ब्लग विहीबार, असोज १६, २०७६

हाम्रो ‘सौम्य शक्ति’

वसन्त महर्जन

विश्वमञ्चमा आफ्नो भूराजनीतिक हैसियत बढाउने हो भने बुद्ध जन्मभूमि र जीवित बौद्ध परम्परालाई नेपालले ‘सफ्ट पावर’ (सौम्य शक्ति) का रूपमा प्रयोग गर्न सक्छ।

वसन्त महर्जन

विदेश र कतिपय अवस्थामा स्वदेशमा समेत नेपालको चिनारी दिनुपर्दा ‘गौतम बुद्ध (इ.पू. ५६३–४८३) जन्मेको र सगरमाथाको देश’ प्रायशः नछुट्ने सत्य हुन् । तर, रोचक चाहिं के छ भने, बुद्ध जन्मभूमि लुम्बिनी नेपालमा पर्दछ भन्ने तथ्य सन् १८९६ को डिसेम्बरमा मात्रै थाहा भएको हो । सगरमाथा (८,८४८ मिटर) नै विश्वकै सर्वोच्च शिखर हो भन्ने पुष्टि पनि सन् १८५२ पछि मात्र भएको हो ।

के त्यसो भए यी दुई उदाहरण सतहमा आउनुअघिसम्म यो नेपाल राज्यको कुनै विश्वव्यापी चिनारी थिएन त ?

दुर्लभ नेपाल

इसा पूर्व छैटौं शताब्दीका गौतम बुद्धको गृहनगर कपिलवस्तु र मामाघर (ससुराली पनि) देवदह दुई भिन्नै राज्य थिए । दुवै राज्यमा बौद्ध धर्म–दर्शनको प्रभाव थियो । वर्तमान राजनीतिक भूगोलमा यी दुवै राज्य नेपालमै पर्दछन् । कपिलवस्तुबाट करीब ३०० किलोमिटर पूर्वको तत्कालीन नेपाल उपत्यकामा बुद्ध आएको विवरण नपाइए पनि यसबारे उनी जानकार थिए भन्ने कुरा बौद्ध ग्रन्थ ‘मूलसर्वास्तिवादविनयसूत्र’ बाट थाहा हुन्छ । यसको अर्थ उपत्यकामा बौद्ध धर्मको प्रवेश बुद्धकै वेलामा भइसकेको थियो । 

बुद्धको अर्को विचरण भूमि वज्जी राज्यको राजधानी वैशाली पनि वर्तमान नेपालको सीमा क्षेत्रबाट नजिकै पर्ने भएकाले बुद्ध, धर्म र संघको शरणमा गइसकेकाहरूको आउजाउ वर्तमान नेपालको सरहदभित्र हुनु आश्चर्य होइन । प्राचीन वज्जी राज्यको कतिपय भूमि नेपालमै पर्ने सम्भावना पनि उत्तिकै छ, तर, यसबारे अध्ययनको कमी देखिन्छ ।

महाजनपद कोशलका राजा विडूडभको आक्रमणबाट भाग्ने क्रममा कतिपय कपिलवस्तुवासी वर्तमान काठमाडौं उपत्यका पनि छिरेका थिए । काठमाडौं पसेका कपिलवस्तुका शाक्यहरूले अहिले पनि आफ्नो धर्म, संस्कृति र परम्परा कायमै राखेका छन् । आफ्नो विगतलाई कपिलवस्तुसँग नै जोड्छन् । 

इतिहास स्पष्ट छ– राजनीतिक तथा सामाजिक दृष्टिले काठमाडौं उपत्यकाको इतिहास अक्षुण्ण छ । यसको अर्थ बुद्धकै समयदेखि निरन्तर रूपमा बौद्ध धर्म अक्षुण्ण रूपमा प्रवाहित हुँदै आएको भूक्षेत्र वा समाज काठमाडौं उपत्यका मात्रै हो भन्न सकिन्छ । यसको प्रतिफल, इतिहासको कुनै कालखण्डमा अन्यत्र विकास भएर हराइसकेको, स्थानीय तहमै विकसित कतिपय कुरा नेपाली बौद्ध समाजमा अहिले पनि देख्न सकिन्छ, जसको सूक्ष्म अध्ययन हुनै बाँकी छ । 

