समाचार आइतबार, कात्तिक ३, २०७६

यस वर्षको भाइटीकाको साइत ११ः५५ बजे

रासस

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत १२ कात्तिक मंगलबार बिहान ११ः५५ बजे उत्तम रहेको जनाएको छ ।

१२ कात्तिक मंगलबार दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ ।
राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि दिनभर टीका लगाउन कुनै समस्या छैन ।

यस वर्ष यमपञ्चक ८ कात्तिक शुक्रबारदेखि शुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान शुरु गरिन्छ । ९ कात्तिक शनिबार काग तिहार परेको छ । यसैगरी धन्वन्तरी जयन्ती र धनतेरस पर्व पनि यसै दिन परेको छ ।

१० कात्तिक आइतबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । बिहान ११ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंसी तिथि लाग्ने भएकाले शास्त्रसम्मत रूपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले बताए ।

गाई, गोरु र आत्म (म्ह) पूजा भने ११ कात्तिक सोमबार गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । ११ गते बिहान ९ः४३ बजेसम्म औंसी तिथि पर्दछ । त्यसपछि कात्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले आत्म (म्ह) पूजा यसै दिन गर्नुपर्ने हुन्छ ।

१२ कात्तिक भाइटीकाकै दिन यस वर्ष नेपाल संवत अनुसार नयाँवर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको अध्यक्ष गौतमले बताए । यसै दिनदेखि नेपाल संवत् ११४० शुरु हुन्छ ।

भाइपूजा र नेवारी भाषामा किजापूजा पनि १२ कात्तिकमा नै गरिन्छ । १३ कात्तिक बिहान ६ः१८ बजेसम्म मात्र द्वितीया तिथि रहेकाले कात्तिक १२ गते नै भाइटीका मनाउन शास्त्र सम्मत हुने समितिको ठहर छ ।

प्रतिकृया दिनुहोस