रिपोर्टशुक्रबार, १ कार्तिक , २०७६

हाेमस्टेले विदेशबाट फर्कायो

मुकेश पोखरेल

निकुञ्जका जनावरले बालीनाली खाइदिंदा चितवन माडीका युवालाई वैदेशिक रोजगारी बाध्यता थियो तर, विदेशबाट फर्किएर शुरू गरेको होमस्टेले गाउँमा समृद्धि ल्याएको छ।

 मोहनबहादुर पुन ।

चितवन, माडीका मोहनबहादुर पुन मगर (४८) वैदेशिक रोजगारका क्रममा बहराइनमा चालकहरूको सुपरभाइजर थिए । मासिक ७० हजार बचत गर्थे । मगर, पुस २०७२ मा बिदा लिएर घर आए ।

त्यहीवेला माडीको अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिले नवलपरासीको अमलटारीस्थित होमस्टे अवलोकन गराउने भयो । उनी सहित माडी नगरपालिका–८ शिवद्वारका चार जना अमलटारी पुगे । त्यसपछि उनी बहराइन फर्किएनन् । अमलटारी गएका चार जना मिलेर गाउँमै होमस्टे खोल्ने योजना बनाए ।

“चार जनाले होमस्टे बनाउने निर्णय गरेका थियौं, तर पर्यटन विभागमा दर्ता हुन कम्तीमा पाँच जना पुग्नुपर्दथ्यो” मगर भन्छन्, “गाउँमा छलफल राख्दा अरू ७ जना थपिनुभयो ।” अहिले दुई जना पनि थपिएपछि १३ घरमा होमस्टे छन् । उनी अयोध्यापुरी होमस्टेका अध्यक्ष हुन् ।

शिवद्वारकै हर्कबहादुर पुनले मलेशियाबाट फर्किएर होमस्टे चलाएको तीन वर्ष भयो । उनको दिन घरमा आउने पाहुनाको स्वागत सत्कारमै बित्छ । “खाली भएँ भन्नु पर्दैन, पाहुना आइराख्नुहुन्छ, उहाँहरूकै सेवामा समय वितेको छ” उनी भन्छन्, “यो त बडो गज्जबको पेशा रहेछ, म मात्र होइन, गाउँका धेरै मानिसले काम पाएका छन् ।”

होमस्टेमा तरकारी, माछा, मासु पनि खपत हुन्छ । त्यसैले गाउँमा तरकारी खेती, बाख्रा, कुखुरा र माछापालन बढेको उनले बताए । शिवद्वारका ३२ मध्ये २२ घरले माछा पालेका छन् ।

तेजनारायण पुन मगर (२८) ले बहराइनमा पाँच वर्ष बिताए । त्यहाँको आकर्षक कमाइ छाडेर अहिले उनी पनि होमस्टेमा लागेका छन् । “घरपरिवारसँग रमाएर गाउँमै स्वरोजगार हुनु जत्ति खुशीको कुरा मेरा लागि अरू छैन”, उनी भन्छन् ।

आकर्षक कमाइ

अयोध्यापुरीको हरिद्वार गाउँदेखि एक किलोमिटर उत्तरबाट चितवन राष्ट्रिय निकुञ्ज शुरू हुन्छ । निकुञ्जका जङ्गली जनावरले खाइदिंदा स्थानीयले अन्न भित्र्याउनै पाउँदैनथे । त्यही कारण अधिकांश युवा वैदेशिक रोजगारीमा जान्थे । अहिले भने होमस्टेले गाउँमै रोजगारी सिर्जना गरेको छ ।

स्थानीय तुलबहादुर पुन भन्छन्, “माछा पोखरी खनेपछि जङ्गली जनावरले नष्ट गर्ने डर छैन, माछा बिक्री गर्न बाहिर पनि जानुपर्दैन ।” उनका अनुसार एक बिघामा बनाइएको माछापोखरीबाट वार्षिक तीन लाख आम्दानी हुन्छ । होमस्टेले स्थानीयको जीवनस्तरमा पनि सुधार आएको माडी नपा–८ का वडाध्यक्ष कृष्णराज अधिकारी बताउँछन् । होमस्टेमा पाहुनाको कमी नहुने उनको भनाइ छ ।

यहाँ अग्रिम बुकिङ नगर्नेले बास नै पाउँदैनन् । असोजदेखि जेठसम्म आन्तरिक पर्यटकको घुइँचो हुन्छ । होमस्टेका अध्यक्ष मोहनबहादुर पुन मगरका अनुसार असोजपछिको बुकिङ साउनमै भइसकेको छ । “कतिपय खबर नै नगरी आउनुहुन्छ, हाम्रो क्षमताले नभ्याएपछि धेरै पटक पाहुना फर्काउनु परेको छ” होमस्टे सञ्चालक ओमबहादुर पुनमगर भन्छन्, “त्यस्ता पाहुनालाई खाना यहीं खुवाएर सुत्न होटलमा पठाएका छौं, पाहुना फर्काउनु पर्दा नरमाइलो लाग्छ ।”

अयोध्यापुरीको हरिद्वारस्थित माछापोखरी ।

राम्रो कमाइ हुने भएरै वैदेशिक रोजगारमा भएकाहरू गाउँ फर्केर होमस्टेमा लाग्न थालेको अध्यक्ष पुन मगर बताउँछन् । उनका अनुसार एक घरले मासिक कम्तीमा ३५ हजार आम्दानी गरिरहेका छन् ।

