खेलकुदआइतबार, १९ आश्विन , २०७६

खेलाडीलाई दशैंभन्दा देश प्यारो

नुनुता राई

दक्षिण एसियाली खेलकुद प्रतियोगिताको तयारी, विश्वकप फुटबलको छनोट खेल र ओमानमा जारी टी–२० क्रिकेट सिरिजका कारण अधिकांश खेलाडीले यसपटकको दशैं मनाउने फूर्सद पाएका छैनन् ।

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) १ डिसेम्बरबाट नेपालमै आयोजना हुँदैछ । सागको तयारीका क्रममा धेरै खेलाडी क्लोज क्याम्प छन् ।

नेपाली क्रिकेट टीम ओमानमा जारी टी–२० सिरिज खेलिरहेको छ भने नेपाली फुटबल टीम यस पटकको दशैंमा विश्वकप छनोट खेल्न अष्ट्रेलियामा हुनेछ ।

पारिवारिक जमघट सहित धुमधाम देशमा दशैं मनाइरहँदा खेलाडीको दशैं भने देशका लागि खेल्नुमा केन्द्रीत छ ।

संगीना बैद्य, प्रशिक्षक तेक्वान्दो


सागको तयारीमा जुटेका छौं । यत्तिबेला क्लोज क्याम्पमा छौं । यसपटक धेरै दिन विदा छैन । फुलपातीदेखि चार दिन बिदा हुन्छ । गाउँको घर जान समय नै छैन । यसपटक काठमाडौंमा नै दशैं मनाउने योजना छ ।

मलाई दशैंमा चंगा उडाउन एक दम रमाइलो लाग्छ । काठमाडौंमा मान्यजनबाट टीका थाप्ने र चंगा उडाएर दशैं रमाइलो बनाउने योजनामा छु ।

नवयुग श्रेष्ठ, फुटबलर


यो दशैंमा अष्ट्रेलियामा हुन्छु । २०२२ को विश्वकप छनोटका लागि हामी अष्ट्रेलिया जाँदैछौं । १० अक्टोबर अर्थात् टीकाको पर्सिपल्ट हाम्रो गेम छ । टीममा नै रमाइलो गर्ने शुभकामना आदानप्रदान गर्ने हो ।

मेरो लागि पहिलोपल्ट हो, दशैं छुटेको । गएको वर्षहरुमा त घर जाने रमाइलो गर्ने हुन्थ्यो । टीका लगाउने आफन्त तथा साथीभाईसँग भेटघाट हुन्थ्यो । दशैंको अवसर पारेर हुने विभिन्न कार्यक्रममा सहभागी हुने लगायतको काम हुन्थ्यो । तिहार चाहिं दुई वर्ष भयो, छुटेको ।

मिरा राई, अल्ट्रा म्याराथन धावक

यसपटकको म विभिन्न कार्यक्रममा सहभागी हुँदा नै बित्ने भएको छ । म्याराथन सम्बन्धी विभिन्न कार्यक्रममा सहभागी हुन यूरोप तथा एसियाको यात्रा छ ।

दशैं सकेपछि मात्रै सायद म नेपाल फर्कन्छु । नेपालमा नभएपनि यो पटकको दशैं मेरो फरक अर्थमा रमाइलो नै हुन्छ भन्ने लागेको छ ।

त्यसपछि नेपालमा हुने ‘गोल्डेन ट्रेल वल्र्ड सिरिज फाइनल’को २५ अक्टोबर नेपालमा हुने भएको छ । अन्नपुर्ण ट्रेलमा हुने यो म्याराथनको तयारीमा लाग्छु ।

रेश्मा भण्डारी, भलिबल खेलाडी

सागको तयारीको लागि अहिले हामी क्लोज क्याम्पमा छौं । दशैंमा हाम्रो सरकारी विदा पाँच दिनको मात्रै छ । विदा हुने भएकाले राजधानीबाट टाढाका साथीहरुसँग सँगै दशैं मनाउने योजना छ ।

घरमा पनि आमाबुवा र म मात्रै छौं । दाइ र बहिनी अष्ट्रेलियामा हुनुहुन्छ । त्यसले सबैजना सँगै हुँदाको जस्तो रमाइलो पनि हुन्न ।

घर र आफन्तकहाँ टीका लगाउन जाने भन्दा बाहेक केही पनि हुँदैन । साथीभाईहरु पनि धेरै जस्तो विदेशमा नै छन् । पहिला सबै हुँदा मिलेर रमाइलोका लागि तास खेल्थ्यौं ।

एञ्जिला तुम्बापो, गोलकिपर, राष्ट्रिय फुटबल टिम

अहिले हामी पोखरामा छौं । सागको तयारीका लागि हामी सेप्टेम्बरमा नै यहाँ आएका हौं ।

यस पटकको दशैं काठमाडौं मनाउने सम्भावना बढी छ । विदा पाँच दिनको मात्रै भएकाले घरमा धेरै बस्न पाइन्न । घर गएपछि छिटो आउनै मन लाग्दैन भनेर नजाने विचारमा छु ।

घरमा राम्रोसँग दशैं मनाउन नपाएको सशस्त्र प्रहरीमा जागिर शुरु गरेबाटै हो ।

रुबिना क्षेत्री, क्रिकेट खेलाडी

अहिले हामी क्लोज क्याम्पमा छौं । सागको तयारी एकदम जोडले चलिरहेको छ । हाम्रो विदा थोरै छ । ६ दिनको विदा भएकाले घर नजाने योजनामा थिएँ । तर ममीले आउ भनेको भनै हुनुहुन्छ । त्यसैले केही दिनको लागि मात्रै भएपनि घर गएर आउँछु ।

मलाई यो दशैंको खास्सै उत्साह छैन । खेलको कारण दशैं छुटिरहन्छ । मेरो लागि दशैं भन्दा पनि प्रतियोगिता नै महत्वपूर्ण हो ।

 

प्रतिकृया दिनुहोस