रिपोर्ट सोमबार, असोज १३, २०७६

समन्वयको शक्ति 

गोपाल गडतौला

अन्तर्यमा सहअस्तित्व प्रेरित ‘समन्वय दर्शन’ रहेकै कारण नेपाली समाज पटक–पटकको आन्तरिक र बाह्य सङ्कट सामना गर्न सक्षम भएको हो।

 

१२ वैशाख २०७२ को भूकम्प प्रभावित पनौती नगरपालिका–१, रयाले, काभ्रेका बासिन्दा राहत पाएपछि । तस्वीरः हिमाल आर्काइभ

म छु मधेशे, तिनी लेकाली

तिमी छौ जुम्ली, उनी पालपाली ।

प्रान्त–विनिर्मित भेद निकाली

हेर्दा हामी सब नेपाली ।।

– लेखनाथ पौड्याल

४६ वर्षअघि तराई महोत्तरीको पिपरा गाउँबाट काठमाडौं छिरेका हुन् प्रा.डा.वीरेन्द्रप्रसाद मिश्र । कास्की, याङ्जाकोटका डा.जगमान गुरुङले भने त्यसको पाँच वर्षपछि २०३५ सालमा राजधानी टेके । जात, भूगोल र संस्कारले अलग मिश्र र गुरुङबीच थुप्रै समानता छन् । दुवैको कर्मथलो मात्र होइन, पेशा पनि उही प्राध्यापन, विषय समेत झण्डै उस्तै– मिश्रको दर्शनशास्त्र, गुरुङको संस्कृति । यति मात्र होइन, यी दुईको देशदृष्टि पनि मिल्दोजुल्दो छ ।

“जन्मेको गाउँ पो विरानो भयो, काठमाडौंको सम्मानले भुलियो शायद”, जन्मथलो पिपरा सम्झँदै ८० वर्षीय मिश्र भन्छन् । आफ्नो झण्डै पाँच दशकको राजधानी बसाइमा उनले त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनसँगै निर्वाचन आयोगमा आयुक्तको जिम्मेवारी समेत निर्वाह गरे ।

थातथलो छाडेर २०३५ सालदेखि यतै रमेका डा.गुरुङलाई भने गाउँको सम्झनाले वेलावेला हिरिक्क पार्छ । तर, शरीर पुगिहाल्न सक्दैन । उनलाई पनि काठमाडौंवासी र यहाँको संस्कारले ‘फरक’ कहिल्यै देखेन । उनले पनि आफू जस्तै भिन्न भाषा, संस्कारले सज्जित उपत्यकावासीको सभ्यतालाई विस्तारै प्रेम गर्न थाले । कवि शिरोमणि लेखनाथ पौड्यालले लेखे झैं, मधेशी र पहाडी एउटै ‘नेपाली’ परिचयमा बाँधिए ।

आखिर के त्यस्तो तत्व छ जसले भिन्न भेग, धर्म, जात, वर्ग, परिवेशमा हुर्किएकाहरूमा समभाव सिर्जना गर्छ ? सद्भाव उत्पन्न

गराउँछ ? अनेकतामा एकता निर्माण गर्छ ? द्वेष कसरी हार्दिकता बन्छ र प्रतिशोध कसरी क्षमामा बदलिन्छ ?

यसको अन्तर्य के हो ? दृष्टि अनि दर्शन के हो ?

“दुई वा दुईभन्दा बढी अस्तित्व एक ठाउँमा राख्दा तिनीहरूबीच समन्वय हुन्छ भन्ने ‘प्राच्य दर्शन’ नै नेपाली भूगोलको दर्शन हो”, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवं संस्कृति विभागका प्रमुख डा.गुरुङ भन्छन्, “यही फरक अस्तित्व बीचको समन्वयकै माध्यमबाट नेपाली संस्कृति निर्माण भएको हो ।”

दर्शनशास्त्रका प्राध्यापक मिश्र पनि लामो समयसम्म टकराव नरहने, मनमा तुष वा घृणा पाल्न मन नपराउने जस्ता स्वभाव नेपाली जनजनको जन्मजात गुण भएको बताउँछन् । बृहत् नेपाली समाज धेरैखाले साना–साना समाज मिलेर बनेको बताउँदै मिश्र भन्छन्, “प्रत्येक एकाइ समाजलाई एक्ला–एक्लै बस्न गाह्रो हुने भएकोले पनि समन्वय नेपालीको आधारभूत चरित्र बन्यो, अहिलेसम्म हामीलाई यही समन्वयकै अनौपचारिक सूत्रले बाँधिरहेको हो ।”