बौद्ध धर्मको इतिहासमा यो दुर्लभ र गौरवपूर्व कुरा हो । त्यसैले नेपाल, खासगरी काठमाडौं उपत्यका विश्वकै लागि बौद्ध केन्द्रको जीवित सम्पदा हो, बौद्धमार्गीका लागि गज्जबको उपहार ।

बौद्ध सङ्गमस्थल

विश्वमा बौद्ध धर्म विस्तार विभिन्न कालखण्डमा विभिन्न माध्यमबाट भएको पाइन्छ । तिब्बतमाथि चीनको प्रभुत्वका क्रममा त्यहाँका शासक एवं धर्मगुरु दलाई लामाले निर्वासित हुनु राजनीतिक मामिला थियो, तर यही घटना बौद्ध धर्म विस्तारको एउटा कारण बन्यो ।

कतिपय पाश्चात्य समाजका लागि बौद्ध धर्म भन्नु नै तिब्बतमा प्रचलित त्यही बौद्ध धर्म संस्कृतिको पर्याय जस्तै भएको छ । तर, तिब्बतमा बौद्ध धर्मको विकास र विस्तारमा नेपाली बौद्ध विद्वानहरूकै ठूलो हात रहेकोमा स्वयं तिब्बती बौद्ध धर्मगुरुहरूको पनि विमति छैन । उनीहरू बरोबर यसका लागि कृतज्ञता ज्ञापन गर्छन् । 

तिब्बतमा अत्यन्तै महत्व दिइने र आदर गरिने आचार्य पद्मसंभव लगायतका सिद्ध एवं विद्वानहरू भलै भारतबाट गएका हुन् तर पृष्ठभूमि तयार पारिदिने चाहिं सातौं शताब्दीमा राजकुमारी भृकुटीसँगै तिब्बत गएका शीलमञ्जु लगायत नेपाली बौद्ध विद्वानहरूबाटै भएको थियो ।

महाजनपद कोशलका राजा विडूडभको आक्रमणबाट भाग्ने क्रममा कतिपय कपिलवस्तुवासी वर्तमान काठमाडौं उपत्यका पनि छिरेका थिए । काठमाडौं पसेका कपिलवस्तुका शाक्यहरूले अहिले पनि आफ्नो धर्म, संस्कृति र परम्परा कायमै राखेका छन् । आफ्नो विगतलाई कपिलवस्तुसँग नै जोड्छन् ।

राजा श्रङ चङ् गम्पोसँग भृकुटीको विवाहपश्चात् मात्र तिब्बतमा बौद्ध धर्मको प्रवेश भएको भनिए पनि जनस्तरमा यो पहिल्यै पुगिसकेको देखिन्छ । ल्हासा उत्तर–पूर्वको अम्दो प्रान्तमा छैटौं शताब्दीमा नै बौद्ध धर्मको अभ्यास हुन थालिसकेको तथ्यसँग नेपालको के कस्तो साइनो, सम्बन्ध छ, पर्गेल्न बाँकी नै छ ।

तिब्बती विद्यार्थी धेरै पछिसम्म अध्ययनका लागि नेपाल आउने र यहाँका विद्वानहरूलाई गुरु थापना गरेर वर्षौं साधना गरेको त प्रशस्त भेटिन्छ । काग्र्यूपा सम्प्रदायका संस्थापक मार्पा लोचावा (इ.सं. १०१२–१०९७) ले शुरूमा नेपाली विद्वानहरूसँगै काठमाडौंमा बौद्ध धर्म सिकेका थिए । उनका नेपाली गुरुहरूमा मुख्यतः फानथिनपा दाजुभाइ, मैत्रीपा (अद्वयवज्र, कपिलवस्तु निवासी), पेनदेनपा थिए ।

नेपाली गुरुहरूकै सल्लाह तथा सिफारिशमा भारत जानेहरूमा नारोपा, अकरसिद्धि, ज्ञानगर्भ, शान्तिभद्र (ककुरिपा) श्रीभद्र थिए । उनीबाटै कार्ग्यूपा सम्प्रदायको स्थापना भयो ।

