ब्लग सोमबार, असोज १३, २०७६

ब्रिटिश सरकारलाई थामथुमपछि फेरि युद्धकाे तयारी

ज्ञानमणि नेपाल

दुई ठूला छिमेक चीन र ब्रिटिश कम्पनी सरकारले भोटलाई सहयोग नगर्नेमा विश्वस्त भएपछि प्रधानमन्त्री जङ्गबहादुर राणा युद्घको थप तयारीमा केन्द्रित भए।

छिमेकी राज्यबाट साँध–सिमाना मिच्ने, जनतालाई दुःख दिने आदि कारणबाट युद्ध गर्ने स्थिति आयो भने पहिले नै विचार गर्नुपर्ने कुरा धेरै हुन्छन् । पहिले त, वैरी आफूभन्दा बलियो छ कि निर्धो, उसलाई सहयोग गर्ने कोही छन् कि छैनन् भन्ने ध्यान दिनुपर्छ । यी सबै बुझी विचारी चारैतिर बाँधछाँद गरेर मात्र युद्ध गर्न कस्सिनुपर्छ ।

युद्धमा वैरीको भन्दा आफ्नो सैन्यबल, धनबल बढी हुनुपर्‍यो । त्यस्तै, सेनालाई चाहिने हातहतियार, गोलीगट्ठा पनि प्रशस्त हुनुपर्‍यो । फौजलाई युद्ध अवधिभरि पुग्ने खाद्यसामग्री, मौसम अनुसारको पोशाकको जोहो गर्नु पनि जरूरी हुन्छ ।

भोटसँग व्यापार, कारोबार आदि विषयमा नेपालको कचपच परिरहँदा युद्ध गर्नुपर्ने स्थिति आएको थियो । ढिलो–चाँडो युद्ध हुन्छ भनेर प्रधानमन्त्री जङ्गबहादुर कुँवर राणाले चीनको विद्रोह दबाउन सघाउने बहानामा पल्टन र युद्धका अन्य तयारी तीव्र पारेका थिए ।

१० हजार फौज लिएर आउने भन्दै उनले भोटले गरेका अर्घेल्याइँ उल्लेख गरेर समस्या समाधान गरिदिन आग्रह समेत गरेका थिए । जवाफमा चीनका बादशाहले टाढाबाट आउँदा अनेक सास्ती हुने, विद्रोह दबाउन आफ्नै फौज काफी रहेको भन्दै भोटसँग मिलेर बस्न सुझएपछि जङ्गबहादुरलाई ढुक्कै भयो । किनकि, चीनलाई सघाउन जाने उनको सोच नै थिएन, युद्धको तयारी त भोटमाथि चढाइँका लागि बन्दोबस्त मिलाउने रणनीति थियो । अर्कातिर, आफ्नो मद्दत नलिने बादशाहले भोटलाई सघाउन त्यति टाढाबाट फौज नपठाउलान् भन्नेमा पनि उनी विश्वस्त भए ।

चीनबाट भोटलाई मद्दत दिने अवस्था नदेखेपछि जङ्गबहादुरले ब्रिटिश इष्ट इण्डिया कम्पनी सरकारलाई नेपाल र भोटको अवस्था अवगत गराए । किनकि नेपालको युद्ध तयारीबाट झ्स्केको भोटले ब्रिटिश सरकारका अधिकारीलाई उक्साउन ‘नेपालले सुखिम (सिक्किम) खान लाग्यो’ भनेर खबर गरेको थियो ।

यो कुराको जोडदार खण्डन गर्दै उनले कम्पनी सरकारसँगको आफ्नो प्रगाढ सम्बन्ध खलल नहुने भनेर थामथुम मात्र पारेनन्, भोटले नेपालमाथि गरेका अर्घेल्याइँ पनि जाहेर गरे । भोटतिर ब्र्रिटिश सरकार नलहसिनेमा विश्वस्त भएपछि जङ्गबहादुर फेरि भोटसँगको युद्धकै तयारीमा लागे ।

लडाइँका लागि कर्णेल कृष्णध्वज कुँवर राणा सुदूरपश्चिमको डोटीबाट हुम्लातिर खटिएका थिए । जङ्गले कर्णेललाई चिठी पठाएर तयारी अवस्थामा बस्न तर आदेश नदिएसम्म भोटमा युद्ध नछेड्न निर्देशन दिएका थिए ।

चिठीमा चैतसम्म सैनिकहरूलाई गमगढीमा हिउँ नपर्ने ठाउँमा राख्न, हिउँ पर्न छाडेपछि अघि बढ्नुपर्ने भएकाले हिउँदभरिमा डेढ वर्ष खान पुग्ने अन्न जोहो गर्न अह्राइएको थियो । यस्तै, पश्चिमका युद्धमा मद्दत दिने राजा–रजौटाको हैसियत हेरी सैनिक लिनुपर्ने र यसबारे वैशाख लागेपछि उनीहरूलाई खबर गर्ने चिठीमा उल्लेख गरिएको थियो ।

गमगढीमा शक्ति सञ्चय गरेर बस्दा हातहतियार र गोलीगट्ठा पनि तयार पारेर राख्न निर्देशन दिइएको थियो । निकट भविष्यमा ताक्लाखारमा गएर युद्ध लड्नुपर्ने भएकाले सैनिकलाई तारो हान्ने कार्यमा निपुण बनाउन पनि प्रधानमन्त्रीले कर्णेल कृष्णध्वजलाई सुझएका थिए ।

यस्तै, जङ्गबहादुरले जमादार लक्ष्मण अधिकारीलाई पनि चिठी लेखेका थिए । रसदपानी बोक्ने भेडा, खसी गाउँहरूबाट जम्मा पार्दा करीब १२०० वटा पुग्ने, रैतीहरूले भेडाहरूलाई भारी बोकाएर लगेको मोल नलिने, आफूहरूलाई मात्र ज्याला र खाजा दिए पुग्ने बताएको जमादारले जाहेर गरेका थिए ।

तोकिएको अड्डामा भारी लैजान रैतीहरूले तत्परता देखाएको पनि उल्लेख गरिएको थियो । यसको जवाफमा प्रधानमन्त्री जङ्गबहादुरले जर्नेल कृष्णबहादुर राणाले उर्दी दिए बमोजिम काम गर्न जमादारलाई निर्देशन दिएका थिए ।

 ‍‍‍.................................................................

श्रीप्राइम्मिनिष्टरबाट कर्णेल कृष्णध्वज राणाजीलाई लेखिगयाको

उप्रांत रसद केहि आयेछ. केहि आउंदैछ पल्टन बढाउ भन्या रसद जम्मा भै बढाउनुभयेन र हामिपनि गलफैमा फिर भनि भन्यौ भन्या विस्तारसमेत जोभयाको विस्तार लेखन्या काम बढिया गरिछस्. तैले फौजली ताकलाखारमा गै लड्नु पन्र्या छ. तस निमित्त सिपाहिहरूलाई तारा हानं सिकाउनु. चैत्रमैन्हासम्म हिउमा नपन्र्या गरी लस्करलाई गमगढिमा राखनु. चैत्र मैन्हासम्म लस्करलाई डेढ वर्षसम्म खान पुग्न्यागरि रसद जम्मा गर्नु. चैत्र मैन्हामा रसद वोकनलाई चौरि झेवा लुलु घोडा च्यांग्रा भेडा तयार गरि राखनु फौजलाई चाहिन्या गोला गीराफ गोली कार्तोस सवै जम्मा गर्नु. कामकाज गर्दा सवै भारादारका सल्लाहले पल्टनलाई रैयतलाई बढिया हुन्या श्री ५ सर्कारको वन्या सप्रन्या काम गर्नु. विनामेरा चिठि नगै लड्न्या काम र दुस्मनका मुलुकमा कुल्चन्या काम नगर. वैशाखमा जौन् माफिकको चिठि जाला उसै माफिकको काम गर्नु औ श्रीकाहिला भाइलाई लेख्याको रहेछ. येस तर्फका राजारजौटाहरूले हामिपनी जानु पन्र्या होकि कसो गन्र्या हो भनि लेख्याका कुरालाई ति राजा रजौटाहरूलाई अ‍ैल्हे झिकाउनु पर्दैन. वैशाख मैन्हामा धेरै खान्यालाई वहि अनुसार मानिस लि आउनु. थोरै खान्यालाई उहि माफिकसित मानिस ली आउनु भनि उद्रित दिन्या काम गर्नु.

११ साल मिति मार्ग वदी ९ रोज शुभम्

 

श्रीप्राइम्मिनिष्टरबाट ज्यामादार लक्ष्मण अधिकारिके लेखिगयाकोअधिकारिके लेखिगयाका

उप्रांत पाँच सय गाउँका अम्बल गाउँका थरि मुखिया गाउँल्याका भारी बोकन्या भेडा खसि तलास गर्दा हजार बाह्रसय हुंछ. हामिले मोललेउ भंदा रैतिहरूले मोललींदैनन्. श्री ५ सर्कारको कामकाज चल्यामा ज्याला खाजा दिया हामि राजी छौं. हामितिर रह्याका भारि बोकन्या सरजामसमेत जुन अड्डामा भन्यो सोहि अड्डामा हामि पुर्‍याउँछौं भंछन् भन्या विस्तार लेख्याका कुरालाई रैतिले गर्‍याको विस्तार लेखिपठाउन्या काम बढिया हो. श्री ५ सर्कारको कामकाज चल्दा ज्याला खाजामा जौन अड्डामा सामेल हुनु भंन्या उहि–उहि अड्डामा हाम्रा भारि वोकन्या चौरि लुलुच्यांग्रा भेडा खसि र भारि वोकन्या सरजाम समेत हामि पुर्‍याउँला पुर्‍यायनौ भन्या तिमिहरूलाई जङ्गीऐन बमोजिम सजाय होला पुर्‍यायौ भन्या ज्याला खाजा पाउला भनि उद्र्दि दि सवै भारि वोकन्या चौरि च्यांग्रा लुलु खसि भेडाको खसो खास हाजीर र भारि वोकन्या धनिको नाउको मुचुल्का ली चैत्र मैन्हामा सामेल गर्नु भनि अ‍ैल्हे जसजस्का जिम्मा राख्याका छन्. उनै उनैका जिम्मामा राखन्या काम गर्नु औ श्रीकाहिला भाइ जनरलले तिमिलाई पठाउँदा जौन जौन जगामा पुगी वन्दोवस्त गर्नु भन्या उद्र्दि दियाको हा उस ठाउमा पुगी भारि वोकन्या जनावरको यहि थामि लेखियाको बेहोरा गरि मुचुल्का ली पट्टीसमेत ली मंसिरभरमा ञाहा आईपुग्न्या काम गर.

११ साल मिति मार्ग वदी १० रोज शुभम्

 

प्रतिकृया दिनुहोस