समन्वयकारी समाज, अन्तरनिर्भर समुदाय

समन्वय जीवनशैलीकै कारण नेपालमा द्वन्द्व र टकरावको आयु लामो नहुने तर्क पनि गरिन्छ । डा.गुरुङ ‘द्वन्द्वात्मक भौतिकवाद’ मार्गदर्शक सिद्धान्त मानेका शक्तिहरू नै हिंसात्मक विद्रोहबाट शान्तिपूर्ण राजनीतिमा सामेल हुनुलाई समन्वयात्मक चरित्रकै बलियो उदाहरण मान्छन् ।

“सहअस्तित्वका लागि समन्वयको माध्यमबाटै शोषणरहित र शान्तिपूर्ण समाज निर्माण गर्न सकिने विश्वास यहाँको समाजमा छ”, डा.गुरुङ भन्छन् ।

संस्कृतमा पूर्वेली प्राचीन दर्शनका अर्थमा लिइने ‘प्राच्य दर्शन’ लाई समन्वयात्मक आध्यात्मवादको रूपमा पनि व्याख्या गरिन्छ । पूर्वीय समाजमा पौराणिक कालदेखि नै धर्म—समुदायबीच मिलाप र सह–अस्तित्वपूर्ण सम्बन्ध रहेको भन्दै डा. गुरुङ पशुपतिनाथ मन्दिरमा लिच्छवि राजा जयदेव द्वितीयको शिलापत्र लेखकमा बौद्ध धर्मावलम्बी ‘बुद्ध कीर्ति’को नाम रहनु यसैको उदाहरण भएको बताउँछन् ।

श्रीमद्भगवद महापुराणका रचनाकार वेदव्यासकी आमा ‘मत्स्यगन्धा’ (माझीकी छोरी) हुनुको अर्को दृष्टान्तले पनि पौराणिक समाजमा विभेद नरहेको देखिएको उनको दाबी छ । 

त्यसकारण पनि डा. गुरुङ देशभित्र बेलाबखत एकअर्का समुदाय, संस्कृति र भूगोलबीच देखिने टकरावलाई ‘क्षणिक’ मान्दछन् । “समानताको नाममा शुरू भएको आन्दोलनले जब पृथकताको बाटो समात्न खोज्यो, समाजले त्यसलाई हुर्कनै दिएन”, डा. गुरुङ भन्छन् ।

प्राध्यापक मिश्रको अनुभवमा पनि २०६३ सालपछिका वर्षहरूमा देशका विभिन्न स्थानमा करीब करीब हिंसामा रूपान्तरित आन्दोलनहरू यही समन्वयकारी तत्वकै कारण छिट्टै मत्थर भएको बताउँछन् ।

देशकै झण्डै ६८ प्रतिशत भूगोल पहाडले ओगटेको छ, जहाँ अर्थतन्त्र प्रायः स्थिर र श्रम निर्यात गर्ने प्रकृतिको छ ।

झापाको खजुरगाछीमा एउटै टोलमा बसोबास गरेका मुस्लिम, किरात र हिन्दू समुदायका व्यक्ति ।

समाजशास्त्री प्राध्यापक चैतन्य मिश्र पहाडी अर्थतन्त्रमा परिवार र समुदायबीच बढी नै अन्तरनिर्भरता रहेको र यही निर्भरताकै कारण तराईको तुलनामा पहाडमा ठूलो असमानता नदेखिएको बताउँछन् ।

एकै पाराको श्रम, पैंचो, पर्म आदिको बाध्यताले पहाडमा समुदायबीच दूरी कम गराएको बताउँदै उनी भन्छन्, “यस्तो असमानता चेतनाले विकास गरेको भने होइन, यो अभ्यास र आवश्यकताको उपज हो ।”

तराईमा जमीनदारकहाँ श्रम बेच्नेहरू पुस्तौं पुस्तासम्म गरीब रहेको पक्षलाई मसिनोसँग अध्ययन गर्नुपर्ने मिश्र बताउँछन् । समानतालाई समाजको जरोसम्म लैजान अर्थतन्त्रको विस्तार गर्नू आवश्यक रहेको बताउँदै उनी भन्छन्, “यसका लागि अलिक ठूलो आकारमा अर्थ–सामाजिक गतिविधि गर्नुपर्छ ।”

मानवशास्त्री डा. सुरेश ढकाल संवेदनशील अवस्थामा सुझबुझ अपनाउने र एकअर्कालाई मद्दत गर्नु नेपाली जीवनपद्धति भएको बताउँछन् । “हतारिएर आन्दोलित नहुने नेपाली समाजको गुण हो” ढकाल भन्छन्, “यस्तै, सहयोगी भावना समाजका सबै क्षेत्रमा देखिन्छ ।” सहकार्य र समभावको परम्पराले नै हाम्रो समाजलाई एक ढिक्का बनाएको उनको धारणा छ ।

