समाचारबुधबार, १५ आश्विन , २०७६

राजधानीबाट १२ लाख यात्रु बाहिरिए

रासस

दशैं मनाउनका लागि काठमाडौं उपत्यकाबाट झण्डै १२ लाख यात्रु बाहिरिएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यही असोज ५ गतेदेखि १५ गतेसम्म ११ लाख ९१ हजार ९८८ यात्रु राजधानीबाट बाहिरिएका छन् । त्यस्तै सात लाख ६९ हजार यात्रु राजधानी भित्रिएका छन् ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले यात्रु भित्रिनेक्रम भने विस्तारै घट्दो क्रममा रहेको जानकारी दिए । उनका अनुसार यो अवधिमा एक लाख ३७ हजार सवारी बाहिरिएको र एक लाख १७ हजार भित्रिएका छन् ।

अहिलेसम्म दशैंका लागि एक लाख २७ हजार ३०६ यात्रुले अग्रिम टिकट बुकिङ गरेको प्रमुख ढकालले जानकारी दिए। प्रहरीले यही असोज पहिलो सातादेखि चाडबाड केन्द्रित विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको थियो ।

सोही योजनाअनुसार राजधानीमा ३०० बढी स्थानमा सवारी जाँच हुँदै आएको र एक हजार बढी ट्राफिक प्रहरी खटाइएको छ ।

विभिन्न क्षेत्रमा मापसेविरुद्ध कडाइका साथ जाँच भइरहेको महाशाखाका प्रवक्ता रविराज पौडेलले बताए। राजधानी भित्रिने नाका र व्यापारिक केन्द्रमा विशेष निगरानी बढाइएको प्रहरीले जनाएको छ ।

नागढुङ्गा क्षेत्रमा गाडीको जामलाई मध्यनजर गरी प्रहरी निरीक्षककै नेतृत्वमा ट्राफिक व्यस्थापन मिलाइएको पौडेलले बताए ।

उनले चाडबाडमा बढी भाडा लिने र यात्रुलाई दुःख दिनेको निगरानी र कारवाहीका लागि सादा पोशाकमा प्रहरी परिचालन गरिएको जानकारी दिए ।

महाशाखाले लामो दूरीका सवारीमा अनिवार्य दुई चालक नराखेका १५ र ‘ओभरलोड’ बोक्ने ४० सवारीलाई कारवाही गरेको छ ।

यो बीचमा उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १४ हजार ८४८ सवारीलाई कारवाही गरिएको महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस