रिपोर्टबुधबार, १५ आश्विन , २०७६

व्यवसायीको हिमाल–यात्रा

रमेश कुमार

 नाफा–नोक्सान, हिसाब–किताबको धपेडीका बीच सुरुचिपूर्वक वर्षेनि हिंडडुलमा निस्कने पदयात्राप्रेमी व्यवसायीहरूको कथा।

नेपालका एक मात्र अर्बपति विनोद चौधरी समय मिल्ने वित्तिकै ट्रेकिङमा हिंड्छन् ।

सगरमाथा आधारशिविर, अन्नपूर्ण सर्किट, उपल्लो मुस्ताङ पटक–पटक फेरो मारेका छन्, कहलिएका ब्याङ्कर/व्यवसायी पृथ्वीबहादुर पाँडेले । देश चिन्ने हुटहुटीले युवा वयदेखि नै वर्षको कम्तीमा दुई पटक लामो पदयात्रा गर्ने पाँडेको यो रित पछिल्ला चार–पाँच वर्ष यता बिथोलिएको छ । यही नोभेम्बरको अन्तिमतिर भने उनी कञ्चनजंघा पदयात्रामा निस्कने योजनामा छन् ।

तिलिचो पुग्ने तीन पटकको योजना अकस्मात् आइपरेका व्यवधानका कारण बिथोलिए पनि एकपटक पैदलै पुगिछोड्ने धोको पनि बाँकी नै छ । ग्योक्यो ताल छुने पुरानो इच्छा छँदैछ । “व्यावसायिक सञ्चारको सम्पर्कमा नरही साता–दश दिनको पदयात्रामा हिंड्ने रहर मेटिएको छैन”, पाँडे भन्छन् ।

डलर अर्बपति भनी चिनिएका व्यवसायी विनोद चौधरीको पदयात्रा मोह फोर्ब्सका सीईओ माइक पर्लिससँगै डोल्पोको फेरो मारिरहेको तस्वीर मिडियामा आएपछि खुल्यो । डोल्पादेखि अन्नपूर्ण सर्किट र सगरमाथा आधारशिविर पदयात्रा गरेका चौधरी हरेक सालजसो फुर्सद निकालेर पदयात्रामा निस्कन्छन् । “यो वर्ष माथिल्लो मुस्ताङ जाने योजना छ”, चौधरीले भने ।

व्यवसायी शेखर गोल्छा त आफूलाई पदयात्राको नशा नै चढिसकेको बताउँछन् । करीब २० वर्षअघि जोमसोम र मुक्तिनाथसम्मको पैदलयात्रा गरेका गोल्छाले त्यसयता देश र विदेशका अनेकौं पहाड छिचोले र हिमालका फेद टेके ।

अन्नपूर्ण सर्किट, सगरमाथा आधारशिविर उपल्लो मुस्ताङ कैयौं पटक पुगेका गोल्छाले अफ्रिकाको माउन्ट किलिमन्जरो र पेरुको माचुपिचुमा पनि पदयात्रा गरिसकेका छन् ।

डोल्पा, सुदूरपश्चिम र तिलिचो तालको पदयात्रा गर्ने योजना बनाएका गोल्छालाई व्यावसायिक जीवनबाट अवकाश लिएपछि नेपालको पूर्वदेखि पश्चिमसम्म ‘ग्रेट हिमालयन ट्रेल’ को पदयात्रामा जाने धोको छ ।

व्यावसायिक जीवन भन्नु नै नाफा–नोक्सानको हिसाबकिताब र व्यावसायिक दाउपेचको एकमुष्ट धपेडी हो । बिहानदेखि साँझसम्मै अनेकौं भेटघाट, बैठक र बही खाता निरीक्षण गर्नुपर्ने दैनिकी । व्यावसायिक योजना निर्माण र कार्यान्वयनको दौडधूपका बीच सफल व्यवसायीहरूले भन्नेवित्तिकै पदयात्राको चाँजोपाँजो मिलाउन सजिलो छैन । “मन लागेपछि मिलाउनै नसकिने पनि के छ र ?”