पत्रकार चन्द्रकिशोर २०६३ सालको परिवर्तनपछि मधेशी र पहाडे समुदायबीच अन्तरसम्बन्ध बढेको बताउँछन् । पहाडको श्रम बजारमा तराईका युवाको बढ्दो उपस्थितिले दुई समुदायबीच घनिष्ठता बढाइरहेको उनको धारणा छ । “लमजुङमा घलेको भेडीगोठ चलाउन पहाडे ब्राह्मण देखेर म चकित परेको थिएँ”, उनी भन्छन् ।

खास जातले मात्र खास काम गर्ने पुरानो मान्यता भत्किंदै गएको, अर्थतन्त्र र श्रमसम्बन्ध फराकिलो बन्दै गएको र श्रमको सम्मान बढेका कारण अन्तरसम्बन्ध बढेको उनको बुझाइ छ ।  

 सहअस्तित्व, समानताको खोजी

खेती किसानी लगायत थुप्रै यस्ता कर्म सामूहिकताबाट चल्छन् । तस्वीरः बिक्रम राई

००७ सालको परिवर्तनपछि देशका सबैजसो ठाउँमा विद्यालय खुले । स्कूलमा एकैपटक ठूलो संख्यामा बालबालिका आउँदा समाजलाई पनि एकत्रित गर्‍यो । प्राध्यापक चैतन्य मिश्र यसले समुदायबीच सद्भाव र वैमनस्य दुवै महसूस गराएको बताउँछन् । “यस्तो विभेद गाउँमा भन्दा शहरमा बढी थियो”, मिश्र भन्छन् । त्यसो त एकैथलोमा धेरै समुदाय एकत्रित हुँदा सद्भाव पनि बढ्यो । फरक समुदायबीच बिहेबारी, अवसरको लागि समान प्रतिस्पर्धाको क्रम पनि बढ्यो ।

विभेदको महसूस गराउने अर्को सन्दर्भ वैदेशिक रोजगारी पनि रह्यो । समाजशास्त्री मिश्रको भनाइमा, वैदेशिक रोजगारी जाने प्रक्रियामा भोगेको व्यवहारले हेपिएको समुदायलाई पनि समानता खोज्न सिकाएको छ । “यसरी विस्तार भइरहेको ज्ञान र अर्थतन्त्रले सिकाएको समानताले अन्तरसम्बन्धलाई सघन बनाइरहेको छ”, उनी भन्छन् ।

इतिहासमा द्रविड, किरात र हिन्दू सभ्यता भेट भई एकअर्काको अस्तित्व स्वीकारेर बसेकाले नेपाली समाजभित्र सहअस्तित्वको भावना रहेको अध्येताहरू बताउँछन् । मुन्धुम र किरात दर्शनमा विद्यावारिधि गरिरहेका भोगीराज चाम्लिङ अरूको संस्कृतिलाई पनि सहजै आत्मसात् गर्ने परापूर्व कालदेखिको अभ्यासले यहाँका जातजातिबीच हार्दिकता र समन्वयको भाव सिर्जना गरेको बताउँछन् ।

“किरात र हिन्दू दुवैले भगवान शिवलाई पुज्नु यसको दृष्टान्त हो”, उनी भन्छन् । अर्काको संस्कृतिमा मिसिएर रमाउन नसकेको स्थितिमा पनि अहित नचिताउनु नेपाली जीवनदृष्टिको बलियो आधार भएको उनको बुझाइ छ ।

आधुनिक नेपालको निर्माण हुनुअघि बाइसे–चौबिसे राज्य रजौटाको नेतृत्वमा विभिन्न जातजातिले राज गरेको देखिन्छ । पोखराको लामाचौर नजिकै रहेको ‘दमाई टोल’ मा २०२२ सालसम्म ‘दर्जी’ थरका व्यक्ति जिम्मावाल हुन्थे, जसलाई त्यहाँका अन्य जातका मानिसले स्वीकार्नुले सद्भावको सङ्गम देखिने संस्कृतिविद् डा. गुरुङ बताउँछन् ।

पोखरामै लोककवि अलिमियाँका पिता दीन मोहम्मद मियाँ पनि मुखिया थिए, गाउँलेबाट तिरो बुझ्थे । यस्तै, पूर्वमा राई, लिम्बूले तिरो बुझ्ने गरेको डा.गुरुङ बताउँछन् ।

