रिपोर्टसोमबार, २० आश्विन , २०७६

‘जुत्ता हातमा बोकेर ससुराली’ (भिडियाे सहित उबेलाको दशैं)

(सत्यमोहन, हिमालयशम्शेर, गौरीशंकरलाल दास, भैरव–सुशीला रिसाल र रमा शर्माको उबेलाको दशैं)

शुष्मा बराली


दशैं आयो
खाउँला पिउँला
कहाँ पाउँला ?
चोरी ल्याउँला
धत् पापी
म त छुट्टै बसौंला

उबेला साना नानीहरू औंला भाँच्दै भाका हाल्दा सत्यमोहन जोशीलाई दशैं आएको आभास हुन्थ्यो ।

दशैं, शिरको टोपीदेखि खुट्टाको जुत्तासम्म फेर्ने अवसर थियो । दशैंलाई भनेर तिब्बतको उत्तरी भेगबाट व्यापारीहरू भेडाका बथान लिएर आइपुग्थे ।

“उबेलामा च्यांग्राको मूल्य चार रुपैयाँ र भेडाको मूल्य पाँच रुपैयाँ थियो, आफ्ना भेडाका बथान अरुकोमा मिसिन्छ भनेर रङ लगाउँथे”, सत्यमोहन सम्झन्छन् ।

परिवारदेखि टाढा बसेका आफन्तसँग समय बिताउन लामो बिदा दिने चलन थियो । कोजाग्रत पूर्णिमाको दिन सरकारले नै जुवा खेल्न छुट दिन्थ्यो । त्यसलाई ‘जुवा फुकाएको’ भनिन्थ्यो । “बाजा बजाउँदै सरकारको तर्फबाट जुवा फुकुवा भयो भन्ने आदेशपछि असन लगायत ठाउँठाउँमा पाल टाँगेर लंगुर बुर्जा, तास (सतरञ्ज), कौडा खेलिन्थ्यो”, उनी भन्छन् ।

राजाले नेपालीका लागि मात्र नभएर बर्मा, तिब्बत, दार्जिलिङ, आसामलगायत ठाउँका नेपालीे मूलका सबैलाई शुभकामना दिने चलन थियो । यसैबाट शुभकामना आदान प्रदान गर्ने चलन चलेको उनको भनाइ छ ।

 ज्येष्ठ नागरिक अभियानकर्ता डा. गौरीशंकर लाल दास (९६) दशैं मनाउने तरिका तराई र पहाडमा फरक रहेको बताउँछन् । उनी सिरहामा जन्मिएका हुन् । उनी सानो हुँदा गाउँको मन्दिरमा मेला लाग्थ्यो ।

बनारसबाट राग बजाउन सहनाई वादक बिस्मिल्ला खान लगायत गायकहरू आएर महफिल जमाउँथे । दशैंमा नटुवा (पुरुषले महिलाको पोशाक लगाएर नाच्ने एक प्रकारको नृत्य) नाच्ने चलन थियो । उक्त नाच मन पर्ने भएकाले कहिले दशैं आउला जस्तो हुने उनी बताउँछन् । दशैंमा मैथली भाषाका गीत–संगीत र सिनेमा देखाउने चलन थियो । त्यतिबेला हेरेको ‘अछुत कन्या’ सिनेमा उनलाई अझै याद छ ।

 

पहाडमा जस्तो ठूलाबाट टीका थापेर आशीर्वाद लिने प्रचलन तराईमा थिएन । पुरेतहरूले घर–घरमा गएर टीका र जमरा लगाइदिन्थे। अहिले तराईमा पनि आफूभन्दा ठूलाको हातबाट टीका, जमरा र आशीर्वाद थाप्ने चलन सुरु भएको उनी बताउँछन् ।

“मेरो घरमा पनि ५ वर्ष मात्र भयो सबै आफन्त जम्मा भएर अग्रजहरूको हातबाट टीका थाप्ने चलन शुरु भएको”, उनी भन्छन् ।

 उनको परिवार २००९ सालमा काठमाडौं आएको हो । तराईमा सामूहिक रुपमा दुर्गा भवानीको पूजा गर्ने चलन थियो । तर, काठमाडौंमा व्यक्तिगत रुपमा मनाएको महसुस हुन्छ, उनलाई ।

भारतीय दूतावासले काठमाडौंमा पहिलो पटक २०२४/२५ सालतिर सामूहिक रुपमा दशैं मनाउने चलन शुरु गरेको थियो । ‘भारतीय दूतावासमा दुर्गा भवानीको मूर्ति स्थापना गरेर सबैलाई पूजा गर्ने अवसर जुराएको हो, त्यो चलन अहिलेसम्म निरन्तर छ”, उनी भन्छन् ।