व्यवसायी पशुपति मुरारका व्यवसायको धपेडी छोडेर साता दश दिनका लागि हिंड्न मानसिक रूपमा तयार भइसकेपछि व्यवसायको झमेलाले नरोकिने बताउँछन् । गएको वसन्त ऋतुमा अन्नपूर्ण आधारशिविर पुगेर फर्किएका मुरारका अब सगरमाथा आधारशिविरसम्म पदयात्रा गर्ने योजना बुनिरहेका छन् । “कुनै दिन एक्लै पदयात्रा गर्ने रहर पलाएको छ”, मुरारका भन्छन् ।

ध्यान जस्तै यात्रा

 व्यवसायी शेखर गोल्छा लामो पदयात्रामा त निस्कन्छन् नै, मिलेसम्म हरेक हप्ता काठमाडौंका डाँडाकाँडा चढ्न पुगिहाल्छन् ।

शेखर गोल्छालाई पदयात्रा ध्यान जस्तै लाग्छ । “एक हिसाबले भन्दा आध्यात्मिक यात्रा” गोल्छा भन्छन्, “हृदयभित्रका नकारात्मक विचार फालेर सकारात्मक चिन्तन ल्याउन पदयात्रा साह्रै राम्रो उपाय हो ।” एक्लै गम्दै हिंड्नु, खुला भएर आफ्ना गतिविधि नियाल्नु, गरेका काम र निर्णयको समीक्षा गर्नु र आफ्नै जीवन अवलोकन गर्नु ! पदयात्राको रमाइलो नै यस्तै अनुभूति त हुन् ।

उनका लागि शरीरमा जाँगर भर्न पनि पदयात्रा अनिवार्य भइसकेको छ । घोडेपानीबाट मध्यराति देखेको आकाशको जगमगाउँदो तारामण्डल उनले कहिल्यै बिर्सने छैनन् । एक्लै हिंडेर सोच्दा कतिपय विषय वा मान्छेका बारेमा भ्रमपूर्ण विचार हो कि होइन भन्ने द्विविधा पनि हट्ने उनको अनुभूति छ ।

व्यवसायको कामबाट फुर्सद निकालेर देशदेशावर घुमिहिंड्ने गोल्छालाई काममा मात्र जोतिंदा उकुसमुकुस हुन थाल्छ । त्यसैले, हरेक शनिवार हाइकिङ जाने गोल्छाले काठमाडौं वरिपरिका अधिकांश डाँडा चढिसकेका छन् । “ममा व्यवसायीलाई नसुहाउने कतिपय गुण छन् कि जस्तो लाग्छ” गोल्छा भन्छन्, “काठमाडौंबाट बाइक कुदाएर पोखरासम्म पुग्ने आँट पनि गरेको छु ।”

व्यवसायी पशुपति मुरारका पनि हरेक साता काठमाडौं वरिपरिका डाँडा चढ्छन् । शिवपुरी, चन्द्रागिरि, नागार्जुन, चम्पादेवी, कहिले कता कहिले कता हरेक शनिवार डुलिहिंड्ने मुरारका भन्छन्, “काठमाडौं वरिपरि म नपुगेको कुनै डाँडो छैन ।” उनलाई पनि पदयात्राको मुख्य आनन्द नै दैनिक उस्तै खाले कामकाजको चटारो बिर्सेर शान्तिपूर्वक दिन बिताउन पाउनु हो ।

फरक फरक ठाउँमा नयाँ–नयाँ मान्छे भेट्नु, कुराकानी गर्नु र डाँडाकाँडा नियाल्नु पदयात्राको मुख्य आकर्षण भएको उनको अनुभूति छ । युरोप र अमेरिकामा पनि पदयात्रा गरिसकेका मुरारकालाई नेपालभित्रैका पदयात्रा गन्तव्य मौलिक र बढी प्राकृतिक लाग्छन् । 

सन् २०१५ मा सम्पन्न फोर्ब्स सम्मेलनमा भेट भएका बखत प्रमुख कार्यकारी अधिकृत माइक पर्लिसले नेपालमा पदयात्राको कुरा जसै उठाए, विनोद चौधरीले पदयात्रा मार्गको योजना बनाउन थाले । श्रीमती सहित पदयात्राका लागि नेपाल आएका पर्लिस र चौधरीको सानो समूह शे–फोक्सुन्डो ताल र डोल्पोको पदयात्रामा निस्कियो ।

चौधरी डोल्पो पनि सगरमाथा आधारशिविर वा अन्नपूर्ण राउण्ड जत्तिकै आकर्षक पदयात्रा रुट मान्छन् । “आफ्नै नाभिमा रहेको कस्तूरी थाहा नपाएर पो !” चौधरी भन्छन्, “नत्र नेपालमा आकर्षक पदयात्रा गन्तव्यको के कमी !” संसार देखिसकेका चौधरीको निचोड छ, नेपालको हिमाली क्षेत्र पदयात्राको तुलना अरू देशसँग हुँदैन ।