२०२२ सालमा भूमिसुधार ऐन लागू भएपछि जिम्मावाल, मुखिया आदि प्रथा खारेज भएको थियो । “यी दृष्टान्तले नेपालमा एक जातिले मात्र प्रभुत्व जमाएर शासन गरे भन्नुको अर्थ नरहेको पुष्टि गर्छ”, गुरुङ भन्छन् ।

पत्रकार चन्द्रकिशोर पनि फरक मान्यता र आस्था हुँदाहुँदै घुलमिल भएर बस्ने चाहनालाई नेपाली जीवनदृष्टि मान्छन् । नेपाली मौलिक चेतले निषेध नस्वीकार्ने भएकै कारण सशस्त्र विद्रोहकालमा माओवादी ‘जातीय राज्य’ को मुद्दाबाट पछि हटेको उनको विश्लेषण छ ।

“फरक आस्थाबीच समूहमा घुल्न सक्ने नेपाली संस्कृतिकै कारण यहाँ अलोकतान्त्रिक व्यवहार टिक्न नसकेको हो, तर समुदायबीचको अन्तरघुलन बढाउने सेतु अझै थपिनुपर्छ”, उनी भन्छन् । यो सेतुभित्र सडक पूर्वाधार, आर्थिक अवसर, स्वास्थ्य सेवा, शिक्षाको विस्तार आदि विषय पर्ने उनको भनाइ छ ।

खुला र सहयोगी संस्कृति

समुदायहरूको सांस्कृतिक आनीबानीले पनि पारस्परिक सद्भाव बढाइरहेको देखिन्छ । सांस्कृतिक विश्लेषक डा.अर्चना थापा चोक, डबली आदिमा पूजा, नाच आयोजना गर्नुलाई रमिता हेर्न र सहभागी हुन सबैलाई निम्ता दिएको ठान्छिन् ।

खुला सांस्कृतिक पर्वहरूले समुदायबीच हार्दिकता बढाउन मद्दत गरिरहेको बताउने डा.थापा भन्छिन्, “अर्थ पूरै नबुझे पनि मधेशी, मुस्लिम युवा काठमाडौंमा कुमारीको भोटोजात्रा हेरेर वा इन्द्रजात्राको रथ तानेर रमाइरहेको देखिन्छ ।” धर्मका नाममा भइरहेका केही कर्मकाण्डी अभ्यास अलग गर्ने हो भने यहाँको धर्म–संस्कृति निकै खुकुलो र सबैलाई अँगाल्न सजिलो भएको र यसले यहाँको संस्कृतिको साझापन मुखर गर्ने उनको विश्लेषण छ ।

विपत्मा देखिने सहयोगी भावना नेपालीको अर्को विशेषता हो । १२ वैशाख २०७२ को भूकम्पबाट पीडित पहाडवासीको आँतमा मल्हम लगाउन तराईमा देखिएको अग्रसरताले समुदायबीचको सुसम्बन्धको स्वरुप अथ्र्याउने थापाको तर्क छ । “नेपाली समाजले हुर्काएको एउटा दर्शन सहयोगी भावना पनि हो”, उनी भन्छिन् ।

मानवशास्त्री डा. ढकाल सहयोगी भावनालाई नेपाली समाजले प्रथाकै रूपमा जीवन्त राखेको बताउँछन् । “सबै मिलेर कमजोरलाई आडभरोसा दिने चलन प्रायः विपन्न समाजमा देखिने गजबको संस्कार हो”, ढकाल भन्छन् ।

बनाउनै बाँकी दर्शन

समन्वय र सहअस्तित्वको स्वीकारोक्तिका प्रशस्त उदाहरण–अभ्यास देखिए पनि महिला र दलितमाथि हुने थिचोमिचो र विभेद नेपाली समाजका दीर्घरोग हुन् ।

धेरैलाई अटाउने संस्कृति भएर पनि दलितको आमभोगाइमा अझै देशैभरि कष्टकर छ । छुवाछूत विरुद्ध समयानुकूल नयाँ कानून पनि बनेको छ । तर, कार्यान्वयनमा कथित उच्च जातको पुरानै संस्कार हावी देखिन्छ ।

मानवशास्त्रमा एमफिल गरिरहेका वादी समुदायका अनुसन्धानकर्ता गोपाल वादी पछिल्ला वर्षहरूमा दलितको मर्का सुन्न थालिएको तर अझ पनि न्याय पाउने अवस्था नभएको बताउँछन् ।

“हामी दलित सार्वजनिक रूपमा गरिने निषेधको भोगाइबाट एक खुड्किलो माथि उठेका छौं” उनी भन्छन्, “तर, समानताको ठेगाना अझै धेरै टाढा छ ।”

प्रतिकृया दिनुहोस