चलाइरहेको छु ।

दौरा, सुरुवाल, सूट, जिन्स वा अरू जे होस् रहर वा करले लगाइन्छ । मलाई भने यस पटक धोती लगाउने रहर नै लागेको छ ।

यस पटक हामी दम्पती एउटा मैथिल परिवारको पाहुना भएर छठ पर्व मनाउन जनकपुर जाँदैछौं । हामी मैथिली बोल्न नजाने पनि धेरथोर बुझ्छौं, मैथिल (र सबै) खानपिनका त प्रेमी नै हौं, तीमध्ये केही लोकपरिकारका विधि र पृष्ठभूमि बारे जानकारी पनि बटुल्नु छ । धोतीको रहर यसै मेसोमा लागेको हो ।

त्यसैले तिहारसम्ममा मैले धोती फेर्न जान्ने हुनु छ । सिक्नलाई ‘यूट्युब विश्वविद्यालय’ छँदैछ । आफूले सिकेको तरीका मैथिल शैलीसित मिलेन भने उपयुक्त विधि जनकपुरमै सिकौंला !

धोती त कुरा थाल्ने मेलो मात्र हो, छठ पर्वमा मैथिल संस्कार अनुसार शिष्टाचारपूर्वक सहभागी हुन हामीले निकै कुरा सिक्नु छ । सिकाइदिन केही साथी तयार पनि छन् ।

 मानले बढाएको सम्मान

गएको वैशाखमा जनकपुर गएका वेला स्थानीय व्यवसायी र अभियानी अमित झाले हामीलाई प्रेमपूर्वक पाग, धोती, कुर्ता, गम्छा तथा साडी, चोलो र लहकी (जनकपुरको विशेष लाहाको चुरा) आदि उपहार दिएका थिए । त्यहाँका प्रदेशसभा सांसद रामआशिष यादवले घरमा भोजनको निम्तो त दिए नै, उपहार पनि थपिदिए । अप्ठ्यारो लाग्यो, लाज लाग्यो तर खुशी पनि लाग्यो । प्रेम, आदर, भोजन, उपहार पाउँदा कसलाई खुशी लाग्दैन र?

हामीले भने सुदामाको कनिका जस्तो, इलामे चियाको कोसेली दियौं र दियौं इलाम आउने हार्दिक निम्तो ।

पारस्परिक प्रेम र सम्मान बढाउने यस्तै कुराले हुन् । जनकपुर–वीरगञ्ज क्षेत्रमा पाएको माया र मानमनितोकै कारण हामीले यस पटक पहिलो पटक जनकपुर गएरै छठ मनाउने रहर गरेका हौं । वैशाख–जेठको हाम्रो लोकपरिकार यात्रा ‘भोजन–भ्रमण’ ले हामीमा यस्ता धेरै रहर जन्माइदिएको छ । छठ मात्र होइन, हामीलाई त उँधौली–उँभौली, माघी र ल्होसार पनि सम्बन्धित गाउँठाउँमै गएर मनाउन मन छ । हेरौं, के के जुट्दै जान्छ ।

मैले सानामा न छठ सुनेको थिएँ, न म्हःपूजा, न माघी थाहा थियो, न ल्होसार र गौरा पर्व । उँधौली–उँभौली पनि सुनेको मात्र थिएँ । गाउँकै सिरानमा लाग्ने झ्याम्टे मेलाको अर्थ र महत्व समेत बुझ्न पाएको थिइनँ । नेपाललाई उहिल्यैदेखि चार जात छत्तीस वर्णको फूलबारी भनिए पनि म हुर्किएको नेपालमा ‘सबैले सबैका बारे जान्ने र मान्ने’ अवधारणा पनि जन्मेको थियो । हामी ‘हाम्रा राजा ठूला छन्, हाम्रो देश विशाल’ गाएर नै मुग्ध थियौं ।

पछि पछि धेरथोर जान्दै गइयो, मान्दै गइयो । देख्दै गइयो, लेख्दै गइयो । आफ्नो देश र समाजमा रहेको विविधता हेरेर दङ्ग पर्न, रमाउन पाइयो । अहिले ढुक्कैले भन्न सक्ने भएका छौं, कुनै पनि समुदाय र परम्परा बारे राम्रो जानकारी हुने हो भने त्यसप्रतिको आदर बढ्छ, बढ्छ । कसैले कसैलाई अनादर, अपमान वा बेवास्ता गर्छ भने नजानेर, जान्न नपाएर मात्र गर्छ । आदरले आदर फैलाउँछ । कसैलाई मानमनितो गरियो भने सट्टामा सम्मान नै पाइन्छ ।