तिब्बती बौद्ध धर्मको तुलनात्मक रूपमा सानो तर प्रभावशाली सम्प्रदाय हो, सक्यपा । यो सम्प्रदायका कतिपय गुरुहरू हाल प्राचीन लो राज्य (वर्तमान मुस्ताङ) मा पाइन्छन् । सक्य सम्प्रदाय बहुल मुस्ताङ क्षेत्र एक समय सक्यपाहरूकै केन्द्र पनि बनेको देखिन्छ ।

वज्रयान बौद्ध धर्ममा तिब्बतले जतिसुकै विकास गरे पनि, फैलाए पनि तिब्बती धर्मगुरु वा विद्वानहरूको काठमाडौं उपत्यकाप्रति विशेष सम्मान छ । उनीहरू काठमाडौंमा आफूहरूले अझसम्म प्राप्त गर्न नसकेको ज्ञान वा रहस्य बाँकी रहेको बताउँछन् । यही कारण पनि तिब्बतीहरू बरोबर काठमाडौं, पाटन र भक्तपुरका कतिपय विहारलाई तीर्थस्थल मानेर आइरहेकै हुन्छन् ।

हिमाली बौद्ध संस्कृति

बौद्ध धर्मसँग नेपालको साइनो बुद्ध जन्मस्थल लुम्बिनी मात्रै होइन । बुद्धको ऐतिहासिकताको साक्षी बक्ने अरू थुप्रै पुरातात्विक अवशेषहरू पनि छन्, कतिपयको उत्खनन् हुनै बाँकी छ । वीरगञ्जको भिस्वा स्तूप संभवतः बुद्धको जीवनीसँग नै सम्बन्धित हुनुपर्दछ । रामग्राम स्तूपमा त अस्तु निदान (राखिएको) गरिएको भन्ने तर्क नै गरिन्छ । तर, अध्ययन हुनै सकेको छैन ।

उपत्यकाको दक्षिणी क्षेत्रले बौद्ध पुरातात्विक अवशेष बोकिरहँदा उत्तरी भेकको पूरै हिमाली क्षेत्र बौद्ध धर्म र संस्कृतिको शिर बनेका छन् । हाम्रा हिमाली क्षेत्र बौद्ध धर्म परम्पराका जीवन्त सङ्ग्रहालय हो । र, यो तिब्बतमा विकास भएको बौद्ध धर्मकै विस्तार हो ।

तिब्बत विश्वका सबै पर्यटकका लागि सुलभ छैन । तर तिब्बतमा पाइने धर्म, संस्कृति र परम्परा नेपालको हाम्रो हिमाली क्षेत्रमा मजाले महसूस गर्न सकिन्छ । धर्म, संस्कृति र परम्परा मात्रै होइन, चकित पार्ने भौगोलिक भूदृश्य र सुरम्य प्राकृतिक वातावरणको संयोगले यो क्षेत्रलाई अद्भुत तुल्याएको छ ।

बुद्ध र बौद्ध धर्म–दर्शनका सवालमा नेपाल ऐतिहासिक मात्र होइन, वर्तमानको पनि महत्वपूर्ण अंशियार हो । तर प्रचुर संभावना भएर पनि हामीले बौद्ध धर्मको यो शक्तिलाई न अङ्गीकार गर्न सकेका छौं न प्रयोग नै । आजसम्म नेपालले बुद्ध र बौद्ध धर्म–दर्शन भनेर लुम्बिनीलाई मात्र बुझेकाे छ । त्यही लुम्बिनीलाई पनि पर्यटन बजारमा विक्रय वस्तु झैं प्रस्तुत गरिएको छ, कुनै ‘सफ्ट पावर’ का रूपमा होइन । हामी आफ्नै अविवेक र कमजोरीको शिकार भइरहेका छौं ।

खस बौद्ध साम्राज्य

एघारौं शताब्दीमा राजा नागराजद्वारा जुम्लाको सिंजा उपत्यकालाई राजधानी बनाई स्थापना गरेको खस साम्राज्य विश्व बौद्ध इतिहासमा नै अपूर्व घटना हो । भारतमा राजनीतिक तथा अन्य घटनाले बौद्ध धर्म पतनोन्मुख र तिब्बतमा पनि सन्तोषजनक अवस्था नभएको वेला तिब्बतको ङारी प्रदेशको पैतृक राज्यलाई विस्तार गर्दै नयाँ साम्राज्य स्थापना गर्ने क्रममा उनी यतातर्फ आएका थिए । साम्राज्यको स्थापनादेखि नै यसले बौद्ध धर्मका लागि संरक्षकको भूमिका निर्वाह गरेको कुरा ऐतिहासिक तवरबाट पुष्टि हुन्छ ।

गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको भारतस्थित तीर्थस्थल बोधगयालाई तेह्रौं शताब्दीमा सोंग्पो (तुर्क मङ्गोल) हरूको कब्जाबाट मुक्त गर्ने र पछिसम्म पनि अभयदान गर्ने काम यही साम्राज्यका राजा अशोक चल्लबाट भयो ।

यस वेलाको भौगोलिक अवस्था आकलन गर्ने हो भने यो साम्राज्य पूर्वमा काठमाडौं उपत्यका जोड्ने त्रिशूली नदी, दक्षिण–पश्चिममा कुमाउ–गढवाल, उत्तर–पश्चिममा पश्चिमी तिब्बतको ङारी इलाकाको स्याङसुङ अर्थात् सम्पूर्ण गुगे–पुराङ क्षेत्र र पूर्व–दक्षिणमा भारतको बोधगयासम्मै पुगेको भन्नुपर्ने हुन्छ ।

यो साम्राज्यको चरित्र विजित देशलाई स्थानीय शासक बनाउने थियो । बोधगयामा भने विधर्मीहरूलाई धपाएर पुरानै शासक राजा बुद्धसेनलाई गद्दीनसीन गराएर आफ्नो साम्राज्य अन्तर्गत पारेको बुझिन्छ ।

काठमाडौं उपत्यकामा आफ्ना पक्षका शासकलाई सघाउने मात्रै होइन, बौद्ध गतिविधिमा पनि यी सम्राटहरू सरिक हुन्थे । यसका साथै सम्राटहरूले अनेकौं बौद्ध कृतिहरू पनि राखेको बताइन्छ । तर, ती कृतिमध्ये कतिपय लथालिङ्ग छन् भने कतिपय भेटिएकै छैनन् ।

शक्तिको स्रोत

भारतले बेलायती उपनिवेशबाट स्वतन्त्र भएदेखि बुद्ध र बौद्ध धर्मदर्शनलाई आफ्नो सौम्य शक्ति (सफ्ट पावर) को रूपमा प्रयोग गर्दै आएको पाइन्छ । प्रधानमन्त्री नरेन्द्र मोदी पूर्वी एशियाली मुलुक भ्रमणका क्रममा भारतलाई बुद्धसँगै जोडेर बोलिरहेका देखिन्छन् । यसबाट भारतलाई मित्र राष्ट्रहरूसँग भाइचारा बढाउन सजिलो हुनुका साथै पर्यटन उद्योगमा पनि उसले लाभ लिइरहेको छ ।

बुद्ध र बौद्ध धर्म–दर्शनका सवालमा नेपाल ऐतिहासिक मात्र होइन, वर्तमानको पनि महत्वपूर्ण अंशियार हो । तर प्रचुर संभावना भएर पनि हामीले बौद्ध धर्मको यो शक्तिलाई न अङ्गीकार गर्न सकेका छौं न प्रयोग नै । आजसम्म नेपालले बुद्ध र बौद्ध धर्म–दर्शन भनेर लुम्बिनीलाई मात्र बुझेकाे छ । त्यही लुम्बिनीलाई पनि पर्यटन बजारमा विक्रय वस्तु झैं प्रस्तुत गरिएको छ, कुनै ‘सफ्ट पावर’ का रूपमा होइन । हामी आफ्नै अविवेक र कमजोरीको शिकार भइरहेका छौं ।

बुद्ध र बौद्ध धर्म–दर्शनका सन्दर्भमा देशले पुनर्विचार गर्नु आवश्यक भइसकेको छ । बौद्ध धर्मले मध्यम मार्ग, मैत्री र करुणामा जोड दिने भएकाले सबैलाई मिलीजुली अगाडि बढ्न बाटो दिन्छ । यसलाई ज्ञान र ध्यान दुवैको केन्द्र बनाउन सकिन्छ । नेपालले यो पहिचानलाई शक्तिको रूपमा बदल्ने हो भने पर्यटन स्वतः भित्रिन्छ सँगै विश्व रङ्गमञ्चमा मुलुकको हैसियत पनि बढ्छ ।

प्रतिकृया दिनुहोस