ब्लगसोमबार, ६ आश्विन , २०७६

कश्मीर, आणविक अस्त्र र भागवत गीता

अजय दीक्षित

कश्मीर विवादसँगै आणविक अस्त्र प्रयोग बारेको वाकयुद्धमा हेलिएका भारत र पाकिस्तानलाई संयमित घेरामा राख्न इतिहासमा पारमाणविक त्रासदीहरू काफी छन्।

अमेरिकी परमाणु हमलापछि जापानको हिरोशीमा । तस्वीरः नेटफ्क्सि

जारी कश्मीर विवादका क्रममा भारतीय रक्षामन्त्री राजनाथ सिंहको एउटा वक्तव्य आयो, ‘परिस्थिति अनुसार आणविक अस्त्र पहिले प्रयोग नगर्ने हाम्रो नीति परिवर्तन हुनसक्छ ।’ उनको यस्तो मन्तव्यको केही दिनपछि नै न्यूयोर्क टाइम्स मा पाकिस्तानका प्रधानमन्त्री इमरान खानको एउटा लेख छापियो, जसमा उनले आणविक युद्धका जोखिमकै कुरा लेखेका थिए । “पाकिस्तान आणविक अस्त्र प्रहार गर्ने पहिलो मुलुक हुने छैन”, उनले भनेका थिए ।

आणविक युद्धका यी डरलाग्दा कथन झण्डै दुई दशकअघि सन् १९९८ मे महीनाको दुई घटनापछि शुरु भएका हुन् । त्यो महीना भारतले राजस्थानको पोखरणमा आणविक अस्त्र परीक्षण गरेको केही दिनपछि नै पाकिस्तानले बलुचिस्तानको चगाइमा यस्तै परीक्षण गर्‍यो ।

छिमेकका रक्षामन्त्री र प्रधानमन्त्रीको वाक्युद्धले मलाई त्यसभन्दा अझै पर सन् १९५२ तिर पुर्‍यायो । त्यतातिर मलाई लगेको भने पुस्तकले हो । 'थ्री डेज इन जनवरी, ड्वाइट आइजनहावर्स फाइनल मिसन', पुस्तकका लेखक हुन्, अमेरिकी टेलिभिजन च्यानल फक्स न्यूजका राजनीतिक सल्लाहकार ब्रेट वायर र न्यूयोर्क टाइम्स की स्तम्भकार क्याथरिन ह्विटनी ।

आफ्नो पुस्तक 'ब्रिफ आन्सर्स टू दि बिग क्वेस्चन्स्' मा भौतिकशास्त्री स्टिफेन हकिङ, सन् १९४५ मा पहिलो आणविक अस्त्र पड्किएको दुई वर्षपछि ओपनहाइमरले के भनेका थिए भन्ने सम्झन्छन् । ओपनहाइमरले भनेका थिए, ‘हामीलाई थाहा थियो संसार अब उस्तै रहने छैन । कोही हाँसे, कोही रुन पुगे, धेरै जसो चुपचाप बसे । मैले भागवत गीताको एउटा श्लोक– अब म मृत्यु हुँ, विश्वहरूको संहारकर्ता– सम्झिएँ ।’

ड्वाइट डी आइजनहावर दोस्रो विश्वयुद्धमा हिटलरलाई हराउने पश्चिमी गठबन्धन सेनाका कमाण्डर थिए । विश्वयुद्ध समापनपछि नेटो (नर्थ एट्लान्टिक ट्रिटी अर्गनाइजेसन) को स्थापना भयो र उनी नै त्यसकोे कमाण्डर बने ।

सन् १९५२ मा अमेरिकी सेना लगायत नेटो कमाण्डरको भूमिकाबाट अवकाशपछि आइजनहावर रिपब्लिकन पार्टीको तर्फबाट अमेरिकी राष्ट्रपति चुनिए ।

ओभल अफिसको पहिलो दिन राष्ट्रपति आइजनहावरले ताल्चा मारिएको एउटा घर्रा देखे । घर्रा खोलेपछि त्यहाँ एउटा प्रतिवेदन भेटियो । रबर्ट ओपनहाइमरको संयोजकत्वमा बनाइएको उक्त प्रतिवेदन अघिल्ला राष्ट्रपति ह्यारी ट्रुम्यानले तयार पार्न लगाएका थिए ।

ओपनहाइमर अमेरिकामा आणविक अस्त्र निर्माण गर्ने म्यान्ह्याटन प्रोजेक्टका मुख्य वैज्ञानिक थिए । प्रतिवेदनमा सोभियत युनियन र अमेरिकाले आणविक अस्त्र प्रयोग गरे के होला भन्ने विवरण उल्लेख थियो । 