 आदानप्रदान पर्यटन

पर्यटन आधुनिक संसारको ज्यादै महत्वपूर्ण उद्योग हो । यो मूलतः आर्थिक उपक्रम हुँदाहुँदै पनि निकै किफायती पनि हुन सक्छ । हाम्रो जस्तो देशमा लोकपर्यटनलाई अघि बढाउन यसलाई किफायती बनाउनै पर्छ ।

किनभने अंग्रेजीको ‘टुरिस्ट’ शब्दसित जोडिएका धारणा र छविका कारण घुमफिर अझ पनि सबै नेपालीले आँक्न सक्ने विषय भइसकेको छैन । अंग्रेजी त अंग्रेजी भइनै गयो, नेपाली शब्द ‘पर्यटन’ पनि हलुका छैन । औसत कमाइका तुलनामा हाम्रा होटलहरू महँगा छन् र कतिपय ठाउँमा ‘लाटा, सोझा’ देखिने नेपालीले रिसेप्सनदेखि नै असम्मानको सामना गर्नुपर्छ । कम आयस्रोत भएका नेपालीले घुम्ने रहर गर्नु पनि आफैंलाई सास्ती दिनु बराबर भएको छ ।

यस्तोमा उपयोगी हुनसक्छ आदानप्रदान पर्यटन । यसको आधार हो, ‘तपाईं मकहाँ आउनुहोस्, बस्नुहोस् र यहाँ वरिपरिका मन लागेका ठाउँमा घुमफिर गर्नुहोस्, म तपाईंकहाँ आउँछु, त्यसरी नै बस्छु, त्यसरी नै घुम्छु ।’

यस्तो आदानप्रदान पर्यटनले आर्थिक गतिविधि धेरै नबढाउला, तर आपसमा जानकारी र समझदारी बढाउने अनुपम माध्यम हुनसक्छ । त्यस्तो आदानप्रदानले पर्यटनका सहभागीहरूबीच अपनत्व, सद्भाव बढ्छ । राज्यले बढाउन नसकेको कुरा, एक दुई छाक भात–खाजा र एक दुई रातको बासले बढाउन सक्छ ।

मैले (एक्लै) रसुवाका तामाङको घरमा ल्होसार मनाएको छु । काठमाडौंका नेवार परिवारको घरकै सदस्य जस्तो भएर गाईजात्रा निकाल्न खटिएको छु, रुखबाट याङबेन बटुलेर लिम्बूनी माइजूलाई दिएको छु, देउखुरीका थारूहरूसित माघी मनाएको छु, स्याङ्जाका गुरुङ मित्रका घरमा केही दिन बसेरै मेजमान खाएको छु । हामी (छोराछोरी सहित) नेवार मित्रका घरमा म्हः पूजामा सहभागी भएका छौं ।

यस्तो आदानप्रदान पर्यटनले आर्थिक गतिविधि धेरै नबढाउला, तर आपसमा जानकारी र समझदारी बढाउने अनुपम माध्यम हुनसक्छ । त्यस्तो आदानप्रदानले पर्यटनका सहभागीहरूबीच अपनत्व, सद्भाव बढ्छ । राज्यले बढाउन नसकेको कुरा, एक दुई छाक भात–खाजा र एक दुई रातको बासले बढाउन सक्छ ।

हाम्रो जोडीले विभिन्न चरणमा गुल्मीका मगर, इलामका लेप्चा र थामी तथा कास्कीका गुरुङहरूका अँगेनाका डिलमा बसेर अनेकन् खाना खाएको छ, धेरै ठाउँ बास बसेको छ । ‘भोजन भ्रमण’ ले यो संख्या स्वाट्टै बढाइदिएको छ । हामी सबै आतिथेयप्रति कृतज्ञ छौं र उहाँहरूलाई आफ्नामा स्वागत गर्न पाउने दिनको प्रतीक्षामा छौं ।

आजसम्म त हामीले जनकपुर गएर मनाउने छठको तयारी यस्तै मात्र छ । प्रकटमा खास केही छैन, तर मनमा धेरै कुरा खेलिरहेका छन् । आशा छ, गजब हुनेछ ।

नेपाली हुनुको विशेषता, कर्म भन्दा अघि–अघि कामना आइहाल्छन् । छठ आउन निकै दिन छ, तर एउटा कामना भने गरिहाल्न मन छ । हामीले यस पटक छठी मातासित यो रमाइलो देशका अनेक परम्पराबीच सम्मान र आदानप्रदान बढाउने क्षमता थपी माग्नु छ । यस्तो ऊर्जा फैलाई माग्नु छ ।

प्रतिकृया दिनुहोस