हरेक साल चौधरी आफ्नो वार्षिक क्यालेन्डर बनाउँदा पदयात्राका लागि समय छुट्याउन बिर्सिंदैनन् । “कामबाट फुर्सद निस्किएर पदयात्रामा जाने होइन, समय व्यवस्थापन गरी पदयात्राको तालिका नै छुट्याउने हो”, चौधरी भन्छन् ।

युवा पृथ्वीः नेपाल इन्भेष्टमेन्ट ब्याङ्कका अध्यक्ष पृथ्वीबहादुर पाँडेलेयुवा वयदेखि गर्दै आएको ट्रेकिङ रोकिएको छैन ।

व्यवसायी आनन्द बगारिया पदयात्रामा जान थालेको एकाध वर्ष मात्र भएको छ तर उनमा पदयात्रा–मोह बढ्दै गएको छ । कुनै बेला उनी ६—७ दिन हिंड्ने कुरा कल्पना पनि गर्दैनथे तर अब उनलाई नयाँ–नयाँ क्षेत्रको लामो पदयात्रामा जाने मन छ ।

साथीहरूको लहैलहैमा लागेर पहिलोपल्ट जोमसोम पुगेका बगारिया पदयात्राकै क्रममा अन्नपूर्ण क्षेत्र र सगरमाथा आधारशिविर समेत पुगिसकेका छन् । “पदयात्रामा जाँदा आफ्नै जिन्दगी, व्यापारबारे पछाडि फर्किएर हेर्न र नयाँ तरिकाले सोच्न पाइन्छ” बगारिया भन्छन्, “पदयात्रामा जाँदा सहनशीलता समेत बढ्दो रहेछ ।”

तरिका आ—आफ्नै

पदयात्रा कोसँग गर्ने ? सबैका आ–आफ्नै फर्माइस हुनसक्छन् । शेखर गोल्छाको पदयात्रामा भने उनकी श्रीमती सँगै हुन्छिन् । मुरारका मिल्ने साथीहरूसँग पदयात्रा गर्न रुचाउँछन् ।

गत वसन्तको अन्नपूर्ण पदयात्रा भने मुरारकाले आफ्ना साथीसँगै केही अन्जान भारतीय व्यवसायीसँग गरे । “घुलमिल हुन समय लाग्दो रहेनछ” मुरारका भन्छन्, “त्यही टोली फेरि सगरमाथा आधारशिविरको पदयात्रा गर्न योजना बनाइरहेका छौं ।” व्यवसायी पृथ्वीबहादुर पाँडे भने परिवारका सदस्य लिएरै पदयात्रामा निस्कन्छन् । जस्तो, उमेर सानै भएका बेला पनि पाँडेले छोराछोरी लिएर पदयात्रामा गएका छन् । “त्यसैले, मेरा सन्तान पनि पदयात्रामा जान रहर गर्छन्”, पाँडे भन्छन् ।

हतार नगरी विस्तारै हिंड्ने र पथप्रदर्शक (गाइड) नलैजाने पाँडेको पदयात्रा शैली हो । नाम्चे क्षेत्रको पदयात्रामा जाँदा गोठमा समेत बास बसेका पाँडेलाई टेन्टमा बास बस्न भने मन लाग्दैन । मधेशमा हुर्के बढेका पशुपति मुरारका चाहिं पदयात्रामा खानपानको अनुशासनलाई ख्याल राख्नुपर्ने बताउँछन् ।

मुरारका आफू मदिरा र माछा–मासु कहिल्यै छुँदैनन्, अरूलाई पनि पदयात्रामा जाँदा मदिरा नखान सल्लाह दिन्छन् । जुत्ता, कपडा, औषधिमूलोको प्रबन्धमा खास ध्यान दिनुपर्ने, राति चाँडै सुत्नुपर्ने उनको अनुभव छ ।

शेखर गोल्छा चाहिं उच्च हिमाली भेगमा हिंड्दा शरीरले कसरी काम गरिरहेको छ र अक्सिजनको मात्रा कति छ भन्ने ध्यान दिएर ख्याल राख्नुपर्ने बताउँछन् । हरेक ५–१० मिनेटमा पानी पिउने, विस्तारै हिंड्ने र हिंड्दा हिंड्दै झट्ट  बसिहाल्न नहुने उनको अनुभव छ । उनी पदयात्रालाई अविस्मरणीय बनाउने हो भने प्राकृतिक बन्नुपर्ने बताउँछन् ।