राष्ट्रपति आइजनहावरलाई प्रतिवेदन सार्वजनिक गर्नु उचित लाग्यो । जुलाई १९५३ मा फरेन अफेयर्स जर्नलमा यस सम्बन्धी लेख छापियो ।

उक्त प्रतिवेदन उद्धृत गर्दै पुस्तकमा भनिएको छ, ‘हाम्रो (अमेरिकाको) २०औं हजार बम, तिनको (सोभियत युनियन) २ हजार बम रोक्न सफल हुने छैन ... हामीले बुझ्नु जरुरी छ, थुप्रै आणविक युद्ध भइरहने छैनन् । ... आणविक युद्ध एउटा पनि हुनुहुँदैन ।’ प्रतिवेदनमा प्रष्ट भनिएको थियोः आणविक युद्ध भएमा अमेरिका (सोभियत युनियन पनि) विकिरणका कारण चन्द्रमा जस्तो बन्नेछन् ।

आफ्नो पुस्तक 'ब्रिफ आन्सर्स टू दि बिग क्वेस्चन्स्' मा भौतिकशास्त्री स्टिफेन हकिङ, सन् १९४५ मा पहिलो आणविक अस्त्र पड्किएको दुई वर्षपछि ओपनहाइमरले के भनेका थिए भन्ने सम्झन्छन् ।

ओपनहाइमरले भनेका थिए, ‘हामीलाई थाहा थियो संसार अब उस्तै रहने छैन । कोही हाँसे, कोही रुन पुगे, धेरै जसो चुपचाप बसे । मैले भागवत गीताको एउटा श्लोक– अब म मृत्यु हुँ, विश्वहरूको संहारकर्ता– सम्झिएँ ।’

सन् १९५० र ६० को दशकमा अमेरिकीहरूले कथं आणविक आक्रमण भइहाले आफूलाई कसरी बचाउने भन्नेमा अभ्यास गरे । यसका लागि टेबलमुनि पस्न र छेकिन अर्थात् ‘डक एण्ड कभर’ को व्यवहार सिकाइयो । घरघरमा भूमिगत कोठा बनाउने परिपाटी चल्यो । सुपरमार्केटहरूले चिसो पारिएको खाना, टर्चलाइट, प्राथमिक उपचारका सामान, ब्याट्रीले चल्ने रेडियो बेच्न थाले । 

सन् १९७० को दशकमा आणविक युद्धबाट बच्ने तरिकाबारे गरिएको एउटा व्यंग्य पढेको सम्झन्छु । जसमा भनिएको थियो, ‘घरका झ्यालढोका बन्द गर्नुस्, भूमिगत कोठामा जानुस्, आवश्यक पानी, औषधि र खाना सहित । टुक्रुक्क बस्नुस्, आफ्नो तल्लो भागलाई हेर्नोस् अनि नमस्कार भन्नुहोस्, किनभने त्यो अन्तिम दर्शन हुनेछ !’

दक्षिण एशियामा भारतीय र पाकिस्तानी क्षेप्यास्त्रले पनि ओपनहाइमरले भने जस्तै एकअर्काका आणविक बम रोक्न सक्ने छैनन् । दुई देशका मात्र होइनन्, यो कहरबाट दक्षिण एशियाका अन्य मुलुकवासी पनि बाँच्ने छैनन् । पाकिस्तानको पन्जाब र भारतको राजस्थानमा बालिएका आगोका धुवाँ त काठमाडौं लगायत पूर्वी दक्षिण एशिया आइपुग्छन् भने पारमाणविक विकिरण के रोकिन्थ्यो ?

जापानको हिरोसिमा र नागासाकीपछि विश्वमा आणविक अस्त्र फेरि पड्किएको छैन । विश्वास गरौं, यी फेरि कहिल्यै प्रयोगमा आउने छैनन् ।

आइजनहावर्स बारेको यो विदेशी पुस्तकले मलाई दुई छिमेकीको आणविक धम्कीको जोखिम आकलन गर्न सहयोग पुर्‍यायो । सरकारले स्वदेशी पुस्तक उद्योग प्रोत्साहन गर्ने भन्दै, आयातित पुस्तकमा कर बढाएको छ । सरकार हाँक्नेले जानुन्, यो नीतिले कतिलाई प्रोत्साहित गरेको छ ।

म भने द्विविधामा छु । म जस्ताले पढ्नुपर्ने जलवायु परिवर्तनका धेरै सामग्री अंग्रेजीमा छन्, विदेशमै छापिएका । अहिले भारतमा छु, केही किनेको पनि छु । फर्किंदा कतै काठमाडौं विमानस्थलका अधिकारीले ती पुस्तक खोस्ने त हैनन्, थप कर तिराउने त होइनन् !

प्रतिकृया दिनुहोस