वरिष्ठ पत्रकार भैरव रिसाल (९२) सानो छँदा दशैं भन्ने बित्तिकै मासु र चिउरा खाने उत्सव सम्झन्थे । “आमाहरूले चिउरा कुटेर भुस पनि ननिफनेर सानो घ्याम्पीमा राख्नुहुन्थ्यो, अघिपछि चिउरा खान पाइँदैन थियो, मनमोहक बासना सुंघेर चित्त बुझ्ने गरी चिउरा खान फूलपातीकै दिन कुरेर बस्नुपथ्र्यो”, उनी भन्छन् । प्रायः खसीको भुटन र रक्तीसँग चिउरा खाने चलन थियो । धेरै खाए पेट दुख्छ भनेर बाआमाले सम्झाउनुपथ्र्यो ।

उतिबेला रोटेपिङ, जाँतेपिङ त्यति हुँदैन थियो । प्रायः लिंगेपिङ हाल्ने चलन रहेको उनी सम्झन्छन् । “गाउँका जवानहरू मिलेर अग्लो बाँस काट्ने, बाबियो बाट्ने, गरालो र पिर्का बनाएर पिङ हालिन्थ्यो, चंगा उडाउने, हुतुतु, कबड्डी, डन्डिबियो, खोप्पी, भकुन्डो खेल्ने चलन थियो”, उनी भन्छन् । टीका लगाएर तामाको ५ पैसाको ढ्याक दक्षिणा दिइन्थ्यो । दक्षिणा पाएको पैसाले पुष्टकारी किनेर खाएको उनी सम्झन्छन् ।

उनलाई दशैंमा मामाघर जान मन पथ्र्यो । मामाघरमा सबैले माया गर्ने हुँदा अनुशासनमा बस्नु पर्दैन थियो । दक्षिणा पनि धेरै आउँथ्यो । “तर, बालीघरेहरूले लुगा सिलाउन नभ्याएर धेरैजना मामाघर जान पाउँदैन थिए, नयाँ लुगा वर्षमा एक पटक दशैंमा नै सिलाउने चलन थियो”, उनी भन्छन् ।

उनका अनुसार पहिला दशैंमा गरिने खर्चले मान्छेहरूको आर्थिक हैसियत देखिन्थ्यो । उनको घरमा पनि बुवाले धेरै अघिदेखि दशैं मनाउन खर्चको जोहो गर्थे । महिलाहरूलाई भने दशैं सास्ती नै हुन्थ्यो । उनका अनुसार घरका सबै काम महिलाहरूले नै गर्नुपथ्र्यो ।

घरबाहिर पनि त्यही बेला तोरीको साग हुन्थ्यो, खेतमा धान लटरम्मै झुलेको हुन्थ्यो । सबै काम महिलाकै जिम्मा हुन्थ्यो ।

उनलाई बिहेपछि दशैंमा ससुराली गएको याद पनि ताजा छ । ससुराली जाँदा अनिवार्य नयाँ लुगा र जुत्ता लगाउनु पथ्र्यो । जुत्ता सधैं लगाउने चलन थिएन, दशैंमा ससुराली जाँदा मात्र लगाइन्थ्यो । “सवारी साधन थिएनन्, जुत्ता लगाउने बानी नभएकाले ससुराली पुग्दा खुट्टामा फोका उठेर घाउ नै हुन्थ्यो, त्यसैले बाटोभरि जुत्ता हातमा बोकी ससुराली पुग्ने बेला लगाउँथ्यौँ,” उनी भन्छन् ।

नेपाल राष्ट्र ब्यांकका प्रथम गर्भनर हिमालयशमशेर जबरा (९२) सानो छँदा दशैंमा डमरु बजाएको याद छ । हरेक दिन बिहान गणेश, देवी स्तोत्र पाठ गर्ने, दुर्गा कवच जप्नु पथ्र्यो । नवरात्रिमा प्रत्येक दिन सबेरै ५ बजे वागमतीको चिसो पानीमा नुहाएर संकटा, महाकाल, शोभा भगवती दर्शन गर्न जान्थे । त्यसपछि साथीहरू जम्मा भएर ‘टुट एन्ड ज्याक’ भन्ने तासको खेल खेल्थे ।

 

नवमीको दिन कोतमा दुर्गा पूजा हुन्थ्यो । “राणाजी भएकाले अनिवार्य जानै पथ्र्यो, त्यहाँ आठ वर्षदेखि बाह्र वर्षसम्मका राणाहरूले रांगालाई एकै मारमा छिनाल्नु पथ्र्यो, छिनाल्न नसके लाजको कुरा हुन्थ्यो”, उनी भन्छन् ।