भूटानदेखि अफगानिस्तानसम्मका हिमाली पदयात्रा भ्याइसकेका छन्, आङदेम्बा शेर्पाले ।

अन्नपूर्ण, सगरमाथा क्षेत्र जस्ता पदयात्रा मार्गहरूमा सुविधासम्पन्न होटल थपिंदै गरेको अनुभूति पदयात्रा रुचाउने व्यवसायीहरूले गरेका छन् । स्तरीय होटल, खानामा विविधता, सञ्चारको सुविधा पुगेकै छ ।

व्यवसायी पाँडे चाहिं यस्तो सुविधा राम्रै भए पनि जताततै बनेका मोटर बाटो र गाउँका मौलिक घरहरू नाशिंदै जानुले पदयात्रा मार्गको आकर्षण नै कमजोर हुने हो कि भन्नेमा चिन्तित छन् ।

पदयात्रा मार्ग सँगै सडक बनाउन र गाउँका मौलिक घरलाई कङ्क्रिटले विस्थापित गर्न नहुने उनको मत छ । व्यवसायी विनोद चौधरी भने पदयात्रा मार्गका होटलहरूमा गुणस्तर नपुगेको तर्क गर्छन् । डोल्पो क्षेत्रमा स्तरीय पर्यटक आकर्षित गर्न त्यस भेगका होटलहरूको भौतिक अवस्था, सेवाको गुणस्तर र खाना अझै गुणस्तरीय बनाउनु आवश्यक छ– उनी भन्छन् ।

उनी आफैंले डोल्पा क्षेत्रको पदयात्रापछि त्यहाँका ६ वटा होटलको स्तरोन्नतिका लागि कुक, वेटर र हाउस किपिङको तालिम काठमाडौंको समिट होटलमा दिने प्रबन्ध मिलाए । “हाम्रा लागि पदयात्रा मार्ग नै तुलनात्मक लाभका कुरा हुन्, यसैमा गुणस्तरीय सेवा दिएर स्तरीय पर्यटक तान्न सकिन्छ”, चौधरी भन्छन् ।

पर्वतारोहणमा रुचि भएका पर्यटन व्यवसायी आङदेम्बा शेर्पा (५८) ले पूर्वमा भूटानदेखि पश्चिममा अफगानिस्तानसम्मको हिमाली क्षेत्रमा पदयात्रा गरेका छन् । खुम्बु पासाङ गाउँपालिका–६ का उनी शुरूमा हिमाल हेर्न आउने विदेशीका गुण्टा बोकेर हिमाली गन्तव्यहरू चहार्थे । कैयौं पटक सगरमाथा, चोयु, अन्नपूर्ण, मकालु आदि हिमालका आधारशिविर पुगेका उनलाई अमादब्लम हिमालको काखमा रहेको ‘मिङ् वो’ औधी मनपर्छ ।

यो ठाउँमा कुनै वेला डा.टोनी हागनले तिब्बती शरणार्थीको लागि विमानस्थल बनाएका थिए । यो समुद्र सतहबाट ४५०० मिटरमा अवस्थित छ ।

‘मिङ वो’ बाट उत्तर हेर्दा देखिने सफा अमादब्लम हिमाल (५ रुपैयाँको नेपाली नोटमा अङ्कित) हेर्दा उनलाई सबभन्दा बढी आनन्द महसूस हुन्छ । सगरमाथाको दृश्यावलोकन गर्न यो सजिलो गन्तव्य भएको उनको ठम्याइ छ ।

पदयात्रा आङदेम्बाको लागि पेशासँगै सोख पनि हो । पाराग्लाइडिङका सौखिन आङदेम्बा हिमाली क्षेत्रको पदयात्राबाट प्रकृतिसँग मिलेर बसेको जनजीवन, खुला र चिसो ठाउँमा मानिसहरूले जीविकोपार्जनका लागि गरेका प्रयासहरूलाई नजिकबाट हेर्न सकिने भएकोले उनी हिमाली रुटहरूमा पदयात्रा गर्न सुझाउँछन् । यस्तो पदयात्राले हिमाल चिन्न मद्दत गर्ने उनी बताउँछन् ।

उद्योगपति पशुपति मुरारकाको फुर्सद पाउने वित्तिकै ट्रेकिङ जाने बानी कायमै छ ।

 

प्रतिकृया दिनुहोस