अयोध्यापुरी होमस्टेमा १३ वटा घरमा ७६ बेड क्षमता छ । हरेक घरमा तातोपानीको सुविधा छ । स्थानीयले आफ्नै किसिमले निर्माण शुरू गरेको होमस्टेमा अहिले प्रदेश–३ सरकार, माडी नगरपालिका, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपाल, अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समिति लगायतले सहयोग गरेका छन् ।

विकासले लियो गति

होमस्टे सञ्चालनअघि गाउँमा बिजुलीबत्ती थिएन । बर्खामा हिलाम्ये र हिउँदमा धुलाम्ये हुने सडक अहिले ग्राभेल भएका छन् । साँझ परेपछि सडकमा जडान भएका सोलारबत्तीको उज्जालोले गाउँ नै झिलीमिली हुन्छ । स्थानीय ओमबहादुर पुन मगर भन्छन् “होमस्टे शुरू भएपछि गाउँमा विकास आएको छ, बच्चाहरू राम्रो स्कूलमा पढ्न पाएका छन्, हामी पनि आफ्ना कुरा राख्न सक्ने भएका छौं ।”

राष्ट्रिय निकुञ्जमा स्थानीयको निर्भरता हटेको छ । स्थानीय सोममाया पुन भन्छिन्, “होमस्टे सञ्चालनअघि सबैका घरमा गाईभैंसी थिए, घाँसका लागि जङ्गल जाँदा सधैं आर्मीसँग झगडा पर्थ्याे, अहिले धेरैले गाईभैंसी पाल्न छोडे, होमस्टेले भुलाएको छ ।”

होमस्टेको अर्थ, घरका परिवारझैं केही रकम तिरेर बस्नु र खानु हो । उहिले घरधनीले पाहुनासँग केही रकम लिएर दाउरा, नुन, तेल दिने गर्दथे । पाहुना आफैं पकाएर खान्थे । त्यसको उन्नत स्वरुप नै होमस्टे भएको नेपाल होमस्टे एशोसिएसनका केन्द्रीय महासचिव प्रेमशङ्कर मर्दनियाको भनाइ छ ।

स्थानीय स्रोत साधनको परिचालन गरी त्यहाँको खानपान, संस्कृति, चालचलन, रीतिरिवाज अनुसार पाहुनाको सत्कार गर्नु नै होमस्टे भएको उनी बताउँछन् । होमस्टेकै कारण गाउँमा विकासका काम हुन थालेको उनले बताए ।

ब्युँतियो संस्कृति

म्याग्दी शिखका डम्बरबहादुर पुन भेडा चराउन लेक गएका थिए । उनी तीन महीनासम्म पनि फर्केनन् । यो सन् १९३० तिरको घटना हो । गाउँलेले खोजी गर्दा पत्ता लाग्यो कि उनलाई गोठबाटै गल्लावालाले भारतीय सेनामा भर्ती गर्न लगेछन् । दोस्रो विश्वयुद्धअघि नेपाली युवालाई भारतीय सेनामा भर्ती गर्न लगिन्थ्यो ।

डम्बरबहादुर पुन सेनामा भर्ती भएपछि हरेक वर्ष डेढ महीनाको छुट्टीमा घर आउँथे । रक्सौलबाट पर्साको ठोरी हुँदै सौराहाको बाटो हिंडेर म्याग्दी आउजाउ गर्नै एक महीना लाग्थ्यो । घरबिदा बाटोमै सकिन थालेपछि डम्बरबहादुर ठोरीबाट तीन घण्टा मात्र टाढाको अयोध्यापुरी बसाइँ सरे ।

भारतीय सेनामा भर्ती भएका म्याग्दी र पर्वततिरका सनबहादुर पुन, विराज पुन खनराम पुन, लालबहादुर पुन, बिर्खबहादुर पुन र बलबहादुर पुन पनि माडी बसाइँ सरे ।

उनीहरूको परिवार फैलिंदै गयो । म्याग्दी र पर्वतसँगको सम्पर्क भने टुट्यो । स्थानीय खिलबहादुर पुनका अनुसार म्याग्दी आउजाउ गर्न छोडेपछि अर्को पुस्ताले त्यताका मगरहरूको संस्कृति नै भुले । “हामीलाई हाम्रो संस्कृति थाहा नै थिएन, देखेका थिएनौं । मारुनी, सोरठी भन्ने सुनेका मात्र थियौं” खिलबहादुर पुन भन्छन्, “होमस्टे शुरू भएपछि बल्ल मगर संस्कृतिमा चासो भयो ।”

माडीका तेजनारायण पुनका अनुसार भरतपुर महानगरपालिका–१६ सूर्यनगरका धनबहादुर पुन मगर सहितका १० जनाको समूह ल्याएर उनीहरूले मारुनी र सोरठी सिके । अहिले होमस्टे जाने पाहुनालाई सोरठी र मारुनी नाच देखाएर मनोरञ्जन प्रदान गर्छन् । सांस्कृतिक कार्यक्रम देखाउनका लागि छुट्टै ‘कल्चरल होम’ बनाएका छन् ।

स्याङ्जामा २०५४ सालबाट शुरू गरिएको सिरुबारी होमस्टेलाई नेपालकै पहिलो ‘होमस्टे’ मानिन्छ । पर्यटन विभागका अनुसार नेपालभर अहिले १०६ वटा होमस्टे दर्ता छन् । संघीय संरचनामा होमस्टे दर्ता प्रदेश मातहत हुने हुँदा यो संख्या अझ बढी हुनसक्ने विभागका प्रवक्ता सुरेन्द्र थापा बताउँछन् ।

 

प्रतिकृया दिनुहोस