टीकाको दिन आफन्तकोमा र मामाघर गएर जम्मा गर्ने दक्षिणाले पनि निकै उत्साही बनाउँथ्यो । मामाघरमा टीका थापेपछि ५०/६० रुपैयाँसम्म जम्मा हुन्थ्यो । राणा परिवारले पालैपालो राजाकोमा टीका थाप्न जानुपथ्र्यो । केटाकेटीहरू दक्षिणा बटुलेर तास खेल्थे । बचेको पैसा खुत्रुकेमा जम्मा गर्ने गरेको उनी सम्झिन्छन् ।

दशैंमा केटाकेटीको मन पर्ने खानेकुरा जुल्फी, स्वारी, बर्फी र बम्बैसन (एक प्रकारको ड्राइफुड राखिएको मिठाई) हुन्थ्यो । त्यतिवेला फेन्सी समान पाउने पसल थिएनन् ।

“दशैंमा दौरा, सुरुवाल लगाउनु सामान्य थियो, तर बेलायती जुत्ता र कोटको विभिन्न डिजाइन लगाउने चलन थियो”, उनी भन्छन् । कस्मिराको कोटको पिसको निकै चल्ती थियो । कोजाग्रतको दिन भने जुवा खेल्ने चलन थियो । “आफूभन्दा ठूलाले जुवामा बाजी जितेपछि खुसी भएर बकस दिन्थे, त्यसैले हामी जुवा खेलेको हेरेर बस्थ्यौँ,” उनी भन्छन् ।

साहित्यकार रमा शर्मा (७६) घटनास्थापनापछि शुरु हुने लामो बिदा सम्झिन्छिन् । “स्कूल जान नपर्ने घरमै खायो, खेल्यो । दशैं यसै रमाइलो लाग्थ्यो”, उनी भन्छिन् ।

अष्ठमी र नवमीमा कन्या पूजा गरिन्थ्यो । उनी एकपटक सरकारले हनुमानढोकामा गर्ने कन्यापूजामा समेत गएकी थिइन् । पूजापछि उपहारस्वरुप चढाइने लुगा, रिबन, धागो लगायत शृङ्गारका सामग्री, खानेकुराका परिकार, पैसा चढाउने चलन थियो ।

अष्टमीको दिन बोकाको बलि दिएपछि बुबाले फोक्सो, मुटु, कलेजो चिनाएको उनलाई अझै याद छ । सो दिन आमाले पकाउने ‘लेदो कबाब’ उनलाई निकै मिठो लाग्थ्यो । दशैंको मुख्य खानेकुरा भुटन, चिउरा र कवाब हुन्थ्यो ।

दशैंका नयाँ कपडा बुवाले नै ल्याइदिनुहुन्थ्यो । घाँघर र पाइजामा सिलाएर लाउने चलन भएको उनी बताउँछिन् । जुत्ता भने रोज्न पाइन्थ्यो । “त्यो बेला जुत्ता पसल धेरै हुँदैन थियो, ‘टेनी सु’ भन्ने जुत्ता निकै चलेको थियो, रंगीचंगी जुत्ता किन्न पाउँदा फुर्किएर हिँड्थ्यौँ”, उनी भन्छिन् । उनलाई टीका थापेपछि दक्षिणा लिँदा खूब रमाइलो लाग्थ्यो ।

सुशीला रिसाल (७७) लाई सानो छँदा दशैंको रमाइलो भन्नु नै पिङ खेल्नु थियो । “म सानोमा पिङ भनेपछि मरिहत्ते गर्ने, मिठो खाने, राम्रो लगाउने भन्दा पनि पिङ खेल्न भनेसि हुरुक्कै, एक दिन त पिङ खेल्दाखेल्दै निकै अबेर गरेंछु, बा खोज्दै आएर घर लैजानु भयो”, उनी भन्छिन् ।

 

 

त्यतिवेला माटाको घर हुन्थ्यो । कमेरो, रातो माटो र पहेँलो माटो मिलाएर घर रंग्याउनुपथ्र्यो । आँगन लिपपोत गर्नुपथ्र्यो । दशैंमा नयाँ घाँघर, जुत्ता, कपाल बाट्ने धागो पाउने हुँदा उत्साह हुने उनी बताउँछिन् ।

त्यसो त उनका बुबा जुद्धशमशेरका पूजाकोठे भएकाले मिठो खान र राम्रो लाउन चाड नै कुर्न पर्दैन थियो । अहिलेको र उहिलेको दशैंमा आकाश र जमीनको फरक भएको उनी बताउँछिन् । तर, पारिवारिक भेटघाटको चलन भने कायमै रहेको उनको भनाइ छ । यातायातको सुविधाले यस्ता भेटघाटलाई सहज बनाएको छ ।

प्रतिकृया दिनुहोस